क्षमता अनुसारको सीप र अवसरको प्रतिक्षामा अपाङ्गता भएका व्यक्तिहरू
२६ वर्ष अघिसम्म बगनासकाली गाउँपालिका–६, यम्घा दर्पुकका ६२ वर्षीय बलिराज बोटे सजिलै हिँड्डुल गर्न सक्नुहन्थ्यो । बलिराजले गाउँमै अर्काको भारी बोकेर परिवारको गुजारा चलाउनुभएको थियो । त्यसैबेला उहाँको खुट्टामा काँडा बिझ्यो । त्यो काँडा त उहाँले आफै निकालेर फाल्नुभयो । तर खुट्टाको घाउ पाक्यो । पछि उपचारको क्रममा थप घाउ बल्झन सक्ने भन्दै उहाँको दाइने खुट्टाको पैताला काटियो ।
पैताला काटिएपछि बलिराजको दैनिकी कष्टकर भयो । काम गरेर खान सक्ने अवस्था रहेन । बलिराज अहिले सहज रूपमा हिँड्डुल गर्न सक्नुहुन्न । यता उति हिँड्डुल गर्दा पनि लत्रेरै यात्रा गर्नुपर्छ । सरकारी व्यवस्था अनुसार रातो र निलो अपाङ्गता भएका व्यक्तिले मात्रै नियमित मासिक भत्ता पाउँछन् । अपाङ्गता परिचयपत्र बनेपछि बलिराजमा आफूले पनि भत्ता पाउने आशा जागेको थियो । तर उहाँसँग पहेँलो अपाङ्गता परिचयपत्र भएका कारण भत्ता पाउने अवस्था रहेन ।
आर्थिक वर्ष २०७९/८० को सुरुवातबाटै बगनासकाली गाउँपालिकाले पहेँलो र सेतो अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अपाङ्गता निर्वाह भत्ताको व्यवस्था गरेपछि बलिराजले पनि मासिक ५ सय रुपियाँ पाउन थाल्नुभएको छ । बलिराजले गाउँपालिकाले भत्ता उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्दै आफू सामाजिक सम्मान र अवसरको खोजीमा रहेको बताउनु भयो । आफूजस्ता अपाङ्गता भएका व्यक्तिहरूले गर्न सक्ने खालका कामहरूको क्षमता अनुसारको तालिम र स्वरोजगारीको वातावरण स्थानीय सरकारले बनाउन सके प्रभावकारी हुने बताउनु भयो ।
बगनासकाली गाउँपालिका–८, बराङ्दीका ३४ वर्षीय धनपति पाण्डेसँग पनि पहेँलो रङको अपाङ्गता परिचयपत्र छ । उहाँले निर्वाह भत्तासँगै अपाङ्गता अवस्था अनुसार नियमित विद्यालय नगएकाहरूलाई अरु व्यवहारिक सीपहरूका तालिम सञ्चालन गर्न सके अझ धेरै प्रभावकारी हुने बताउनु भयो । पसल व्यवसाय गर्न चाहने अपाङ्गता भएका व्यक्तिहरूका लागि दर्ता तथा करमा सहुलियतको व्यवस्था गर्न सके अझ प्रभावकारी हुने उहाँले भन्नुभयो ।
बगनासकाली गाउँपालिका–६, यम्घा भुटुकेकी धनी लामिछानेसँग पनि पहेँलो अपाङ्गता परिचयपत्र छ । जन्मदै दाइने हात गुमाउनुभएकी लामिछाने अब व्यवस्थापनमा स्नातक अध्ययनको तयारीमा हुनुहुन्छ । 'अपाङ्गता भएका व्यक्तिहरूसँग पनि क्षमता छ । उनीहरूलाई क्षमता अनुसारको सीप सिकाउन सके दैनिकी सहज बन्न सक्छ । यसमा पनि गाउँपालिकाले ध्यान दिनुपर्छ', उहाँले भन्नुभयो ।
बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को सुरुबाटै भत्ता वितरण सुरू गरेको बताउनु भयो । अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको संरक्षण र कार्यान्वयनका लागि लागिपरेको उहाँले बताउनु भयो ।
गाउँपालिकाले सानो सहयोग गर्दा पनि अपाङ्गता भएका व्यक्तिहरूमा स्थानीय सरकारप्रतिको अपनत्व बढेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, 'सुरुवातको समयमा रकम सानो भए पनि स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिहरूको अभिभावकत्व ग्रहण गर्न थालेको छ । पहेलो र सेतो अपाङ्गता परिचयपत्र बाहक व्यक्तिहरूको नाममा नेपाल बैङ्कमा रहेको खातामा हरेक ६/६ महिनामा रकम जम्मा हुन्छ । उनीहरूले वडाबाटै हुने शिविरमा पुगेर भत्ता निकाल्ने व्यवस्था पनि मिलाइएको छ ।'
धेरै अपाङ्गता भएका व्यक्तिहरूले भत्ताभन्दा पनि जीवन उपयोगी र आत्मनिर्भर हुने खालका तालिमको माग गर्नुभएकोले उहाँहरूको माग बमोजिम तालिम सञ्चालन गर्दै जाने अध्यक्ष चिदीले बताउनु भयो ।
बगनासकाली गाउँपालिकामा रातो परिचयपत्र भएका ६४ जना अपाङ्गता भएका व्यक्ति छन् । उनीहरूले मासिक ३ हजार ९ सय ९० रुपियाँ भत्ता पाउँदै आएका छन् । त्यस्तै निलो परिचयपत्र भएका १ सय ४१ जनाले मासिक २ हजार १ सय २८ रुपियाँ मासिक भत्ता पाउँदै आएका छन् । त्यस्तै पहेलो र सेतो अपाङ्गता परिचयपत्र भएकाहरूलाई गाउँपालिकाले आफ्नै स्रोतबाट मासिक निर्वाह भत्ता वितरण गर्दै आएको छ ।
जस अन्तरगत बगनासकाली गाउँपालिकामा पहेँलो अपाङ्गता परिचयपत्र भएका १ सय ३३ जना रहेका छन् र सेतो अपाङ्गता परिचयपत्र भएका ७७ जना रहेको आइएमएस अपरेटर भोजराज भट्टराइले बताउनु भयो ।
अझै समस्यामा छन् अपाङ्गता भएका बालबालिका
बगनासकाली गाउँपालिका बालमैत्री स्थानीय तह घोषणा भए पनि यहाँ अपाङ्गता भएका बालबालिकाहरूको शैक्षिक अधिकारको पूर्ण कार्यान्वयन हुन सकेको छैन । जन्मजात वा जन्मेपछि विभिन्न कारणले अपाङ्गता भएका कतिपय बालबालिकाहरू उचित स्वास्थ्योपचार र शिक्षाको अभावमा आँगन र पिँढीमै सिमित भएका छन् ।
नेपालको संविधान २०७२ मा मौलिक हक अन्तर्गत धारा ३१ मा शिक्षाको हक, धारा ३५ मा स्वास्थ्यको हक र धारा ३९ मा बालबालिकाको हक रहे पनि उनीहरूले यी कुनै पनि हकको राम्रोसँग उपयोग गर्न पाएका छैनन् । धारा ३१ को शिक्षाको हक अन्तर्गत अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुन बमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक सुनिश्चित गरिएको छ । त्यस्तै दृष्टिबिहीन नागरिकलाई ब्रेललिपि र स्वर बोलाई सम्बन्धी अपाङ्गता भएका नागरिकलाई साङ्केतिक भाषाको माध्यमबाट कानुन बमोजिम निःशुल्क शिक्षा पाउने हकको सुनिश्चत गरिएको छ । पाल्पामा एक दृष्टिबिहिनका लागि विद्यालय र दुई ओटा बहिरा बालबालिकाहरूका लागि मात्रै विद्यालय सञ्चालनमा छन् । जुन पर्याप्त छैन ।
बगनासकाली गाउँपालिकामा अपाङ्गता भएका बालबालिकाहरूलाई लक्षित गरी कुनै पनि विद्यालय सञ्चालनमा छैन । त्यस्तै नियमित फिजियोथेरापी गराउनुपर्ने बालबालिकाहरूका लागि पनि गाउँपालिका स्तरमा कुनै व्यवस्था छैन । जसका कारण उनीहरूको दैनिकी आँगन पिँढीमा बित्ने गरेको छ ।
यज्ञमूर्ति तिमिल्सिना
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…