क्षमताभन्दा सात गुणा बढी कैदीबन्दी र स्वास्थ्यकर्मी नहुँदा कारागारमा समस्या

  ०७६ मङ्सिर ३० गते

ङ श्रेणीको जिल्ला कारागारमा क्षमता भन्दा झण्डै सात गुणा बढी कैदीबन्दी हुँदा कारागारमा समस्याका चाङ लागेका छन् ।

२५ जना क्षमता भएको कारागारमा अहिले २० महिलासहित जम्मा १ सय ६१ जना कैदीबन्दी छन् । क्षमता भन्दा बढी कैदीबन्दी राख्नु परेपछि व्यवस्थापनमा समस्या आएको कारागार कार्यालयका जेलर सुरेन्द्र मुखियाले बताए ।

कैदिबन्दीलाई खान बस्न, सरसफाईलगायतका व्यवस्थापन पक्षमा कठिनाइ भएको उहाँले जानकारी दिनुभएको छ । हाल कारागारमा कैदी १ सय ३५, बन्दी २६ र आश्रित चार जना रहेका छन् ।

यसैगरी, दरबन्दी अनुसार जिल्ला कारागारमा स्वास्थ्कर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचारमा समस्या भएको छ ।

स्वास्थ्य सेवाको छैठौँ तहको दरबन्दी रहेको कारागारमा तीन महिनासम्म सो पद रिक्त हुँदा बिरामी भएका कैदीबन्दीहरूलाई औषधि उपचार गर्न समस्या भएको हो ।

जिल्ला कारागारमा कार्यरत एचए अनुप शर्मा गत असोजमा समायोजन भई अन्यत्र गएपछि सो पद रिक्त भएको हो ।

लामो समयसम्म स्वास्थ्यकर्मीको पद रिक्त हुँदा बिरामी भएका कैदी बन्दिहरुको उपचारका लागि जिल्ला अस्पताल लैजान पर्ने बाध्यता रहेको जेलर सुरेन्द्र मुखियाले बताउनुभयो ।

‘एचए हुँदा सामान्य बिरामीको यतै स्वास्थ्य परीक्षण र उपचार हुन्थ्यो ।’–उहाँले भन्नुभयो–‘लामो समयसम्म दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नभएपछि कोही बिरामी भए प्रहरीको साथ लगाएर जिल्ला अस्पतालमा लगिरहेका छौँ ।’

स्वास्थ्यकर्मी नुहँदा भण्डारणमा रहेका औषधि समेत प्रयोगविहीन भई म्याद गुज्रने अवस्था आएको जेलर मुखियाले जानकारी दिनुभयो ।

विषाक्त खानाका कारण गत असोज १९ गते राति कारागारमा रहेका चार जना कैदीबन्दी गम्भीर बिरामी भएका थिए ।

बेलैमा उपचार नपाएकाले दुई जनाको घटना लगत्तै र एक जनाको उपचारका क्रममा दुई हप्ता पछि मृत्यू भयो । कारागारमा नै स्वास्थ्यकर्मी उपलब्ध नभएकाले पनि त्यस्तो अवस्था आएको जेलर मुखियाले बताउनुभयो ।

कारागारको भौतिक संरचना समेत जीर्ण अवस्थामा रहेको छ । कच्ची भवनमा कोचाकोच कैदीबन्दी राख्नु पर्ने अवस्था रहेको जेलर मुखियाले जानकारी दिनुभयो ।

भवन निर्माणका लागि विस्तृत लागत विवरण तयार गरी विभागमा पठाए पनि सुनुवाइ नभएको उनले गुनासो गरे ।


मङ्गल बेघा