क्षमताभन्दा धेरै कैदीबन्दीका कारण त्रिपालमुनिको बास
क्षमता भन्दा धेरै कैदीबन्दी राख्दा त्रिपालमुनि सुत्न बाध्य भएको जिल्ला कारागार घोराहीका कैदीबन्दीहरूले गुनासो गरेका छन् । राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जबाट आएको अनुगमन टोलीसमक्ष उनीहरूले अधिक सङ्ख्या राख्दा चिसो मौसममा त्रिपालमुनि सुत्नु परेको गुनासो गरेका हुन् ।
'कैदीबन्दी दिनहुँ थपिएका छन् । तर, बस्ने ठाउँ छैन ।'-कारागारका भाइ नाइके विप्लव सेन वलीले भने-'सुत्ने ठाउँ नभएपछि खुल्ला चौरमै त्रिपाल टाँगेर सुत्न बाध्य छौँ ।' उनका अनुसार अहिले जिल्ला कारागार शाखामा तीन ओटा त्रिपाल टाँगेर सुत्ने व्यवस्था गरिएको छ । चिसो मौसममा त्रिपालमुनि सुत्दा समस्या आएको भन्दै सुत्ने व्यवस्थाका लागि पहल गरिदिन उनीहरूले मानव अधिकार आयोगको टोलीसमक्ष माग गरेको आयोगका अधिकृत टङ्कप्रसाद खनालले जानकारी दिए । ५० जनाको क्षमता रहेको जिल्ला कारागारमा हाल २ सय जना कैदीबन्दी बस्दै आएको कारागारका कार्यालय सहायक मनोजकुमार चौधरीले जानकारी दिए ।
अनुगमनका क्रममा घोराही र तुलसीपुर कारागारका कैदीबन्दीहरूले कारागारलाई सुधारगृहको रूपमा विकास गर्न समेत माग गरेका छन । आयोगको अनुगमन टोलीसँग कुरा गर्दै उनीहरूले नीतिमा मात्र नभई व्यवहारमै कारागारलाई सुधारगृहको रूपमा विकास गर्नका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।
जिल्ला कारागारमा रहेका कैदी प्रेमबहादुर वलीले कारागारभित्र परम्परागत मुढा बनाउने तालिम बाहेक अरु जीवनउपयोगी सीप तथा व्यवहार परिवर्तन गराउने काम हुन नसकेको गुनासो गरे ।
त्यसैगरी कैदीबन्दीहरूले राज्यले आममाफीको सवालमा भेदभाव गरेको गुनासोसमेत गरेका छन् । सरकारले कर्तव्य ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरी आचरण सुधारेकाहरूलाई विभिन्न अवसर पारेर आममाफी दिँदै आएको छ ।
कैदीबन्दीहरूका गुनासो सुनेपछि राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख मुरारी खरेलले कैदीबन्दीका मागबारे सरकारलाई नीतिगत रूपमा सुझाव दिने बताए । उनले तुलसीपुर र घोराही कारागारको अनुगमन गर्दा क्षमताभन्दा धेरै कैदीबन्दी राखिएको र राशन भत्ताको समस्या देखिएको बताए ।
५० जनाको क्षमता रहेको घोराही कारागारमा हाल २ सय जना कैदीबन्दी रहेका छन् । जसमा १ सय ५१ जना कैदी र ४९ बन्दी रहेको कारागार प्रशासनले जनाएको छ । तुलसीपुर कारागारमा १९ जना महिलासहित १ सय ६९ जना कैदीबन्दी रहेका छन् ।
अनुगमन टोलीमा राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख मुरारी खरेल, मानव अधिकार अधिकृत रमेशकुमार थापा र टङ्कप्रसाद खनाल तथा इन्सेक जिल्ला प्रतिनिधि सहभागी थिए ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
गाउँपालिका अध्यक्षद्वारा पत्रकारलाई मार्ने धम्की
दर्शन खबरका संवाददाता कुलेन्द्र शाहीलाई शिवालय गाउँपालिका अध्यक्ष शेरबहादुर शाहीले मार्ने धम्की दिएको पत्रकार शाहीले आरोप लगाउनु भएको छ । शिवालय गाउँपालिका–४ को आधारभुत स्वास्थ्य चौकीमा कर्मचारी आवश्यकता विषयक सार्वजनिक…
आगलागी पीडितलाई इन्सेक प्रतिनिधिको पहलमा रेडक्रस र जिल्ला प्रसाशनबाट सहयोग
इन्सेक प्रतिनिधिको पहलमा मध्यनेपाल नगरपालिका–८ का आगलागी पीडितलाई रेडक्रस जिल्ला शाखा लमजुङले सहायता सामाग्री प्रदान गरेको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालय लमजुङको विपद व्यवस्थापन समितिबाट पनि नगद १२ हजार …
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका–८ की ४५ वर्षीया कल्पना पोखरेलको माघ १८ गते हत्या गरेको आरोपमा प्रहरीले ३३ वर्षीय पति मनोज बस्नेतलाई माघ २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०७९ माघ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–७ गुण्डुका ३९ वर्षीय सौतेनी बाबुलाई प्रहरीले ०७९ माघ २० गते भक्तपुरको गुण्डुस्थित घरबाटै गिरफ्तार गरेको छ । आफ्नै घरमा बालिकालाई ०७९ पुस…
कारागारमा स्वास्थ्यकर्मी नहुँदा समस्या
जिल्ला कारागार नुवाकोटमा स्वास्थ्यकर्मी नहुँदा कैदी बन्दीहरू समस्यामा परेका छन् । कारागारमा छैठौँ तहको अहेबको दरबन्दी रहे पनि उक्त दरबन्दी ६ महिनादेखि रिक्त रहेको कारागार प्रमुख गंगालाल योगीले जानकारी दिनुभयो…