क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

  ०७४ चैत १४ गते

जिल्ला कारागारमा क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको कारागार प्रशासनले जनाएको छ ।

२५ जनाको क्षमता भएको जिल्ला कारागारमा हाल ७६ जना कैदीबन्दी रहेको कारागार प्रमुख सुर्यबहादुर पन्तले बताए । महिला र पुरूष बन्दी गृहतर्फएक/एक ओटा हल रहेको कारागारमा सबै जना एउटै हलमा सुत्नु पर्दा ठाउँ अभावमा पालो लगाएर सुत्ने गरेको थुनुवाहरूले गुनासो गरेका छन् ।

कारागारमा महिला र पुरूषतर्फएक/एक ओटा मात्र शौचालय छन् । क्षमता भन्दा तेब्बर कैदीबन्दी हुँदा शौचालयको प्रयोगमा समेत समस्या भएको कैदीबन्दीको गुनासो रहेको छ ।

हाल जिल्ला कारागारमा १० जना महिला र ३३ जना पुरूष कैदी रहेका छन् भने दुई जना महिला र ३१ जना पुरूष थुनुवा रहेका छन् । पछिल्लो ५/६ महिनामा थुनुवाहरू बढेका र विगतमा ८/१० जना थुनुवा हुने गरेको कारागारमा अहिले त्यो सङ्ख्या बढेको प्रमुख पन्तले बताए ।

राणाकालीन समयमा घोडा बाँध्न बनाइएको तबेलामा बस्दै आएका कैदीबन्दीलाई भौतिक पूर्वाधारमा सुधार नहुँदा सुत्न समस्या भएको र कैदीबन्दीलाई राख्ने भवन जीर्ण हुँदा कैदीबन्दीलाई थप समस्या परेको कारागार प्रशासनले जनाएको छ ।

पछिल्लो समय प्रहरीले सक्रियता बढाएका कारण पक्राउ पर्नेको सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय प्यूठानका डिएसपी राजेन्द्र पोख्रेलले बताए ।


रविन्द्र पाण्डे