क्षमताभन्दा झण्डै तीन गुण कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या

१ सय ३० जना कैदीबन्दी क्षमता रहेको जिल्ला कारागारमा क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भइरहेको जिल्ला कारागार नवलपरासीले जनाएको छ ।

१ सय ५ जना पुरूष र २५ जना महिला कैदीबन्दी क्षमता रहेको कारागारमा हाल ३ सय १७ जना पुरूष र ६२ जना महिला कैदीबन्दी रहेका छन् । कारागारमा हाल नौ जना ज्येष्ठ नागरिक र चारजना आश्रति बालबालिका रहेका छन् ।

क्षमताभन्दा बढि कैदीबन्दी हुँदा दैनिक आठ देखि १० जना कैदीबन्दी बिरामी हुने गरेको र चिसोको कारण निमोनिया, रूघाखोकी, ज्वरोलगायतका सङ्क्रमण सर्ने समस्या रहेको कारागारमा कार्यरत डा. दिपक अधिकारीले बताएका छन् ।

यसैगरी कैदीबन्दीको सङ्ख्या धेरै हुँदा शौचालय प्रयोग, पत्रपत्रिका पढ्न तथा सुत्न बस्न असहज हुने गरेको कैदीबन्दीहरूको गुनासो छ । सानो ठाउँमा धेरै कैदीबन्दी राख्दा समयसमयमा कैदीबन्दीहरूबिच विवादसमेत उत्पन्न हुने गरेको छ ।


नारायण पराजुली