क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड र आगजनी

कर्मचारी छनौटको विषयलाई लिएर नेविसङ्घका कार्यकर्ताहरूले असोज १० गते बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसमा क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड र आगजनी गरेका छन् ।

क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्यायले दिएको जानकारी अनुसार ज्ञापनपत्र बुझाउन आउँदैछौ भनी फोन गरेका नेविसङ्घ कार्यकर्ताले कार्यकक्षमा पसेर ज्ञापनपत्र पढेर सुनाई एक्कासी  तपाई बाहिर जानुस भन्दै कुर्सी, कम्प्यूटर, टेबुलमा मटितेल छर्केर आगजनी गरेका थिए ।

आगजनी र तोडफोडबाट क्याम्पसको बा.११ च ५५६७ नम्बरको स्कर्पियो गाडीका सिसाहरू पूर्णरूपमा फुटेका छन् भने कुर्सी, कम्प्यूटर र टेबुलमा क्षति पुगेको छ ।

टङ्क पाण्डेको नेतृत्वमा आएको टोलीमा सुरज क्षेत्री, अशोक गौतम, रेशम क्षेत्रीलगायत २० जना भन्दा बढी कार्यकर्ताहरू तोडफोडमा संलग्न रहेको क्याम्पस प्रमुख तारा उपाध्यायले बताए ।

लुम्बिनी वाणिज्य क्याम्पस पदपूर्ति समितिले साउन ४ गते विज्ञापन गरी  खुल्लातर्फ उपप्रध्यापक, कार्यालय सहायक तथा सहायक लेखापाल र आन्तारिक विज्ञापनतर्फ दुई जना बढुवा गरेको घटनाको विषयलाई लिएर नेविसङ्घ क्याम्पस इकाई समितिले कर्मचारी छनौट र बढुवा पारदर्शी नभएको आरोप लगाउँदै आएको थियो ।

समितिले असोज ९ गते आठ जना प्राध्यापक र तीन जना कर्मचारी नियुक्ति गरेको थियो । घटना लगत्तै वडा प्रहरी कार्यालयबाट प्रहरी पुगेपनि संलग्न समूह ‘फरार’ रहेको डिएसपी डिलबहादुर मल्लले बताए । उनले घटनामा संलग्नहरूको खोजी भइरहेको बताए ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल पाण्डेले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानुनको दायरामा ल्याउन प्रहरीमा उजुरी दिन आएको बताए ।

photo20180927rupandehi (1) photo20180927rupandehi (2)


रीमा बिसी