स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष पदका लागि १६ र सात वडाध्यक्ष पदका लागि ५६ जनाको उम्मेदवारी

  ०८१ मङ्सिर ५ गते

कोशी प्रदेशमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ जना र अन्य ६ ओटा जिल्लाको ७ वडाको रिक्त वडाध्यक्ष पदमा ५६ जनाको उम्मेदवारी परेको छ।

जिल्ला निर्वाचन कार्यालयहरुका अनुसार कोशी प्रदेशको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा १६ जना पुरुषको तथा अन्य सात ओटा स्थानीय तहमा रिक्त रहेको ७ वडाध्यक्ष पदका लागि ५६ जनाको अन्तिम नामावली मङ्सिर ५ गते सार्वजनिक गरिएको छ । मनोनयन दर्ता भएका वडाध्यक्षमा ६ जना महिला रहेका छन् ।

निर्वाचन हुने वडामध्ये सबैभन्दा बढी सुनसरीको गढी गाउँपालिका वडा नम्बर ६ को वडाध्यक्षमा १२ जनाको मनोनयन कायम रहेको छ । यसैगरी झापाको कन्काई नगरपालिका वडा नम्बर ६ मा नाै जनाको मनोनयन कायम रहेको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ८ को वडा अध्यक्षमा आठ जना, उदयपुरको त्रियुगा नगरपालिकाको वडा नम्बर १२ को वडाध्यक्षमा नाै जना, उदयपुरकै बेलका नगरपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा सात जना, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडा अध्यक्षमा ६ जना र ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा पाँच जनाको उम्मेदवारी कायम रहेको सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरुले जनाएको छ ।

उपनिर्वाचन हुने यी पालिकामध्ये ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका-६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका -५ र उदयपुरको बेलका नगरपालिका-९ मा स्वतन्त्र उम्मेदवार छैनन् । बाँकीमा स्वतन्त्र उम्मेदवार रहेको आयोगले जनाएको छ । आयोगका अनुसार झापाको कन्काईमा एक, तेह्रथुमको लालीगुराँसमा दुई, सुनसरीको गढीमा दुई र उदयपुरको त्रियुगामा एक जना स्वतन्त्र उम्मेदवार छन् । उम्मेदवार कायम रहेका ५६ जनामध्ये ६ जना महिला उम्मेदवार रहेका छन् । सिरिजङ्गामा एक, कन्काईमा एक, गढीमा दुई र त्रियुगामा दुई गरी ६ जना महिलाको मनोनयन कायम रहेको छ । यसअघि मङ्सिर ४ गते उम्मेदवारविरुद्ध परेका उजुरीको जाँचबुझ गरिएको थियो ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका १६ जनाकै उम्मेदवारी कायम रहेको छ । कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि अन्तिम नामावलीमा स्वतन्त्र एक सहित १६ जनाको नाम प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
ग्रामथानको अध्यक्ष पदमा नेपाली कांग्रेसबाट बलराम सरदार, नेकपा (एमाले)बाट तुलसीराम विश्वास, नेकपा (माओवादी केन्द्र)बाट नमोनारायण माझी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार विश्वास, जसपा नेपालबाट सुरेशकुमार राजवंशी, राप्रपाबाट दिनेशकुमार थन्दार (दिवेश), अशोक राई नेतृत्वको जसपाबाट धर्मेन्द्रकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नेकपा (एकीकृत समाजवादी)बाट दिलबहादुर विश्वकर्मा, नेमकिपाबाट प्रशुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास थारु, राप्रपा नेपालबाट राजु मुसहर र समावेशी समाजवादी पार्टी नेपालबाट बोधनारायण माझीले मनोनयन दर्ता गराएका छन् । नमनारायण चौधरीको स्वतन्त्र उम्मेदवारी परेको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार झापाको कन्काई नगरपालिका ६ मा हुने वडाध्यक्ष पदको उपनिर्वाचनका लागि उम्मेदवारी परेका नाै जनाको मनोनयन नै कायम रहेको छ । कसैका विरुद्ध उजुरी नपरेको र कसैले उम्मेदवारी फिर्ता नलिएकोले नाै जनाकै मनोनयन कायम रहेको निर्वाचन अधिकृत तुलसी निरौलाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसबाट रानगोपाल ओली, नेकपा (एमाले)बाट तुलराम बस्नेत, नेकपा (माओवादी केन्द्र)बाट गणेशबहादुर थापा, जनमत पार्टीबाट सुकलाल राजवंशी, राप्रपाबाट नारायणप्रसाद निरौला, नागरिक उन्मुक्ति पार्टीबाट जमुना राजवंशी, मङ्गोल नेशनल अर्गनाइजेशनबाट पदमबहादुर तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दलबहादुर श्रेष्ठ र स्वतन्त्र उम्मेदवारतर्फ लक्ष्मीप्रसाद ओलीको मनोनयन कायम छ ।

ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार सिरिजङ्गा गाउँपालिका- ३ सिकैचाको वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचनमा उम्मेदवार भएका पाँच जनाकै उम्मेदवारी कायम रहने भएको छ । उम्मेदवारी फिर्ता लिने निर्धारित समयसमम्म कसैले पनि उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश विकास श्रेष्ठले जानकारी दिनुभयो । मुख्य निर्वाचन अधिकृत श्रेष्ठका अनुसार वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट भीमकुमार लक्सम्बा लिम्बु, नेकपा (एमाले)बाट कुमारी साउदेन, नेकपा (माओवादी केन्द्र)बाट अम्बि साउदेन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवीप्रसाद पौडेल र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजेन्द्र काङ्वा लिम्बुको उम्मेदवारी कायम रहेको छ ।.

तेह्रथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार लालीगुराँस नगरपालिका–८ मा नेपाली कांग्रेसबाट नगेन्द्र लिम्बु, नेकपा (एमाले)बाट बुद्धबहादुर लिम्बु, नेकपा (माओवादी केन्द्र)बाट कुमार विश्वकर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्जिब खड्का, राप्रपाबाट रत्नबहादुर श्रीपाली, नेकपा (एकिकृत समाजवादी) बाट प्रेमबहादुर खड्का र स्वतन्त्रबाट बसन्त लिम्बुको उम्मेदवारी कायम रहेको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार मोलुङ गाउँपालिका–५ को वडाध्यक्षका लागि उम्मेदवारी दिनुभएको दुई जना स्वतन्त्र उम्मेदवारले मनोनयन फिर्ता लिएपछि ६ जनाको उम्मेदवारी कायम रहेको छ । वडाध्यक्षका लागि उम्मेदवारी दिनुभएका स्वतन्त्र उम्मेदवारहरु हेमबहादुर सुनुवार र दिपप्रसाद दाहालले उम्मेदवारी फिर्ता लिनुभएको मुख्य निर्वाचन अधिकृत गिरीराज गौतमले बताउनु भयो । वडाध्यक्षका लागि कायम रहेको उम्मेदवारहरुमा नेपाली कांग्रेसबाट घनश्याम दाहाल, नेकपा (एमाले)बाट गंगाबहादुर तामाङ, नेकपा (माओवादी केन्द्र)बाट मानबहादुर सुनुवार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिष्णुप्रसाद पोखरेल, राप्रपाबाट चन्द्रमणी दाहाल, जनता समाजवादी पार्टीबाट इन्द्रबहादुर दर्जीको उम्मेदवारी कायम रहेको छ । जिल्ला समन्वय समिति प्रमुखमा भने नेपाली कांग्रेसका टेकराज भट्टराईको मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार गढी गाउँपालिका- ६ को वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका दुई जनाले मनोनयन फिर्ता लिएपछि १२ जनाको मनोनयन कायम रहेको छ । वडाध्यक्ष पदमा नेपाली कांग्रेसबाट तेतर साह, नेकपा (एमाले)बाट सन्तु उराँव, जनता समाजवादी पार्टी नेपाल र नेकपा (माओवादी केन्द्र)बाट संयुक्त उम्मेदबार कुशेश्वर खेरवार यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शशीकुमार साह, जनमत पार्टीबाट सिताराम यादव, राप्रपाबाट कविता कुमारी उराँव, राप्रपा नेपालबाट बच्चालाल अरगरिया यादवको नाम अन्तिम नामावली भनेर सार्वजनिक गरिएको छ ।
यस्तै नागरिक उन्मुक्ति पार्टीबाट तेजनारायण मुसहर, संघीय लोकतान्त्रिक राष्टिय मञ्चबाट राजोदेवी ऋषिदेव, समावेसी समाजवादी पार्टीको योगनारायण ऋषिदेव, स्वतन्त्रबाट रामनारायण यादव र श्यामदेव मेहताको नामावली कायम रहेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो । नेकपा (एकीकृत सामाजवादी) का डोमी उराँव र स्वतन्त्रका बन्धुलाल सरबरियाले मनोनयन फिर्ता लिएका छन् ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार त्रियुगा नगरपालिका वडा नम्बर १२ र बेलका नगरपालिका वडा नम्बर ९ को वडाध्यक्ष पदका लागी मनोनयन दर्ता गराएका सबै १६ जनाकै उम्मेदवारी कायम रहेको छ । दुवै स्थानका कुनै पनि उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि अन्तिम नामावली प्रकाशन गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जस अनुसार त्रियुगा नगरपपालिका १२ को वडाध्यक्ष पदमा नेपाली काङ्ग्रेसका संजिव काफ्ले, नेकपा (एमाले)का लक्ष्मीनारायण चौधरी,  नेकपा (माओवादी केन्द्र) का नबिन राई, राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुव पोखरेल, नेकपा (एकीकृत समाजवादी)की निर्मला चौधरी, राप्रपाका लालबाबु शाह, नागरिक उन्मुक्ती पार्टीकी चन्द्रकला चौधरी, जनमत पार्टीका प्रमोद मलाहा सहनी र स्वतन्त्र उम्मेदवार बजरङ्गबली कुमार दासको नाम अन्तिम नामावली सूचीमा समावेश रहेको मुख्य निर्वाचन अधिकृत दिपककुमार खरेलले जानकारी दिनुभयो ।

यस्तै बेलका नगरपालिका वडा नम्बर ९ को वडाध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका सात जनाकै नाम अन्तिम नामावली सूचीमा प्रकाशन गरिएको छ । अन्तिम नामावली अनुसार नेपाली काङ्ग्रेसका नवराज बस्नेत, नेकपा (एमाले)का मोहन खड्का, नेकपा (माओवादी केन्द्र)का भरत घिमिरे, जसपा नेपालका राजकुमार राई, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान वि.क., राप्रपाका टिकाप्रसाद फुयाँल र मंगोल नेशनल अर्गनाइजेशनबाट सुर्य तामाङको नाम कायम रहेको निर्वाचन अधिकृत मनोजकुमार गुप्ताले जानकारी दिनुभयो ।

उपनिर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारलाई मङ्सिर ५ गते नै निर्वाचन चिह्नसमेत प्रदान गरिएको छ । मतदान भने मङ्सिर १६ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पदपूर्ति हुने व्यवस्था छ ।


इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर