कोशी प्रदेशमा शिलान्यास गरिएका ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माण अलपत्र

  ०८० कात्तिक २९ गते

सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी कोशी प्रदेशमा ०७७ मङ्सिर १५ गते ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको भएपनि अधिकांश अस्पताल निर्माण अलपत्र अवस्थामा परेका छन् ।

नेपालको संविधान धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधारा १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।

आधारभूत स्वास्थ्य अधिकारबाट नागरिक वञ्चित भएपछि नेपाल सरकारले ०७७ मङ्सिर १५ गते देशभर ३ सय ९६ ओटा आधारभूत स्वास्थ्य अस्पतालको एक साथ शिलान्यास गरेको थियो ।

कोशी प्रदेशमा प्रदेशस्तरीय सरूवा रोग अस्पताल र १४ जिल्लामा ८६ ओटा आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो ।

कोशी प्रदेशमा ८६ ओटा एकदेखि १५ बेडसम्मको आधारभूत अस्पताल निर्माण गर्ने गरी ०७७ मङ्सिर १५ गते शिलान्यास गरिएको थियो । आधारभूत स्वास्थ्य अधिकारसम्बोधन हुने गरी सरकारले ८६ ओटा अस्पतालको शिलान्यास गरेपनि आधारभूत स्वास्थ्य अस्पताल निर्माणले भने गति लिन सकेको छैन ।

झापामा १२ ओटा, पाँचथर, इलाम, सङ्खुवासभा र ओखलढुङ्गामा सात ओटा, भोजपुर र खोटाङमा ६-६ ओटा, तेहृथुम, सोलखुम्बु र सुनसरीमा पाँच-पाँच ओटा, धनकुटामा चार ओटा र मोरङमा १० ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ ।

सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी कोशी प्रदेशमा ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास गरिएको भएपनि अधिकांश अस्पताल निर्माण अलपत्र अवस्थामा छन् ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार आधारभूत अस्पताल निर्माणका लागि शिलान्यास गरिएको झण्डै तीन वर्ष पुरा हुन लाग्दा समेत जिल्लाका अधिकांश स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम सुरू हुन सकेको छैन । निर्माण सम्पन्न भएका अस्पताल पनि सञ्चालनमा आउन सकेका छैनन् ।

मानेभञ्ज्याङ गाउँपालिकामा अस्पताल निर्माण कार्य अघि बढ्न सकेको छैन । अस्पताल निर्माण गर्ने भनिएको जग्गा डीपीआर अनुसार नमिलेपछि निर्माण कार्य अघि बढ्न नसकेको मानेभञ्ज्याङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल राईले बताउनु भयो । अहिले अर्को डीपीआर बनाएर मन्त्रालयमा पठाइएको उहाँको भनाइ छ । मोलुङ गाउँपालिकामा पनि अस्पताल निर्माण कार्य अघि बढ्न सकेको छैन । अहिले ठेक्का प्रक्रियामा रहेकोले तिहार लगत्तै अस्पताल निर्माण कार्य अघि बढ्ने गाउँपालिका अध्यक्ष उत्तम राईले बताउनु भयो । सुरूको भवनको डिजाइनमा समस्या भएपछि हाल अर्को डिजाइन स्वीकृत भएको अध्यक्ष राईको भनाइ छ ।

सुनकोशी गाउँपालिकामा अस्पताल निर्माण कार्य भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार कार्कीले बताउनु भयो । अस्पतालको डीपीआर बमोजिम जग्गा अपुग भएकाले निर्माण कार्य ढिला सुरु भएको भएपनि अब काम निरन्तर अघि बढ्ने उहाँको भनाइ छ ।

चम्पादेवी गाउँपालिकामा अस्पातल निर्माणको काम भइरहेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीले बताउनु भयो । ०८० मङ्सिरसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी काम भइरहेको सुवेदीको भनाइ छ । लिखु गाउँपालिकामा अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको लिखु गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले बताउनु भयो ।

चिशंखुगढी गाउँपालिकामा अस्पताल निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकमणि खनालले बताउनु भयो । सञ्चालनमा ल्याउन पहल भइरहेको खनालले बताउनु भयो । खिजिदेम्बा गाउँपालिकामा अस्पताल निर्माण कार्य सम्पन्न भएको भएपनि सञ्चालनमा आउन सकेको छैन । अस्पताल सञ्चालनको लागि पहल भइरहेको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनु भएको छ ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको काम सुस्त गतिमा छ ।  जिल्लाका कतिपय स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यासमै सिमित भएका छन् । भवन निर्माण सुरू भएर अलपत्र अवस्थामा छन् ।

जिल्लाका नौ ओटा स्थानीय तहमध्ये सात ओटा स्थानीय तहमा पाँचदेखि १५ वेडसम्मको आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास गरेर काम भइरहेको छ ।

सङ्घीय सरकारले सहज रूपमा स्वास्थ्य सेवा दिने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास गरेपनि निर्माण कार्यमा ढिलाई हुँदा दुर्गम क्षेत्रका नागरिक सरकारले प्रदान गर्ने स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ ।

पौवादुङमा गाउँपालिका, अरूण गाउँपालिका, साल्पासिलिछो गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकामा पाँचदेखि १५ वेडको अस्पताल शिलान्यास गरिएको छ । सात ओटामध्ये ६ ओटा अस्पतालको निमार्ण कार्य भई रहेको छ ।

रामप्रसादराई गाउँपालिकाको भने जग्गा अभावका कारण हाल ०८० असोज मसान्तसम्म पनि सम्पूर्ण काम अलपत्र अस्थामा छ । स्थानीय जग्गा दाताले जग्गा दिएको भए पनि अस्पतालको नाममा जग्गा ल्याउने काम भइरहेकाले अबको केही समयपछि निर्माण थालिने गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनु भयो ।

पौवादुङमा गाउँपालिकाको अस्पताल निमार्णको काम भने करिव ५० प्रतिशत सम्पन्न भएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनु भयो । ०७७ फागुन महिनामा ४ करोड ८१ लाख १४ हजार रुपियाँमा टेण्डर लागेको अस्पताल पाँच वेडको निमार्ण हुने प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले बताउनु भयो । हाल अस्पतालको दुई तला निमार्ण भई सकेको छ ।

साल्पासिलिछो गाउँपालिकामा ६ करोड ६५ लाख रुपियाँ लागतमा पाँच वेडको अस्पताल निर्माणको लागि ०७८ असार महिनामा टेण्डर प्रक्रियाबाट काम सुरू भएको गाउँपालिका अध्यक्ष दौलत कुलुङ राईले बताउनु भयो । कामको थालनी गरेर ठेकेदार सम्पर्कविहीन भएकाले  सम्पर्कका पत्र काटिएको प्रमुख प्रशासकीय अधिकृत माधवकुमार अधिकारीले बताउनु भयो । ०८० असोज मसान्तसम्म ठेकेदार सम्पर्कमा नआएको अधिकृत अधिकारीले बताउनु भयो ।

आमचोक गाउँपालिकामा १२ करोड ५० लाख रुपियाँ लागतमा १० वेडको अधारभूत स्वास्थ्य अस्पताल निमार्णको काम असोज समान्तसम्म ६० प्रतिशत सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले बताउनु भयो ।

केन्द्र सरकारले पाँच वेडको अस्पताल निर्माणका लागि निर्देशन दिएको भएपनि गाउँपालिकाका स्वास्थ्यको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाको आर्थिक साझेदारीमा १० वेडको अस्पताल निर्माणको काम शुरू गरिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनु भयो  । केन्द्र सरकारले समयमा बजेट नपठाउँदा भने निर्माण कार्यमा केही समस्या भएको अध्यक्ष राईले बताउनु भयो ।

हतुवागढी गाउँपालिकामा १६ करोड रुपियाँ लागतमा ०७८ असार महिनामा टेण्डर प्रक्रियामार्फत ३५ वेडको अस्पताल निमार्णको गरिएको छ । सङ्घीय सरकारको एक स्थानीय तह, एक आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्यक्रममा रहेर अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनु भयो । अस्पताल निर्माणको काम समयमा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइ रहेको अध्यक्ष राईको भनाइ छ ।

टेम्केमैयुङ गाउँपालिकामा असोज मसान्तसम्म १० प्रतिशत मात्र काम सम्पन्न भएको छ । निर्माण कम्पनीले पहिलो किस्ता बापतको रकम भुक्तानी लिइ सकेको छ । तोकिएको समयमा काम सम्पन्न गर्न ताकेता भइरहेको प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले बताउनु भयो । अरूण गाउँपालिकाको अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेका गाउँपालिका अध्यक्ष सालिकराम खत्रीले बताउनु भयो ।

षडानन्द नगरपालिकामा यसअघि नै १५ वेडको गान्धी मेमोरियल अस्पताल निर्माण भएकाले त्यसैबाट नागरिकलाई सेवा प्रदान गरिने भएकाले अस्पताल निर्माणको प्रक्रिया अघि नबढाएको मेयर सुरेन्द्र उदासले बताउनु भयो । भोजपुर नगरपालिकाकामा भने जिल्ला अस्पताल सञ्चालन भएकाले आधारभूत स्वास्थ्य अस्पतालको काम नगरिएको उपप्रमुख निर्मला शेर्पाले बताउनु भयो ।

जिल्लामा ६६ ओटा स्वास्थ्य चौकी, ११ ओटा आधारभूत स्वास्थ्य सेवा केन्द्र, तीन ओटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन ओटा सहरी स्वास्थ केन्द्र, सात ओटा, सात ओटा सामुदायिक स्वास्थ्य एकाई  र एक ओटा जिल्ला अस्पताल रहेको स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले बताउनु भयो ।

स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पताल निर्माण भइरहेको भएपनि सङ्घीय सरकारले  हामीसँग कुनै समन्वय नगरी सिधै स्थानीय तहसँग काम गर्ने भएकाले आफूलाई त्यस विषयमा कुनै जानकारी नभएको प्रमुख तिवारीको भनाइ छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार ०७७ मङ्सिर १५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ सय ७७ ओटा स्थानीय तहमा आधारभूत अस्पलातको शिलान्यास गर्नु भएको थियो । जस अन्तरगत जिल्लामा ६ ओटा स्थानीय तहमा शिलान्यास त भए तर अहिले बजेट अभावका कारण कतै निर्माण सम्पन्न हुन सकेको छैनन् । महालक्ष्मी नगरपालिकामा १५ शैयाको अस्पताल निर्माणको तयारी छ । तर भवनको जग हाल्ने बाहेक अन्य कामअघि बढ्न सकेको छैन । कहिले समयमा रकम न आउने त कहिले ठेकोदार कम्पनीको लापरबाहीका कारण समयमै ठेक्का लागेपनि काम भने सुस्त गतिमा भइरहेको छ । सम्झौता अनुसार गत ०८० असारमै निर्माण सम्पन्न भई यतिबेला अस्पताल सञ्चालन आउनु पर्ने हो तर अस्पतालको भवन भने जग हाल्ने काम बाहेक केही अघि नबढेको नगरपालिका प्रमुख ध्रुवराज रायले बताउनु भयो ।

छथर जोरपाटी गाँउपालिकाले पाँच शैयाको अस्पताल निर्माणको तयारी गरेको छ । तयारी अनुसार यो वर्षवाट अस्पताल सञ्चालन गर्ने गरी काम अघि बढेको थियो । तर आधाकाम सम्पन्न नहुँदै बजेट आउन रोकिएपछि भवन निर्माण कार्य नै अलपत्र भएको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताउनु भयो ।

साँगुरीगढी गाँउपालिकामा आधारभूत अस्पतालको लागि जग्गा प्राप्ति र डीपीआरबाहेक अरू केही काम अघि बढ्न सकेको छैन । अघिल्ला जनप्रतिनिधिले अस्पताल निर्माणको प्रक्रिया नबढाएकाले काममा ढिलाई भएको र अहिले सबै प्रक्रिया पुरा गरी स्वास्थ्य मन्त्रालयमा फाइल पठाइसकेको छ । तर मन्त्रालयवाट फाइल स्वीकृत भएर आइ नसकेकोले काम अघि बढ्न नसकेको गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईले बताउनु भयो ।

सरकारले एक साथ आधारभूत अस्पतालको शिलान्यास गरेको ३५ महिना बितेको छ । तर यो अवधिमा उपलब्धी भने लगभग शूण्य छ । चौबिसे गाँउपालिकामा भने ४० प्रतिशत काम भएको छ । आधा स्थानीय तह र आधार सङ्घीय सरकारले खर्चगर्ने गरी सम्झौता भएकाले काम गर्न असहज भएको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले बताउनु भयो ।

सहिदभूमि गाँउपालिका र पाख्रिवास नगरपालिकामा पनि आधारभूत अस्पतालको प्रगति निक्कै न्यून छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सबै स्थानीय तहमा आधारभूत अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था छ । स्वास्थ्यलाई छिटो छरितो तथा सर्वसुलभ बनाउन हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजना अनुसार स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो । तर अहिले आधारभूत अस्पताल स्थानीय तह र सरकारलाई निल्नु न ओकल्नु भएका छन् ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनसार जिल्लामा आधारभूत अस्पताल निर्माणका लागि पाँच ओटा अस्पतालको शिलान्यास गरिए पनि निर्माण कार्य भने अलपत्र अवस्थामा छ । आठराई गाउँपालिकामा १७ करोड १५ लाख रुपियाँको लागतमा ०७८ असारमा टेण्डर प्रक्रियाबाट १५ शैयाको अस्पताल शिलान्यास गरिएको भएपनि जग्गा लेनदेनमा विवाद भएपछि काम अघि बढ्न नसकेको आठराई गाउँपालिका-१ का वडाध्यक्ष पे्रमराज फोम्बोले बताउनु भयो ।

फेदाप गाउँपालिकामा १८ करोड रुपियाँको लागतमा टेण्डर गरी १५ शैयाको अस्पताल शिलान्यास गरिएको भएपनि समयमा बजेट निकासा नहुँदा काम अगाढी बढ्न नसकेको गाउँपालिका अध्यक्ष केशव भेट्वालले बताउनु भयो ।

मेन्छ्यायेम गाउँपालिकामा १२ करोड रुपियाँ लागतमा १० शैयाको अस्पताल शिलान्यास गरिएको अस्पताल सगरमाथा स्काइ कम्पनीमार्फत टेण्डर लागेर काम सुरू भएको भएपनि कहिले निर्माण सम्पन्न हुने सो कुराको टुङ्गो नभएको गाउँपालिकाका रोजगार संयोजक देवेन्द्र बस्नेतले बताउनु भयो ।

लालीगुराँस नगरपालिमा १८ करोड रुपियाँ लागतमा १५ शैयाको अस्पताल शिलान्यास गरिएको छ । जग्गाको समस्याले गर्दा अस्पताल निर्माणको लागि काम ०८० असोज समान्तसम्म सुरू नभएको लालीगुराँस नगरपालिकाका रोजगार संयोजक निलम कार्कीले बताउनु भयो ।

छथर गाउँपालिकामा १७ करोडको ६८ लाख रुपियाँमा १५ शैयाको अस्पताल शिलान्यास गरिएको र ०८१ साउन भित्र काम सम्पन्न गर्ने गाउँपालिका प्रवक्ता राजन नेपालीले बताउनु भयो । जिल्लामा शिलान्यास गरिएका अधिकांश आधारभूत अस्पताल निर्माण भन्दा बढी अलपत्र अवस्थामा रहेको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।

पाँचथर प्रतिनिधि इवारा जवेगु लिम्बूका अनुसार स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा पुर्याउन अस्पताल शिलान्यास गरिएको भएपनि जिल्लामा अस्पताल निर्माणको गति शूण्य छ । जिल्लाका आठ ओटा स्थानीय तहमध्ये सात ओटा स्थानीय तहमा १ देखि १५ शैयासम्मको आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास गरिएको थियो ।

तर, अस्पतालको निर्माण कार्य सम्पन्न नहुँदा अहिले पनि स्थानीय उपचारको लागि सदरमुकाम धाउनु पर्ने बाध्यता कायमै छ ।

तुम्वेवा गाउँपालिका अध्यक्ष बाबुराम खड्काले स्रोतको सुनिश्चितता कतै नदेखिएको र जग्गा प्राप्त गरेपनि अस्पतालको डीपीआर बमोजिम जग्गा अपर्याप्त भएकाले अस्पताल निर्माण कार्य ०८० असोज मसान्तसम्म अघि बढ्न नसकेको बताउनु भयो । अस्पताल निर्माणका लागि थप जग्गाका लागि समन्वय भइरहेको अध्यक्ष खड्काले बताउनु भयो ।

मिक्लाजुङ गाउँपालिकामा आधारभूत स्वास्थ्य अस्पतालको निमाण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताउनु भयो । निमार्णाधीन १५ शैयाको अस्पताल ०८२ वैशाखमा सकेर हस्तान्तरण गर्ने अध्यक्ष माखिमको भनाइ छ । भौगोलिक कठिनाइको कारण आवश्यक सामान ढुवानीमा समस्या भएका कारण अस्पताल निर्माणमा ढिलाइ भएको माखिमको भनाइ छ ।

फाल्गुनन्द गाउँपालिकामा ६ रोपनी जग्गामा पाँच शैयाको आधारभूत अस्पताल निर्माण कार्य जारी रहेको गाउँपालिका उपाध्यक्ष ठाकुरसिंह नेम्बाङले बताउनु भयो । फाल्गुनन्द गाउँपालिका-५ घुर्बिसे पञ्चमीमा निमार्णाधीन अस्पतालको ६४ प्रतिशत काम सम्पन्न भइसकेको उपाध्यक्ष नेम्बाङले बताउनु भयो । आगामी वर्षदेखि अस्पताल सञ्चालनमा आउने उपाध्यक्ष नेम्वाङ्गको भनाइ छ ।

याङवरक गाउँपालिकामा १५ शैयाको आधारभूत स्वास्थ्य अस्पताल निमार्णाधीन अवस्थामा रहेको गाउँपालिका अध्यक्ष भीमबहादुर योङया (सुवास) ले बताउनु भयो । याङ्वरक गाउँपालिका-४ थर्पुमा निर्माण हुँदै गरेको अस्पताल ०८० को अन्त्यसम्ममा समापन गरी सञ्चालनमा ल्याउने लक्ष्य रहेको अध्यक्ष योङयाको भनाइ  छ ।

हिलिहाङ गाउँपालिकामा पाँच वेडको आधारभूत स्वास्थ्य अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको र हाल ढलान भइरहेको गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारीले बताउनु भयो । हिलिहाङ गाउँपालिका-३ गोपेटारमा निर्माण हुँदै गरेको अस्पताल ०८० फागुन २८ गते समापन हुने अध्यक्ष अधिकारीले बताउनु भयो ।

फालेलुङ गाउँपालिकामा ११ करोड रुपियाँ लागतमा पाँच शैयाको आधारभूत स्वास्थ्य अस्पतालको निर्माण कार्य अन्तिम चरणमा पुगेको गाउँपालिका अध्यक्ष वीरविक्रम थाम्सुहाङले बताउनु भयो । नौ रोपनी जग्गामा निमार्णाधीन अस्पताल ०८० भित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष थाम्सुहाङको भनाइ छ । तर केन्द्र सरकारले समयमा वजेट नपठाउँदा निर्माण कार्यले समयमै गति लिन नसकेको गाउँपालिका अध्यक्ष थाम्सुहाङको भनाइ छ ।

कुम्मायक गाउँपालिकामा आधारभूत अस्पतालको निर्माण कार्य जारी रहेको गाउँपालिका उपाध्यक्ष महेन्द्रबहादुर खड्काले बताउनु भयो । कुम्मायक गाउँपालिका-१ यासोकमा निर्माण भइरहेको १५ शैयाको अस्पतालको लिप्ट बाहेकको भौतिक प्रगति ६० प्रतिशत सकिएको उपाध्यक्ष खड्काको भनाइ छ ।

इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्लामा आधारभूत अस्पताल निर्माणका लागि सात ओटा स्थानीय तहमा शिलान्यास गरिएको भएपनि अझैपनि अस्पताल निर्माणको कार्य निराशाजनक छ ।

माइजोगमाई, रोङ, चुलाचुली, फाकफोकथुम, र माङसेबुङ गरी पाँच ओटा गाउँपालिका साथै सूर्योदय र माई नगरपालिका गरी सात ओटा स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पातलको शिलान्यास गरिएको थियो । ती मध्ये सूर्योदय, माई र चुलाचुलीमा १५-१५ वेडको आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्य सम्पन्न भएर सेवा शुरु भएको एक वर्ष बितेको छ ।

माइजोगमाई गाउँपालिका-१ नयाँबजारमा १५ करोड रुपियाँमा तीन वर्षे ठेक्कामार्फत १५ वेडको आधारभूत स्वास्थ्य अस्पताल निर्माणको काम शुरू भएको डेढ वर्ष भयो । कामको प्रगति भने सुस्त छ । गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले सुरूआतमा सामान ढुवानीको समस्याले ढिलाइ भएपनि काम समयमा सक्नलाई अहिले ठेकेदारलाई ताकेता गरिएको बताउनु भयो ।

फाकफोकथुम गाउँपालिका-२ कोलभोटेमा १३ करोड ७९ लाख रुपियाँमा ३६ महिनामा निर्माण हुनेगरी ०७९ फागुन महिनामा १५ वेडको आधारभूत स्वास्थ्य अस्पतालको ठेक्का लागेको थियो । भौगोलिक रूपमा अफ्ठ्यारो ठाउँ भएकाले जेठसम्म खार्दै ठिक्क भएको र दशैँपछि धमाधम काम शुरू गर्ने गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले बताउनु भयो । फाकफोकथुम गाउँपालिकामा सडक र स्वास्थ्य दुवैको सहज पहुँच नहुँदा नागरिकलाई सास्ती छ । विरामी परेर उपचारमा सदरमुकामसम्म आउने सडक सञ्जालको व्यवस्थित निर्माण भएकोे छैन । वर्खामा यहाँका नागरिक स्थानीय तह छोडेर अन्यत्र जानसक्ने अवस्था नभएको स्थानीय बुद्धिसागर भण्डारीले बताउनु भयो ।

रोङ गाउँपालिका-५ मा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि स्थानीयले १५ रोपनी जग्गा निशुल्क उपलब्ध गराएको भएपनि अस्पताल निर्माणको काम शुरू हुन सकेको छैन । अस्पताल निर्माणमा ११ करोड रुपियाँ हाराहारी लागत लाग्ने तर मन्त्रालयले १९ लाख रुपियाँ मात्र बजेट छुट्याएकाले काम गर्न अलमल भएको अध्यक्ष मनिकुमार स्याङबो सुवासले बताउनु भयो । ‘चाडपर्वपछि एकपटक स्वास्थ्य मन्त्रालय गएर बजेट प्राप्तिको सुनिश्चितता भएपछि मात्र काम शुरू हुन्छ अध्यक्ष स्याङ्बोले भन्नुभयो ।

माङसेबुङ गाउँपालिका-५ लारुम्बामा अस्पताल बनाउन स्थानीयले आठ रोपनी जग्गा निशुल्क दान दिएर डीपीआरको काम सकेपनि मन्त्रालयले बजेट नदिँदा काम शुरू हुन नसकेको अध्यक्ष हेमन्त राईले बताउनु भयो । ‘यही काम लिएर मन्त्रालय धाएको पाँच पटक भयो । मन्त्रालयले बजेट अभावका नाममा भाका सारिरहन्छ ।’ हामीले दिएको जग्गामा अस्पताल कहिले बनिन्छ अध्यक्ष ज्यू ? भन्दै स्थानीयले प्रश्न गर्दा चुपचाप वस्नु पर्ने अवस्था रहेको छ, अध्यक्ष राईले भन्नुभयो । ‘माङसेबुङका नागरिक विरामी पर्दा सदरमुकाम पुग्न समेत टाढा छ ।’ स्थानीय रोहित राईले भन्नुभयो इलाम जानु र झापा पुग्नु हामीलाई उस्ताउस्तै हो ।’’ ज्वरो खाकी जस्ता समस्या त जडिबुटी खाएर निको हुन्छ, तर, जटिल रोग लागिहाल्दा ज्यान गुमाउनुको विकल्प छैन ।

सन्दकपुर गाउँपालिकामा १५ वेडको आधारभूत स्वास्थ्य अस्पताल १३ करोड १७ लाख ११ हजार ३५ सय रुपियाँमा ठेक्का मार्फत निमार्माधीन अवस्थामा रहेको अध्यक्ष तुलाराम गुरूङले बताउनु भयो । ‘तीन वर्षे ठेक्कामार्फत काम शुरू भएको दुई वर्ष बित्यो काम भने कछुवाको गतिमा छ । कारण मन्त्रालयले समयमा बजेट नदिएर हो ।’ उहाँले भन्नुभयो, ‘हालसम्म ग्राउण्ड लेभलको काम मात्र भएको छ ।’

जिल्लामा तीन ओटा सरकारी अस्पताल, ४४ ओटा स्वास्थ्य चौकी र चार ओटा प्राथमिक स्वास्थ्य केन्द्र छन् ।

सोलखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार जिल्लामा एकै साथ शिलान्यास गरिएका पाँच ओटामध्ये चार ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको प्रगति शून्य छ । सोताङ र महाकुलुङ गाउँपालिकामा १५ शैया तथा माप्यदूधकोशी, खुम्बु पासाङल्हामु र लिखुपिके गाउँपलिकामा पाँचपाँच शैयाको अस्पताल भवनको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अर्चुअल माध्यमबाट एकै साथ शिलान्यास गर्नु भएको थियो । जिल्लामा निमार्ण हुने पाँच ओटा अस्पतालमध्ये  महाकुलुङ गाउँपालिकाले भवन निमार्ण कार्य अन्तिम चरणमा  पुर्‍याएको छ । चार ओटा अस्पताल शिलान्यासमा नै सिमित भएको पाइएको छ ।

महाकुलुङ गाउँपालिका-१ बुङमा अस्पताल भवन निमार्ण कार्य करिब ९५ प्रतिशत सकिएको गाउँपालिका स्वास्थ्य संयोजक हरिप्रसाद आर्चायले बताउनु भयो । ०७९ असार १५ गतेबाट सुरू गरिएको अस्पताल निमार्णको काम ९५ प्रतिशत सकिएको गाउँपालिकाले जनाएको छ । सोताङ गाउँपालिका-५ को गैरीगाउँमा अस्पताल निमार्णका लागि जग खन्ने काम मात्रै भएको गाउँपालिका स्वास्थ्य संयोजक श्रीध्वज राईले बताउनु भयो ।

लिखुपिके गाउँपालिकामा डीपीआर तयार गर्ने काम मात्रै भएको गाउँपालिका अध्यक्ष मीना कार्कीले बताउनु भयो । खुम्बु पासाङल्हामुको चौरीखर्कमा र  माप्यदूधकोशीको खास्तवमा बन्ने भनिएको अस्पताल भवनको शिलान्यासमै सिमित भएको छ । जिल्लाका अधिकांश अस्पताल भवनको निर्माण कार्य बजेट अभावमा अघि बढ्न नसकेको स्थानीय तहले जनाएका छन् ।  पाँच शैयाको अस्पतालमा एक जना मेडिकल अफिसरसहित १२ जना स्वास्थ्यकर्मी, १० शैयाको अस्पतालमा दुई जना मेडिकल अफिसरसहित १७ जना स्वास्थ्यकर्मी र १५ शैयाको अस्पतालमा तीन जना मेडिकल अफिसरसहित २७ जना स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना रहेको थियो । १५ शैयाको अस्पताल निमार्ण लागि  १८ करोड ६८ लाख २० हजार रुपियाँ र पाँच शैयाको अस्पताल निमार्णका लागि ७ करोड १९ लाख रुपियाँ बजेट सङ्घीय सरकारले विनियोजन गरेको थियो ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा शिलान्यास गरिएका आधारभूत अस्पतालको निर्माण कार्यले गति लिएको छैन ।

स्थानीय सरकारको ढिलासुस्तीका कारण आधारभूत अस्पताल निर्माण ढिलाइ भएको सरोकारावाला निकायको आरोप छ । बाहृदशी गाउँपालिका अध्यक्ष देवेन्द्रप्रसाद चम्लागाईले १५ वेड अस्पताल स्वीकृत भएकोमा जग्गाको काम सकेर अस्पताल निमार्ण कार्य धमाधम भइरहेको बताउनु भयो । कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिँह राजवशीले १५ वेड आधारभूत अस्पतालको निर्माण कार्य आगामी वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको बतानु भयो । कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपानेले १५ वेड स्वीकृत भए पनि कहाँ बनाउने भन्ने छिनोफोनो नहुँदा निमार्ण कार्य शुरू हुन नसकेको बताउनु भयो । गौरीगञ्ज गाउँपालिकाका सूचना अधिकारी नारायण चदाराले १५ वेड आधारभूत अस्पताल निर्माण कार्य अन्तिम चरणमा रहेको बताउनु भयो । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले १५ वेड स्वीकृत गरी निर्माण कार्य हुँदै गरेको बताउनु भयो । हल्दीबारी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीदेवी मैनालीले १५ वेडको आधारभूत अस्पताल निर्माण सम्पन्न गरिएपनि अस्पताल सञ्चालनको स्रोत नहुँदा अस्पतालमा सेवा सञ्चालन गर्न नसकिएको बताउनु भयो । अर्जुनधारा नगरपालिकाले १५ वेडको आधारभूत अस्पताल निर्माण जारी राखेको नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले बताउनु भयो । मेचीनगर नगरपालिकाका .उपप्रमुख.मीना पोखरेल उप्रेतीले १५ वेड स्वीकृत भएर आधारभूत अस्पताल निर्माणको चरणमा रहेको बताउनु भयो । कनकाई नगरपालिकाका उपप्रमुख आशा शिवाकोटीले १५ वेड स्वीकृत भएर निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउनु भयो । दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईंले १५ वेड स्वीकृत निर्माण हुँदै गरेको बताउनु भयो । गौरादह नगरपालिकाका उपप्रमुख जलवर्षा राजवशीले १५ वेड स्वीकृत भएर निर्माणको चरणमा रहेको बताउनु भयो । शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्कीले १५ वेड स्वीकृत भएर निर्माणको चरणमा रहेको बताउनु भयो । विर्तामोड  नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले १५ वेडको आधारभूत अस्पताल निर्माण सम्पन्न भएर सुचारू भए पनि विधिवत रूपमा ठेकेदारबाट नगरपालिकालाई हस्तान्तरण नभएको बताउनु भयो ।

भद्रपुर नगरपालिकाका सूचना अधिकारी नेत्रप्रसाद पोखरेलले भद्रपुर नगरपालिका क्षेत्रमा मेची प्रादेशिक अस्पताल भएकोले नगर अस्पतालको स्वीकृत नभएको बताउनु भएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार सङ्घीय सरकारको नीति अनुसार तीन वर्ष अघि सात स्थानीय तहमा आधाभूत अस्पतालको शिलान्यास गरिएको थियो ।

जिल्लामा शिलान्यास भएका आधाभूत अस्पतालको निर्माण कार्य सकिएको छैन । अस्पताल निर्माण कार्य सम्पन्न नहुदाँ अहिले पनि स्थानीय उपचारका लागि सदरमुकाम धाउनु पर्ने बाध्यता उस्तै छ । नेपालको संविधान धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधार १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ । स्थानीय सरकारको ढिलासुस्तीका कारण आधारभूत अस्पताल निर्माण ढिलाई भएको सरोकारावाला निकायको गुनासो छ ।

सभापोखरी गाउँपालिकाले पाँच बेडको आधारभूत अस्पताल निर्माण ७५ प्रतिशत मात्र सम्पन्न भएको गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले बताउउनु भयो । सभापोखरीले आधारभूत अस्पालको पहिलो ढलान सम्पन्न भएसँगै  आधारभूत अस्पतालका लागि एक जना अधिकृतस्तरको स्वास्थ्यकर्मी नियुक्त गरेको उपाध्यक्ष चापागाईंको भनाइ छ ।

पाँचखपन नगरपालिकाले १० बेडको आधारभूत स्वास्थ्य अस्पताल निर्माण सुरु गरिए पनि निर्माण ब्यवसायीको लापरवाही कारण अलपत्र अवस्था रहेको पाँचखपन नगरपालिका प्रमुख  विपिन राईले बताउनु भयो ।  काम सुरु गरेर छाड्ने निर्माण ब्यवसायी सँग ठेक्का तोड्ने तयारी भइरहेको नगर प्रमुख राईले बताउनुभयो । भवन निर्माणका लागि नगरपालिकाले वानामा ११ लाख रुपियाँमा जग्गा खरिद गरेको छ । निर्माण कम्पनीको ढिलासुस्तीका कारण भवन निर्माण समयमा भएको नगर प्रमुख राईले बताउनु भयो ।

धर्मदेवी नगरपालिकामा पाँच बेडको अस्पताल निर्माणका लागि निशुल्क जग्गा प्राप्त गरी भवन निर्माण थालिएको धर्मदेवी नगरपालिका नगरप्रमुख उदयचन्द्र पौडेलले बताउनु भयो । चैनपुर नगरपालिकाले १५ बेडको आधारभूत अस्पताल निर्माण कार्य १० प्रतिशत सपन्न गरेको चैनपुर नगरपालिका नगर प्रमुख उपप्रमुख एलिना श्रेष्ठले बताउनुभयो । मादी नगरपालिकामा १५ बेडको आधारभूत स्वास्थ्य अस्पताल निर्माणका जग्गा प्राप्त गरी निर्माण कार्य सुरु भएको मादी नगरपालिका नगर प्रमुख जिवन लिङथेपले बताउनु भयो । समयमा जग्गा प्राप्ति नहुदाँ आधारभूत स्वास्थ्य अस्पताल निर्माणमा ढिला भएको लिङथेपको भनाइ छ । पाँच बेडको आधारभूत अस्पताल निर्माणका लागि चिचिला गाउँपालिकाले ढिला गरी जग्गा प्राप्त गरी काम सुरु गरिएको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पाले बताउनु भयो । भोटखोला गाउँपालिकाले पाँच बेडको आधारभूत अस्पतालको १० प्रतिशत काम सम्पन्न गरेको  भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बाउनु भयो । जिल्लामा जिल्ला अस्पताल एक ओटा,प्राथमिक स्वास्थ्य केन्द्र चार ओटा, स्वास्थ्य केन्द्र ३४ ओटा,सामुदायिक स्वास्थ्य इकाई २८ ओटा, आधारभूत स्वास्थ्य केन्द्र २९ ओटा, शहरी स्वास्थ्य केन्द्र १२ ओटा छन् ।


इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर