कोशी प्रदेशमा शिलान्यास गरिएका अधिकांश आधारभूत अस्पताल निर्माण अलपत्र

  ०८१ असोज २६ गते

सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी कोशी प्रदेशमा ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको भएपनि अधिकांश अस्पताल निर्माण अलपत्र अवस्थामा परेका छन् ।

नेपालको संविधान धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था छ । सोही धाराको उपधार १ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भन्ने व्यवस्था गरिएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ महामारीको पहिलो सङ्क्रमणमा नेपालमा पहिलो पटक ०७६ माघ ९ गते पुष्टि भएपछि सरकारले ०७६ चैत ११ गतेदेखि कोभिड नियन्त्रणका लागि देशव्यापी रूपमा लकडाउनको घोषणा गरेको थियो ।

कोभिड–१९ सङ्क्रमितहरूको सङ्ख्या प्रतिदिन बढिरहेको अवस्थामा आधारभूत स्वास्थ्य अधिकारबाट नागरिक वञ्चित भएपछि नेपाल सरकारले ०७७ मङ्सिर १५ गते देशभर ३ सय ९६ ओटा आधारभूत स्वास्थ्य अस्पतालको एक साथ शिलान्यास गरेको थियो ।

कोशी प्रदेशमा प्रदेशस्तरीय सरूवा रोग अस्पताल र १४ जिल्लामा ८६ ओटा आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो । ०७७ मङ्सिर १५ गते कोशी प्रदेशमा ८६ ओटा १ देखि १५ बेडसम्मको आधारभूत अस्पताल निर्माण गर्ने गरी शिलान्यास गरिएको थियो ।

आधारभूत स्वास्थ्य अधिकारसम्बोधन हुने गरी सरकारले ८६ ओटा अस्पतालको शिलान्यास गरेपनि आधारभूत स्वास्थ्य अस्पताल निर्माणले भने गति लिन सकेको छैन ।

झापामा १२ ओटा, पाँचथर, इलाम, सङ्खुवासभा र ओखलढुङ्गामा सात ओटा, भोजपुर र खोटाङमा ६–६ ओटा, तेहृथुम, सोलखुम्बु र सुनसरीमा पाँच-पाँच ओटा, धनकुटामा चार ओटा र मोरङमा १० ओटा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि शिलान्यास गरिएको छ ।

सङ्घीय सरकार र स्थानीय सरकारले निर्माण गर्ने गरी कोशी प्रदेश मा ८६ ओटा आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास गरिएको भएपनि अधिकांश अस्पताल निर्माण अलपत्र अवस्थामा छन् ।

पाँच  वेडको अस्पतालमा एक मेडिकल अफिसरसहित १२ जना स्वास्थ्यकर्मी, १० वेडको अस्पतालमा दुई जना मेडिकल अफिसरसहित १७ जना स्वास्थ्यकर्मी र १५ वेडको अस्पतालमा तीन जना मेडिकल अफिसरसहित २७ जना  स्वास्थ्यकर्मीको व्यवस्था गर्ने सरकारको योजना छ । १५ वेडको आधारभूत अस्पताल निमार्णका लागि रु १८ करोड ६८ लाख २० हजार रुपियाँ, पाँच वेडको अस्पताल निमार्णका लागि रु ७ करोड १९ लाख बजेट विनियोजन सरकारले गरेको थियो ।

नेपालको संविधान ०७२ को धारा ३५ मा स्वास्थ्यको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरिएको छ । सोही धाराको उपधारा १ मा प्रत्येक नेपालीलाई आधारभूूत स्वास्थ्य अधिकारको हक हुनेछ भनि व्यवस्था गरेको छ ।

तर, दीगो र प्रभावकारी ढङ्गले काम अघि नबढ्दा र बजेट अभाव भएका कारण आधारभूत अस्पताल निर्माण कोशी प्रदेशमा अलपत्र अवस्थामा छन् ।

कोशी प्रदेशमा आधारभूत अस्पताल निर्माणका विषयमा इन्सेकले गरेको अनुुगमनका क्रममा आधारभूत अस्पताल निर्माणले गति नलिएको इन्सेक अनुुगमनका क्रममा देखिएको छ ।

ओखलढुुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लाका दुई स्थानीय तहमा आधारभूत अस्पताल निर्माणको काम सुरु हुन सकेको छैन । निर्माण सम्पन्न भएका केही अस्पताल पनि सञ्चालनमा आउन सकेका छैनन् ।

मानेभञ्ज्याङ गाउँपालिकामा अस्पताल निर्माण कार्य अघि बढ्न सकेको छैन । अस्पताल निर्माण गर्ने भनिएको जग्गा डीपीआर अनुसार नमिलेपछि निर्माण कार्य अघि बढ्न सकेको थिएन । अहिले डीपीआर प्रक्रिया सकिएको र निर्माण कार्यको लागि टेन्डरमा गएको गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख विश्वराज दाहालले बताउनु भयो ।

मोलुङ गाउँपालिकामा अस्पताल निर्माण कार्य अघि बढ्न सकेको छैन । अस्पताल निर्माणको लागि प्राप्त भएको जग्गा र डिजाइनमा समस्या आएपछि निर्माण कार्य अघि बढ्न नसकेको हो । अब तिहार लगत्तै अस्पताल निर्माण कार्य अघि बढ्ने गाउँपालिका अध्यक्ष उत्तम राईले बताउनु भयो ।

लिखु गाउँपालिकामा अस्पताल निर्माण कार्य सम्पन्न भएपनि सञ्चालनमा आउन सकेको छैन । आवश्यक उपकरणहरु नहुँदा सञ्चालनमा आउन नसकेको स्वास्थ्य शाखाका प्रमुख दिनानाथ चौधरीले बताउनु भयो ।

चम्पादेवी गाउँपालिकामा भवन निर्माणको काम भइरहेको गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनिअर अहेब ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

जिल्लाको खिजिदेम्बा गाउँपालिकामा आधारभूत अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आईसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक इन्द्र प्रसाद गौतमले बताउनु भयो ।

चिसंखुगढी गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालनमा आएको छ । यस आर्थिक वर्षको साउन देखि अस्पताल सञ्चालनमा आएको स्वास्थ्य शाखा प्रमुख थिर प्रसाद भट्टराईले बताउनु भयो ।

सुनकोशी गाउँपालिकामा अस्पताल निर्माण कार्य भईरहेको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक नेत्र बहादुर कट्वालले बताउनु भयो । अस्पताल निर्माणको अन्तिम चरणमा पुगेको उहाँले बताउनु भयो ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्लामा सङ्घीय सरकारले ०७७ मङ्सिर १५ गते एकैसाथ शिलान्यास गरेको अस्पताल निमार्णको गति सुस्त रहेको इन्सेक अनुुगमनका क्रममा पाइएको छ । जिल्लामा पहिलो र दोस्रो चरण गरी ६ ओटा स्थानीय तहमा अस्पताल निमार्ण सुरु गरिएको थियो ।

बेलका नगरपालिका-६ को जंगल क्षेत्रमा १० वेडको अस्पताल भवन निमार्ण कार्य ०८१ असोज तेस्रो सातासम्म सकिएको छैन । सामुदायिक वनले दिएको मुद्दामा  अदालतबाट तत्काल भवन निमार्ण सुरु नगर्न अन्तरिम आदेश आएकाले समयमै निमार्ण कार्य नसकिएको नगर प्रमुख अशोक कार्कीले बताए ।

चौदण्डीगढी नगरपालिका–७ बेल्टारमा बन्दै गरेको १५ वेडको अस्पतालको निमार्ण कार्य ६० प्रतिशत मात्रै सकिएको छ । ८ कठ्ठा ऐलानी जग्गामा निमार्ण भइरहेको ३ तले भवनको दोस्रो तलाको ढलानको काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर श्रेष्ठले बताउनु भयो । ०८० असार मसान्तसम्म निमार्ण सम्पन्न गरिसक्ने गरी १३ करोड रुपियाँमा भवनको ठेक्का लागेको थियो । बजेट अभाव र विभिन्न प्राविधिक कारण देखाउँदै रोकिएको काम अहिले भइरहेको नगर प्रमुख कालुमान लामाले बताउनुु भयो ।

लिम्चुङबुङ गाउँपालिका–३ बाराहामा निमार्णाधीन पाँच वेडको अस्पताल भवन निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय लालबहादुुर कार्कीले १९ रोपनी जग्गा निशुल्क उपलब्ध गराएपछि अस्पतालको नाम नै एलबी कार्की स्मृति बाराहा अस्पताल राखिएको प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र गुरुङले बताए । भवन निमार्णको काम ८५ प्रतिशत सकिएको र सङ्घीय सरकारले दरबन्दी अनुसार स्वास्थ्यकर्मी पठाएपछि अस्पताल संचालनमा आउने गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताउनु भयो ।

ताप्ली गाउँपालिका–५ कटहरेमा पाँच वेडको अस्पताल भवन निमार्णको कामले गति लिन सकेको छैन । स्थानीयहरुले चन्दा संकलन गरी चक्रबहादुर हमालको १० रोपनी जग्गा खरीद गरेर स्थानीय तहलाई हस्तारन्तरण गरेका थिए । रौताहा कन्ट्रक्सनले ६ करोडमा ठेक्का लिएको भवनको पहिलो तल्लाको पर्खाल लगाउने काम भईरहेको गाउँपालिका अध्यक्ष ढुंगराज विश्वकर्माले बताउनुु भयो ।

उदयपुरगढी र रौतामाई गाउँपालिकामा १५ शैयाको अस्पताल निमार्णको काम ४० प्रतिशत आसपास सकिएको छ । त्रियुगा नगरपालिकामा भने त्रियुगा नगरपालिका–५ देउरीमा रहेको स्वास्थ्यचौकीलाई स्तरोन्नती गरि नगर अस्पताल बनाईएको छ । नगरप्रमुख बसन्त बस्नेतले एक कार्यक्रमका बिच ०८१ असोज ३ गते उद्घाटन गरेको नगर अस्पतालबाट ओपीडी., इमरजेन्सी, ल्यावका साथै केही बिशेषज्ञ सेवा दिइने जनस्वास्थ्य अधिकृत उपेन्द्र कार्कीले बताउनु भयो ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लाभित्र पाँच ओटा अस्पतालहरु शिल्यान्याश गरिएको थियो । लालीगुराँस नगरपालिकामा १५ वेडको अस्पताल शिल्यानाश गरिइको छ भने १८ करोड को लागतमा निर्माण हुदै छ । जग्गाको समस्याले गर्दा अस्पताल निर्माणको लागि काम सुचारु गर्नलाई ढिलो भएकोले टेन्डर मार्फत काम सुरु भएकोले  लालीगुराँस नगरपालिका  उपाध्यक्ष जमुना मगर कार्कीले बताउनु भयो ।

मेन्छायेयम गाउपालिका १२ करोडको लागतमा १० शैयाको अस्पतालहरु शिल्यानाश गरीएको छ । टेन्डर लागेको छ सगरमाथा स्काइ कम्पनी मार्फत काम अत्यन्तै ढिला भएको र तिन चोटी सम्म म्याद गाउँपालिकाका उपाध्यक्ष गीता देवी तिमसिना गौतमले बताउनु भयो ।

फेदाप गाउपालिका मा १८ करोडको लागतमा टेन्डर प्रकृयाबाट १५ शैयाको अस्पताल शिल्यानाश गरीएको र अहिले कामको अन्तिम चरणमा ६ महिना भित्रमा सम्पन हुने गाउपालिका अध्यक्ष केशव भेट्वालले बताए ।

छथर गाउपालिका मा १७ करोडको ६८ लाख को लागतमा  टेन्डर प्रकृयाबाट १५ शैयाको अस्पताल शिल्यानाश गरीएको र  अन्तिम अवस्थामा रहेको र गाउपालिका उपाध्यक्ष तारा ढकालले जानकारी दिनु भएको छ ।

आठराइ गाउपालिका मा १७ करोड १५ लाख को लागतमा असारमा टेन्डर प्रकृयाबाट १५ शैयाको अस्पताल शिल्यानाश गरीएको र जग्गा लेनदेनमा बिबाद भएको हुदा काममा ढिला हुन गएको गाउँ पालिकाका  उपाध्यक्ष वलिराज ईङनामले बताउनु भयो ।

इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्लामा आधारभूत अस्पताल निर्माणका लागि सात ओटा स्थानीय तहमा शिलान्यास गरिएको भएपनि अझैपनि अस्पताल निर्माणको कार्य निराशाजनक छ । माइजोगमाई, रोङ, चुलाचुली, फाकफोकथुम, र माङसेबुङ गरी पाँच ओटा गाउँपालिका साथै सूर्योदय र माई नगरपालिका गरी सात ओटा स्थानीय तहमा आधारभूत स्वास्थ्य अस्पातलको शिलान्यास गरिएको थियो । ती मध्ये सूर्योदय, माई र चुलाचुलीमा १५-१५ वेडको आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्य सम्पन्न भएर सेवा शुरु भएको एक वर्ष बितेको छ ।

माइजोगमाई गाउँपालिका–१ नयाँबजारमा १५ करोड रुपियाँमा तीन वर्षे ठेक्कामार्फत १५ वेडको आधारभूत स्वास्थ्य अस्पताल निर्माणको काम शुरू भएको दुई वर्ष भयो । कामको प्रगति भने सुस्त छ । गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले सुरूआतमा सामान ढुवानीको समस्याले ढिलाइ भएपनि काम समयमा सक्नलाई अहिले ठेकेदारलाई ताकेता गरिएको बताउनु भयो ।

फाकफोकथुम गाउँपालिका–२ कोलभोटेमा १३ करोड ७९ लाख रुपियाँमा ३६ महिनामा निर्माण हुनेगरी ०७९ फागुन महिनामा १५ वेडको आधारभूत स्वास्थ्य अस्पतालको ठेक्का लागेको थियो । भौगोलिक रूपमा अफ्ठ्यारो ठाउँ भएकाले काममा ढिला भएको गाउँपालिका अध्यक्ष दीपेन्द्र खनालले बताउनु भयो । फाकफोकथुम गाउँपालिकामा सडक र स्वास्थ्य दुवैको सहज पहुँच नहुँदा नागरिकलाई सास्ती छ । विरामी परेर उपचारमा सदरमुकामसम्म आउने सडक सञ्जालको व्यवस्थित निर्माण भएकोे छैन । वर्खामा यहाँका नागरिक स्थानीय तह छोडेर अन्यत्र जानसक्ने अवस्था नभएको स्थानीय बुद्धिसागर भण्डारीले बताउनु भयो ।

रोङ गाउँपालिका–५ मा आधारभूत स्वास्थ्य अस्पताल निर्माणका लागि स्थानीयले १५ रोपनी जग्गा निशुल्क उपलब्ध गराएको भएपनि अस्पताल निर्माणको काम शुरू हुन अझै सकेको छैन । अस्पताल निर्माणमा ११ करोड रुपियाँ हाराहारी लागत लाग्ने तर मन्त्रालयले १९ लाख रुपियाँ मात्र बजेट छुट्याएकाले काम गर्न अलमल भएको अध्यक्ष मनिकुमार स्याङबो सुवासले बताउनु भयो । ‘चाडपर्वपछि एकपटक स्वास्थ्य मन्त्रालय गएर बजेट प्राप्तिको सुनिश्चितता भएपछि मात्र काम शुरू हुन्छ अध्यक्ष स्याङ्बोले भन्नुभयो ।

माङसेबुङ गाउँपालिका–५ लारुम्बामा अस्पताल बनाउन स्थानीयले आठ रोपनी जग्गा निशुल्क दान दिएर डीपीआरको काम सकेपनि मन्त्रालयले बजेट नदिँदा काम शुरू हुन नसकेको अध्यक्ष हेमन्त राईले बताउनु भयो । ‘यही काम लिएर मन्त्रालय धाएको पाँच पटक भयो । मन्त्रालयले बजेट अभावका नाममा भाका सारिरहन्छ ।’ हामीले दिएको जग्गामा अस्पताल कहिले बनिन्छ अध्यक्ष ज्यू ? भन्दै स्थानीयले प्रश्न गर्दा चुपचाप वस्नु पर्ने अवस्था रहेको छ, अध्यक्ष राईले भन्नुभयो । ‘माङसेबुङका नागरिक विरामी पर्दा सदरमुकाम पुग्न समेत टाढा छ ।’ स्थानीय रोहित राईले भन्नुभयो इलाम जानु र झापा पुग्नु हामीलाई उस्ताउस्तै हो ।’’ ज्वरो खोकी जस्ता समस्या त जडिबुटी खाएर निको हुन्छ, तर, जटिल रोग लागिहाल्दा ज्यान गुमाउनुको विकल्प छैन ।

सन्दकपुर गाउँपालिकामा १५ वेडको आधारभूत स्वास्थ्य अस्पताल १३ करोड १७ लाख ११ हजार ३५ सय रुपियाँमा ठेक्का मार्फत निमार्माधीन अवस्थामा रहेको अध्यक्ष तुलाराम गुरूङले बताउनु भयो । ‘तीन वर्षे ठेक्कामार्फत काम शुरू भएको तीन वर्ष नै बित्यो । काम भने कछुवाको गतिमा छ । कारण मन्त्रालयले समयमा बजेट नदिएर हो ।’ उहाँले भन्नुभयो, ‘हालसम्म ग्राउण्ड लेभलको काम मात्र भएको छ ।’ जिल्लामा तीन ओटा सरकारी अस्पताल, ४४ ओटा स्वास्थ्य चौकी र चार ओटा प्राथमिक स्वास्थ्य केन्द्र छन् ।

सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार सङ्घीय सरकारको बजेटबाट ०७७ साल मङ्सिर १५ गते  शिलान्यास भएका जिल्लाका चार ओटा अस्पताल शिलान्यासमै सीमित भएका  छन ।  जिल्लाको विभिन्न स्थानमा सङ्घीय सरकारले एकै पटक शिलान्यास गरेको पाँच ओटा अस्पताल भवनमध्ये चार ओटाको कार्य अघि बढ्न नसकेको हो ।

जिल्लाको सोताङ र महाकुलुङ गाउँपालिकामा १५ शैया तथा माप्यदुधकोशी, खुम्बु पासाङ ल्हामु र लिखुपिके गाउँपलिकामा ५÷५ शैयाको अस्पताल भवनको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अर्चुअल माध्यमबाट एकै साथ शिलन्यास गर्नुभएको थियो । सो समयमा देशभर गरेर ३ सय ९६ ओटा अस्पतालको एक साथ शिलन्यास गरिएको थियो । जिल्लामा निमार्ण हुने पाँच ओटा अस्पतालमध्ये  माहाकुलुङ गाउँपालिकामा भवन निमार्णको काम अन्तिम चरणमा पुुगेको छ । अन्य चार ओटा अस्पताल शिलान्यासमा नै सिमित भएको इन्सेक अनुगमनका क्रममा पाइएको छ ।  महाकुलुङ गाउँपालिका १ को बुङमा अस्पताल भवन निमार्ण सम्पन्न भएको छ । खुम्बु पासाङ ल्हामुको चौरीखर्कमा र  माप्यदुधकोशीको खास्तवमा बन्ने भनिएको अस्पताल भवनको शिलान्यासमै सिमित भएको छ । जिल्लाका अधिकांश अस्पताल भवनको निर्माण कार्य बजेट अभावमा अघि बढ्न नसकेको स्थानीय तहले जनाएका छन् ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुुसार जिल्लामा आधारभूत स्वास्थ्य अस्पतालको काम सुस्त गतिमा छ ।  जिल्लामा कतिपय स्थानीय तहमा गरिएका शिलान्यासमै सिमित भएका छन् भने कतिपय भवन निर्माण सुरु भएर अलपत्र अवस्थामा छ । जिल्लाका नौ ओटा स्थानीय तहमध्ये सात ओटा स्थानीय तहमा पाँच देखि १५ बेडसम्मको आधारभूत स्वास्थ्य अस्पताल शिलान्यास गरेर काम भई रहेका छन् ।

सङ्घीय सरकारले सहज रूपमा स्वास्थ्य सेवा दिने उद्देश्यले आधारभूत स्वास्थ्य अस्पतालको शिलान्यास गरे पनि निर्माण कार्यमा ढिलाई हुँदा दुर्गम क्षेत्रका नागरिक सरकारले प्रदान गर्ने स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ ।

पौवादुङमा गाउँपालिका,अरूण गाउँपालिका,साल्पासिलिछो गाउँपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिकामा पाँच देखि १५ बेडको अस्पताल शिलान्यास गरिएको छ ।  सात ओटा मध्ये ६ ओटा अस्पतालको निमार्ण कार्य भई रहेको छ । रामप्रसादराई गाउँपालिकाको भने जग्गा अभावका कारण हाल सम्म पनि सम्पूर्ण काम अलपत्र अस्थामा रहेको जानकारी दिएको छ । स्थानीय जग्गा दाताले जग्गा दिएको भए पनि अस्पतालको नाममा जग्गा ल्याउने काम भइरहेकाले अवको केही समयपछि निर्माण थालिने गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनु भयो ।

अरुण गाउँपालिकाको पनि अस्पताल निर्माणको काम अन्तिम चरणमा  पुगेका गाउँपालिका अध्यक्ष सालिकराम खत्रीले बताउनुभयो । भवन फिनिसिङको केही काम बाँकी रहेकाले काम सम्पन्न पश्चात उदघाटन गरिने उहाँले बताउनुभयो ।

पौवादुङमा गाउँपालिकाको अस्पताल निमार्णको काम भने करिव ७० प्रतिशत सम्पन्न भएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनु भयो । यो अस्पताल ०७७ फागुन महिनामा ४ करोड ८१ लाख १४ हजार रुपियाँमा टेण्डर लागेको अस्पताल पाँच बेडको निमार्ण हुने प्रमुख प्रशासकीय अधिकृत नविन भट्टराईले बताउनु भयो ।

साल्पासिलिछो गाउँपालिकामा ६ करोड ६५ लाख रुपियाँ लागतमा पाँच बेडको अस्पताल निर्माणको लागि ०७८ असार महिनामा टेण्डर प्रक्रियाबाट काम सुरू भएको गाउँपालिका अध्यक्ष दौतथकुलुङ राईले बताउनु भयो । कामको थालनी गरेर ठेकेदार सम्पर्कविहीन भएकाले हाल सम्म पनि सम्पर्कमा नआएको उहाँले बताउनुभयो ।

आमचोक गाउँपालिकामा १२ करोड ५० लाख रुपियाँ लागतमा १० बेडको अधारभूत स्वास्थ्य अस्पताल निमार्णको काम हालसम्म अनुमानित ८० प्रतिशत काम सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले बताउनु भयो ।

केन्द्र सरकारले पाँच बेडको अस्पताल निर्माणका लागि निर्देशन दिएको भए पनि गाउँपालिकाकोे स्वास्थ्यको अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाको आर्थिक साझेदारीमा १० बेडको अस्पताल निर्माणको काम शुरू गरिएको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनु भयो  ।

हतुवागढी गाउँपालिकामा १६ करोड रुपियाँ लागतमा ०७८ असार महिनामा टेण्डर प्रक्रियामार्फत १५ बेडको अस्पताल निमार्णको गरिएको छ । सङ्घीय सरकारको एक स्थानीय तह, एक आधारभूत स्वास्थ्य अस्पताल निर्माण कार्यक्रममा रहेर अस्पताल निर्माण गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताउनु भयो । अ अधारभूत स्वास्थ्य अस्पताल निमार्णको काम हालसम्म अनुमानित ३५ प्रतिशत काम सम्पन्न भएको अध्यक्ष राईको भनाइ छ ।

त्यस्तै टेम्केमैयुङ गाउँपालिकामा पनि अस्पताल निमार्णका काम १० प्रतिशत मात्र सम्पन्न भएको छ । निर्माण कम्पनीले पहिलो किस्ता बापतको रकम भुक्तानी लिइ सकेको छ । तोकिएको समयमा काम सम्पन्न गर्न ताकेता भइरहेको प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताउनु भयो ।

भोजपुर नगरपालिकाकामा भने जिल्ला अस्पताल सञ्चालन भएकाले आधारभूत स्वास्थ्य अस्पतालको काम नगरिएको उपप्रमुख  निर्मला शेर्पाले बताउनु भयो । षडानन्द नगरपालिकामा यसअघि नै १५ बेडको गान्दी मेमोरियल अस्पताल निर्माण भएकाले त्यसैबाट नागरिकलाई सेवा प्रदान गरिने भएकाले अस्पताल निर्माणको प्रक्रिया अघि नबढाएको मेयर सुरेन्द्र उदासले बताउनु भएको छ ।


इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर