कोशी प्रदेशमा राज्य र अन्य पक्षबाट मानव अधिकार विरूद्धका घटनामा वृद्धि

  ०८० फागुन १६ गते

सन् २०२२ को तुलनामा सन् २०२३ मा कोशी प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।

इन्सेकले ०८० फागुन ७ गते सार्वजनिक गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा कोशी प्रदेशमा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा वृद्धि भएको तथ्याङ्कमा देखिन्छ । सन् २०२३ मा कोशी प्रदेशमा राज्य पक्षबाट १ सय १६ जना नागरिकको मानव अधिकार उल्लङ्घन भएको छ ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का तथ्याङ्क अनुसार राज्य पक्षबाट गिरफ्तारीका घटनामा चार जना महिला र ६४ जना पुरूष गरी ६८ जना, कुटपिटबाट घाइते घटनामा तीन जना महिला र १८ जना पुरूष गरी २१ जना, धम्कीको घटनामा एक जना पुरूष, हत्या घटनामा तीन जना पुरूष, कारागारमा मृत्यु घटनामा ६ जना पुरूष, कुटपिटको घटनामा तीन जना महिला र चार जना पुरूष गरी सात जना, भेला, अभिव्यक्ति तथा सङ्गठित हुने अधिकारको घटनामा एक जना महिला र आठ जना पुरूष गरी नौ जना र अमानवीय व्यवहारको घटनामा १२ जना महिला र १ सय ४ जना पुरूष गरी १ सय १६ जना नागरिक राज्यबाट पीडित भएका छन् ।

सोही अवधिमा कोशी प्रदेशमा अन्य पक्षबाट १ हजार ३ सय ३० जना महिला र ९५ जना पुरूष गरी १ हजार ४ सय २५ जना पीडित भएका छन् । सन् २०२३ मा कोशी प्रदेशमा राज्य पक्ष र अन्य पक्षबाट गरी १ हजार ५ सय ५१ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनामा पीडित भएका छन् ।

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ का अनुसार कोशी प्रदेशमा राज्य पक्षबाट एक जना महिला र ५१ जना पुरूष गरी ५२ जना र अन्य पक्षबाट ८ सय ९ जना महिला र १ सय ९ जना पुरूष गरी ९ सय १८ जना पीडित भएका थिए । सन् २०२२ र सन् २०२३ मा कोशी प्रदेशमा राज्य पक्ष र अन्यबाट भएका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीमा घटनामा वृद्धि भएको पाइएको छ ।

सन् २०२२ मा भन्दा सन् २०२३ मा कोशी प्रदेशमा राज्य पक्षबाट ६४ जना र अन्य पक्षबाट ५ सय ७ जना नागरिकको मानव अधिकार उल्लङ्घन तथा ज्यादती भएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ मा उल्लेख छ ।

सन् २०२२ मा कोशी प्रदेशमा अन्य पक्षबाट ९ सय १८ जना पीडित भएकामा सन् २०२३ मा अन्य पक्षबाट भएका घाइते घटनामा १९ जना, बाल अधिकार उल्लङ्घनका घटनामा ३ सय ३६ जना, अपहरण घटनामा एक जना, महिला अधिकारका घटनामा ९ सय २६ जना, धम्कीका घटनामा ६ जना, जातीय विभेदका घटनामा तीन जना, हत्याका घटनामा ६० जना, कुटपिटका घटनामा ६६ जना, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका घटनामा एक जना, भेला, अभिव्यक्ति तथा सङ्गठित हुने अधिकारको घटनामा एक जना र अमानवीय व्यवहारका घटनामा ६ जना गरी १ हजार ४ सय २५ जना पीडित भएका छन् ।

Photo 20240228 Morang

ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार सन् २०२३ मा जिल्लामा ४२ जना मानव अधिकारविरूद्धका घटनामा पीडित भएका छन् । राज्य पक्षबाट गिरफ्तारीका घटनामा दुई जना पुरूषसहित अन्य पक्षबाट भएका मानव अधिकार ज्यादतीका घटनामा ३५ जना महिला, पाँच जना पुरूष गरी ४२ जना पीडित भएका हुन् । सन् २०२२ मा अन्य पक्षबाट १९ जना महिला र तीन जना पुरूष गरी २२ जना पीडित भएका थिए । सन् २०२३ मा जिल्लामा अन्य पक्षबाट कुटपिटका घटनामा दुई, घाइते घटनामा चार, हत्याका घटनामा तीन र धम्कीको घटनामा एक जना पीडित भएका छन् । बाल अधिकारविरूद्धको घटनामा बलात्कार घटनामा आठ जना पीडित भएका छन् । महिला अधिकारविरूद्धका घटनामा घरेलु हिंसामा १७ र बलात्कार घटनामा पाँच गरी २२ जना महिला पीडित भएका छन् ।

सङ्गखुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार सन् २०२३ मा जिल्लामा ५२ जना मानव अधिकारविरूद्धका घटनामा पीडित भएका छन् । राज्य पक्षबाट कुटपिटका घटनामा एक जना पुरूष र हत्याका घटनामा दुई जना पुरूषसहित अन्य पक्षबाट भएका मानव अधिकार ज्यादतीका घटनामा ४२ जना महिला, सात जना जना पुरूष गरी ४९ जना पीडित भएका हुन् । सन् २०२२ मा अन्य पक्षबाट ४३ जना महिला र तीन जना पुरूष गरी ४६ जना पीडित भएका थिए । सन् २०२३ मा जिल्लामा अन्य पक्षबाट कुटपिटका घटनामा पाँच, हत्याका घटनामा चार जना पीडित भएका छन् । बाल अधिकारविरूद्धको घटनामा बलात्कार घटनामा आठ जना र यौन दुर्व्यवहार घटनामा दुई जना पीडित भएका छन् । महिला अधिकारविरूद्धका घटनामा घरेलु हिंसामा २३ र बलात्कार घटनामा सात गरी ३० जना महिला पीडित भएका छन् ।

सोलुखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार सन् २०२३ मा जिल्लामा ४९ जना मानव अधिकारविरूद्धका घटनामा पीडित भएका छन् । अन्य पक्षबाट भएका मानव अधिकार ज्यादतीका घटनामा ४५ जना महिला, चार जना जना पुरूष गरी ४९ जना पीडित भएका हुन् । सन् २०२२ मा अन्य पक्षबाट २४ जना महिला र दुई जना पुरूष गरी २६ जना पीडित भएका थिए । सन् २०२३ मा जिल्लामा अन्य पक्षबाट कुटपिटका घटनामा सात, हत्याका घटनामा एक जना पीडित भएका छन् । बाल अधिकारविरूद्धको घटनामा बलात्कार घटनामा नौ जना र यौन दुर्व्यवहार घटनामा चार जना पीडित भएका छन् । महिला अधिकारविरूद्धका घटनामा घरेलु हिंसामा २६ जना र बलात्कार घटनामा दुई जना गरी २८ जना महिला पीडित भएका छन् ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाँका अनुसार सन् २०२३ मा जिल्लामा ४८ जना मानव अधिकारविरूद्धका घटनामा पीडित भएका छन् । सन् २०२२ मा अन्य पक्षबाट ५४ जना महिला र तीन जना पुरूष गरी ५७ जना पीडित भएका थिए । सन् २०२३ मा जिल्लामा अन्य पक्षबाट हत्या घटनामा तीन जना, जातीय विभेदका घटनामा एक जना पीडित भएका छन् । बाल अधिकारविरूद्धको घटनामा बलात्कार घटनामा पाँच जना र यौन दुर्व्यवहार घटनामा सात जना पीडित भएका छन् । महिला अधिकारविरूद्धका घटनामा घरेलु हिंसामा २५ र बलात्कार घटनामा आठ जना गरी ३३ जना महिला पीडित भएका छन् ।

खोटाङ्ग प्रतिनिधि तारानाथ फुयलका अनुसार सन् २०२३ मा जिल्लामा ६५ जना मानव अधिकारविरूद्धका घटनामा पीडित भएका छन् । सन् २०२२ मा राज्य पक्षबाट पाँच जना पुरूष, अन्य पक्षबाट ३१ जना महिला र चार जना पुरूष गरी ४० जना पीडित भएका थिए । सन् २०२३ मा जिल्लामा राज्य पक्षबाट गिरफ्तारीका घटनामा पाँच जना र अन्य पक्षबाट कुटपिटका घटनामा १५ जना, अमानवीय व्यवहारका घटनामा एक जना, हत्या घटनामा दुई जना र धम्कीको घटनामा दुई जना पीडित भएका छन् । बाल अधिकारविरूद्धको घटनामा बलात्कार घटनामा तीन जना र यौन दुर्व्यवहार घटनामा १५ जना पीडित भएका छन् । महिला अधिकारविरूद्धका घटनामा घरेलु हिंसामा १९ र यौन दुर्व्यवहारका घटनामा तीन जना गरी २२ जना महिला पीडित भएका छन् ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार सन् २०२३ मा जिल्लामा १ सय १६ जना मानव अधिकारविरूद्धका घटनामा पीडित भएका छन् । सन् २०२२ मा अन्य पक्षबाट ८८ जना महिला र १३ जना पुरूष गरी १ सय १ जना पीडित भएका थिए । सन् २०२३ मा जिल्लामा राज्य पक्षबाट गिरफ्तारीका घटनामा चार जना र अन्य पक्षबाट कुटपिटका घटनामा आठ जना र हत्याका घटनामा पाँच जना पीडित भएका छन् । बाल अधिकारविरूद्धको घटनामा बलात्कार घटनामा एघार जना र यौन दुर्व्यवहार घटनामा एक जना पीडित भएका छन् । महिला अधिकारविरूद्धका घटनामा घरेलु हिंसामा ८५ र यौन दुर्व्यवहारका घटनामा दुई जना गरी ८७ जना महिला पीडित भएका छन् ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार सन् २०२३ मा जिल्लामा १ सय १९ जना मानव अधिकारविरूद्धका घटनामा पीडित भएका छन् । सन् २०२२ मा राज्य पक्षबाट गिरफ्तारीका घटनामा १२ जना र कुटपिटका घटनामा एक जना पीडित भएका थिए । अन्य पक्षबाट ६९ जना महिला र ६ जना पुरूष गरी ७५ जना पीडित भएका थिए । सन् २०२३ मा जिल्लामा राज्य पक्षबाट गिरफ्तारीका घटनामा १८ जना र अन्य पक्षबाट कुटपिटका घटनामा तीन जना, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारका घटनामा एक जना र अमानवीय व्यवहारका घटनामा दुई जना पीडित भएका छन् । बाल अधिकारविरूद्धको घटनामा वालविवाहको घटनामा एक जना, बलात्कार घटनामा पाँच जना र यौन दुर्व्यवहार घटनामा एक जना पीडित भएका छन् । महिला अधिकारविरूद्धका घटनामा कथित बोक्सी आरोपमा एक जना, घरेलु हिंसामा ७४ जना, बलात्कारका घटनामा आठ जना र बलात्कार प्रयासका घटनामा एक जना गरी ८४ जना महिला पीडित भएका छन् ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार सन् २०२३ मा जिल्लामा २४ जना मानव अधिकारविरूद्धका घटनामा पीडित भएका छन् । सन् २०२२ मा अन्य पक्षबाट १४ जना महिला र पाँच जना पुरूष गरी १९ जना पीडित भएका थिए । सन् २०२३ मा जिल्लामा अन्य पक्षबाट कुटपिटका घटनामा एक जना, अमानवीय व्यवहार घटनामा एक जना, घाइते एक जना र हत्याका घटनामा दुई जना पीडित भएका छन् । बाल अधिकारविरूद्धको घटनामा बलात्कार घटनामा पाँच जना पीडित भएका छन् । महिला अधिकारविरूद्धका घटनामा घरेलु हिंसामा १२ जना, बलात्कारका घटनामा एक जना र र बलात्कार प्रयासका घटनामा एक जना गरी १४ जना महिला पीडित भएका छन् ।

पाँचथर प्रतिनिधि ईवारा जवेगु लिम्बूका अनुसार सन् २०२३ मा जिल्लामा ३६ जना मानव अधिकारविरूद्धका घटनामा पीडित भएका छन् । सन् २०२२ मा अन्य पक्षबाट ३५ जना महिला र नौ जना पुरूष गरी ४४ जना पीडित भएका थिए । सन् २०२३ मा जिल्लामा राज्य पक्षबाट कुटपिटका घटनामा एक जना र अन्य पक्षबाट हत्याका घटनामा दुई जना पीडित भएका छन् । बाल अधिकारविरूद्धको घटनामा बलात्कार घटनामा ६ जना र यौन दुर्व्यवहार घटनामा सात जना पीडित भएका छन् । महिला अधिकारविरूद्धका घटनामा घरेलु हिंसामा १३ जना, बलात्कारका घटनामा ६ जना र र बलात्कार प्रयासका घटनामा एक जना गरी २० जना महिला पीडित भएका छन् ।

इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार सन् २०२३ मा जिल्लामा ४६ जना मानव अधिकारविरूद्धका घटनामा पीडित भएका छन् । सन् २०२२ मा अन्य पक्षबाट ३९ जना महिला र एक जना पुरूष गरी ४० जना पीडित भएका थिए । सन् २०२३ मा जिल्लामा राज्य पक्षबाट गिरफ्तारीका घटनामा नौ जना पीडित भएका छन् । अन्य पक्षबाट हत्याका घटनामा दुई जना, अमानवीय व्यवहार घटनामा एक जना, हत्या घटनामा चार जना र धम्कीको घटनामा एक जना पीडित भएका छन् । बाल अधिकारविरूद्धको घटनामा बलात्कार घटनामा १४ जना र यौन दुर्व्यवहार घटनामा एक जना पीडित भएका छन् । महिला अधिकारविरूद्धका घटनामा घरेलु हिंसामा दुई जना, बलात्कारका घटनामा आठ जना र बलात्कार प्रयासका घटनामा तीन जना गरी १३ जना महिला पीडित भएका छन् ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार सन् २०२३ मा जिल्लामा १ सय ९० जना मानव अधिकारविरूद्धका घटनामा पीडित भएका छन् । सन् २०२२ मा अन्य पक्षबाट १ सय ९३ जना महिला र एघार जना पुरूष गरी २ सय ४ जना पीडित भएका थिए । सन् २०२३ मा जिल्लामा राज्य पक्षबाट गिरफ्तारीका घटनामा पाँच जना, कारागारमा मृत्यु दुई जना, घाइतेको घटनामा दुई जना पीडित भएका छन् । अन्य पक्षबाट हत्याका घटनामा सात जना र जातीय विभेदका एक जना पीडित भएका छन् । बाल अधिकारविरूद्धको वेचविखन तथा ओसारपसार घटनामा एक जना, विद्यालयमा दिइने यातनाको घटनामा एक जना, बलात्कारका घटनामा ६८ जना र यौन दुर्व्यवहार घटनामा दुई जना बालकसहित २७ जना पीडित भएका छन् । महिला अधिकारविरूद्धका घटनामा घरेलु हिंसामा २१ जना, बलात्कारका घटनामा ४५ जना, बलात्कार प्रयासका घटनामा नौ जना र यौन दुर्व्यवहारका घटनामा एक जना गरी ७६ जना महिला पीडित भएका छन् ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार सन् २०२३ मा जिल्लामा १ सय २९ जना मानव अधिकारविरूद्धका घटनामा पीडित भएका छन् । सन् २०२२ मा राज्य पक्षबाट गिरफ्तारीका घटनामा दुई, कुटपिटबाट घटनामा पाँच, हिरासतमा मृत्यु एक, कारागारमा मृत्यु तीन र कुटपिटबाट घाइते घटनामा ६ जना पीडित भएका थिए । अन्य पक्षबाट अपहरण घटनामा दुई जना, कुटपिटका घटनामा सात जना र हत्या घटनाबाट १७ जना पीडित भएका थिए । महिला अधिकार र बाल अधिकारविरूद्धका घटनामा गरी ९९ जना पीडित भएका थिए । सन् २०२३ मा जिल्लामा राज्य पक्षबाट गिरफ्तारीका घटनामा ३४ जना, कारागारमा मृत्यु चार जना, अमानवीय व्यवहारको घटनामा एक जना, घाइते १९ जना, हत्या घटनामा एक जना र धम्कीको घटनामा एक जना गरी ६० जना पीडित भएका छन् । अन्य पक्षबाट कुटपिटका घटनामा १३ जना, अमानवीय व्यवहार घटनामा एक जना, घाइते ११ जना, हत्या घटनामा आठ जना र जातीय विभेदको घटनामा एक जना पीडित भएका छन् । बाल अधिकारविरूद्धको वेचविखन तथा ओसारपसार घटनामा दुई जना, बलात्कार घटनामा १० जना र यौन दुर्व्यवहारका घटनामा दुई जना गरी १४ जना पीडित भएका छन् । महिला अधिकारविरूद्धका वेचविखन तथा ओसारपसार घटनामा दुई जना, घरेलु हिंसामा १३ जना, बलात्कार घटनामा पाँच जना, बलात्कार प्रयास घटनामा एक जना र यौन दुव्र्यवहार घटनामा एक जना गरी २१ जना पीडित भएका छन् ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार सन् २०२३ मा जिल्लामा १ सय ३६ जना मानव अधिकारविरूद्धका घटनामा पीडित भएका छन् । सन् २०२२ मा अन्य पक्षबाट भएका घटनामा १ सय २ जना पीडित थिए । सन् २०२३ मा जिल्लामा राज्य पक्षबाट कुटपिटको घटनामा एक जना महिला पीडित भएकी छन् । अन्य पक्षबाट अपहरणको घटनामा एक जना, हत्या घटनामा आठ जना र धम्कीको घटनामा दुई जना पीडित भएका छन् । बाल अधिकारविरूद्धको वालविवाह घटनामा एक जना, वेचविखन तथा ओसारपसार घटनामा दुई जना, विद्यालयमा दिइने शारिरीक सजायको घटनामा एक जना, बलात्कार घटनामा ४५ जना र यौन दुर्व्यवहार घटनामा ९ जना गरी ५८ जना पीडित भएका छन् । महिला अधिकारविरूद्धका घरेलु हिंसामा ३२ जना, बलात्कार घटनामा ३१ जना, बलात्कार प्रयास घटनामा एक जना गरी ६४ जना पीडित भएका छन् ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार सन् २०२३ मा जिल्लामा ४ सय ९१ जना मानव अधिकारविरूद्धका घटनामा पीडित भएका छन् । सन् २०२२ मा राज्य पक्षबाट गिरफ्तारीका घटनामा ६ जना, घाइते घटनामा एक जना, हत्या घटनामा एक जना र सङ्गठित हुने अधिकारविरूद्धको घटनामा चार जना गरी १२ जना पीडित भएका थिए । अन्य पक्षबाट घाइते घटनामा एक जना, हत्या घटनामा नौ जना, बाल अधिकारविरूद्धका घटनामा १६ जना र महिला अधिकारविरूद्धका घटनामा १० जना गरी ३८ जना पीडित भएका थिए । सन् २०२३ मा जिल्लामा राज्य पक्षबाट कुटपिटको घटनामा चार जना पीडित भएका छन् । अन्य पक्षबाट कुटपिटको घटनामा १० जना, घाइते तीन जना र आठ जनाको हत्या गरिएको छ । बाल अधिकारविरूद्धको वालविवाह घटनामा चार जना, वेचविखन तथा ओसारपसार घटनामा तीन जना, बलात्कार घटनामा ४३ जना र यौन दुर्व्यवहार घटनामा चार जना गरी ५४ जना पीडित भएका छन् । महिला अधिकारविरूद्धको वेचविखन तथा ओसारपसार प्रयास घटनामा एक जना, घरेलु हिंसामा ३ सय ७९ जना, बलात्कार घटनामा २५ जना, बलात्कार प्रयास घटनामा सात जना गरी ४ सय १२ जना पीडित भएका छन् ।


इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर