कोशी प्रदेशमा मनसुनजन्य विपदका कारण चार अर्ब बढीको नोक्सान, १८ ओटा सामुदायिक विद्यालय भवनमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।
कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले बाढीपहिरोबाट प्रदेशमा भौतिक संरचना र पूर्वाधारमा ४ अर्ब ६३ करोड रुपियाँ बढीको क्षति भएको भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले बताउनु भयो ।
कोशी प्रदेशमा ०८१ असोज १० गतेको मनसुनजन्य विपदका कारण आएको बाढीपहिरोले ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको हो ।
भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका आंशिक क्षति पुगेका पूर्वाधार निर्माण गर्न १ अर्ब २ करोड ५० लाख रुपियाँ र ‘पूर्ण क्षति भएका पूर्वाधार निर्माण गर्न ३ अर्ब ६१ करोड रुपियाँ लाग्ने प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
कोशी प्रदेशका पाँच जिल्लाका दश ओटा स्थानीय तहमा रहेका १८ ओटा विद्यालयमा बाढीपहिरोका कारण क्षति पुगेको छ । ११ ओटा आधारभूत विद्यालय र सात ओटा माध्यमिक विद्यालयमा बाढीपहिरोले क्षति पुर्याएको छ ।
कोशी प्रदेशमा पाँचथरमा ६ ओटा, मोरङमा एक ओटा, खोटाङमा एक ओटा, उदयपुरमा एक ओटा र तेहृथुममा एक ओटा गरी १० स्थानीय तहमा रहेका विद्यालयमा क्षति पुगेको छ ।
बाढीपहिरोले कतिपय विद्यालय पूर्ण रूपमा क्षति पुगेको र केही विद्यालयमा आंशिक क्षति पुगेको शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले बताउनु भयो ।
कोशी प्रदेशबाट ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनुसुनजन्य विपदका कारण ०८१ असोज १८ गतेसम्मको अवधिमा बाढीपहिरोका कारण देशभर १ सय ५० भन्दा बढी विद्यालयमा क्षति पुगेको शिक्षा मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले बताउनु भयो । बाढीपहिरोका कारण विद्यालयमा क्षति पुग्दा कोशी प्रदेशमा कम्तीमा २७ हजार बालबालिकाको पठनपाठनमा प्रत्यक्ष असर परेको छ ।
सोलुखुम्बु प्रतिनिधि अञ्जुु कार्कीका अनुुसार ०८१ असोज १० देखी १२ गते सम्म परेको अविरल वर्षातले हिमाली जिल्ला सोलुखुम्बुका ४ वटा विद्यालयमा क्षति पुर्याएको छ । अविरल वर्षात पछि झरेको पहिरोले जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका भित्रका ४ वटा विद्यालयमा पहिरोले क्षति पुर्याएको हो । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका अनुसार गाउँपालिकाको कालिका माध्यमिक विद्यालय पन्चनमा पहिरोले क्षति पुर्याएको हो । उक्त विद्यालयको मुनिबाट पहिरो जाँदा खेलमैदानमा क्षति भएको जनाइएको छ । यस्तै पहिरोले जिवन ज्योति मावि नेलेको समेत खेलमैदान भत्काइदिएको छ । दुधकोशीका मावि रणेमको विद्यालय भवन माथिबाट पहिरो जाँदा सामान्य क्षति र जोखिम रहेको कार्यालयका प्रा.स प्रकाण्ड न्यौपानेले बताउनुभयो । यस्तै गाउँपालिकाको वडा नम्बर ९ स्थित जनता मावि जोखिमको छात्रावास माथिबाट झरेको पहिरोले छात्रवास जोखीममा परेको कार्यालयले जनाएको छ । कृषि क्षेत्रमा झण्डै २५ लाखको क्षति भएको छ । ३ दिन सम्म परेको अविरल वर्षातले जिल्लाको ५ सय ४७ हेक्टर क्षेत्रफलमा लगाएको अन्नबालीमा क्षति पुर्याउँदा २४ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको हो । कृषि ज्ञान केन्द्र सोलुखुम्बुका अनुसार बाढीले जिल्लाको माप्य दुधकोशी गाउँपालिकामा सबैभन्दा धेरै क्षति पुर्याएको छ । जिल्लमा १ सय ६३ दशमलव २ हेक्टर क्षेत्रफलमा लगाइएको धान, ३ सय ३ हेक्टर क्षेत्रफलमा लगाइएको कोदो, ७६ हेक्टर क्षेत्रफलमा लगाइएको तराकारी, २ हेक्टरमा लगाइएको अलैँची, ४ हेक्टरमा लगाइएको दलहन बाली बाढीबाट नष्ट भएको छ । यो क्षति मध्ये बाढीले माप्य दुधकोशी गाउँपालिकामा मात्रै बाढीले ९ लाख ७० हजार रुपैयाँ बराबरको अन्न बालीमा क्षति पुर्याएको छ । गाउँपालिकाको वडा नम्बर ७ मा २ हेक्टर क्षेत्रफलमा लगाएको अलैँचीमा बाढी पस्दा १ मेट्रिक टन अलैँची नष्ट भएको जनाइएको छ । उक्त अलैँचीमा क्षति हुँदा किसानलाई २ लाख बढीको क्षति भएको छ । यस्तै सोही वडाको १ सय ५२ हेक्टर हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा बाढी पहिरोले क्षति गराउँदा झण्डै ८० हजार बराबरको नोक्सान भएको छ । ७ नम्बर वडाकै किसानको ३ सय २ हेक्टर क्षेत्रफलको कोदामा बाढी पहिरो पस्दा ८५ हजार, ७६ हेक्टर क्षेत्रफलमा लगाइएको तरकारी बाली क्षति हुँदा ५ लाख ४० हजार बराबरको नोक्सान भएको छ । यस्तै सोही स्थानमा ४ हेक्टर क्षेत्रफलमा लगाइएको दलहनबालीमा बाढी पस्दा ६५ हजार रुपैयाँ बराबरको अनुमानित क्षति भएको कार्यालयले जनाएको छ । यता नेचासल्यान गाउँपालिकाको वडा नम्बर ३ र ४ का किसानले लगाएको ५ दशमलव २ हेक्टर क्षेत्रफलको धानबालीमा बाढी पस्दा १० मेट्रिक टन धान अर्थात ६ लाख ७० हजार बराबरको क्षति भएको छ । यस्तै सोताङ गाउँपालिकामा ५ हेक्टरको धान खेतीमा बाढी पस्दा ८ मेट्रिक टन धान अर्थात ५ लाख ६० हजार बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका प्रमुख दुर्गा बहादुर तिरुवाले बताउनुभयो । सोताङ गाउँपालिकाकै २ र ३ नम्बर वडामा कोदामा बाढी पस्दा २ लाख ५० हजार बराबरको क्षति भएको छ ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार कोशी प्रदेशमा अविरल वर्षापछि आएको बाढी पहिरोलगायतका विपदमा परी मृत्यु भएका २२ मध्ये आठ जनाका परिवारले प्रदेश सरकारबाट जनही १ लाख रुपियाँका दरले राहत रकम पाएका छन् । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रबक्ता विश्वदीप बेश्राले ०८१ कात्तिक दोस्रो सातामा आठ जनाले मात्रै राहत रकम प्राप्न गरेको बताउनु भयो । राहत रकमका लागि जिल्ला प्रशासन कार्यालयले सिफारिस गर्नुपर्ने भए पनि धेरैजसोको सिफारिस नआएका आठ जना मृतकका परिवारलाई मात्रै राहत प्रदान गरिएको वेश्राले बताउनु भयो । राहत पाउनेहरूमा धनकुटाका एक, पाँचथरका ६ र उदयपुरका एक जना मृतकका परिवार छन् । मोरङको रंगेली नगरपालिका –३ मा आगलागीबाट घर जलेका २१ परिवारले राहत पाएका छन् । २१ परिवारले ५० हजार रुपियाँका दरले राहत रकम पाएका हुन् ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा प्राकृतिक विपद्का कारण घर, विद्यालय, स्वास्थ्य चौकी लगायतको भौतिक संचरनामा क्षति पुगेको छ । ०८१ जेठ २८ गतेदेखि ०८१ असोज १४ गतेसम्मको अवधिमा जिल्लामा बाढी, पहिरोलगायत पानीजन्य प्रकोप भई जनधनको क्षति पुगेको हो । वर्षाले साल्पासिलिछो गाउँपालिकामा सबै भन्दा बढी क्षति भएको छ । बढीले गोथेबजारदेखी नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक, साल्पासिलिछो गाउँपालिका–१ मा रहेको गाँैडेनी पुल, साल्पासिलिछो गाउँपालिका–३ मा पर्ने इर्खुवा खोला लघु जल विद्युत आयोजना, साल्पासिलिछो गाउँपालिका–५ र ६ को दोभाने फेदी सडकमा र भमला ढाँडगाउँ पुलमा क्षति भएको गाउँपालिकाले जनाएको छ । साल्पासिलिछो गाउँपालिका–४ मा निर्माणाधीन याक्सा नागदह मोटरेवल पक्की पुलमा पनि क्षति पुगेको छ । बाढीका कारण जिल्लाका २ सय ८८ ओटा घरमा क्षति पुगेको छ । १ सय ६६ घरपरिवारको मकैबाली हावाहुरीले नष्ट गरिदिएको छ । यहाँका विस्तापित परिवारको तथ्याङ्क सङ्कलनको कायए ०८१ कात्तिकको दोस्रो सातापनि जारी रहेको गाउँपालिकाले जनाएको छ । बाढीले जिल्लाका चार ओटा पुलमा क्षति पुगेको छ । एक स्वास्थ्य चौकी भवन र दुई ओटा प्रहरी चौकी भवनमा सामान्य क्षति पुगेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर वस्नेतले बताउनु भएको छ ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा मनसुनजन्य प्राकृतिक विपद्का कारण जिल्लाका विभिन्न स्थानमा ४३ घर परिवार विस्थापित र २० घर गोठ भत्किएको तथ्याङ्क सङ्कलन गरिएको छ । मनसुनजन्य प्रकोपमा विस्थापित भएका १३ परिवार मध्ये चार ओटा परिवारलाई नगद १५ हजार रुपैयाँ र पाँच ओटा परिवारलाई नगद २० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गरिएको छ । सभापोखरी गाउँपालिकाले तीन घर परिवार र पाँचखपन नगरपालिकाले तीन घर परिवारलाई खाद्यान्न,भाडार्वतन र लत्ता कपडा वितरण गरेको छ । मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु र ६ जना घाइते भएका थिए । ०८१ असारमा पहिरोका कारण मकालु गाउँपालिका पाँच जनाको मृत्यु भएको थियो । उत्तर दक्षिण कोशी राजमार्ग अन्तरर्गतको सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका जोड्ने एकुवा खोलाको पक्की पुल बगाउँदा करोडौँको क्षति भएको थियो । गत असारको पहिलो सातामुसलधारे वर्षापछि आएको बाढी पहिरोले एकुवा खोलाको पक्की पुल बगाएको हो । पहिरोले इकुवा खोलाको २० मिटर लामो पक्की पुल र पिलर सहित बगाउँदा ४ करोड रुपियाँ बढीको क्षति भएको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ । बाढीपहिरोबाट जिल्लामा ६ ओटा मोटरेवल पुलमा समेत क्षति पुगेको छ । बाढी पहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मुहान र विद्युत पोलमा क्षति पुगेको छ । त्यस्तै गरी ०८१ जेठ २१ गते वर्षासँगै आएको बाढी पहिरोले भोटखोला –४ स्थित छोङराङमा माथिल्लो अरुण आयोजनाको पहुँच मार्गको क्याम्प र दुई वटा गाडी समेत पहिरोले क्षति पुर्याएको थियो । पहिरोले भोटखोला –४ स्याक्सिलागोलामा आधारभूत स्वास्थ्य चौकी,स्वास्थ्य उपकरण क्षति हुँदा लाखौं रुपैयाँ क्षति भएको छ । त्यस्तैगरी पहिरोले भोटखोला –४ मा निर्माणाधीन पाँच शैयाको अस्पताल पुरिएको छ । बाढी पहिरोका कारण करिव ४० करोड रुपियाँ बराबरको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको अनुमान छ ।
ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा ०८१ असोज १० गतेदेखि १३ गतेसम्मको मनसुनजन्य प्राकृतिक विपद्का कारण १३ करोड ७५ लाख ४६ हजार रुपियाँ बराबरको क्षति भएको पाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले उक्त क्षतिको विवरण सार्वजनिक गरेको हो । जसमा मानवीय क्षति एक जना र दुई जना घाइते भएका छन् । निजि आवास तर्फ ५१ ओटा पूर्ण, १ सय ३३ आंशिक र ४ सय १३ ओटा जोखिमयुक्त छन् । कृषि तर्फ बाली तथा जमिन कटान १ सय ७३ हेक्टर क्षेत्रफलमा क्षति भएको छ । जिल्लाका विभिन्न २५ भित्री सडकमा क्षति पुगेको छ । पुल/साँघु पूर्ण र आंशिक गरि आठ ओटा छन् । सिंचाई कुलो १३, खानेपानी १५,जलविद्युत आयोजना एक ओटा र सार्वजनिक भवन २७ ओटामा क्षति भएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समिति संयोजक डाक्टर नारायण ढकालले बताउनु भयो । जिल्लाको आठ स्थानीय तहमध्ये तीन ओटा स्थानीय तह बाढी पहिरोका कारण विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएका छन् । सरकारको निर्णय अनुसार ती तीन वटा स्थानीय तहले ५०/५० लाख राहत अनुदान पाउने जिल्ला विपद व्यवस्थापन समिति ओखलढुंगाले जनाएको छ ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुुसार जिल्लामा ०८१ असोज १० गतेदेखिको मनसुनजन्य विपद्का कारण माध्यमिक विद्यालय झखर्क रौतामाई–१, क्याप्टेन पर्शुराम पद्मा राई माध्यमिक विद्यालय बलम्ता, अन्नपूर्ण आधारभूत विद्यालय लिम्चुङबुङ, खाटमन्दिर आधारभूत विद्यालय त्रियुगा–८, धर्म थापा आधारभूत विद्यालय रौतामाई–८ र प्रभावकारी माध्यमिक विद्यालय बेलका–५ को विद्यालय भवनमा क्षति पुगेको छ । प्राकृतिक विपदले कृषि, खानेपानी, निजी आवास, सडक, पुल, बिजुली, पशु–चौपाया, सञ्चार तथा अन्य संरचनामा ठूलो क्षति भएको छ । विपत्तिका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार खेतीयोग्य जमिनमा कटानी, खानेपानी, आपूर्तिमा समस्या, निजी आवास क्षतिग्रस्त भएको, सडक, पुल, विद्युत् आपूर्ति तथा सञ्चार प्रणालीमा समस्या आएको छ । विपत्मा परेर बेलका नगरपालिका र रौतामाई गाउँपालिकामा गरेर दुई जनाले ज्यान गुमाएका छन् । त्रियुगा नगरपालिका ६, कटारी नगरपालिकामा एक, बेलकामा एक र चौदण्डीगढीमा १० गरि १८ ओटा घरमा पूर्ण रूपमा क्षति पुगेको छ । ४५ ओटा घरमा आशिंक क्षति पुगेको छ । बाढीले उदयपुर र खोटाङ जोड्ने धाप्लाङघाटको झोलुङ्गेपुल र बंगुवा–धारे जोड्ने झोलुङगे पुल पूर्ण रूपमा बगाएको छ । यस्तै बाक्सिखोप चुहार पुलमा आशिंक रूपमा क्षति पुगेको छ । वांशिलाघाट–गाईघाट तथा भण्डारेघाट पुलमा आशिंक क्षति पुगेको छ । साथै उदयपुर र खोटाङको मेरुदण्डको रूपमा रहेको फोक्सिङटारको पक्कीपुल समेत पूर्ण रुपमा बगाउँदा २१ करोड ७२ लाख रुपियाँ बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनु भयो । कृषितर्फ कटारीमा १८ दशमलव ३ हेक्टर, बेलकामा २ सय ८३ दशमलव ६ हेक्टर, ताप्लीमा ६ हेक्टर र लिम्चुङबुङमा १ सय ३० हेक्टर क्षेत्रफलमा क्षति पुग्दा ८० लाख ३६ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।
मनसुनजन्य विपत्कै कारण त्रियुगामा १५, कटारीमा दुई, बेलकामा चार, चौदण्डीगढीमा ६, उदयपुरगढीमा चार, रौतामाईमा तीन, ताप्लीमा एक र लिम्चुङबुङको एउटा खानेपानी योजनामा क्षतिपुग्दा १ करोड २५ लाख रुपियाँ बराबरको नोक्सान भएको छ । विपदका कारण त्रियुगामा १२, कटारीमा आठ, चौदण्डीगढीमा सात, उदयपुरगढीमा ११, रौतामाईमा ५७ र ताप्लीमा चार ओटा विद्युत पोलमा क्षति हुँदा २१ लाख २० हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । विपदबाट प्रभावितहरुलाई जिल्ला प्रशासन कार्यालयले ज्यान गुमाएका परिवारलाई २ लाखका दरले पाँच जनालाई १० लाख रुपियाँ उपलब्ध गराएको छ । बाढी प्रभावित २६ परिवारलाई राहत उपलब्ध गराइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार जिल्लामा विपद्जन्य जोखिमका कारण आवास संरचना भत्किएकाहरूलाई तत्काल आवास निर्माणका लागि जिल्ला विपद् व्यवस्थापन समितिले निर्णय गरेको छ । ०८१ कात्तिक ७ गते जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा १६ को व्यवस्था अनुुसार जिल्ला विपद व्यवस्थापन समितिको बैठकले तत्काल मनसुनजन्य प्राकृतिक प्रकोप प्रभावितहरूलाई आवास निर्माणका लागि प्रति परिवार १ लाख रुपियाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी मीना अर्यालले बताउनु भयो । जिल्लामा ०८१ असोज ८ गते देखि १२ गतेसम्म भएको अविरल वर्षाका कारणबाट पहिरोबाट घर पुरै नष्ट भएका व्यक्तिका लागि तत्काल आवास निर्माणका लागि प्रति परिवार १ लाख रुपियाँ उपलब्ध गराइने भएको छ ।
खोटाङ प्रतिनिधि तारानाथ फुयलका अनुसार जिल्लामा ०८१ असोज १० गतेदेखि असोज १८ गतेसम्मको मनसुनजन्य विपदमा दुई जना घाइते भएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ का ६५ वर्षीय दलबहादुर विक र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ का नौ वर्षीय बालक शिशिर विक घाइते भएको प्रहरीले जनाएको छ । पहिरोका कारण २७ ओटा घरमा पूर्ण क्षति भएको छ । २७ घरका १ सय १९ जना विस्थापित भएको जिल्ला समन्वय समितिका प्रमुख सनवहादुर राईले बताउनु भयो । मनसुनजन्य विपदका कारण कोपिलासगढी गाउँपालिकाको गङ्गाजमुना आधारभूत विद्यालयमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले वताउनु भयो । पहिरोका कारण विद्यालय भवन चर्किएर जीर्ण भएको छ । बाढीका कारण विद्यालय भवनमा क्षति पुगेको छ । जिल्लामा मनसुनजन्य विपदका कारण यस करोड बढीको अन्ववालीमा क्षति भएको कृषि ज्ञान केन्द्रका प्रमुख हरीनाराण राईले बताउनु भयो ।
इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार ०८१ असोज ८ देखि १२ सम्म भएको भारी वर्षापछिको बाढी–पहिरोले काबेली कोरिडोरका चार विद्युत् पोलमा क्षति गर्दा मेची पहाडका विद्युत् आयोजनाको उत्पादन नष्ट भयो । इलामको महमाईमा माई खोलाको कटानका कारण १३२ केभी प्रसारण लाइनको काबेली कोरिडोरका दुई विद्युत् पोल ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित विद्युत् आयोजनाको उत्पादन खेर गएको थियो । तत्काल १३३ केभी प्रसारण लाइन मर्मत गरेर विद्युत् सेवा सञ्चालन गरिएको नेपाल विद्युत् प्राधिकरण इलाम शाखा प्रमुख बिजलीप्रसाद यादवले बताउनुभयो ।
काबेली कोरिडोरको विद्युत् पोलमा क्षति भएपछि इलाममा रहेका १६, पाँचथरका दुई र ताप्लेजुङका सात विद्युत् आयोजनाको उत्पादन प्रसारण हुन नसक्दा आयोजनाहरूले पनि करोडौ रुपैयाँको क्षति बेहार्नुपर्यो । ‘अहिले प्रतिमेगावाट एक लाख १५ हजार रुपैयाँ क्षति भएको छ,’ एक आयोजनाका कर्मचारीले भन्नुभयो, ‘विपद् हो, केही भन्ने अवस्था त छैन तर आयोजनाले पनि यो विपदबाट ठूलो आर्थिक क्षति बेहोर्नुपरेको छ ।’
काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डमा पर्ने ५०, ५१, ५२ र ५३ नम्बर टावरलाई माई नदीको बाढीले क्षति गरेको दुहवी ग्रिडका प्रमुख रोशन खड्काले बताउनुभयो । खड्काका अनुसार बाढीले ५१ र ५२ नम्बर टावरमा पूर्ण क्षति गरेको छ । ५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको छ ।
‘क्षति त धेरै ठूलो छ । यसलाई कहिलेसम्ममा पुनर्निर्माण गर्न सकिन्छ भन्ने समय पनि यकिन गर्न सकिँदैन । चाँडोभन्दा चाँडो निर्माण सक्ने तयारीमा छौं,’ खड्काले भन्नुभयो, ‘पोलमा भएको क्षतिबाट तीन जिल्लाका सबै आयोजनाको उत्पादन खेर गएको छ । यसबाट कति आर्थिक क्षति भयो भन्ने त हिसाब नै गर्नुपर्ने अवस्था छ ।’
हाल जिल्लामा पहिलो जस्तो सहज विद्युत उपयोग गर्न नपाएको ग्राहकको गुनासो छ । ‘ठुलो क्षति भएर काम चलाउ विद्युत जस्तो छ ।’ फिक्कलका प्रमोद सापकोटाले भन्नुभयो,‘ छिनछिनमा बत्ति जान्छ । काम गर्न हैरान बनायो ।’
भारी वर्षापछिको बाढी–पहिरोले जिल्लाको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारको खानेपानी मुहान बगाउँदा यहाँका एक हजार ६ सय परिवारलाई एक साता खानेपानीको हाहाकार भयो । ०८१ जेठ २८ गते सुरुआत भएको मनसुन पुन ०८१ असोज १० गतेदेखि सक्रिय हुँदा भारी वर्षाका कारण पानीको मुहान क्षेत्र सूर्योदय ननगरपालिका–१ स्थित श्रीखोलामा पहिरो जाँदा ५ सय मिटर मुख्य पाइपलाइन र सडक बगाएको थियो ।
नेपालको संविधानको मौलिक हकको धारा ३५ को उपधारा ४ अनुसार प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइको हक हुनेछ भनि उल्लेख गरिएको भएपनि यहाँका नागरिक खानेपानीबाट वञ्चित हुनु पर्यो ।
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…