कोशी प्रदेशमा मनसुनजन्य विपद्ः चार अर्ब बढीको भौतिक संरचनामा क्षति, ६ स्थानीय तह सङ्कटग्रस्त घोषणा

  ०८१ असोज २२ गते

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण  ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको छ ।

कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले बाढीपहिरोबाट प्रदेशमा भौतिक संरचना र पूर्वाधारमा ४ अर्ब ६३ करोड रुपियाँ बढीको क्षति भएको भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले बताउनु भयो ।

कोशी प्रदेशमा ०८१ असोज १० गतेको मनसुनजन्य विपदका कारण आएको बाढीपहिरोले ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा क्षति पुगेको हो ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका आंशिक क्षति पुगेका पूर्वाधार निर्माण गर्न १ अर्ब २ करोड ५० लाख रुपियाँ र ‘पूर्ण क्षति भएका पूर्वाधार निर्माण गर्न ३ अर्ब ६१ करोड रुपियाँ लाग्ने प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

photo 202401007 Morang
कोशी प्रदेशमा बाढीपहिरोका कारण भएको भौतिक स‌ंरचना क्षतिका विषयमा जानकारी दिँदै प्रदेश सरकारका पूर्वाधार मन्त्री भूपेन्द्र राई ।

बाढीपहिरोका कारण आंशिक क्षति पुगेको पूर्वाधारलाई तत्कालै मर्मत गरी सञ्चालनको तयारी भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।

कोशी प्रदेशमा बाढीपहिरोका कारण ६० ओटा सडक, १५ ओटा सडक पुल, १७ ओटा झोलुङ्गे पुलमा आंशिक क्षति पुगेको छ ।

उदयपुर र खोटाङ जोड्ने पक्की पुलको वैकल्पिक व्यवस्था गरिएको छ । मेची राजमार्ग अन्तरगत इलाममा भासिएर मर्मतमा समस्या भएको सडकको पनि वैकल्पिक सडकमार्फत आवत-जावतको व्यवस्था मिलाउने प्रयास कोशी प्रदेश सरकारले जनाएको छ ।

दशैँ मनाउन प्रदेशका कुनै पनि जिल्लाका बासिन्दालाई आवत-जावतमा समस्या नहुने गरी व्यवस्थापनको काम थालिएको भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राईको भनाइ छ ।

कोशी प्रदेशमा मनसुनजन्य विपदमा १४ जनाले ज्यान गुमाउनुका साथै १ हजार ३ जना घाइते र आठ जना बेपत्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कोशी प्रदेशमा असोज १० गतेदेखि १३ गतेसम्मको निरन्तर वर्षापछिको बाढी पहिरोका कारण १९ ओटा घर पूर्ण रुपमा क्षति, ५८ ओटा घर आशिंक रुपमा क्षति,६ ओटा सरकारी कार्यालयमा क्षति, चार ओटा सवारी साधनमा क्षति, १३ ओटा पुलमा क्षति हुनका साथै ४ सय ९ घरका १ हजार ६ सय ५० जना विस्थापित हुनु परेको छ ।

बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई कोशी प्रदेश सरकारले १ लाख रुपियाँ राहत दिने निर्णय गरेको छ । प्रदेश विपद् कार्यकारी समितिको असोज १३ गतेको बैठकले प्रदेश विपद् ऐन अनुसार प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका परिवारलाई तत्काल १ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका प्रवक्ता विश्वदीप वेस्राले जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा मृतकका परिवारलाई १ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ । बैठकले घर पूर्ण क्षति भएका परिवारलाई ५० हजार रुपियाँ, आशिंक क्षति भएका परिवारलाई ३० हजार रुपियाँ र सामान्य क्षति भएका परिवारलाई १५ हजार रुपियाँ राहत दिने भएको छ ।

कोशी प्रदेशका १४ ओटै जिल्ला बाढीपहिरोबाट प्रभावित भएका छन् । बाढीपहिरोमा परी इलाममा एक जनाले ज्यान गुमाउनुका साथै एक जना बेपत्ता भएका छन् । झापामा दुई जना बेपत्ता भएका छन् । पाँचथरमा पाँच जनाले ज्यान गुमाउनुका साथै पाँच जना घाइते र पाँच जना बेपत्ता भएका छन् । मोरङमा एक जना बेपत्ता भएका छन् । धनकुटामा दुई जनाले ज्यान गुमाउनुका साथै दुई जना बेपत्ता भएका छन् । तेहृथुम र सङ्खुवासभामा एकएक जना घाइते भएका छन् । उदयपुरमा एक जनाले ज्यान गुमाएका छन् । खोटाङमा दुई जना र ओखलढुङ्गामा एक जना घाइते भएका छन् । सोलुखुम्बुमा पाँच जनाले ज्यान गुमाउनुका साथै एक जना घाइते भएका छन् ।

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुनजन्य विपद्का कारण असोज १८ गतेसम्म भएको क्षतिलाई मूल्याङ्कन गरी सङ्घीय सरकारले कोशी प्रदेशका ६ ओटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

मन्त्रिपरिषद्को ०८१ असोज १८ गतेको मन्त्रि परिषद्को बैठकले कोशी प्रदेशका ६ ओटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको हो ।

सरकारले कोशी प्रदेशको पाँचथरको फिदिम नगरपालिका, फालेलुङ गाउँपालिका, फाल्गुनन्द गाउँपालिका, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका र सुनकोशी गाउँपालिका, उदयपुरको वेलका नगरपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।


इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर