कोशी प्रदेशमा मनसुनजन्य विपद: १४ जनाको मृत्यु, १ हजार ६ सय बढी विस्थापित

  ०८१ असोज १४ गते

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन पुन असोज १० गतेदेखि सक्रिय भएपछि प्रकृतिजन्य विपद्का घटनामा नागरिकले ज्यान गुमाउनुका साथै विस्थापित हुनु परेको छ ।

बाढीपहिरोमा परेर कोशी प्रदेशमा १४ जनाले ज्यान गुमाउनुका साथै १ हजार ३ जना घाइते र आठ जना बेपत्ता भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कोशी प्रदेशमा असोज १० गतेदेखि १३ गतेसम्मको निरन्तर वर्षापछिको बाढी पहिरोका कारण १९ ओटा घर पूर्ण रुपमा क्षति, ५८ ओटा घर आशिंक रुपमा क्षति,६ ओटा सरकारी कार्यालयमा क्षति, चार ओटा सवारी साधनमा क्षति, १३ ओटा पुलमा क्षति हुनका साथै ४ सय ९ घरका १ हजार ६ सय ५० जना विस्थापित हुनु परेको छ ।

बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई कोशी प्रदेश सरकारले १ लाख रुपियाँ राहत दिने निर्णय गरेको छ । प्रदेश विपद् कार्यकारी समितिको असोज १३ गतेको बैठकले प्रदेश विपद् ऐन अनुसार प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका परिवारलाई तत्काल १ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका प्रवक्ता विश्वदीप वेस्राले जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा मृतकका परिवारलाई १ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ । बैठकले घर पूर्ण क्षति भएका परिवारलाई ५० हजार रुपियाँ, आशिंक क्षति भएका परिवारलाई ३० हजार रुपियाँ र सामान्य क्षति भएका परिवारलाई १५ हजार रुपियाँ राहत दिने भएको छ ।

कोशी प्रदेशका १४ ओटै जिल्ला बाढीपहिरोबाट प्रभावित भएका छन् । बाढीपहिरोमा परी इलाममा एक जनाले ज्यान गुमाउनुका साथै एक जना बेपत्ता भएका छन् । झापामा दुई जना बेपत्ता भएका छन् । पाँचथरमा पाँच जनाले ज्यान गुमाउनुका साथै पाँच जना घाइते र पाँच जना बेपत्ता भएका छन् । मोरङमा एक जना बेपत्ता भएका छन् । धनकुटामा दुई जनाले ज्यान गुमाउनुका साथै दुई जना बेपत्ता भएका छन् । तेहृथुम र सङ्खुवासभामा एकएक जना घाइते भएका छन् । उदयपुरमा एक जनाले ज्यान गुमाएका छन् । खोटाङमा दुई जना र ओखलढुङ्गामा एक जना घाइते भएका छन् । सोलुखुम्बुमा पाँच जनाले ज्यान गुमाउनुका साथै एक जना घाइते भएका छन् ।

Photo 20240929 Pacthar

ताप्लेजुङ प्रतिनिधि एलिना दियालीका अनुसार जिल्लामा निरन्तर वर्षापछिको बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको छ । बाढीले काबेली करिडोर १३२ केभी प्रसारण लाइनका चार ओटा टावरमा क्षति पुगेपछि तीन जिल्लामा विद्युत सेवा बन्द भएको छ । इलाम जिल्लाको माइ नदीमा आएको बाढीले काबेली करिडोरको १३२ केभी प्रसारण लाइनका चार ओटा टावरमा क्षति पुर्‍याएपछि ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरूको करिब १ सय ८५ मेगावाट विद्युत उत्पादन बन्द भएको हो । विद्युत प्राधिकरण कार्यालय ताप्लेजुङका प्रमुख सुरेशकुमार चौधरीले काबेलीको विद्युत परीक्षण गरिएकोमा परीक्षण असफल भएकोले केन्द्रीय प्रसारणलाई नबनेसम्म तत्काल कुनै विकल्प नरहेको बताउनु भयो । जिल्लामा विद्युत सेवा बन्द भएसँगै टेलिफोन, इन्टरनेट, प्रेस र रेडियो सञ्चालन नहुँदा नागरिकहरू सूचनाको अधिकारबाट वञ्चित हुनु परेको छ ।

सोलखुम्बु प्रतिनिधि अञ्जु कार्कीका अनुसार जिल्लामा बाढीपहिरोका कारण पाँच जनाले ज्यान गुमाउनु परेको छ । बाढीपहिरोका कारण एक जना बेपत्ता हुनुका साथै तीन ओटा घरमा पूर्ण क्षति भएको छ । आठ घरका २२ जना विस्थापित भएका छन् । पहिरोमा परि सोलुदूधकुण्ड नगरपालिका-१० की ३३ वर्षीया कविता मगर, सोही ठाउँकी २४ वर्षीया रुपु मगर, सोलुदूधकुण्ड नगरपालिका-२ की २३ वर्षीया ल्हामु शेर्पा, सोलुदूधकुण्ड नगरपालिका-९ की २३ वर्षीया ल्हामु शेर्पा र सोलुदूधकुण्ड नगरपालिका-९ की २९ वर्षीया रीना तामाङको ज्यान गएको छ । सोलुदूधकुण्ड नगरपालिका-९ की ६० वर्षीया याङ्जी शेर्पा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार जिल्लामा बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको छ । पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । चैनपुर नगरपालिका-५ का ७१ वर्षीय पूर्णबहादुर लिम्बू पहिरोमा पुरिएर घाइते भएको प्रहरीले जनाएको छ । एउटा घरमा पूर्ण रूपमा क्षति पुगेको छ । सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाकाको चीनतर्फ पहिरो गएपछि  नाकाबाट आवतजावत बन्द गरिएको छ। गत असोज १२ गतेदेखि आएको अविरल वर्षाका कारण चीनतर्फ पहिरो गएपछि किमाथा्का  नाकाबाट आवतजावत बन्द गरिएको हो ।  किमाथाङ्का नाका सीमापारिको चीनको चाँगामा पहिरो गएका कारण बाटो अवरुद्ध भएकाले तत्कालका लागि आवतजावत रोक लगाइएको सङ्खुवासभाका साहयक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले जानकारी दिनुभयो । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चीनियाँ बजार चाँगा र देन्दाङमा निर्भर रहदै आएका छन् ।  छिमेकी देश चीनको चाँगामा पहिरो गएका कारण असोज १२ गतेदेखि आवतजावत रोक लगाइएको हो । बाटो पुनः सञ्चालनमा नआएसम्म किमाथाङ्का नाकाबाट मानिसहरुको आवतजावतमा समेत रोक लगाइएको साहयक प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।  अवरुद्ध सडक खुलाउन स्थानीय प्रशासन सँग पहल भइरहेको उहाँको भनाइ छ । सीमापारि चाँगामा पहिरो गएपछि दैनिक उपभोग्य वस्तु किनमेल तथा दैनिक रोजगारीका लागि  गएको १८ जना मध्ये १० जन पहिरोका कारण  रोकिएका थिए । पहिरोका कारण सीमावर्ती चीनियाँ बजार चाँगामा रोकिएका १० जनालाई स्थानीय प्रशासनको पहलमा आइतबार किाथाङ्का तर्फ फर्किसकेको साहयक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले बताउनुभयो । भोटखोलाका नागरिक खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुका लागि र दैनिक रोजगारीका लागि सीमावर्ती किमाथाङ्का नाका मार्फत सीमापारिको चाँगा बजार जाने गरेका छन् । कोरोना संक्रमण फैलिने डरले चीन सरकारले २०७६ माघ ५ देखि किमाथाङ्का बन्द गरेको थियो । उत्तरी क्षेत्र किमाथाङ्का नाका गत जेठ १२ गते सञ्चालनमा आएको थियो । भोटखोला क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको अनुमान छ । भोटखेला क्षेत्रमा आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ ।

ओखलढुङ्गा प्रतिनिधि सरस्वती बानियाका अनुसार जिल्लामा निरन्तर वर्षापछिको बाढीपहिरो कारण एक जना घाइते भएका छन् । मानेभञ्याङ गाउँपालिका-९ का ४६ वर्षीय पदमबहादु दमाइ पहिरोमा पुरिएर घाइते भएको प्रहरीले जनाएको छ । एक ओटा घरमा पूर्ण रूपमा क्षति पुगेको छ । एउटा सरकारी कार्यालयमा पहिरोले क्षति पुगेको प्रहरीले जनाएको छ । एक घरका सात जना विस्थापित भएका छन् । जिल्लाका ग्रामीण सकडसाथै मुख्य सडकमा पहिरोले क्षति पुर्याएपछि एम्बुलेन्सलगायतका सवारी साधन सञ्चालनमा समस्या भएको छ ।

खोटाङ प्रतिनिधि नारानाथ फुयलका अनुसार जिल्लामा असोज १० गतेदेखिको वर्षाका कारण जनजीवन प्रभावित भएको छ । निरन्तरको वर्षापछि आएको बाढीपहिरोका कारण दुई जना घाइते भएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-३ का ६५ वर्षीय दलबहादुर विक र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-३ का नौ वर्षीय बालक शिशिर विक घाइते भएको प्रहरीले जनाएको छ । पहिरोका कारण २७ ओटा घरमा पूर्ण क्षति भएको छ । २७ घरका १ सय १९ जना विस्थापित भएका छन् ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार निरन्तरको वर्षापछि जिल्लामा बाढीपहिरोका कारण एक ओटा घरमा पूर्ण रूपमा क्षति पुगेको छ । चार ओटा सरकारी कार्यालयमा क्षति पुग्नुका साथै एउटा निजी सवारी साधनमा क्षति पुगेको छ । एक ओटा पुलमा क्षति पुग्नुका साथै तीन ओटा घरका १७ जना विस्थापित हुनु परेको छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्लामा निरन्तरको वर्षापछिको बाढीपहिरोका कारण दुई जनाको ज्यान गएको छ । पाख्रिवास नगरपालिका-५ की ३२ वर्षीया आशा तामाङ र पाख्रिवास नगरपालिका-५ की ५० वर्षीया रामकुमारी तामाङको ज्यान गएको छ । जिल्लामा दुई जना बाढीपहिरोमा परेर घाइते भएका छन् । पाख्रिवास नगरपालिका-५ की २४ वर्षीया मीनमाया तामाङ र छथरजोरपाटी गाउँपालिका-२ की २० वर्षीया सिर्जना बाजिम्पाक मगर बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्लामा पहिरोेले सात ओटा घरमा पूर्ण क्षति पुर्याएको छ । दुई ओटा निजी सवारी साधनमा क्षति पुगेको छ । बाढीपहिरोका कारण १६ घरका ३४ जना विस्थापित हुनु परेको छ ।

तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसार निन्तरतको वर्षापछि बाढीपहिरोका कारण जिल्लामा एक जना घाइते हुनु भएको छ । छथर गाउँपालिका-६ की ५५ वर्षीया ज्ञानकुमारी लिम्बू घाइते भएको प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण ११ ओटा घरमा पूर्ण क्षति भएको छ । चार घरका २३ जना विस्थापित हुनु परेको छ ।

पाँचथर प्रतिनिधि ईवारा जबेगु लिम्बूका अनुसार जिल्लामा ०८१ असोज १० गतेको निरन्तरको वर्षाले जनजीवन प्रभावित भएको छ । बाढीपहिरोमा परि जिल्लामा पाँच जनाले ज्यान गुमाउनु परेको छ । फिदिम नगरपालिका-४ की २४ वर्षीया सपना शेर्पा, फिदिम नगरपालिका-४ की डोल्मा शेर्पा, फिदिम नगरपालिका-१ का ५० वर्षीय गोपी विश्वकर्मा, फिदिम नगरपालिका-२ की ३८ वर्षीया अञ्जना राई र फिदिम नगरपालिका-८ का ८२ वर्षीय पशेम्बा शेर्पाको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्लामा बाढीपहिरोमा परि पाँच जना घाइते भएका छन् । फिदिम नगरपालिका-१ का ६ वर्षीय बालक आरोस तुम्बापो, फिदिम नगरपालिका-२ का १४ वर्षीय बालक विपल राई, फिदिम नगरपालिका-८ का ३८ वर्षीय टिकाराम विक, सोही ठाउँका ३१ वर्षीय दीपेन्द्र विक, फिदिम नगरपालिका-१ की आठ वर्षीया बालिका आरवी तुम्बापो घाइते भएको प्रहरीले जनाएको छ । बाढीपहिरोका कारण जिल्लामा पाँच जना बेपत्ता भएका छन् । फिदिम नगरपालिका-१ का ५५ वर्षीय धनकुमार तुम्बापो, सोही ठाउँका ५१ वर्षीय कृष्ण दास, सोही ठाउँकी ४१ वर्षीया कमला दास, सोही ठाउँकी २१ वर्षीया सरस्वती तुम्बापो र फालेलुङ गाउँपालिका-४ की ३६ वर्षीया कमला राई बेपत्ता हुनु भएको छ । बाढीपहिरोका कारण जिल्लामा आठ ओटा घरमा पूर्ण क्षति पुगेको छ । एउटा सरकारी भवनमा क्षति पुगेको छ । तीन ओटा पुलमा क्षति हुनुका साथै ६ घरका ३० जना विस्थापित हुनु परेको छ ।

इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार जिल्लामा निरन्तर वर्षापछिको बाढीपहिरोका कारण जनजीवन प्रभावित भएको छ । बाढीपहिरोका कारण एक जनाले ज्यान गुमाउनु परेको छ । माइ नगरपालिका-८ का ६८ वर्षीय मैतबहादुर लिम्बूको ज्यान गएको छ । जिल्लामा एउटा घर पूर्ण रूपमा क्षति भएको छ । एउटा सवारी साधनमा क्षति हुनुका साथै एक ओटा पुल भत्किएका छन् । बाढीपहिरोका कारण जिल्लामा चार घरका ११ जना विस्थापित हुनु परेको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा बाढीपहिरोका कारण दुई जना बेपत्ता भएका छन् । बाढीले बगाएर कचनकवल गाउँपालिका-१ की १४ वर्षीया नेहारिका राजवंशी र कमल गाउँपालिका-१ का ३५ वर्षीय टिकाराम चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीले एउटा घरमा पूर्ण क्षति पुगेको छ । एउटा निजी सवारी साधनमा क्षति पुगेको छ । जिल्लामा ६ ओटा पुल बगाउनुका साथै १ सय ३५ घरका ५ सय २३ जना विस्थापित हुनु परेको छ ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार बाढीपहिरोबाट मृत्यु भएका परिवारलाई कोशी प्रदेश सरकारले १ लाख रुपियाँ राहत दिने निर्णय गरेको छ । प्रदेश विपद् कार्यकारी समितिको असोज १३ गतेको बैठकले प्रदेश विपद् ऐन अनुसार प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका परिवारलाई तत्काल १ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशी प्रदेशका प्रवक्ता विश्वदीप वेस्राले जिल्ला प्रशासन कार्यालयको सिफारिसका आधारमा मृतकका परिवारलाई १ लाख रुपियाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ । बैठकले घर पूर्ण क्षति भएका परिवारलाई ५० हजार रुपियाँ, आशिंक क्षति भएका परिवारलाई ३० हजार रुपियाँ र सामान्य क्षति भएका परिवारलाई १५ हजार रुपियाँ राहत दिने भएको छ । बाढीमा परेर जिल्लामा एक जना बेपत्ता भएका छन् । रतुवामाई नगरपालिका-७ की ७२ वर्षीया डुरोदेवी राजवंशी बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्लामा बाढीले दुई ओटा घर पूर्ण रूपमा क्षति भएको छ । जिल्लाका १ सय २० घरका ४ सय ८७ जना विस्थापित हुनु परेको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका जिल्लामा बाढीका कारण ४९ ओटा घरमा पूर्ण क्षति पुगेको छ । ४९ घरका ३ सय ५८ जना विस्थापित हुनु परेको छ । स्थानीय प्रशासनले कोशी व्यारेज पुलमा आवतजावतमा लगाएको रोक खुल्ला गरेको छ ।

उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार जिल्लामा बाढीपहिरोका कारण एक जनाको ज्यान गएको छ । रौतामाई गाउँपालिका-१ की १५ वर्षीया बालिका हिसिला तामाङको ज्यान गएको छ । पहिरोमा परेर जिल्लामा दुई ओटा घरमा पूर्ण क्षति पुगेको छ । जिल्लाका दुई ओटा पुल भत्किनुका साथै ३६ ओटा घरका १९ जना विस्थापित हुनु परेको छ ।


इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर