कोशी प्रदेशमा मनसुनजन्य विपद, पहिरोले पुरिएर चार जनाको मृत्यु

  ०८१ असोज १२ गते

कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन पुन असोज १० गतेदेखि सक्रिय भएपछि प्रकृतिजन्य विपद्का घटनामा नागरिकले ज्यान गुमाउनुका साथै विस्थापित हुनु परेको छ ।

धनकुटा, पाँचथर, झापा,संखुवासभा र मोरङमा अविरल वर्षापछिको बाढी पहिरोका कारण जनजीवन प्रभावित भएको छ ।

photo 20240927 Pacthar

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार अविरल वर्षासँगै आएको पहिरोले पुरिएर धनुकटामा दुई जनाको मृत्यु ज्यान गएको छ । पाख्रीबास नगरपालिका-५ मा ०८१ असोज १२ गते बिहान खसेको पहिरोले घर पुरिदा स्थानीय ३२ वर्षीया आशा तामाङ र ५० वर्षीया रामकुमारी तामाङको मृत्यु भएको छ । मृतक आमा छोरी भएको प्रहरीले जनाएको छ ।

पाँचथर प्रतिनिधि इवारा जबेगु लिम्बूका अनुसार फिदिममा घरमाथिबाट खसेको पहिरोले नाबालिका छोरी र आमाको मृत्यु भएको छ । पहिरोले घर पुरिएको छ । फिदिम नगरपालिका-४ चिसापानीमा पहिरोले २४ वर्षीया सपना शेर्पा र उहाँकी ५ वर्षीया छोरी डोल्मा शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार फिदिम नगरपालिका-१२ स्थायी  घर भएका आमा-छोरी चिसापानीमा डेरा बस्दै आएका थिए । पहिरोले आदिवासी जनजाति महासंघ पाँचथरको भवन पनि पुरिएको छ । घटनास्थलमा थप उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार ०८१ असोज १० गतेदेखि अविरल वर्षासँगै आएको बाढीले जिल्लामा दुई जनालाई बगाएको छ । कचनकवल गाउँपालिक-१ मा १४ वर्षीया बालिका र कचनवल गाउँपालिका २ मा बाढीले मोटरसाइकल बगाएको ५ । असोज ११ गते कचनकवल गाउँपालिक-१ स्थित चमर भीत्ताबाट झकुवा टोल आउँदै गरेकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवा खोलाले बगाएको हो । बाढीमा बेपत्ता भएकी बालिकाको खोजी भइरहेको प्रहरीले जनाएको छ । कमल गाउँपालिका-१ का ३५ वर्षीय टिकाराम चौधरीलाई कृष्ने खोलाले बगाएको छ । माछा मार्ने क्रममा बेपत्ता भएका उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कचनकवल गाउँपालिका-२ मा अमरखुट्टा खोला तर्ने क्रममा प्र१-०२-०५ प ६९७८ नम्बरको मोटरसाइकल खोलाले बगाएको प्रहरीले जनाएको छ । अर्जुनधारा नगरपालिका-७ मा बिरिङ खोलामा  रहेको खुदुनाबारी-शनिश्वरे जोड्ने मोटरेवल पुलमा क्षति पुगेको छ । कचनकवल गाउँपालिका-१ मा अदुवा खोलामा रहेको काठको पुल पनि बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी कृष्णकुमार चन्दले बताउनु भएको छ ।

संखुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार अविरल वर्षापछिको बाढीका कारण अरुण तेस्रो डारभर्सनको टनेल भरिएपछि त्यसले जोखिम बढाएको छ । डारभर्सनको टनेल भरिएपछि तटीय क्षेत्रमा उच्च सर्तकता अपाउन जिल्ला प्रशासन् कार्यालयले अनुरोध गरेको छ । पहिरोले सभाखोला-लेगुवा सडक अवरुद् भएपछि एम्बुलेन्सलगायतका सवारी साधन सञ्चालन नहुँदा विरामीलगायतलाई सास्ती र हैरानी भएको छ ।

इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार ०८१ असोज ११ गतेको बाढीपहिरोका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । राँकेबाट रवि जाने सडक खण्ड र इलाम जिल्ला देउमाई नगरपालिका १ मैदानेमा रहेको वस्ती पहिरोको जोखिममा परेका छन् । देउमाई नगरपालिका १ मैदानेका पासाङ शेर्पाको ३ तले घरमा लेदो पसेपछि उनीहरु विस्थापित हुनु परेको छ । सोही ठाउँका फुर्वा शेर्पाको २ तले घरमा लेदो पसेपछि उनीहरुको परिवार विस्थापित हुनु परेको छ । सोहीका दमु शेर्पा समेत पहिरोका कारण विस्थापित हुनु परेको छ । बाढी पहिरोका कारण जिल्लाका भित्रि सडक एवम् मेची राजमार्ग अवरुद् भएका कारण एम्बुलेन्सलगायतका सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।

मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार निरन्तरको वर्षासँगै आएको बाढीका कारण मोरङमा ९४ परिवार विस्थापित भएका छन् । विराटनगर, कटहरी, रंगेली, धनपालथान र जहदाका ९४ परिवार विस्थापित भएका हुन् । रंगेली नगरपालिका-२ लक्ष्मीपुरका १६ परिवार विस्थापित भएका छन् । उनीहरुलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । रंगेली नगरपालिका-९ मा डाँस खोलाको बाढी खोलाधार टोलमा पसेपछि २२ परिवार विस्थापित भएका छन् । बाढीबाट विस्थापित भएकाहरुलाई  दोहमना बजारमा राखिएको छ । विराटनगर महानगरपालिका-२ र कटहरी गाउँपालिका १ का स्थानीय पनि विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढीका कारण विराटनगर-२ का ३  परिवार आफन्तको घरमा सरेका छन् । कटहरी-१ बख्खु टोलका चार परिवार विस्थापित भएका छन् । उनीहरुलाई नारी विकास संघको भवनमा राखिएको छ । सिंघियाकै बाढीका कारण जहदा गाउँपालिक-१ धुनी टोल सरबरीया बस्तीमा २५ घर डुबानमा परेका छन् । उनीहरूलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।  धनपालथान गाउँपालिका-३ बेतौना टोलका २४ परिवार विस्थापित भएका छन् । मंगलबारे नहरमा पानीको बहाव बढेर बाढी गाउँमा छिरेपछि उनीहरु विस्थापित भएको प्रहरीले जनाएको छ ।

photo 20240928 Ilam

 


इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर