कोशी प्रदेशका विभिन्न जिल्लामा पानीका मुहान सुक्दै जान थालेपछि बसाईसराइमा वृद्धि
कोशी प्रदेशका तराईसहित पहाडी जिल्लामा पानीका मुहान सुक्नुका साथै वातारणीय सन्तुलनमा समेत समस्या हुन थालेको छ ।
कोशी प्रदेशमा फैलिएर रहेको चुरे क्षेत्रमा प्राकृतिक दोहनका कारण जलवायु परिर्वतनका रूपमा तम्मर नदी क्षेत्रमा पानीका मुहान सुक्नुलाई जलवायु परिर्वतनको सङ्केतको रूपमा वातावरणविज्ञहरूले लिन थालेका छन् ।
पानीका मुहान सुकेका कारण बसाइसराइका साथै मानिसहरूले थातथलो समेत छाड्न थालेका छन् ।
नेपालमा वार्षिक करिब १६ सय मिलिमिटर पानी गरे पनि जमिनले पर्याप्त मात्रामा सोसेर राख्न सकेको छैन । अव्यवस्थित सहरीकरण, चुरेदोहन, वन फँडानीलगायत कारण पानी कम पर्ने, परेको पानी पनि जमिनले सोस्ने क्षमता घटेकाले भूमिगत पानीको स्रोत घट्दै गएको देखिन्छ । त्यसमाथि भण्डारण हुने पानीभन्दा प्रयोग हुने मात्रा बढ्दै जानुले पनि पानी अपुग हुँदै गएको हो ।
विभिन्न तथ्यांकले १३ विलियन क्युबिक मिटर पानी जमिनमुनि रहेको र अधिकतम प्रयोग गर्दा पनि ५० प्रतिशत बचत हुने देखाएको छ । तर, पानीको पुनर्भरण नहुँदा अभाव लगातार बढ्दो छ । जमिनमुनि किन पानी पुनर्भरण हुन सकिरहेको छैन । यसको कारण के हो भनेर अध्ययन र कार्यान्वयन गर्न ढिलाइ भइसकेको छ ।
तेहृथुम प्रतिनिधि सुरेश खत्रीका अनुसारका जिल्लामा छथर गाउँपालिकाले बसाइ सरेर आउनेलाई १ लाखदेखि ५ लाख रुपियाँसम्म प्रोत्साहन रकम दिँदै आएको छ । पहाडी जिल्लाहरूबाट खानेपानीको समस्याले गर्दा बसाइ सरेर जाने क्रम बढेसँगै छथर गाउँपालिकाले भने बसाइसराइ नियन्त्रणको लागि छथर गाउँपालिक-५ ओख्रेमा डिप बोरिङ्ग प्रविधिबाट पानी निकाल्ने जस्ता कार्यक्रमहरू ल्याएको छ । बसाइ सरेर आउनेलाई १ लाखदेखि ५ लाख रुपियाँ प्रोत्साहन रकम दिँदै आएको छथर गाउँपालिका अध्यक्ष सन्तवीर तिगेलाले बताउनु भयो । जिल्लाको तम्मर नदीले छोएका क्षेत्रहरूमा पानीको चरम समस्याले गर्दा यहाँका बासिन्दाहरू बसाइसराइ जानेक्रम बढ्दो छ । छथर गाउँपालिकाका ओख्रे, पञ्चकन्या, हम्मरजुङ, फेदाप गाउँपालिकाको सिम्ले, इसिबु आठराइ गाउँपालिकाका हक्कु,युवा, छातेढुङ्गा म्याङलुङ नगरपालिकाको केउरेनि लगायतका क्षेत्रहरूमा खानेपानीको समस्याले गर्दा बसेर्नी बसाइसराइ जाने क्रम बढ्दो छ । तम्मर नदीले छोएका क्षेत्रहरूमा पानी सुक्नुलाई वातावरणविज्ञले जलवायु परिर्वतनको सङ्केतका रूपमा लिएका छन् ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा खानेपानी अभावका कारण बसाइसराइको दरमा वृद्धि भएको छ । इन्सेकले जलवायु न्यायको विषयमा गरेको अनुगमनका क्रममा जिल्लामा खानेपानी अभावका कारण बसाइसराइको दरमा वृद्धि भएको पाइएको हो । जिल्लाका नौ ओटा स्थानीय तहमध्ये रामप्रसादराई गाउँपालिका, पौवादुङमा गाउँपालिका, अरूण गाउँपालिकामा बसाइसराइको दर उच्च छ । पछिल्लो समय पानीका मुहान सुक्नथालेसँगै बसाइसराइको दरमासमेत वृद्धि भएको रामप्रसादराई गाउँपालिकाका स्थानीय विजय राईले बताउनु भयो । मुख्यतया रामप्रसादराई गाउँपालिका-५ मानेभञ्ज्याङ, वडा-६ बैकुण्ठे, वडा-१ ओख्रेमा पानीको समस्या छ । स्थानीयको पानीको समस्या समधानको लागि लिफ्ट तथा अन्य विभिन्न योजनाहरू सञ्चालनको काम भइरहेको रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताउनु भयो । वडा-५ मानेभञ्ज्याङमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भोजपुरबाट लिफ्ट प्रविधिको खानेपानी योजना सञ्चालन भए पनि उपभोक्ताले विद्य्त महसुल तिर्न नसक्दा एक वर्षदेखि सञ्चालन हुन नसकेको वडाध्यक्ष जगत चौहानले बताउनु भयो । पौवादुङमा गाउँपालिकाले पनि यहाँका स्थानीयको पानीको समस्या समधान गर्न छोक्ला छरछरे खानेपानी आयोजना सञ्चालन गरेको जनाएको छ । हालसम्म पौवादुङमा-२, ३,४, ५ र ६ का करिव ५ सय ५० बढी घरमा खानेपानी जडान गरी सकिएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनु भयो । अरूण गाउँपालिकाले पनि जनताको पानीको समस्या समाधान गर्न सात ओटा लिफ्ट खानेपानी आयोजना सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष सालिकराम खत्रीले बताउनु भयो । पानीको समस्याका कारण बसाइसराइको दर बढी भएपछि लिफ्ट प्रणालीबाट पानीको व्यवस्थापन गर्न स्थानीय सरकारले विभिन्न योजना बनाएका छन् ।
मोरङ प्रतिनिधि विनोद सुवेदीका अनुसार कोशी प्रदेशको राजधानी विराटनगरमै शुद्ध पिउनले पानीको समस्या छ । विराटनगरमा नेपाल खानेपानी संस्थानले वितरण गरेको पानी गुणस्तरीय नहुँदा विराटनगरवासीले पिउने पानीको समस्या झेल्दै आएका छन् । खानेपानी संस्थानले वितरण गर्ने पानीका पाइप जीर्ण भएका कारण उपभोक्तको घरका धारामा प्रदुषित पानी पुग्ने गरेको छ । खानेपानी संस्थानले वितरण गरेको पानी पहेंलो हुनुकासाथै लेदोसमेत आउने भएका कारण पिउनका लागि भन्दा गाइबस्तुलाई खुवाउन र सरसरफाइका कामका लागि प्रयोग गर्दै आएको विराटनर–५की कल्पना थापाले बताउनुभयो । उहाँले विगतमा खानेपानी संस्थाको पानीकै कारण विराटनगरमा जण्डिसको प्रकोपसमेत फैलिएका कारण पीउनका लागि संस्थानको पानी प्रयोग नगरी जारको पानी प्रयोग गर्दै आएको बताउनुभयो । विराटनगरमा खानेपानी संस्थानका १५ हजार भन्दा बढी ग्राहाक रहेका छन् । खानेपानी संस्थानले पानी बितरणमा लापरबाही गरेको र पञ्चायतकालिन पाइप लाईनसमेत नफेरेका कारण विराटनरका वासिन्दाले खानेपानीको अभाव झल्नुपरेको विराटनगर–५ का वडा अध्यक्ष सन्तोष न्यौपानेले बताउनुभयो । उहाँले विराटनगरमा खानेपानी सुधारका लागि नयाँ परियोजना सञ्चालनमा आएका कारण चाँडै नगरवासीले सुद्ध पिउनेपानी पाउने दाबी गर्नुभयो । २ अर्ब २९ करोड जापानी ऐन लागत रहेको उक्त परियोजनामार्फत ६८ किलोमिटर पाइपलाइन विस्तार गर्ने योजना रहेको छ । देवकोटाचोक, तीनपैनीचोक र मुनालपथस्थित खानेपानी संस्थान परिसरमा १२–१२ लाख लिटर क्षमताको अण्डरग्राउण्ड ट्यांकी निर्माण गरिनेछ । त्यस्तै विराटनगर–५ स्थित महानगर बहुप्राविधिक शिक्षालय नजिक १२ लाख लिटर क्षमताको ओभरहेड ट्यांकी निर्माण हुनेछ । त्यस्तै सोही स्थानमा साढे ४ लाख लिटर क्षमताको अण्डरग्राउड ट्यांकी पनि निर्माण गर्ने तयारी छ । सबै ट्यांकी भएको स्थानमा ३–३ वटा पानी तान्ने बोरिङ, पानी प्रशोधनका लागि फिल्टरसमेत जडान हुनेछ । सन् २०२६ को मे ३१ तारिखमा सम्पन्न गर्ने गरी सुरु गरिएको परियोजनाबाट १ लाखभन्दा बढी महानगरवासी लाभान्वित हुने छन् । हाल विराटनगरमा खानेपानी संस्थानले बितरण गरेको पानीमा ज्यादा आइरन मिसिएका कारण धारको पानी पँहेलो आउने गरेको छ । विराटनगर क्षेत्रमा विछ्याइएका कतिपय पाइपलाईन पञ्चायतकालीन भएका कारण पानीमा फोहोर मिसिने र साँघुरा पाइपलाईनका कारण उपभोक्ताको धारामा पानी नआउने समस्या देखिंदै आएको छ ।
उदयपुर प्रतिनिधि राकेश नेपालीका अनुसार चौदण्डीगढी नगरपालिका-१ की ६२ वर्षीया कुन्तादेवी कार्की एक गाग्री पानी लिन दिनमा चार घण्टा उकालो-ओरालो गर्नुहुन्छ । कम्मर फतक्कै गल्ने गरी पानी नबोकी भान्सा नचल्ने उहाँको बाध्यता घर नजिकैको मुहान सुक्न थालेपछि सुरूआत भएको हो । ‘पानीको मुहान सुक्दै गयो, अहिले चैतदेखि आधा असारसम्म माथिल्लो क्षेत्रका मुहान सुक्छन्,’कुन्तादेवी कार्कीले भन्नुभयो । यस्तै हालत रहिरहने हो भने कुन दिन पानी बोक्न सुनकोसी नदीमै पुग्नु पर्ला भन्ने पीरले सताउन थालेको छ उहाँलाई । ‘अहिले दुई घण्टा हिँडेर बलेनीपाखा पँधेराको पानी ल्याउनुपर्छ,’कुन्ताले भन्नुभयो । सुनकोसी पुगेर आउन झण्डै ५ घण्टा हिँड्नुपर्ने कार्कीले बताउनु भयो । जलवायु विज्ञ विमलराज रेग्मीले कुन्तादेवी जस्ता ग्रामीण भेगका महिलाको भोगाइसँग सहमत छन् । ‘पहिले र अहिलेको वर्षाको चक्र फेरिएको छ, कि पानी धेरै पर्छ कि त पर्दै पर्दैन, परेको खर्रर्र बगेर जान्छ,’उनी भन्छन्, ‘पहिले पहिले विस्तारै लामो समय पर्दा जमिनले पानी सोस्थ्यो, पानीका स्रोत पुनर्भरण हुन्थ्यो, अहिले मुहान सुक्न थालेका छन् । यसको पहिलो मारमा महिला परेका छन् ।’
वनमन्त्रालयको ‘जलवायु परिवर्तनसम्बन्धी लैङ्गिक तथा सामाजिक समावेशीकरण रणनीति तथा कार्ययोजना २०७७–७८’ अनुसार महिला घरायसी प्रयोजन र कृषि कार्यमा चाहिने पानीको सङ्कलनकर्ता, उपभोक्ता र व्यवस्थापकका मुख्य भूमिकामा हुन्छन् । वर्षाको चक्रमा आउने परिवर्तनले मुहानहरू मासिँदै गएपछि टाढा-टाढा पानी लिन जानु परेको छ । पानीजोहो गर्न बढी श्रम र समय खर्चनुपर्ने कारण महिला पाठेघर खस्ने, गर्भावस्था तथा सुत्केरी हुँदा समस्या हुने, शरीर कमजोर हुने, आयआर्जन र शैक्षिक गतिविधिबाट वञ्चित हुने गरेका छन् । पानी खोज्न निस्कने प्रत्येक महिलाले औसतमा प्रत्येक दिन ३ घण्टासम्म खर्चिनु परिरहेको जलवायु परिवर्तनले महिलालाई पारेको असर बारेको अध्ययनले देखाउँछ ।
उदयपुरकै बेलका-२ तपेश्वरीकी ६३ वर्षीय दुखनीदेवी सदाको दुःख पनि थोरै छैन । वर्षौंदेखि त्रियुगा नदीमा माछा मारेर गुजारा गर्दै आएकी एकल महिला दुखनीको जीवन नाम जस्तै दुःखले भरिएको छ । यसमा थप दुख भने जलवायु परिवर्तनले सिर्जित वातावरणीय परिवर्तनले थपि दिएको छ । अहिले त्रियुगामा माछा पाइन छाड्यो । घर नजिकैका मुहान सुके । जङ्गलबाट घाँसदाउरा गरेर जीविका चलाउन पनि नसकिने भएको छ । कहाँ हराए त नदीका माछा रु दुखनीको अनुमान छ-पहिलेजस्तो नदीमा पानी नै छैन । पहिले-पहिले उनी एकाध घण्टा खोलामा हेलिने बित्तिकै थोरैमा पनि एक किलो माछा परिहाल्थ्यो । अहिले एकाध माछा समात्न पनिदिन बिताउनुपर्छ । पानीको मुहान सुक्ने, जङ्गल मासिने, अन्न उत्पादनमा हृास हुनुको असर व्यापक छ । पानीको समस्याले बसाई सर्नुपर्ने अवस्थामा नागरिकहरु रहेपनि सरकारले प्रभावकारी कार्याक्रम भने ल्याउन सकेको छैन । जिल्लाका चौदण्डीगढी, बेलका र कटारी नगरपालिकाले लिफ्टिङ प्रविधिमार्फत खानेपानी पुर्याउने प्रयास गरेपनि त्यो पर्याप्त छैन ।
इलाम प्रतिनिधि मनोज अधिकारीका अनुसार इलामका स्थानीयतहरुमा खानेपानी अभावले चौतर्फी समस्या भएपछि स्थानीयले बसाइँ सर्नुपरेको छ । माङ्सेबुङ, फाकफोकथुम, चुलाचुली लगायतका पालिकाहरुको अधिकांश ठाउँमा खानेपानी समस्या छ । माङ्सेबुङ गाउँपालिका–६ रक्से बजारका दुई परिवार पानी समस्याले यस बर्ष बसाईँ सरेर तराई झरे । यहाँका स्थानीयले खानेपानीको समस्याले हैरानी भएको गुनासो गरेका छन् ।
रक्से बजारकी वसन्ता राई खानेपानी बोक्न बिहान झिसमिसेमै आधा घन्टाको बाटो ओरालो झर्नुहुन्छ । बिहान ६ नबज्दै खोल्सामा रहेको धारामा पानी थाप्न पुग्नुभएकी सिर्जना घर आइपुग्दा १० बज्छ । ‘एक गाग्रो पानी थाप्न दुई घन्टाभन्दा बढी त पालो नै पर्खनुपर्छ’, सिर्जनाले भन्नुभयो,‘भरिएको गाग्रो डोकामा बोकेर नाक ठोकिने उकालो झन्डै एक घन्टा हिँडेपछि बल्ल घर पुगिन्छ ।’ यसरी कष्टकर रूपमा पानी बोक्नु उहाँको एक्लो बाध्यता होईन, सिंगो रक्से गाउँकै नियति हो । ‘हामीलाई सरकारले कम्तीमा पानीको व्यवस्था गरिदिए हुने । तर, सबैले आश्वासन मात्र दिन्छन् । कसैले पानीको व्यवस्था गरिदिँदैनन् ।’ उहाँले भन्नुभयो, ‘पानीकै पीरले यहाँका धेरै घर परिवार बसाँईसरेर गए । हामी त कहाँ जाने । सम्पत्ति भएपनि यो ठाउँ छोडेर अन्यत्रै बसाँईसरौँ जस्तो लाग्छ ।
रक्से बजारका करिब ५० घरपरिवारले वर्षौंदेखि खानेपानीको लागि घण्टौँसम्म उकालोओरालो गर्नुपर्ने बाध्यता झेल्दै आएका छन् । खानका लागि मात्र होइन, शौचालय जान, नुहाइधुवाइ गर्न, लुगाकपडा धुन तथा वस्तुभाउलाई खुवाउन झनै समस्या भोग्नुपरेको कमलकुमारी बताउनुहुन्छ ।
त्यस ठाउँमा खानेपानी आयोजना सञ्चालन नभएको भने होइन । तर, दिगो मुहान नभएका कारण समस्या झेल्नुपरेको स्थानीयवासी किरणकुमार राई बताउनुहुन्छ । ‘आर्थिक वर्ष २०६७र६८ मा मावाखोलाको शिर खालेधाराबाट अस्थायी खानेपानीको व्यवस्थापन गरेका थियौँ, त्यो पनि ६ महिना आउँछ त्यसपछि मुहान सुक्छ । असारमा मूल फुटेपछि मात्र आउँछ’, उहाँले भन्नुभयो, ‘अहिले त्यो पानी मुहान सुकेर बन्द भइसकेको छ, घण्टौँसम्म पर्खेर डोकोबाट पानी ओसार्नुको विकल्प छैन ।’
खानेपानीको माग गर्दै सरकारी निकाय, विकासे संस्थालाई गुहार्दासमेत आफूहरुको समस्या ज्यूँकात्यूँ रहेको स्थानीयको भनाइ छ । नजिकै खानेपानीको स्रोत नभएपछि सरकारी निकाय र विकासे संस्था समेत पन्छिएर जाने गरेको उनीहरुको गुनासो छ । समुद्री सतहदेखि करिब दुई हजार मिटर उचाइमा अवस्थित रक्से बजारमा नजिकै पानीको स्रोत नभएको र सरकारी निकायले समेत खानेपानी आयोजना निर्माणमा गम्भीर चासो नदेखाएका कारण लामो समयदेखि पानीको समस्या भोग्दै आउनुपरेको राई बताउँनुहुन्छ ।
खानेपानीको अभावकै कारण स्थानीय माङमालुङ आधारभूत विद्यालयका शिक्षक-विद्यार्थी समेत समम्यामा परेका छन् । पानीको अभावका कारण रक्से बजार सरसफाइमा समेत बाधा पुग्ने गरेको छ । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले आगामी वर्षसम्म रक्सेबजारबासीको खानेपानीकै समस्या समाधान हुने दाबी गर्नुभयो । सङ्घीय सरकारको विशेष अनुदानबाट रु दुई करोडको लागतमा मिक्लाजुङ खानेपानी आयोजना अन्तर्गत गढेरे खोलाबाट एक सय ७१ घरधुरीका लागि पम्पिङ सिस्टमबाट वृहत खानेपानी आयोजना सञ्चालन हुने तयारी भइरहेको उहाँले बताउनुभयो ।
खानेपानी अभावले जीवन यापन कठिनाइ भएसँगै स्थानीय बसाइँ सर्न बाध्य भएको स्थानीय टङ्क पौडेलले बताउनुभयो । ’पानीको समस्याले उत्पादन त नहुने नै भयो । पशुपालनमा समेत समस्या छ । यस्तो ठाउँमा कसरी बस्न सकिन्छ ’-उहाँले प्रश्न गर्नुभयो । खोलाबाट ट्याङकरले बोकेर ल्याएको पानी किनेर खानु पर्ने बाध्यता रहेको रानीगाउँ-७ स्थित सिद्धदेवी माविका प्रधानाध्यापक नरेन्द्र सम्बाहाम्फेले बताउनु भएको छ ।
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…