कोशी नामाकरणमा विरोध: प्रदेशका मन्त्रीविरूद्ध नारावाजी

  २०८० असार २१

कोशी प्रदेश नामाकरणको विरोध गर्दै आएको प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी प्रदेश सरकारका खानेपानी, सिञ्चाई तथा उर्जा मन्त्री र प्रदेश सरकारद्वारा गठित वार्ता टोलीका संयोजक तिलकुमार मेन्याङ्बोविरूद्ध असार २० गते नारावाजी गरेका छन् ।

‘कोशी प्रदेश मान्दैनौ’ लेखिएको कालो फेटा टाउकोमा बाँधेर आएका प्रदेश न.१ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिका कार्यकर्ताले मन्त्रीविरूद्ध नारावाजी गरेका हुन् ।

जिल्ला सदरमुकाम आउने क्रममा तोक्मेडाँडाहुँदै मन्त्री बसेको होटलसम्म पहिचान पक्षधरहरूले मन्त्रीविरूद्ध नारावाजी गरेको प्रदेश नं. १ पुन नामाङ्कन संयुक्त सङ्घर्ष समिति, ताप्लेजुङ संयोजक डम्बर पालुङवाले बताउनु भयो ।

नेकपा एमालेका सांसद तथा मन्त्री लक्षित आन्दोलन गर्ने नीति अनुसार एमालेका मन्त्रीलाई अवरोध गरिएको पालुङ्वाले बताउनु भयो ।

प्रदेश सरकारका मन्त्री मेन्याङ्बोले पहिचान विरोधी भूमिका निर्वाह गरेको आन्दोलनकारीको आरोप छ । नेपालको संविधानको धारा २९५ (२) अनुसार तत्कालीन प्रदेश नं.१ को नामकरण ‘कोशी प्रदेश’ राखिएको छ ।

पहिचानको पक्षमा आन्दोलनमा होमिएका मुक्कुमलुङ युवा फोर्स सहजकर्ता मुक्साम लाबुङले प्रदेशको पुनः नामाङ्कन नहुञ्जेल आन्दोलन यथावत रहने बताउनु भएको छ ।


देवराज गुरुङ