कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १० गते)

असोज १० गते १ हजार २ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ७१ हजार ८ सय २१ पुगेको छ । जसमध्ये १९ हजार २ सय ७० जना महिला रहेका छन् । गत २४ घण्टामा १० हजार १९ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज १० गतेसम्म कोरोना सङ्क्रमणका कारण ४ सय ६७ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ५३ हजार १३ जना निको भएका छन् । असोज १० गते १ हजार १ सय ४७ जना निको भएका छन् भने निको दर ७३.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १८ हजार ३ सय ४१ जनाको उपचार भइरहेको छ ।

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोरोनाबाट सङ्क्रमित राजविराज नपा–९ पुख्र्यौली घर भइ हाल राजविराज नपा–७ हटियास्थित घरमा बसिरहेका महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजमा कार्यरत ६३ वर्षीय पुरुषको उपचारका क्रममा असोज १० गते बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएका उनको स्वास्थ्य अवस्था थप जटिल बनेपछि भदौ ८ गते धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भेण्टिलेटरमा राखेर उपचार भइरहेका अवस्थामा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले जानकारी दिनु भयो । यो सँगै सप्तरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ । जसमध्ये दुई जना महिला छन् ।

स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सङ्क्रमित परिवारका ६ जनासहित होम आइसोलेट भइ बसिरहेकी खडक नपा–८ स्थित सङ्क्रमित ३० वर्षीया पत्रकारको घरमा प्रहरी, सेना र एम्बुलेन्ससहित पुग्नु भएका वडा अध्यक्ष इसराइल मियाँले दुर्व्यवहार पीडित पत्रकारले आरोप लगाइन् । वडा अध्यक्ष मियाँले समुदायमा कोरोना सङ्क्रमण नफैलियोस् भनेर राजविराज वा खडक नगरपालिकाले निर्णय गरेको आइसोलेशन केन्द्रमा राख्न खोजेको बताउनु भयो । होम आइसोलेशनको अवस्था निरीक्षण गरेर फर्किनु भएका स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले निर्धारित स्वास्थ्य सुरक्षा मापदण्डअनुसार नै होम आइसोलेशनमा छुट्टा–छुट्टै बसेकाले अन्त लैजानु पर्ने अवस्था नरहेको र सङ्क्रमितहरूको मनोबल गिराउने काम कतैबाट हुन नहुने बताउनु भयो । सङ्क्रमति पत्रकारका अनुसार स्वास्थ्यमा कुनै समस्या नभए पनि कोरोना पुष्टि भएपछि एक खालको तनाव खेपिरहेको बेला जनप्रतिनिधिबाटै मनोबल गिराउने काम भएकोमा दुःख व्यक्त गर्नु भयो ।

बागमती प्रदेश

काठमाडौँमा ५ सय ८३, ललितपुरमा ७८, भक्तपुरमा ५८, मकवानपुरमा १७, सिन्धुली १५, चितवन १२, रामेछाप र धादिङमा सात/सात, काभ्रेपलान्चोकमा पाँच, सिन्धुपाल्चोकमा तीन, नुवाकोटमा दुई जना गरी यस प्रदेशमा असोज १० गते ७ सय ८७ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या २५ हजार ६ सय ४१ जना पुगेको छ । जसमध्ये १५ हजार ५ सय ८१ जना उपचारपछि घर फकिएका छन् भने १० हजार ८ सय ८६ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ ।  आज थप पाँच जना पुरुषको मृत्यु भएसँगै यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १ सय ७४ जना पुगेको छ ।

रामेछाप प्रतिनिधि नवराज घिमिरेका अनुसार रामेछाप कारागारका एक जना कैदीमा असोज १० गते कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाका अनुसार ३८ वर्षीय पुरुष कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जनस्वास्थ्य अधिकृत थापाका अनुसार सङ्क्रमितलाई कुनै लक्षण भने देखिएको छैन ।

सुदूरपश्चिम प्रदेश

बैतडी प्रतिनिधि नरी बडुका अनुसार पुर्चौडी नगरपालिका–३ का २९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । भारतको बैंग्लोरबाट फर्किएका ती पुरुष पुर्चौडीकै लामाधारमा मृत भेट्टिएपछि असोज १० गते स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ अनुसार व्यवस्थापन गरिने सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिनुभयो ।


अनलाइन डेस्क