कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ९ गते)

  ०७७ असोज ९ गते

असोज ९ गते १ हजार ३ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ७० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार असोज ९ गतेसम्म सङ्क्रमितको सङ्ख्या ७० हजार ६ सय १४ पुगेको छ । गत २४ घण्टामा १२ हजार २ सय ६२ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज ९ गतेसम्म कोरोना सङ्क्रमणका कारण ४ सय ५९ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ५१ हजार ८ सय ६६ जना निको भएका छन् । असोज ९ गते १ हजार ४ सय ५५ जना निको भएका छन् भने निको दर ७३.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १८ हजार २ सय ८९ जनाको उपचार भइरहेको छ ।

मन्त्रालयका अनुसार आइसीयूमा २ सय २७ जना र भेण्टिलेटरमा ३९ जनाको उपचार भइरहेको  छ । सबैभन्दा बढी बागमती प्रदेशमा १ सय ३५ जनाको उपचार आइसीयूमा र ३४ जनाको उपचार भेण्टिलेटरमा भइरहेको छ । त्यसैगरी भेण्टिलेटरमा उपचार गराइरहेकाहरूमा प्रदेश १ का ११ जना, प्रदेश २ का १९ जना, गण्डकी प्रदेशका ६ जना, प्रदेश ५ का ३९ जना र कर्णली प्रदेशका १७ जना छन् । प्रदेश १ का तीन जना र प्रदेश ५ का २ जनाको उपचार भेण्टिलेटरमा राखेर गरिएको पनि मन्त्रालयले जनाएको छ ।

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराज नपा–३ का ७१ वर्षीय पुरुषको उपचारका क्रममा धरानस्थित बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा असोज ८ गते राति ११ बजे मृत्यु भएको उनको परिवारका सदस्यले इन्सेक प्रतिनिधिलाई जानकारी दिएका छन् । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भदौ २५ गते सङ्क्रमण पुष्टि भएका उनलाई १२ दिनअघि उपचारार्थ धरान भर्ना गरिएको थियो । योसँगै सप्तरीमा मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या १३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । राजविराज नपा–१५ घर भई कञ्चनरुप नपा–८ बस्ने कञ्चनरुप नगरपालिकामा कार्यरत कार्यालय सहयोगी ४० वर्षीय पुरुषमा असोज ८ गते कोरोना सङ्क्रमण देखिएपछि एक साताका लागि नगरपालिका कार्यालय बन्द गरिएको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज खडकाले असोज ९ गते एक सूचना जारी गर्दै असोज ९ गतेदेखि १५ गतेसम्मका लागि नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि तथा पशु लगायत वडा नम्बर ८ को कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको जानकारी दिनु भएको छ ।

बागमती प्रदेश

काठमाडौँमा ५ सय ३, ललितपुरमा ९१, चितवनमा ६७, भक्तपुरमा ५१, काभ्रेपलाञ्चोकमा सात, मकवानपुरमा नौ, रामेछाप र धादिङमा चार/चार, नुवाकोटमा तीन, सिन्धुपाल्चोक र सिन्धुलीमा दुई/दुई र दोलखामा एक जना गरी यस प्रदेशमा असोज ९ गते ७ सय ४४ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या २४ हजार ८ सय ५४ जना पुगेको छ । जसमध्ये १३ हजार ९ सय १६ जना निको भएका छन् भने १० हजार ७ सय ६९ जनाको उपचार विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । थप दुई जनाको मृत्यु भएसँगै यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १ सय ६९ जना पुगेको छ ।

गण्डकी प्रदेश

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार कोरोना सङ्क्रमित महिला भक्तपुरबाट ट्याक्सी रिजर्भ गरेर सिरानचोक गाउँपालिका–७ खहरेस्थित घर आइपुगेपछि समुदायमा सङ्क्रमण फैलने त्रासले खहरे क्षेत्र असोज ८ गतेबाट सील गरिएको छ । मध्यपुर ठिमी नगरपालिकास्थित भक्तपुरको होम आइसोलेशनमा बसेकी ५१ वर्षीया महिलामा असोज ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । असोज ६ गते उनी आफूखुसी ट्याक्सी रिजर्भ गरेर खहरेस्थित घर आएको सिरानचोक गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख टुकमान श्रेष्ठले बताउनुभयो । कोठा भाडामा बस्ने उनी आफ्नै घरमा बस्ने भन्दै गोरखा फर्किएको श्रेष्ठले बताउनुभयो ।

प्रदेश ५

बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोरोना भाइरसको कारण नेपालगञ्ज उपमनपा–३ एकलैनीका ५२ वर्षीय पुरुषको असोज ९ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार स्वास्थ्य समस्या देखिएपछि कोहोलपुर शिक्षण अस्पतालको  आइसोलेशनमा असोज ६ गते देखि उपचार भइरहेको थियो ।

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट वाणगङ्गा नपा–११ की ७५ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको कोरोना विशेष अस्पताल धागो कारखानामा उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । लामो समयदेखि दम रोगी रहेको र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि असोज ५ गते थप उपचारका लागि बुटवल लगिएको थियो । यसैगरी, कोरोना सङ्क्रमणकै कारण बुद्धभूमि नपा–६ का ५० वर्षीय एक पुरूषको असोज ८ गते मृत्यु भएको छ । ज्वरो, मधुमेह र श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि उनलाई थप उपचारका लागि असोज १ गते बुटवल लगिएको थियो । उनलाई लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको कोरोना विशेष अस्पतालको भेण्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताउनु भयो । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

कर्णाली प्रदेश

रूकुम (पश्चिम) प्रतिनिधि मनिषा केसीका अनुसार  कोभिड–१९ को सङ्क्रमण बढेपछि त्रिवेणी गाउँपालिकाको ५ देखि १० नम्बर वडामा असोज ९ गते बिहान ४ बजेदेखि एक साताको निषेधाज्ञा गरिएको छ । गत भदौ २४ गते त्रिवेणी गाउँपालिका ५ र १० नम्बर वडाका व्यक्तिको दोस्रो रिपोर्ट पोजेटिभ आएको र ६ देखि ९ नम्बर वडाका एक/एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि असोज १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गरिएको त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष निर्मला विष्टले बताउनुभयो ।

सल्यान प्रतिनिधि मिना बुढाथोकीका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न सल्यानमा सभा सम्मेलन र शैक्षिक संस्था सञ्चालनमा रोक लगाइएको छ । जिल्ला सदरमुकाम लगायत विभिन्न स्थानमा तीव्र रूपमा कोरोना सङ्क्रमण फैलिँदै गएपछि प्रशासनले शैक्षिक संस्था सञ्चालन तथा सभा सम्मेलनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभयो । असोज ९ गतेदेखि अर्को आदेश नभएसम्मका लागि भेला हुने जुनसुकै गतिविधिमा रोक लगाएको हो ।

सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखामा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि ३ दिन सम्मको लागि महाशाखा सील गरिएको छ । कर्मचारीलाई कोरोना पुष्टि भएकै दिन असोज ८ गतेदेखि १० गतेसम्म महाशाखा सील गरिएको सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालले बताउनुभयो ।


अनलाइन डेस्क