कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज ५ गते)

असोज ५ गते १ हजार १ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ६५ हजार २ सय ७६ पुगेको छ । गत २४ घण्टामा ९ हजार ५ सय ३३ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज ५ गतेसम्म कोरोना सङ्क्रमणका कारण ४ सय २७ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ४७ हजार २ सय ३८ जना डिस्चार्ज भएका छन् । असोज ५ गते ९ सय ७६ जना डिस्चार्ज भएका छन् भने निको दर ७२.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १७ हजार ६ सय ११ जनाको उपचार भइरहेको छ ।

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार असोज ५ गते ताप्लेजुङकी ३७ वर्षीय महिलाको विराट मेडिकल कलेजमा र सुनसरी इनरुवाकी ४९ वर्षीय महिला र झापा मेचीनगरकी ७२ वर्षीया वृद्धाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरी कोरोना भाइरस सङ्क्रमणका कारण तीन जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिकामा असोज ५ गते ९७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । विराटनगरमा ४३ महिला र ५४ पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टमा प्रदेश १ मा १ सय १९ जनामा कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । असोज ५ गतेसम्म प्रदेश १ मा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । प्रदेश १ मा असोज ५ गते १६ जना डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र, विराटनगरबाट १०, कालिसदन आईसोलेसन, विराटनगर र झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र, रतुवामाईबाट ३-३ जना डिस्चार्ज भएका छन् । हालसम्म २ हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार असोज ५ गतेसम्म १ लाख १६ हजार ५ सय ५२ जनाको पीसीआर परीक्षण गरिएको जनाएको छ ।

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोरोना रिपोर्ट पोजिटिभ आएको केही घण्टामा नै असोज ४ गते अपरान्ह मृत्यु भएकी बिष्णुपुर गाउँपालिका-३ की ६२ वर्षीया महिलाको असोज ५ गते अपरान्ह मात्र शव व्यवस्थापन भएको छ । शव व्यवस्थापनका लागि खाल्डो खन्न आवश्यक पर्ने स्काभेटर र्सर्भिसिङ्गमा भएकाले शव व्यवस्थापन गर्न ढिलाई भएको जानकारी दिनुहुँदै बिष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले मृतककै गाउँ मुसहरनियामा असोज ५ गते शव व्यवस्थापन गरिएको जानकारी दिनु भयो । कोभिड- १९ का कारण मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन कार्यविधि २०७६ मा शवलाई चाँडो भन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनु पर्ने उल्लेख छ ।

यसैगरी सप्तरीमा असोज ५ गते एक पत्रकारसहित चार जना कोरोना सङ्क्रमित भएका छन् । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले दिएको जानकारी अनुसार खडक नपा-८ की ३० वर्षीया पत्रकार, तिलाठी कोइलाडी गाउँपालिका-८ का आठ वर्षीय तथा तिरहुत गाउँपालिका-१ का १५ र ६० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको छ ।

बागमती प्रदेश  

काठमाडौँमा ५ सय ३६, भक्तपुरमा ७१, ललितपुरमा ६२, काभ्रेपलाञ्चोकमा १५, मकवानपुरमा सात, धादिङमा ६, नुवाकोटमा पाँच, दोलखामा तीन, सिन्धुलीमा दुई र सिन्धुपाल्चोकमा एक जना गरी यस प्रदेशमा असोज ५ गते ७ सय ८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या २१ हजार ७ सय ७८ जना पुगेको छ । जसमध्ये ११ हजार ३ सय ९६ जना उपचारपछि घर फर्किएका छन् भने १० हजार २ सय २७ जनाको उपचार विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा भइरहेको छ । थप १० जनाको मृत्यु भएसँगै यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १ सय ५५ जना पुगेको छ ।

गण्डकी प्रदेश

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार एकै दिन १७ जना नयाँ सङ्क्रमित थपिएपछि शुक्लागण्डकी नगरपालिकाले असोज ५ गतेदेखि एक साताका लागि वडा नम्बर ५ र वडा नम्बर १० को केही क्षेत्रमा बन्दाबन्दी गरेको छ । नगर कार्यपालिकाको बैठकले असोज ५ गतेबाट लागू हुने गरी असोज १२ गतेसम्म वडा नम्बर ५ को  ज्ञानज्योति टोल र शान्तिटोलको क्षेत्र तथा वडा नम्बर १० को साँखे बजार क्षेत्रमा बन्दाबन्दीको निर्णय गरेको नगरपालिकाका प्रवक्ता खिम कुमालले जानकारी दिनु भयो । वडा नम्बर ५ का एकै परिवारका दुई घरमा बस्ने १२ जनासँगै प्रहरी, भारतीय सैनिकलगायत १७ जनामा असोज ५ गते सङ्क्रमण पुष्टि भएको थियो ।

प्रदेश ५

बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोरोना सङ्क्रमणका कारण एक जना कैदीको असोज ५ गते मृत्यु भएको छ । सुर्खेत जिल्ला गुर्भाकोट नगरपालिका-४ का ५८ वर्षीय पुरुषलाई सुर्खेत कारागारबाट  भदौ २२ गते नेपालगञ्ज कारागारमा उपचारका लागि ल्याइएको थियो । उनमा दमको समस्या रहेको र उपचारका क्रममा भदौ २२ गते पीसीआर रिपोर्ट पोजेटिभ आएपछि भेरी अस्पतालको आइसोलेशनमा  उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यायलय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनु भयो ।

रोल्पा प्रतिनिधि हरिसरा घर्तीका अनुसार गङगादेव गाउँपालिकामा आठ जनामा जना कोरोना सङ्क्रमणको पुष्टि भएपछि उक्त गाउँपालिकालाई असोज ४ गतेदेखि १० गतेसम्मको लागि सील गरिएको गाउँपालिकाका प्रेस संयोजक अशोक वलीले जानकारी दिनु भयो । उहाँका अनुसार यस समय अवधिमा कुनै पनि सरकारी तथा गैरसरकारी कार्यालयबाट सेवा प्रवाह हुने छैन । साथै एक वडाबाट अर्को वडामा जान समेत रोक लगाएको छ । सङ्क्रमितहरूलाई सदरमुकामस्थित आइसोलेशन केन्द्रमा राखिएको छ ।


अनलाइन डेस्क