कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज २ गते)
असोज २ गते २ हजार २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ६१ हजार ५ सय ९३ पुगेको छ । गत २४ घण्टामा ११ हजार ४ सय ५८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज २ गतेसम्म कोरोना सङ्क्रमणका कारण ३ सय ९० जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ४३ हजार ८ सय २० जना डिस्चार्ज भएका छन् । असोज २ गते ८ सय ७१ जना डिस्चार्ज भएका छन् भने निको दर ७१.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १७ हजार ३ सय ८३ जनाको उपचार भइरहेको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण देखिएको विराटनगर महानगरपालिकामा अधिकांश कोरोना भाइरस सङ्क्रमित घर मै बसेका छन् । आइसोलेशन बेड अभावमा घरमै बस्न बाध्य भएका कोरोना भाइरस सङ्क्रमितसँग महानगरपालिकाले प्रभावकारी समन्वय गर्न सकेको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले होम आइसोलेशनमा बसेका कोरोना भाइरस सङ्क्रमितलाई दैनिक दुई पटक सम्पर्क गर्न परिपत्र जारी गरेको छ । तर विराटनगरमा भने एक पटक सम्पर्क गर्न पनि मुस्किल छ । विराटनगर महानगरपालिका-३ का एक जना कोरोना सङ्क्रमित फोन सम्पर्कमा 'कहिलेकाहीँ फोन आउने मात्र बताउनु भयो । उहाँले 'गाहृो पर्यो भने फोन गर्नु भन्छन्, तर कसलाई भन्ने केही जानकारी दिँदैनन् ।' 'नगरपालिकाका प्रतिनिधिले एक पटक फोन गर्छन् । घरमा बस्नका लागि उपयुक्त छ कि छैन भनेर सोध्दैनन् ।' महानगरपालिकामा ७ सय २६ जना कोरोना भाइरस सङ्क्रमित होम आइसोलेशनमा छन् । होम आइसोलेसनमा भएका सङ्क्रमितलाई नियमित सम्पर्क गरिरहेको विराटनगर महानगरपालिका जनस्वास्थ्य निरीक्षक दीलिप यादवले बताउनु भयो ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार झापा गाउँपालिका-६ सन्थाल वस्ती सील गरिएको छ । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकी एक जना महिला वस्तीमा प्रवेश गरेपछि वस्ती नै सील गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताउनु भयो । साउन २६ गतेदेखि वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा क्यान्सर रोग लागेर उपचाररत महिलामा असोज १ गते अस्पतालले कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि घर पठाएको थियो । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सूचना बिना सङ्क्रमित महिला आफ्नो घर रहेको वस्तीमा प्रवेश गरेपछि जोखिम नियन्त्रणका लागि वस्ती नै असोज २ गतेबाट सील गरिएको स्वास्थ्य शाखा प्रमुख विश्वकर्माले बताउनु भयो । असोज २ गते भरतपुर अस्पतालबाट घर आएका सङ्क्रमित महिला र उहाँका छोरालाई झापा गाउँपालिकाको होल्डिङ सेन्टरमा पठाइएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा असोज २ गते काठमाडौँमा ६ सय ९८, चितवनमा १ सय ९१, भक्तपुरमा ८४, ललितपुरमा ७९, मकवानपुरमा ३०, काभ्रेपलान्चोकमा १२, धादिङमा नौ, रामेछाप र नुवाकोटमा ६/६, सिन्धुपाल्चोक तीन, दोलखा र सिन्धुलीमा एक/एक, जना गरी १ हजार १ सय २० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या १९ हजार ४ सय ४२ जना पुगेको छ । जसमध्ये ९ हजार ७ सय ५१ जना उपचारपछि घर फर्किएका छन् भने ९ हजार ५ सय ३९ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । थप चार जनाको मृत्यु भएसँगै यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १ सय ३२ जना पुगेको छ ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार जिल्लामा एकै दिन २ सय १२ जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । असोज १ गते चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा २ सय ४ र भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनामा सङ्क्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेज ल्याबमा सोही अस्पतालबाट सङ्कलन गरिएको स्वाब र भरतपुर अस्पतालले पठाएको स्वाब गरी ६ सय ५३ ओटा नमूना परीक्षण गरिएको थियो । यसैबीच, कोरोना भई उपचाररत ५५ वर्षीय पुरुषको असोज २ गते भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनु भयो । यसैगरी चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत ३१ वर्षीय पुरुषको असोज १ गते मध्यराति मृत्यु भएको अस्पतालका निर्देशक प्रा. डा. दयाराम लम्सालले बताउनु भयो ।
रामेछाप प्रतिनिधि नवराज पथिकका अनुसार जिल्लामा पुनः असोज १ गतेबाट निषेधाज्ञा थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले असोज १ गते एक सूचना जारी गरी सो घोषणा गर्नुभएको हो । जारी सूचना अनुसार शैक्षिक संस्था विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र तथा परीक्षा सञ्चालनमा रोक लगाइएको छ । सबै प्रकारका तालिम, सभा, गोष्ठी, बैठक, भेला, सेमिनार, प्रदर्शन तथा सम्मेलन गर्न पनि प्रतिबन्ध लगाइएको छ । यसैगरी सिनेमाहल, पार्टीप्यालेस, बार, व्युटीपार्लर, सैलुन तथा स्पा सञ्चालनमा पनि रोक लगाइएको छ । साथै पुस्तकालय तथा हाटबजार सञ्चालन, आन्तरिक नित्य पूजा बाहेक धार्मीक तथा सामाजिक कार्यमा पनि प्रतिबन्ध यथावत छ । त्यस्तै सहकारीको बचत सङ्कलनमा पनि प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।
गण्डकी प्रदेश
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार ०७७ असोज २ गते कोरोना सङ्क्रमणबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व) देवचुली नगरपालिका- ११ का ३१ वर्षीय पुरुषको मृत्यु भएको छ । श्वासप्रश्वास र निमोनियाको समस्या भएपछि भदौ २५ गते अस्पताल भर्ना भएका उनको भदौ २६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । उनको सघन उपचार कक्षमा भेण्टिलेटरमा राखी उपचार गर्दा गर्दै चितवन मेडिकल कलेज भरतपुरमा असोज २ गते बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले बताउनु भयो । यो सँगै जिल्लामा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको चापागाईले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता…
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…