कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असोज १ गते)

असोज १ गते १ हजार २ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५९ हजार ५ सय ७३ पुगेको छ । गत २४ घण्टामा १० हजार ६ सय ४१ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार असोज १ गतेसम्म कोरोना सङ्क्रमणका कारण ३ सय ८३ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ४२ हजार ९ सय ४९ जना डिस्चार्ज भएका छन् । असोज १ गते १ हजार २ सय ४३ जना डिस्चार्ज भएका छन् भने निको दर ७२.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १६ हजार २ सय ४१ जनाको उपचार भइरहेको छ ।

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार असोज १ गते जिल्ला प्रहरी कार्यालय सप्तरीका ३७ प्रहरीसहित ५३ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खडकाका अनुसार जिल्ला प्रहरी कार्यालयका दुई इन्स्पेक्टर, तीन सई, चार असई, चार हवल्दार र अन्य प्रहरीहरू सङ्क्रमित भएका हुन् । जसमा दुई प्रहरी महिला छन् । सोही कार्यालयमा सरसफाई गर्ने राजविराज नपा-६ का १९ वर्षीय पुरुष पनि सङ्क्रमित भएका छन् । यसैगरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका ३५ वर्षीय चिकित्सक, राजविराज नपा-३ का ४५ वर्षीय अभिवक्ता, राजविराजस्थित भिम दल गणका ३७ वर्षीय पुरुषको रिपोर्ट आज पोजेटिभ आएको छ । जिल्लामा हालसम्म १ हजार १ सय ४३ जना सङ्क्रमित पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । जसमा १ सय ९९ महिला र ९ सय ४४ पुरुष छन् । स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार सङ्क्रमितमध्ये १ सय ११ महिला र ६ सय ३९ पुरुष निको भएर घर फर्किएका छन् । सङ्क्रमण पुष्टि भएका एक महिला र आठ पुरुषको मृत्यु भएको छ ।

बागमती प्रदेश  

काठमाडौँमा ५ सय ७, चितवनमा १ सय १, ललितपुरमा ६१, भक्तपुरमा ५०, धादिङमा सात, सिन्धुपाल्चोक र मकवानपुरमा चार/चार, काभ्रेपलान्चोक र दोलखामा दुई/दुई, रामेछाप र नुवाकोटमा एक/एक, जना गरी यस प्रदेशमा असोज १ गते ७ सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या १८ हजार ३ सय २२ जना पुगेको छ । जसमध्ये ९ हजार ४ सय ११ जना उपचारपछि घर फर्किएका छन् भने ८ हजार ७ सय ८३ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । काठमाडौँका ८७ वर्षीय पुरुष र चितवनकी ३६ वर्षीया महिला गरी थप दुई जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि भएसँगै यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १ सय २८ जना पुगेको छ ।

प्रदेश ५

बाँकेमा कोरोना सङ्क्रमणका कारण नेपालगञ्ज उपमनपा-१ का ४५ वर्षीय एक पुरुषको असोज १ गते मृत्यु भएको छ । भेरी अस्पताल नेपलागञ्जको आइसोलेशनमा उपचाररत पुरुषको मृत्यु भएको नेपालगञ्ज उपमनपाका कोरोना फेकल पर्सन रामबहादुर चन्दले बताउनु भयो । स्वास्थ्यमा समस्या भएपछि ती पुरुष भदौ २९ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएका थिए । भदौ ३० गते कोरोना परीक्षणका लागि स्वाब लिइएकोमा भदौ ३१ गते रिपोर्ट पोजेटिभ आएको थियो । यससँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।

पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमल्सिनाका अनुसार तानसेनस्थित वृद्धाश्रम आइसोलेशनमा रहेका ५२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट असोज १ गते मृत्यु भएको छ । तानसेन नगरपालिका-७ का उनलाई बिरामी भएपछि मिसन अस्पतालमा उपचारका लागि ल्याइएको थियो । शङ्कास्पद लक्षण देखिएपछि अस्पतालले स्वाब परीक्षणका लागि पठाएको र उनको रिपोर्ट पोजेटिभ आएपछि उनलाई भैरहवा बुटवलका अस्पतालमा थप उपचारका लागि पठाइएकोमा कुनै पनि अस्पतालले भर्ना नलिएपछि पुनः पाल्पा फर्काइएको थियो । उनको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनु भयो । यससँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

सुदूरपश्चिम प्रदेश

इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार सुदूरपश्चिम सरकारले गत चैत १५ गतेदेखि जिल्ला अस्पताल, बैतडीमा पीसीआर मेसेनी जडना गरी कोरोना परीक्षण सुरु गर्ने निर्णय गरेको भएपनि असोज १ गतेदेखि मात्रै जिल्ला अस्पताल, बैतडीमा पीसीआर मेसिन जडान गरी प्रयोगशाला सञ्चालनमा आएको छ । सुदूरपशिचम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले असोज १ गते पीसीआर परीक्षण प्रयोगशालाको उद्घाटन गर्नु भएको हो । पीसीआर प्रयोगशालामा असोज १ गते १ सय ओटा नमूना परीक्षण गरिने र एक दिनमा ३ सय सम्म नमूना परीक्षण गर्न सकिने अस्पतालका मेडिकल ल्याव टेक्नोलोजिष्ट श्यामराज जोशीले बताउनु भयो । जिल्लामा पीसीआर मेसिन सञ्चालनमा आएपछि उपरान्त कोरोना परीक्षणको लागि डडेल्धुरा र धनगढी पठाउनु पर्ने अवस्थाको अन्त हुने र बैतडीसँगै दार्चुलाका नागरिकले पनि यहाँबाट सेवा लिन सक्ने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर डम्बरजङ्ग सिंहले बताउनु भयो ।


अनलाइन डेस्क