कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ३० गते)
भदौ ३० गते १ हजार ४ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५६ हजार ७ सय ८८ पुगेको छ । गत २४ घण्टामा १० हजार ३ सय ७५ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ ३० गतेसम्म कोरोना सङ्क्रमणका कारण ३ सय ७१ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ४० हजार ६ सय ३८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ ३० गते १ हजार ६२ जना डिस्चार्ज भएका छन् भने निको दर ७१.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १५ हजार ७ सय ७९ जनाको उपचार भइरहेको छ । जसमध्ये ७ हजार ६ सय ४० जनाको घरैमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रदेश २
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार स्वास्थ्य मन्त्रालयद्वारा निर्धारित स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी/गराइ असोज १ गतेदेखि अर्को आदेश नभएसम्म हाललाई जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरू स्थानीय तहगत रूपमा बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म टोकन प्रणालीको आधारमा प्रवाह गरिने सूचना भदौ ३० गते जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कोरोना सङ्क्रमित जीतपुरसिमरा उपमहानगरपालिका-१४ डुमरवानाकी ५५ वर्षीया महिलाको नारायणी अस्पताल बीरगंजको आइसीयूमा उपचारको क्रममा भदौ २९ गते मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर आतुलेश चौरसियाले बताउनु भयो । नारायणी अस्पतालमा जिन एक्सपर्ट विधिबाट भदौ २९ गते नोवेल कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । महिलामा मधुमेह, उच्च रक्तचाप र निमोनियाको समस्या रहेको डाक्टर चौरसियाले बताउनु भयो ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार निषेधाज्ञा हटेकै दिन सप्तरीमा सबैभन्दा बढी ५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमितमध्ये सप्तरी जिल्ला अदालतका ६ कर्मचारी, सिडिओ कार्यालय सप्तरीका कार्यालय सहायक दुई जना, एक प्रहरी र एक भान्से, राष्ट्रिय अनुसन्धान कार्यालयका एक कर्मचारी, छिन्नमस्ता अस्पताल राजविराजका दुई कर्मचारी तथा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचाररत मिर्गौलापीडित एक जना महिला र आकस्मिक सेवामा उपचाररत तीन जना बिरामीमा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । अस्पतालको डायलासिस सेवामा उपचारररत मिर्गौला पीडितमध्ये भदौ २९ गते ६ र भदौ ३० गते १ जनामा कोरोना सङ्क्रमण देखिएपछि डायलासिस सेवा बन्द गरिएको छ ।
बागमती प्रदेश
काठमाडौँमा ५ सय ५१, भक्तपुरमा ९०, मकवानपुरमा ६३, चितवनमा ३७, ललितपुरमा ३४, काभ्रेपलाञ्चोकमा २१, दोलखामा ८, धादिङमा चार, रामेछापमा तीन, नुवाकोटमा र सिन्धुलीमा दुई/दुई, जना गरी यस प्रदेशमा भदौ ३० गते ८ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या १६ हजार ७ सय २१ जना पुगेको छ । जसमध्ये ८ हजार ३ सय ९२ जना उपचारपछि घर फर्किएका छन् भने ८ हजार २ सय ३७ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । आज थप पाँच जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि भएसँगै यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १ सय २२ जना पुगेको छ ।
भक्तपुर प्रतिनिधि रमेश गिरीका अनुसार कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि नाक तथा घाँटीबाट स्वाब सङ्कलन गर्न प्रयोग हुने 'भिटिएम' किटको अभावमा कोरोना परीक्षण रोकिने अबस्थामा पुगेको बागमती प्रदेश अन्तर्गत स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले बताउनु भएको छ । उहाँले दैनिक २ सयदेखि ३ सयसम्म शङ्कास्पद तथा कन्ट्याक ट्रेसिङ्मा आएका व्यक्तिको स्वाब सङ्कलन गरेर पीसीआर परीक्षण गर्दै आएकोमा किट अभाव हुँदै गएपछि अहिले नगन्य अवस्थामा मात्रै स्वाब सङ्कलन गर्ने गरेको बताउनुभयो । बागमती प्रदेश सरकारले पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्ने 'भिटिएम' किट नपठाउँदा अब स्वाब सङ्कलन नै रोकिने अवस्थामा पुगेको उहाँको भनाई छ । प्रदेश सरकारसँग माग्दै आएको किट नपठाएपछि किटको अभाव भएको र पीसीआर परीक्षणका लागि स्वाब सङ्कलनमा समस्या आए कोरोना महामारी फैलिने जोखिम रहेको उहाँको भनाई छ ।
ललितपुर प्रतिनिधि दीपक घिमिरेका अनुसार महालक्ष्मी नगरपालिकाका एक जना जनप्रतिनिधिलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएसँगै भदौ ३० गतेदेखि असोज ४ गतेसम्मका लागि नगरपालिकाले प्रदान गर्ने सेवा बन्द भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले भदौ ३० गते सूचना प्रकाशित गरी असोज ४ गतेसम्म नगरपालिकाबाट प्रदान गरिने अति आवश्यकीय सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको उल्लेख गर्नु भयो । अति आवश्यकीय सेवामा स्वास्थ्य सेवा रहेकाले सो बाहेकका सेवा बन्द गरिएको सापकोटाले बताउनु भयो । स्वास्थ्य समस्या आएपछि इमाडोलमा रहेकको किष्ट मेडिकल कलेज, अस्पतालको आइसोलेसनमा उपचाररत ती जन प्रतिनिधिलाई कोभिड-१९ सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा.खगेश्वर गेलालले बताउनु भयो । किष्ट अस्पतालका अनुसार उनमा अक्सिजनको मात्र कम र ज्वरो देखिएको छ । उनको परिवारका सदस्यलाई पनि कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । ती जनप्रतिनिधिले आफूलाई कोरोना पोजेटिभ देखिएको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन उनले सार्वजनिक अपिल पनि गरेका छन् ।
गण्डकी प्रदेश
कास्की प्रतिनिधि सुशन घिमिरेका अनुसार पोखरा महानगरपालिका-९ का ७० वर्षीय कोरोना सङ्क्रमित पुरुषको भदौ ३० गते उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । भदौ २५ गते मणिपाल शिक्षण अस्पताल भर्ना भएका उहाँमा भदौमा २८ गते कोरोना पुष्टि भएको थियो । उनी क्यान्सरका बिरामी थिए । हालसम्म पोखरामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ भने एक/एक जना अन्नपूर्ण र मादी गाउँपालिका गरी कास्की जिल्लाभर १० जनाको मृत्यु भएको छ ।
प्रदेश ५
रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार शिवराज नगरपालिका-५ कपिलवस्तुकी ४७ वर्षीया महिलाको कारोना सङ्क्रमणका कारण भदौ २९ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देएपिछि भदौ २१ गते भर्ना भएकी उनलाई भदौ २१ गते कोरोना पुष्टि भएपछि कोरोना अस्पतालको आइसीयूमा राखेर उपचार गराइएको थियो । उपचारका क्रममा भदौ २९ गते उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकृत डाक्टर विष्णु गौतमले बताउनु भयो । उहाँ लामो समयदेखि मिर्गौलाको बिरामी रहेको समेत डाक्टर गौतमले बताउनु भयो ।
रोल्पा प्रतिनिधि हरिसरा घर्तीका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै रुन्टिगढी गाउँपालिकामा भदौ २८ गतेदेखि सील गरिएको छ । भदौ २८ गतेदेखि असोज ४ गतेसम्म सील गरिएको गाउँपालिका अध्यक्ष बालाराम बुढाले बताउनु भयो । नौ ओटा वडा रहेको यो गाउँपालिका भित्र रहेका सबै कार्यालयको सेवा बन्द गरिएको तथा गाउँपालिकाबाट बाहिरिन र भित्रिन पूर्ण रूपमा रोक लगाइएको समेत अध्यक्ष बुढाले बताउनु भयो ।
कर्णाली प्रदेश
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार वीरेन्द्रनगर नपाको लेखा शाखाका कर्मचारीहरूमा कोरोना पुष्टि भएपछि सो नपाको लेखा शाखाबाट प्रवाह गरिने सेवा आठ दिनका लागि बन्द गरिएको छ । वीरेन्द्रनगर नपाका कार्यकारी अधिकृत टिकाराम ढकालले भदौ ३० गते प्रेस विज्ञप्ति जारी गरी असोज ६ गते सम्मका लागि लेखा शाखाबाट दिइने सेवा बन्द गरिएको जानकारी दिनु भएको छ ।
सुदूरपश्चिम प्रदेश
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार धनगढी उपमहानगरपालिका-१४ को वडा कार्यालयमा कार्यरत एक कर्मचारीमा भदौ २८ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ २९ गतेदेखि असोज ३ गतेसम्मका लागि वडा कार्यालय सील गरिएको छ । भदौ २६ गते पीसीआर परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा गरिएको नमूना परीक्षणमा वडा कार्यलयका कर्मचारीमा कोरोना पुष्टि भएपछि भदौ २९ गतेदेखि असोज ३ गतेसम्मका लागि वडा कार्यालय सील गरिएको वडा अध्यक्ष रामबजारी चौधरीले बताउनु भयो । यसभन्दा अगाडि पनि वडाका २५ जनामा कोरोना पुष्टि भइसकेको र वडा कार्यालयकै कर्मचारीमा पनि कोरोना पुष्टि भएपछि समुदाय स्तरमा कोराना सङ्क्रमण फैलिन नदिनका लागि वडा कार्यलयबाट प्रवाह गरिने सम्पूर्ण सेवा बन्द गरी वडा कार्यालय सील गरिएको अध्यक्ष चौधरीले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…