कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २९ गते)
भदौ २९ गते १ हजार १ सय ७० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५५ हजार ३ सय २९ पुगेको छ । गत २४ घण्टामा १० हजार ८ सय ७८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ २९ गतेसम्म कोरोना सङ्क्रमणका कारण ३ सय ६० जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ३९ हजार ५ सय ७६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ २९ गते ८ सय ७९ जना डिस्चार्ज भएका छन् भने निको दर ७१.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १५ हजार ३ सय ९५ जनाको उपचार भइरहेको छ ।
भदौ २९ गतेसम्म काठमाडौँ उपत्यकाका तीन जिल्लामा गरी १२ हजार २ सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँमा १० हजार २८ जनामा कोरोना पुष्टि भएकामा ६२ को मृत्यु र ४ हजार ५ सय २० जना निको भएका छन् भने ललितपुरमा १ हजार १ सय ९० जनामा कोरोना पुष्टि भएकामा नौ जनाको मृत्यु र ६ सय ८४ जना निको भएका छन् । भक्तपुरमा १ हजार ३२ जनामा कोरोना पुष्टि भएकामा १३ जनाको मृत्यु र ५ सय १८ जना निको भएका छन् । अन्यको उपचार विभिन्न आइसोलेशन सेन्टर तथा अस्पतालहरूमा भइरहेको छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार भदौ २९ गते कोभिड-१९ अस्पताल सञ्चालन गरिरहेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका २८ वर्षीय चिकित्सक, ४० वर्षीय शल्यक्रिया सहायक, अस्पताल प्रहरी बीटमा कार्यरत २५ वर्षीय प्रहरी र डायालासिस सेवा लिइरहेका महादेवा गाउँपालिका-४ का २७ वर्षीय, सुरुङ्गा नपा-१ का ८५ वर्षीय, वडा नम्बर- ३ का ५८ वर्षीय, खडक नपा-३ का ३५ वर्षीय र बिष्णुपुर गाउँपालिका-६ का उमेर नखुलेका पुरुष तथा सिरहाको गोलबजार नपा-१२ का ६५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण देखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले बताउनु भयो । डायलासिस सेवा लिइरहेका राजविराज नपा-४ का एक पुरुष बिरामी र राजविराज नपा-६ की एक नर्समा १० दिन अघि सङ्क्रमण देखिएको थियो । यस्तै तिलाठी कोइलाडी गाउँपालिका-१ का ५० वर्षीय क्यान्सर पीडित, उनकी ४५ वर्षीया पत्नी, २५ वर्षीया छोरी, वडा नम्बर-४ का २८ वर्षीय डाक्टर (भैरहवामा कार्यरत), राजविराजस्थित कर कार्यालयका ३१ वर्षीय कर्मचारीमा पनि सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार कर्जन्हा नपा-२ को ३५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट भदौ २८ गते उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारको लागि जनकपुर स्थित काव्या अस्पतालमा भदौ २६ गते भर्ना भएकी उनको स्वाब सङ्कलन गर्दा पोजेटिभ नतिजा आएपछि प्रादेशिक अस्पतालको आइसोलेशनमा भदौ २८ गते उपचारको लागि लगिएकामा सोही दिन ६ बजे उपचारको क्रममा मृत्यु भएको हो ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार लोहारपट्टी नपा-३ बस्ने एक ६० वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण भदौ २८ गते मृत्यु भयो । कोरोना भाइरस लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएकोमा उनको भदौ २८ गते मृत्यु भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विजय झाले बताउनु भयो । भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो । उनको मृत्युसँगै महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताउनु भयो ।
बागमती प्रदेश
काठमाडौँमा ४ सय ४२, मकवानपुरमा ७०, चितवनमा ३१, ललितपुरमा ३०, भक्तपुरमा २४, काभ्रेपलाञ्चोकमा १४, धादिङमा आठ, नुवाकोटमा तीन, रामेछाप र सिन्धुलीमा एक/एक जना गरी यस प्रदेशमा भदौ २९ गते ६ सय २४ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार ९ सय ३६ जना पुगेको छ । जसमध्ये ७ हजार ९ सय १९ जना उपचारपछि घर फर्किएका छन् भने ८ हजार जनाको उपचार विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा भइरहेको छ । भदौ २९ गते मात्रै नौ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि भएसँगै यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १ सय १७ जना पुगेको छ ।
गण्डकी प्रदेश
तनहुँ जिल्ला प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँको आँबुखैरेनी गाउँपालिकाकी एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका-४ निवासी ७६ वर्षीया महिलाको भदौ २४ गते काठमाडौँस्थित मनमोहन कार्डियो भास्कुलर उपचार केन्द्र शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले भदौ २८ गते जानकारी गराएको छ । ती महिलामा मुटुसम्बन्धी समस्या रहेको थियो । भदौ २० गते अस्पतालमा भर्ना भएकी उनलाई भदौ २३ गते कोरोना पुष्टि भएको थियो । उपचारका लागि चितवन पुगेपनि स्वास्थ्यमा सुधार नभएपछि उनलाई काठमाडौ लगिएको थियो ।
योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि व्यास नगरपालिका-१ की ५० वर्षीया महिलाको पोखरामा, व्यास नगरपालिका-२ की २० वर्षीया युवतीको काठमाडौँमा र म्याग्दे गाउँपालिका-१ की ९६ वर्षीया महिलाको काठमाडौँमा निधन भएको थियो ।
भदौ २९ गते एकैदिन ११ जनामा कोरोना पुष्टि भएपछि ऋषिङ गाउँपालिकाले भदौ २९ गतेदेखि एक हप्ता लकडाउन गर्ने निर्णय गरेको छ । ऋषिङ गाउँपालिका-२, ३, ४, ५, ६ र ८ का ११ जनामा कोरोना पुष्टि भएपछि असोज ५ गते राति १२ बजेसम्म लकडाउन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलका अनुसार सम्पूर्ण वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवा बाहेकका सबै सेवा बन्द गरिएको छ ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्ला प्रशासन कार्यालय बागलुङले भदौ २८ गते बजार अनुगमन गर्दै विषाक्त रसायन मिथालोन मिश्रति हृयान्ड स्यानिटाइजर खरिद तथा विक्री नगर्न आग्रह गरेको छ । प्रशासनले भदौ २८ गते सेनिटाइजर विक्री हुने पसल र औषधि पसलहरूमा समेत अनुगमन गर्दै औषधि व्यवस्था विभागले गुणस्तरहीन प्रमाणित गरेको स्यानिटाइजर नबेच्न आग्रह गरेको हो ।
नवलपरासी (बर्दघाट सुस्ता पुर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार कोराना सङ्क्रमणबाट गैँडाकोट नपा-९ की ६२ वर्षीया महिलाको भदौ २८ गते राति मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईंका अनुसार ज्वरो, खोकीसहित श्वासप्रश्वासमा समस्या भएपछि भदौ १५ गते चितवनमा रहेको चितवन मेडिकल कलेजमा भर्ना भएकी उनलाई भदौ १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । चितवन मेडिकल कलेजमा उपचारको क्रममा भदौ २८ गते राति ११:५५ बजे उनको मृत्यु भएको चापागाईंले बताउनुभयो । योसँगै नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बागमती प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिकः एक माध्यमिक विद्यालय, एक नर्स
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै 'एक माध्यमिक विद्यालय, एक नर्स' कार्यक्रमलाई विस्तार गर्ने भएको छ । प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गजुरी गाउँपालिका-५ का २० वर्षीय दिनेश भुजेललाई प्रहरीले ०८० जेठ १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख २७ गते विवाह गर्ने…
प्रहरीको कुटपिटबाट तीनजना प्रदर्शनकारी घाइते
सुर्खेतको वीरेन्द्रनगरमा जेठ १४ गते प्रहरीको कुटपिट र लाठी प्रहारबाट तीनजना प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुनेमा हुम्लाको ताजाकोट गाउँपालिका–३ का ३२ वर्षीय टिका शाही, सोही गाउँपालिका–४ डल्लाबाडाका ३७ वर्षीया…
कर्णाली प्रदेश सभाका विषयगत समितिहरूमा सभापति चयन
कर्णाली प्रदेश सभामा रहेका सबै विषयगत समितिहरूको सभापति चयन गरिएको छ । जेठ १४ गते भएको समितिका सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध चयन भएका हुन् । कर्णाली प्रदेश सभामा चार…
अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान
अन्नपुर्ण गाउँपालिका–८ राम्चेका शारीरिक रूपमा अपाङ्गता भएका भविन्द्रलाई जिल्ला प्रशासन कार्यालय म्याग्दीकी सहायक प्रमुख जिल्ला अधिकारी प्रतिज्ञा सुवेदीले घरमै पुगेर जेठ १३ गते नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको हाे ।…