कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २८ गते)

भदौ २८ गते १ हजार ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५४ हजार १ सय ५९ पुगेको छ । गत २४ घण्टामा ९ हजार १ सय ६५ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ २८ गतेसम्म कोरोना सङ्क्रमणका कारण ३ सय ४५ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ३८ हजार ६ सय ९७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ २८ गते १ हजार १ सय ७३ जना डिस्चार्ज भएका छन् भने निको दर ७१.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १५ हजार १ सय १७ जनाको उपचार भइरहेको छ ।

प्रदेश १

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार गत साउन २८ गतेदेखि अर्को सूचना नभएसम्म बन्द भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको ओपिडी सेवा भदौ २८ गतेदेखि सुचारु भएको छ । प्रतिष्ठानले बिहान देखि ओपिडी सेवा सञ्चालनमा आउने सूचना जारी गरेको थियो । स्थानीय, प्रदेश र सङ्घीय सरकारले लकडाउन (बन्दाबन्दी) लाई खुकुलो बनाउँदै गएको कारण ओपिडी सेवा सुरु गर्ने निर्णय गरेको प्रतिष्ठानले जारी गरेको सूचनामा उल्लेख छ । ओपिडी सेवालाई सुरक्षित र व्यवस्थित गर्नको लागि चाहिने पीपीई, आवश्यक सुरक्षा, भौतिक दूरी, हात धुने लगायतको प्रबन्ध गरिएको छ । प्रतिष्ठानमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गएपछि प्रतिष्ठानले साउन २८ गतेदेखि ओपिडी सेवा बन्द गरेको थियो ।

प्रदेश २

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार जिल्लास्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसमा जिल्ला सुरक्षा समितिको भदौ २८ गते बसेको बैठकले निषेधज्ञाको समयअवधि भदौ २८ गते आइतबार राति १२ बजेदेखि असोज ४ गते राति १२ बजेसम्मका लागि थप गरेको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनु भयो । यसअघि भदौ १४ गतेदेखि भदौ २१ गते राति १२ बजेसम्मका लागि जारी निषेधाज्ञाको समयसीमा बढाएर भदौ २८ गते राति १२ बजेसम्मका लागि बढाइएको थियो ।

यसैबिच, कोरोना महामारीका कारण विशेष कामकाज बाहेकको अन्य सेवा बन्द रहेको जिल्ला अदालत धनुषाले असोज १ गतेदेखि सबै कामकारबाही सुरु गर्ने निर्णय गरेको छ । अदालतको नियमित कामकाज सुरक्षित तथा सहज रूपमा प्रवाह गर्ने सम्बन्धमा भदौ २८ गते बसेको बैठकले असोज १ गतेदेखि आफ्नो सेवा प्रवाह गर्ने निर्णय गरेको अदालतका शाखा अधिकृत गंगाकुमार मिश्रले बताउनु भयो । असोज १ गतेदेखि मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ अनुसार पर्ने निवेदनको सुनुवाई, बालसुधार गृहमा रहेका बालबालिका अभिभावकले जिम्मा लिने सम्बन्धी निवेदन उपरको सुनुवाइ, जरुरी पक्राउ पूर्जीको समर्थन तथा पक्राउ पूर्जी जारी गर्ने अनुमतिसम्बन्धी कार्य तथा सेवाहरू पुनः सञ्चालनमा ल्याउने निर्णय भएको जिल्ला अदालत धनुषाका शाखा अधिकृत मिश्रले बताउनु भयो ।

बागमती प्रदेश 

यस प्रदेशमा भदौ २८ गते काठमाडौँमा ४ सय ८६, भक्तपुरमा १ सय १, धादिङमा ३४, ललितपुरमा ३३, चितवनमा २७, मकवानपुरमा १४, नुवाकोटमा नौ, काभ्रेपलाञ्चोकमा सात, रामेछापमा दुई, दोलखा र सिन्धुपाल्चोकमा एक/एक, जना गरी ७ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या १५ हजार ३ सय १२ जना पुगेको छ । जसमध्ये ७ हजार ३ सय ८४ जना उपचारपछि घर फर्किएका छन् भने ७ हजार ८ सय २० जनाको उपचार विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १ सय ८ जना पुगेको छ ।

काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विदेशमा अलपत्र परेका नेपालीलाई अबको एक महिनाभित्र उद्धार गरिसक्न सरकारलाई निर्देशन दिएको छ । समितिको भदौ २८ गते बसेको बैठकले विदेशी भूमिमा रहेका नेपाली नागरिकको उद्धारमा ढिलाइ भइरहेको भन्दै अबको एक महिनाभित्र उनीहरूलाई स्वदेश ल्याउन निर्देशन दिएको हो । बैठकपछि समितिका सभापति विमलप्रसाद श्रीवास्तवले अलपत्र अवस्थामा रहेका श्रमिकलाई एक महिनाभित्र उद्धार कार्य सम्पन्न गर्ने व्यवस्थित कार्ययोजना निर्माण गरी हाल अलपत्र अवस्थामा परेका नेपालीहरूलाई ल्याउने कार्य तत्काल आरम्भ गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो । साथै समितिले विदेशबाट नेपाली श्रमिक ल्याउदा विदेशी एयरलाइन्सले उडान नभर्ने साउदी अरेबियाजस्ता देशमा नेपाली वायुसेवा कम्पनीलाई जिम्मा दिन र अरू देशमा जुन एयरलाइन्सबाट ल्याउदा छिटो र सजिलो हुन्छ त्यसैलाई प्राथमिकता दिन पनि सरकारलाई निर्देशन दिएको छ । बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेले कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण विदेशमा अलपत्र परेका ६८ हजार ३ सय ४७ जनाको तत्काल उद्धार गर्नुपर्ने अवस्था रहेको जानकारी गराउनु भएको थियो । सरकारले गत जेठदेखि विदेशमा समस्यामा परेका नेपालीको उद्धार सुरु गरेको थियो । हालसम्म विदेशमा अलपत्र परेका ६१ हजार ७ सय १० जना नेपाली स्वदेश फर्किएका छन् ।


अनलाइन डेस्क