कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २६ गते)
भदौ २६ गते १ हजार ४ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५१ हजार ९ सय १९ पुगेको छ । गत २४ घण्टामा १० हजार ७ सय १ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ २६ गतेसम्म कोरोना सङ्क्रमणका कारण ३ सय २२ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ३६ हजार ६ सय ७२ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ २६ गते ९ सय ७२ जना डिस्चार्ज भएका छन् भने निको दर ७०.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १४ हजार ९ सय २५ जनाको उपचार भइरहेको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा मोरङको ग्रामथान गाउँपालिका-२ की महिलाको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरबाट रेफर भएकी ७० वर्षीया महिलाको भदौ २६ गते दिउँसो ४:३० बजे मृत्यु भएको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले बताउनु भयो । वृद्धालाई बिहीबार सङ्क्रमण पुष्टि भएर स्वास्थ्यमा समस्या थपिएपछि राति नै कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । आइसीयूमा राखेर उनको उपचार भइरहेको थियो । वृद्धामा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुने लगायतका समस्या देखिएको उहाँले बताउनु भयो । वृद्धाको मृत्युसँगै विराटनगरमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्ला अदालत भोजपुरले भदौ २६ गतेबाट अत्यावश्यक बाहेक कार्यालयबाट प्रदान गर्ने सेवा बन्द गरेको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र भोजपुरको भदौ २५ गते बसेको बैठकले भदौ मसान्तसम्म जिल्लालाई पुनः लकडाउन गर्ने निर्णय गरेसंगै अदालतले सेवा बन्द गरेको हो । जिल्ला बार इकाई तथा अन्य सरोकारवाला निकायले अत्यावश्यक बाहेक अन्य सेवा बन्द गर्न सुझाव दिएकोले सेवा बन्द गरिएको जिल्ला अदालत भोजपुरका श्रेस्तेदार नवराज कार्कीले बताउनु भयो । अदालतबाट बन्दी प्रत्यक्षिकरण रिट निवेदन, पक्राउ पुर्जी अनमति, उजुरी प्रक्राउ पुर्जी स्वीकृत, म्याद थप तथा थुनछेक कार्य, बालबालिका सम्बन्धी निवेदन तथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५५ बमोजिमको निवेदन बाहेक अन्य सम्पूर्ण सेवा असोज २ गतेसम्म बन्द गरिएको श्रेस्तेदार कार्कीले बताउनु भयो ।
प्रदेश २
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा भदौ २४ गते मृत्यु भएका औरही गाउँपालिका–१ का ६० वर्षीय पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई भदौ २३ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उपचारको क्रममा मृत्यु भएका उनको स्वाब सङ्कलन गरी परीक्षण गर्दा भदौ २५ गते साँझ रिपोर्ट पोजेटिभ आएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले जानकारी दिनु भयो । योसँगै धनुषामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ ।
बागमती प्रदेश
यस प्रदेशमा भदौ २६ गते काठमाडौँमा ६ सय २०, मकवानपुरमा १ सय १८, चितवनमा ७४, ललितपुरमा ३८, भक्तपुरमा ३५, काभ्रेपलान्चोकमा १३, सिन्धुली र नुवाकोटमा तीन/तीन, सिन्धुपाल्चोकमा दुई, रामेछाप र धादिङमा एक/एक जना गरी ९ सय ३८ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या १४ हजार ५३ जना पुगेको छ । जसमध्ये ६ हजार ५ सय ३५ जना उपचारपछि घर फर्किएका छन् भने ७ हजार ४ सय २३ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । काठमाडौँमा थप एक जना ७० वर्षीय पुरुषको मृत्यु भएपछि हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ९५ जना पुगेको छ ।
गण्डकी प्रदेश
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार गोरखा नगरपालिकामा जारी निषेधाज्ञाको अवधि थप गरिएको छ । भदौ २६ गते बसेको कोभिड–१९ सङ्कट व्यस्वस्थापन केन्द्रको बैठकले जारी निषेधाज्ञा भदौ ३१ गते राति १२ बजेसम्म जारी राख्ने निर्णय गरेको हो । यसअघि भदौ २० गतेबाट भदौ २६ गते राति १२ बजेसम्म गोरखा नगरपलिकामा निषेधाज्ञा गरिएको थियो । कोरोना सङ्क्रमितको सङ्ख्या बढेको र कन्ट्याक्ट ट्रेसिङको पनि रिपोर्ट आउन बाँकी रहेकाले निषेधाज्ञा जारी राख्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताउनुभयो । यो अवधिमा सरकारी कार्यालय, सार्वजनिक संस्था र सामाजिक सङ्घसंस्था बन्द हुनेछन् ।
प्रदेश ५
कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार कोरोना सङ्क्रमणबाट कपिलवस्तु नपा–६ का २९ वर्षीय पुरुषको भदौ २५ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मिर्गौला र उच्च रक्तचापको समस्या रहेकाले उपचारका लागि काठमाडौँ शिक्षण अस्पताल लगिएकोमा भदौ २२ गते कोरोना पुष्टि भएको थियो । उनको उपचारको क्रममा भदौ २५ गते शिक्षण अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताउनु भयो । यससँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ ।
रूपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार सङ्घीय सरकार र प्रदेश सरकारले बालबालिकालाई खोप लगाउने कार्यलाई निरन्तरता दिन सबै जिल्ला स्थानीय तहलाई परिपत्र गरेको भए पनि सरकारको परिपत्रलाई बेवास्ता गर्दै पाँच ओटा स्थानीय तहले खोप सेवा सञ्चालनमा रोक लगाएका छन् । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका, कञ्चन गाउँपालिका, ओमशतिया गाउँपालिका र रोहणी गाउँपालिकाले खोप सेवा बन्द गरेका हुन् । स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले स्थानीय तहलाई खोप सेवा नरोक्न आग्रह गर्दा समेत आफैँ निर्णय गरेर बन्द गरेको बताउनु भयो । सङ्क्रमित नभएका स्वास्थ्यकर्मीलाई खोप केन्द्रमा परिचालन गरी खोप सञ्चालन गर्न पटकपटक आग्रह गर्दा पनि स्थानीय तहले त्यस विषयमा चासो नदिएको शर्माले बताउनु भयो । तिलोत्तमा नगरपालिकाका स्वास्थ्य संयोजक मोती पौडेलले कोरोनाको सङ्क्रमण समुदायमा उच्च फैलिएका कारण नियमिति खोप एक महिना रोकेको बताउनु भयो । उक्त नपामा खोप लगाउने ९ हजार ६ सय ७५ जना बालबालिका रहेका छन् । कोरोना सङ्क्रमण देखिएपछि वैशाखमा र भदौमा नियमिति खोप रोकेको पौडेलले बताउनु भयो ।
यसैगरी, सैनामैना नगरपालिकामा समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नियमित खोप रोकेको सैनामैना नगरपालिका स्वाथ्य संयोजक हेमराज पन्थीले बताउनु भयो । उहाँले नगरपालिकामा ४ हजार २ सय बालबालिका खोप लगाउने उमेरका रहेको बताउनु भयो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका खोप महाशाखा प्रमुख डाक्टर झलक शर्माले कुनै पनि स्थानीय तहले खोप रोक्न नहुने बताउँदै सरकारले खोप लगाउने मापदण्ड बनाएकाले सोही मापदण्डका आधारमा खोप सञ्चालन गर्नुपर्ने बताउनु भयो । कोरोनाको सङ्क्रमण कहिलेसम्म रहन्छ भन्ने कसैलाई जानकारी नभएकोले बालबालिकालाई खोपबाट वञ्चित गर्न नहुने डाक्टर शर्माको भनाइ छ । डाक्टर शर्माका अनुसार खोप लगाउने स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिए वैकल्पिक व्यवस्था अपनाउनु पर्छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्त…
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…