कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २५ गते)
भदौ २५ गते १ हजार २ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ५० हजार नाघेको छ । भदौ २५ गतेसम्म ५० हजार ४ सय ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ११ हजार १ सय १४ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ २५ गतेसम्म कोरोना सङ्क्रमणका कारण ३ सय १७ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ३५ हजार ७ सय जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ २५ गते १ हजार ८ सय १८ जना डिस्चार्ज भएका छन् भने निको दर ७०.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १४ हजार ४ सय ४८ जनाको उपचार भइरहेको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार न्यूरो हस्पिटल विराटनगरद्वारा सञ्चालित कोभिड-१९ अस्पतालले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार सुरू गरेको छ । प्रदेश १ समाजिक विकास मन्त्रालयको स्वीकृतिपछि अस्पतालले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार सुरू गरेको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिनुभयो । सङ्क्रमितको सङ्ख्या बढेसँगै अस्पतालले उपचार सुरू गरेको हो । अस्पताल भित्रै कोरोना भाइरस सङ्क्रमितका लागि आन्तरिक खेलकुदको व्यवस्था, मनोरञ्जन कक्ष, भेन्टिलेटर सहितको व्यवस्था गरिएको छ । न्यूरो अस्पतालले भदौ १२ गतेदेखि विराटनगरको महेन्द्र चोकस्थित आफ्नो विस्तारित शाखा 'मातृशिशु अस्पताल' लाई कोभिड-१९ अस्पतालमा रूपान्तरण गरी सञ्चालनमा ल्याएको हो । जनरल ४३, आइसीयू सात र भेन्टिलेटर दुई गरी ५० शैयाको क्षमतासहित सञ्चालनमा आएको कोभिड अस्पतालमा हाल ११ जना कोरोना भाइरस सङ्क्रमितहरू उपचाररत छन् । २४ घण्टे चिकित्सकीय परामर्श, पौष्टिक तथा सन्तुलित भोजन र चिकित्सकको सल्लाह बमोजिमको आवश्यक औषधि लगायतको सम्पूर्ण सेवा सुविधा प्रदान गरिँदै आएको अस्पतालले जनाएको छ । कोभिड अस्पताल सञ्चालनसँगै प्रयोगशाला निर्माणको पनि तयारी अन्तिम चरणमा पुगेको छ । प्रयोगशाला सञ्चालनमा आएपछि ६ घण्टाभित्र नतिजा आउने गरी दैनिक ५ सयभन्दा बढीको कोरोना भाइरसको सङ्क्रमण भए नभएको परीक्षण गर्न सकिने अस्पतालले जनाएको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार झापा गाउँपालिकाकाले भदौ २५ गतेदेखि एक साताका लागि पूर्णरूपमा हाट बजार बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाले कोरोना भाइरसको जोखिम दिनप्रतिदिन बढेकाले नियन्त्रणका लागि बजार पूर्णरूपले बन्द गर्ने निर्णय गरेको प्रशासकीय अधिकृत जीवन निरौलाले बताउनु भयो ।
भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा भदौ मसान्तसम्म लकडाउन गर्ने निर्णय गरिएको छ । बैङ्कका कर्मचारी, थुनुवासहित आठ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि थप सतर्कताको लागि लकडाउनको अवधि थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको भदौ २५ गतेको बैठकले भदौ मसान्तसम्म लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला भरका खाद्यान्न र तरकारी पसल बिहान ६ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि ५ बजेसम्म खोल्न पाउने गरी लकडाउन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताउनु भयो । बजार पसल, अत्यावश्यक बाहेकका सवारी सधान, निजी कार्यालय, सङ्घसंस्था, शैक्षिक संस्था, वित्तीय संस्था, बैङ्क, सहकारी, होटल लगायतलाई पूर्ण रूपमा बन्द गर्ने निर्णय भएको छ ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी अधिकारीलाई भदौ २५ गते कोरोना सङ्क्रमण देखिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा भदौ २५ गते गरिएको पीसीआर परीक्षणमा प्रहरी अधिकारीसहित सप्तरी कारागारमा कार्यरत दुई जना प्रहरी, नौ जना कैदीबन्दी, अस्पतालकी एक जना नर्स, एक जना स्वीपर र राजविराजका दुई जना व्यापारी गरी १७ जनालाई सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनु भयो । हालसम्म कारागारका १६ कैदीबन्दी तथा प्रहरीका अधिकारीसहित ५७ प्रहरीमा सङ्क्रमण देखिएको जानकारी दिनु हुँदै निमित्त प्रमुख यादवले कारागारभित्र र प्रहरीभित्र ठूलो सङ्ख्यामा सङ्क्रमणको सम्भावना रहेको बताउनु भयो । जिल्ला सुरक्षा समिति र सङ्कट व्यवस्थापन केन्द्रका पदाधिकारीमा समेत सङ्क्रमणको जोखिम रहेकोले परीक्षण गर्न लागिएको उहाँले बताउनु भयो ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार प्रमुख जिल्ला अधिकारी आसमान तामाङको अध्यक्षतामा भदौ २५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो समय भदौ २५ गते राति १२ बजेसम्मका लागि जारी निषेधाज्ञालाई निरन्तरता दिँदै भदौ ३१ गते रातिसम्मका लागि अवधि थप गर्ने निर्णय गरेको छ । साउन १० गतेबाट जारी निषेधाज्ञा चौथो पटक लम्ब्याइएको हो । ४७ दिन देखि जारी निषेधाज्ञालाई स्थानीय प्रशासनले केही खुकुलो बनाएको छ । बैठकको निर्णय अनुसार बीरगंज बजार क्षेत्रका पसलहरू अब शनिबार बाहेक हरेक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने छन् । यसअघि लगाइएको आलोपालोको नियम हटाइएको छ । त्यसैगरी फलफूल र तरकारी बजार पनि सधैँ खुल्ने भएका छन् । प्रशासनले दिएको निर्देशन अनुसार रेल्वे रोडमा घण्टाघर चोकदेखि २ सय मिटर स्कुलदेखि दक्षिणतर्फएकातर्फी रूपमा मात्र तरकारी र फलफूल पसलहरू खोल्न पाइने छ ।
बागमती प्रदेश
यस प्रदेशमा भदौ २५ गते काठमाडौँमा ४ सय ९३, ललितपुरमा ४३, भक्तपुरमा ३३, चितवनमा १८, मकवानपुर र दोलखमा तीन/तीन, रामेछाप र काभ्रेपलाञ्चोकमा दुई/दुई, सिन्धुपाल्चोक, सिन्धुली र नुवाकोटमा एक/एक जना गरी ६ सय जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या १३ हजार १ सय १५ जना पुगेको छ । जसमध्ये ६ हजार ७ जना उपचारपछि घर फर्किएका छन् भने ७ हजार १४ जनाको उपचार विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा भइरहेको छ । काठमाडौँमा एक जना महिला र दुई जना पुरुष तथा चितवनमा एक जना पुरुष गरी थप चार जनाको मृत्यु भएपछि हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्या ९४ जना पुगेको छ ।
प्रदेश ५
रोल्पा प्रतिनिधि हरिसरा घर्तीका अनुसार जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत एकजना कर्मचारीलाई कोरोना पुष्टि भएपछि जिल्ला स्वास्थ्य कार्यालय रोल्पालाई भदौ २४ गतेदेखि सील गरिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले बताउनु भयो । उहाँका अनुसार अन्य सम्पर्कमा रहेका कर्मचारीहरू क्वारेण्टाइनमा रहेका छन् । उनीहरूको पीसीआर रिपोर्ट नआउँदासम्म अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको छ ।
कर्णाली प्रदेश
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार सिम्ता गाउँपालिकाका जनप्रतिनिधि र एकजना कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिकाले भदौ २५ गतेदेखि सात दिनसम्मका लागि सबै सेवा प्रवाह बन्द गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनकबहादुर हमालले भदौ २५ गते विज्ञप्ति जारी गरी गाउँपालिकाबाट प्रवाह हुने सबै सेवा बन्द गरिएको जानकारी दिनु भएको हो । भदौ २४ गते पशुपन्छी रोग अन्वेषणशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणबाट सोही दिन दुवै जनामा कोरोना पुष्टि भएको प्रमुख प्रशासकीय अधिकृत हमालले बताउनु भयो ।
रुकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार कोभिड-१९ को सङ्क्रमण बढेपछि त्रिवेणी गाउँपालिकाको ५, ७ र ९ नम्बर वडामा भदौ २५ गते बिहान ४ बजेदेखि एक साताका लागि निषेधाज्ञा गरिएको छ । भदौ २४ गते त्रीवेणी गाउँपालिका ५, ७ र ९ नम्बर वडाका तीन जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । जिल्लामा कोभिड-१९ सङ्क्रमितहरूको सङ्ख्या तीव्र गतिमा बृद्धि भइरहेकोले जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट त्रीवेणीमा निषेधाज्ञा गर्नुपरेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताउनुभयो ।
सुदूरपश्चिम प्रदेश
दार्चुला प्रतिनिधि नरेन्द्र कार्कीका अनुसार सदरमुकाम खलङ्गामा शैलुन व्यवसाय सञ्चालन गर्दै आएका एक युवकमा भदौ २४ गते कोरोना पुष्टि भएसँगै महाकाली नगरपालिकाले नगरपालिका क्षेत्र सील गरेको छ । महाकाली नगरपालिकास्तरीय समन्वय समितिको बैठकले समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएको आशङ्का गर्दै पुरै नगरपालिका सील गर्ने निर्णय गरेको हो । अहिलेसम्म स्थानीय स्तरमा कोरोना सङ्क्रमण नदेखिएकोमा पहिलो पटक जिल्लाभित्रै बसेका व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि महाकाली नगरपालिकास्तरीय समन्वय समितिको भदौ २४ गते बसेको बैठकले नगरपालिका सील गर्ने निर्णय गरिएको नगर प्रमुख हंशराज भट्टले बताउनु भयो । कपाल काट्ने व्यक्तिको सम्पर्क बढी हुने भएपछि कन्ट्याक ट्रेसिङ गर्न समस्या भएकाले भदौ २४ गते राति ७ बजेदेखि अनिश्चितकालका लागि नगरपालिका सील गरिएको प्रमुख भट्टले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…