कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २२ गते)

भदौ २२ गते ९ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४७ हजार २ सय ३६ पुगेको छ । भदौ २१ गतेभन्दा भदौ २२ गते एक जना कममा कोरोना पुष्टि भएको छ । भदौ २१ गते ९ सय ८० जनामा कोरोना पुष्टि भएको थियो । गत २४ घण्टामा ९ हजार २ सय १८ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ २२ गतेसम्म कोरोना सङ्क्रमणका कारण ३ सय जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये ३० हजार ६ सय ७७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ २२ गते १ हजार ७ सय ३६ जना डिस्चार्ज भएका छन् भने निको दर ६४.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १६ हजार २ सय ५९ जनाको उपचार भइरहेको छ । तीन दिनको तथ्याङ्क हेर्दा सरदर १ हजार सङ्क्रमित थपिएका छन् भने १ हजार ७ सय निको भइ उपचारबाट फर्किएका छन् ।

क्रसं मिति थपिएका सङ्क्रमित डिस्चार्ज मृत्यु
भदौ २२ गते ९७९ १७३६ ११
भदौ २१ गते ९८० १८१४
भदौ २० गते १०४१ १५६६
जम्मा ३००० ५११६ २९

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा भदौ २२ गतेसम्म १ लाख ३ सय ४८ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । भदौ २२ गते १ हजार ८ सय ६० जनाको परीक्षण भएको छ । हालसम्म परीक्षण गरिएका मध्ये ९६ हजार १ सय ७१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । पीसीआर परीक्षण गरिएका मध्ये ४ हजार १ सय ७७ को रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ४० हजार ६ सय ४३, प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरबाट ३१ हजार ३ सय ४३, कोशी अस्पताल विराटनगरबाट २५ हजार ४ सय ३६, मेची अस्पताल झापाबाट २ हजार ८ सय ९१ र अन्य प्रयोगशालाबाट ३५ जनाको परीक्षण भएको छ । प्रदेश १ मा मोरङमा सबैभन्दा बढी ३१ हजार २ सय ६७ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २ हजार ४५ जनामा सङ्क्रमण देखिएको छ । सुनसरीमा २३ हजार ६ सय ७९ र झापामा २३ हजार ५ सय ८५ जनाको परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा चार ओटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुँदै आएको छ । वीपीमा ०७६ चैत १८, कोशीमा चैत २९, प्रदेश जनस्वास्थ्य प्रयोगशालाले वैशाख १९ र मेची अस्पतालले साउन ३० गते बाट पीसीआर परीक्षण सुरु गरेको मन्त्रालयले जनाएको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि बिर्तामोड नगरपालिका-५ मा रहेको बी एण्ड सी हस्पिटलको 'विशेष मेडिकल वार्ड' सील गरिएको छ । हस्पिटलमा कार्यरत १२ जना स्वास्थ्यकर्मीमा भदौ २१ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि विशेष मेडिकल वार्ड सील गरिएको बिर्तामोडका नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकामा भदौ २७ गतेसम्म निषेधाज्ञा थप गरेको छ । भदौ २२ गते रातिदेखि निषेधाज्ञाको समय सकिने भएपछि भदौ २२ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप भएको जिल्ला प्रशासनले सूचना जारी गरेको छ । अति आवश्यक सवारी साधन, सरकारी नम्बर प्लेटका सवारी साधन, निर्माण सामग्री बोकेका, पास लिएका सवारी साधन बाहेका सम्पूर्ण सवारी साधन आवत जावतमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशको सूचनामा उल्लेख छ ।

प्रदेश २ 

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्ला सुरक्षा समिति, सप्तरीको भदौ २२ गतेको बैठकले राजविराजमा भदौ २९ गते मध्यरातिसम्मका लागि निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्दकुमार ठाकुरद्वारा भदौ २२ गते जारी सूचना अनुसार राजविराजको पूर्वमा खाँडो नदी, पश्चिममा छिन्नमस्ता डेरी, उत्तरमा कोशी पम्प चन्द्र नहर र दक्षिणमा बागेश्वरी मन्दिरसम्मको क्षेत्रमा निषेधाज्ञालाई निरन्तरता दिइएको छ । जिल्लाका अन्य क्षेत्रमा भने निषेधाज्ञा हटाइए पनि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भिडभाड नगरी अति आवश्यक पसल सञ्चालन गर्न, जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न, सिटी रिक्सा पनि जोरबिजोर प्रणाली अन्तर्गत यातायात मापदण्ड पालना गरी बढीमा दुई जना यात्री राखेर सञ्चालन गर्न, भिडभाड नहुने गरी बैंक तथा वित्तीय संस्थाहरूले सेवा सञ्चालन गर्न, डेलिभरी वा प्याकिङ्ग गरेर लैजाने गरी होटल-रेष्टुरेण्ट सञ्चालन गर्न पाइने जनाइएको छ ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार कोरोना सङ्क्रमित मिर्चैया नपा-५ की ६२ वर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेशन कक्षमा उपचारको क्रममा भदौ २१ गते र गोलबजार नपा-३ का ८७ वर्षीय पुरुषको काठमाडौँस्थित टिचिङ्ग अस्पतालको आइसोलेशन कक्षमा भदौ २१ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । मिर्चैयाका पुरुष मिर्चैया नगरपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनमा रहेका थिए । उनको स्वाब सङ्कलन भदौ १९ गते भएको थियो भने भदौ २१ गते रिर्पोट पोजेटिभ आएको थियो । सोही दिन उपचारको लागि जनकपुर लगिएकोमा उनलाई सुगर र प्रेसर समेत रहेको थियो । शवको व्यवस्थापन भदौ २२ गते मिर्चैया नगरपालिकामा गरिएको छ । शवको व्यवस्थापन गर्ने क्रममा स्थानीयले अवरोध गरेका थिए । त्यसैगरी गोलबजारका पुरुष ज्वरोको उपचारका लागि शिक्षण अस्पतालमा भदौ १६ गते गएका थिए । सोही दिन स्वाब सङ्कलन गर्दा रिपोर्ट पोजेटिभ आएपछि आइसोलेशनमा राखी उपचार गरिएको थियो । उनको काठमाडौँस्थित पशुपतिमा सव व्यवस्थापन गरिएको थियो ।

सर्लाही प्रतिनिधि बुधन साहका अनुसार कोरोना सङक्रमित चक्रघटा गाउँपालिका-३ सुन्दरपुर बस्ने ३८ वर्षीय पुरुषको मृत्यु भएको जनस्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य निरीक्षक सुशिल झाले बताउनु भयो । पर्सा जिल्ला बीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको आइसीयुमा उपचारार्थ पुरुषको उपचारको क्रममा भदौ २१ गते मृत्यु भएको नारायणी उपक्षेत्रीय अस्पतालले जनायो । मृतक मधुमेहका दीर्घ रोगी रहेको र उनको स्वास्थ्यमा थप समस्या देखिएपछि भदौ ६ गते नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो । बीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमै कोरोना परीक्षण गर्दा भदौ १३ गते उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो । शवको भदौ २१ गते साँझ नेपाली सेनाले व्यवस्थापन गरेको चक्रघटा गाउँपालिकाका अध्यक्ष विक्रम राय यादवले बताउनु भयो । योसँगै सर्लाहीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

पर्सा प्रतिनिधि केसि लामिछानेका अनुसार कोरोना सङ्क्रमित बीरगञ्ज महानगरपालिका-३० लालपर्साका ५४ वर्षीय पुरुषको बीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालको आइसीयूमा उपचारको क्रममा भदौ २२ गते दिउँसो १ बजे मृत्यु भयो । मधुमेह, उच्च रक्तचाप, दम र मृगौला सम्बन्धी समस्या रहेका उनलाई भदौ १५ गते नारायणी अस्पतालले कोभिड अस्पताल बीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृगौलाको डायलासिस समेत गरिएको अस्पतालले जनाएको छ । उनमा उपचारको क्रममै कोभिड निमोनिया समेत देखिएको उपचारमा संलग्न डा. नौसाद अलीले बताउनु भयो ।

प्रदेश ५

बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोरोना भाइरसका कारण बाँकेको नेपालगञ्ज उपमनपा-९ का ५९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा भदौ २१ गते मृत्यु भएको नेपालगञ्ज उपमनपाका स्वास्थ्य संयोजक रामबहादुर चन्दले बताउनु भयो । नेपालगञ्ज उपमनपामा कार्यरत रहेका उनलाई भदौ १२ गते स्वास्थ्यमा समस्या आएपछि कोरोनाको आशङ्कामा भदौ १३ गते स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनमा मधुमेह र मुटु सम्बन्धी रोग समेत भएको जनाइएको छ । यससँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार बाँसगढी नगरपालिका-३ स्थित सिजि फुड कम्पनिमा कार्यरत ४२ जना मजदुरहरूमा भदौ २१ गते कोरोना भाइरस सङ्क्रमण देखिएपछि बाँसगढी नगपालिकाले भदौ २२ गते बिहानदेखि २८ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । नगरपालिकाले भदौ २१ गते नै निषेधाज्ञा सम्बन्धी सूचना जारी गर्दै सिजि फूड कम्पनिमा कार्यरत ४२ जना मजदुरहरू वडा- २ देखि ९ सम्मका व्यक्ति रहेको जनाएको छ । बाँसगढी नगरपालिका प्रमुख सालिकराम अधिकारीले जिल्ला विपत व्यवस्थापन समिति र बाँसगढी नगरपालिका विपद् व्यवस्थापन समिति समन्वयमा कोरोना भाइरसको थप सङ्क्रमण रोकथामका लागि निषेधाज्ञा जारी गरिएको बताउनु भयो । सङ्क्रमितहरूको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी स्वाब सङ्कलन भइरहेको पनि नगर प्रमुख अधिकारीले बताउनु भयो । सम्भावित सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम निषेधाज्ञा जारी गरेको हो । नगरपालिका क्षेत्रमा समुदाय स्तरमा थप सङ्क्रमण फैलिन नदिन सचेतता अपनाउन प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले आग्रह गर्नु भएको छ ।

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार जिल्लामा जारी लकडाउन भदौ २३ गतेदेखि खुकुलो हुने भएको छ । भदौ २२ गते बसेको जिल्ला कोरोना सङ्कट ब्यवस्थापन समितिको बैठकले होटल, चिया पसल बाहेकका सबै पसलहरू खोल्ने निर्णय गरेको छ । यसअघि जिल्लाका सबै पसल तथा बजारहरू बन्द रहेका थिए । भदौ २३ गतेदेखि भदौ ३१ गतेसम्म बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सम्पूर्ण पसलहरू खुल्ला रहने, निजी सवारी साधन जोर बिजोरमा प्रणाली लागु गर्ने निर्णय गरिएको छ । सार्वजनिक सवारी साधन भने पूर्ण रूपमा बन्द रहने प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनु भयो ।

पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार जिल्ला अस्पताल पाल्पामा उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि पाल्पा अस्पताललाई भदौ २१ गतेबाट सील गरिएको छ । एक सातादेखि अस्पतालमा उपचार गराइहेकी तानसेन नपा- ११ की ८२ वर्षीया महिलामा भदौ २१ गते कोरोना सङ्क्रमणको पुष्टि भएपछि अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवाहरू भदौ २१ गते साँझबाट बन्द गरिएको स्वास्थ्य कार्यालय पाल्पाले सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनु भयो । पाल्पामा भदौ २१ गते मात्रै १६ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । जसमध्ये १२ जना समुदाय स्तरका व्यक्तिहरू रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

कर्णाली प्रदेश

रुकुम पश्चिम जिल्ला प्रतिनिधि मनिषा केसीका अनुसार जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ज्यान मार्ने उद्योग मुद्दामा गिरफ्तारीमा परेका मुसीकोट नपा–४ का २५ वर्षीय युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन इश्वर रावलले बताउनुभयो । मुसीकोट नगरपालिकाले भदौ १५ गते १ सय ४७ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि सुर्खेत पठाएको थियो । कोरोना सङ्क्रमित युवासँगै एउटै कोठामा सात जना बसिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डिएसपी ठगबहादुर केसीले जानकारी दिनुभयो । कोरोना सङ्क्रमित युवामा कोरोनाको कुनै पनि लक्षण नदेखिएको उहाँले बताउनुभयो । यो सँगै रुकुम पश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या ६५ पुगेको छ । जसमध्ये ५५ जना निको भइसकेका पनि कोरोना फोकल पर्सन रावलले जानकारी दिनुभयो ।
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कर्णाली प्रदेश सभा सदस्यलाई कोरोना सङ्क्रमण देखिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा उनलाई सङ्क्रमण देखिएको हो । उनले आफूलाई कोरोना पोजेटिभ देखिएकाले हाल होम आइसोलेनमा बसेको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । यसैगरी जुम्लामा भदौ २० र २१ गते ति सांसदसहित थप पाँच जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेश

डोटी प्रतिनिधि वाशुदेव जोशीका अनुसार समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन नदिनका लागि जिल्लामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले कोरोना नियन्त्रण र रोकथामका लागि जिल्ला निषेधाज्ञा जरी गर्न आवश्यक रहेको निष्कर्षनिकालेपछि भदौ २८ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताउनु भयो । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिन नदिनका लागि यसअधि भदौ १४ गते राति १२ बजेदेखि २१ गते रातिसम्मका लागि जिल्ला प्रशासन कार्यालय, डोटीले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा उल्लङ्घन गरेको पाइएमा सङ्क्रामक रोग ऐन २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसैगरी समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्न थालेपछि बड्डिकेदार गाउँपालिकालाई पनि भदौ २० गते राति १२ बजेदेखि २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको गाउँपालिका अध्यक्ष कृष्ण चन्दले बताउनु भयो ।


अनलाइन डेस्क