कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ २१ गते)

भदौ २१ गते ९ सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४६ हजार २ सय ५७ पुगेको छ । भदौ २१ गते १० हजार ३ सय ८२ जनाको स्वाब परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ २१ गतेसम्म कोरोना सङ्क्रमणका कारण २ सय ८९ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये २८ हजार ९ सय ४१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ २१ गते १ हजार ८ सय १४ जना डिस्चार्ज भएका छन् भने निको दर ६२.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १७ हजार २७ जनाको उपचार भइरहेको छ ।

एक हप्तामा कोरोना सङ्क्रमित, डिस्चार्ज र मृत्युको तथ्याङ्क
क्रसं मिति थपिएका सङ्क्रमित डिस्चार्ज मृत्यु
भदौ २१ गते ९८० १८१४
भदौ २० गते १०४१ १५६६
भदौ १९ गते १३५९ १३५४ १४
भदौ १८ गते १२२८ ९१७
भदौ १७ गते ११२० १११२ १२
भदौ १६ गते १०६९ ७६८ ११
भदौ १५ गते ८९९ ५८८
जम्मा ७६९६ ८११९ ६८
स्रोतः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोरोना भाइरस सङ्क्रमणका कारण विराटनगर महानगरपालिका–२ का ७० वर्षीय पुरुषको मृत्यु भएको छ । कोशी अस्पताल विराटनगरमा उपचारका क्रममा उनको मृत्यु भएको अस्पातल प्रशासनले जनाएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएका उनलाई अस्पताल ल्याइपुर्‍याउँदा मृत्यु भइसकेको थियो । मृतकको स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्दा रिपोर्टमा सङ्क्रमण पुष्टि भएको कोशी अस्पतालका मेडिकल सुपरिटेण्टडेण्ट डाक्टर चुमनलाल दासले बताउनु भयो । विराटनगरमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार इलाका प्रहरी कार्यालय धरानको प्रहरी हिरासतमा रहेका ६ जनामा भदौ २१ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यसअघि इलाका प्रहरीकै हिरासतमा रहेका एक जना युवामा कोरोना सङ्क्रमण देखिएको थियो । कन्ट्रयाक ट्रेसिङका आधारमा परीक्षण गर्दा ६ जनामा सङ्क्रमण देखिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमख उमेश मेहताले बताउनु भयो ।

इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार चुलाचुली गाँउपालिकाले भदौ १२ गतेदेखि भदौ २१ गतेसम्म अत्यावश्यक सेवाबाहेकका अन्य सेवा प्रवाहमा रोक लगाउँदै आएकोमा कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यकबाहेकका अन्य सेवा भदौ २६ गतेसम्म बन्द हुने सार्वजनिक सूचना जारी गरेको छ । गाँउपालिकाको सीमावर्ती क्षेत्र दमक नगरपालिका, कमल गाँउपालिका र शिवसताक्षी नगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको गाँउपालिका अध्यक्ष प्रदीपचन्द्र राईले बताउनु भयो ।

प्रदेश २

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्ला अदालतका न्यायाधीश, उनका सुरक्षा गार्ड, दुई जना कर्मचारी तथा नेपाल विद्युत प्राधिकरणका तीन जना कर्मचारीमा भदौ २१ गते कोरोना सङ्क्रण पुष्टि भएकाले दुवै कार्यालयका कर्मचारीसहित सेवाग्राही त्रसित भएका छन् । परीक्षणको रिपोर्टका लागि एक साता प्रतिक्षा गर्नु पर्दा तनाव भएको कोरोना सङ्क्रमित न्यायाधीशले बताउनु भयो । ट्रयाकिङ र ट्रेसिङ विस्तारले स्वाब सङ्कलन बढेपछि स्वाबहरू थन्किएर रिपोर्ट आउन पर्खिनु पर्ने अवस्था रहेको र राजविराजस्थित प्रयोगशालामा रहेको एउटा पीसीआर मेशिनबाट सप्तरी र सिरहाबाट सङ्कलित स्वाबहरू परीक्षण गर्नु परेको निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले बताउनु भयो ।  स्वास्थ्य कार्यालय सप्तरीका अनुसार भदौ २१ गतेसम्म १ हजार ३ सय १८ जनाको स्वाबको परीक्षण रिपोर्ट आउन नसकी थन्किएको छ ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टाइको अध्यक्षतामो भदौ २१ गते बसेको बैठकले जिल्लामा जारी निषेधज्ञाको समयसिमा भदौ २८ गतेसम्म थप गर्ने निर्णय गरेको छ । भदौ १४ गतेदेखि भदौ २१ गते राति १२ बजसम्मका लागि जारी निषेधाज्ञाको समयसिमा बढाएर भदौ २८ गते राति १२ बजे सम्मका लागि बढाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी भट्टाइले जानकारी दिनुभयो ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको भदौ २० गते बसेको बैठकले भदौ २२ गतेदेखि लागु हने गरी भदौ मसान्तसम्मलाई निषेधाज्ञाको निरन्तरता दिएको छ । सो सम्बन्धमा जिल्ला प्रशासन कार्यालय रौतहटले भदौ २१ गते एक सूचना जारी गरेको छ । यसअघि भदौ १४ गतेबाट निषेधाज्ञा लगाइएको थियो । निषेधाज्ञा उल्लङ्घन गर्ने/गराउने वा कार्यान्वयन अबरोध गर्ने/गराउने उपर सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानिय प्रशासन ऐन, २०२८ बमोजिम कडा कारवाही गरिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनु भयो ।

बागमती प्रदेश 

काठमाडौँमा २ सय ९०, ललितपुर र भक्तपुरमा ३२/३२, चितवनमा ३०, मकवानपुरमा ३५, धादिङमा १०, दोलखामा सात, सिन्धुलीमा दुई, सिन्धुपाल्चोक र काभ्रेपलान्चोकमा एक/एक जना गरी यस प्रदेशमा भदौ २१ गते ४ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या १० हजार ९ सय ९१ जना पुगेको छ । जसमध्ये २ हजार ३ सय ९१ जना उपचारपछि घर फर्किएका छन् भने ८ हजार १ सय १८ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । चितवनमा ७० वर्षीय तथा काठमाडौँमा ६८, ७४ र ८५ गरी थप चार जना पुरुषको मृत्यु भएपछि हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्या ८१ जना पुगेको छ ।

दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार भीमेश्वर नगरपालिका क्षेत्रमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको भन्दै भदौ २१ गतेबाट एक हप्ताका लागि निषेधाज्ञा जारी भएको छ । भदौ २० गते एकै परिवारका तीन बालबालिका र एक स्वास्थ्यकर्मी सहित चार जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माको अध्यक्षतामा बसेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको भदौ २१ गते बिहान बसेको बैठकले निषेधाज्ञा लगाएको हो । बैठकले कोरोना सङ्क्रमण थप फैलन नदिनका लागि उच्च सतर्कता अपनाउँदै भीमेश्वर नगरपालिकामा पूर्ण निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनु भयो ।

गण्डकी प्रदेश

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार भदौ २० गते गोरखा अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी ७५ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताउनुभयो । भदौ १९ गते ती महिलाको परिवारको सदस्यमा कोरोना देखिएपछि उनको पनि कन्ट्याक्ट ट्रेसिङ गरिएको थियो । अचेत अवस्थामा भदौ २० गते २ बजे भर्ना भएकी ती महिलाको ४ बजे मृत्यु भएको हो । मृतकको शव नेपाली सेनाले व्यवस्थापन गरेको अस्पतालले जनाएको छ । उनको मृत्यु भएपछि अस्पतालको इमरजेन्सी सेवा बन्द गरिएको छ ।

प्रदेश ५

दाङ प्रतिनिधि जयनारायण पुनका अनुसार कोरोना सङ्क्रमण रोक्न भदौ १४ गतेदेखि जारी गरिएको निषेधाज्ञा थप एक हप्ता लब्याउँदै केही खुकुलो गरिएको छ । जिल्लास्तरीय कोरोना सङ्कट व्यवस्थापन केन्द्रको भदौ २१ गते घोराहीमा बसेको बैठकले निषेधाज्ञाको समय एक हप्ता बढाउने तर हरेक दिन बिहान ६ बजेदेखि दिउँसो १२ बजेसम्म बजार खोल्ने र १२ बजेपछि बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार भदौ २२ गतेदेखि भदौ २८ गतेसम्म निषेधाज्ञा थप गरिएको हो । निजी यातायात जोरबिजोर नम्बरमा सञ्चालन गर्ने निर्णय भएको छ । यसैगरी हरेक दिन मध्यान्ह १२ बजेसम्म सीमित कर्मचारीको उपस्थितिमा बैङ्कहरू सञ्चालन गर्ने निर्णय गरिएको छ ।

कर्णाली प्रदेश

इन्सेक सुर्खेत जिल्ला प्रतिनिधि दुर्गा थापाका अनुसार राष्ट्रिय वाणिज्य बैङ्क सुर्खेतमा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि एक साताका लागि बैङ्कबाट प्रदान गरिने सबै सेवा बन्द गरिएको छ । नगद शाखामा कार्यरत कर्मचारीको भदौ १९ गते प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षण गर्दा भदौ २० गते पोजेटिभ रिपोर्ट आएकोले भदौ २१ गतेदेखि लागु हुनेगरी एक साताका लागि सबै सेवा बन्द गरिएको बैङ्कका प्रबन्धक लिलाराम ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार कोरोना सङ्क्रमित कर्मचारीको उपचार प्रदेश अस्पताल सुर्खेतको आइसोलेशनमा भइरहेको छ ।


अनलाइन डेस्क