कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १९ गते)

भदौ १९ गते १ हजार ३ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४४ हजार २ सय ३६ पुगेको छ । भदौ १९ गते १३ हजार ६ सय ३८ जनाको स्वाब परीक्षण गरिएकोमा १ हजार ३ सयभन्दा बढीमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ १९ गतेसम्म कोरोना सङ्क्रमणका कारण २ सय ७१ जनाको मृत्यु भएको छ । भदौ १९ गते मात्रै १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २५ हजार ५ सय ६१ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ १९ गते १ हजार ३ सय ५४ जना डिस्चार्ज भएका छन् भने निको दर ५७.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १८ हजार ४ सय ४ जनाको उपचार भइरहेको छ ।

Corona_map_Sept_4_Nep

प्रदेश २ 

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्लामा शव वाहनको अभाव र स्थानीय तहको हानथापले उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भदौ १८ गते दिउँसो २ बजे मृत्यु भएका कोरोना सङ्क्रमित राजगढ गाउँपालिका-६ फकिरा घर भई राजविराज नपा-७ मा घर बनाएर बस्दै आएका ५० वर्षीय पुरुषको शव व्यवस्थापन गर्न २४ घण्टा भन्दा बढी समय लागेको छ । कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि-२०७६ को (ञ) मा शवलाई चाँडोभन्दा चाँडो अन्तिम संस्कार गर्ने स्थलमा पुर्‍याउनु पर्छ भनेर उल्लेख छ । कोरोना सङ्क्रमितको शव ल्याउन सुरुमा राजगढ गाउँपालिका र राजविराज नगरपालिकाले एकले अर्कालाई पन्छाउने काम गरेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवको भनाइ छ । उहाँले भन्नु भयो-'त्यसपछि एम्बुलेन्स बिग्रिएको भनेका राजगढ गाउँपालिकाका अध्यक्ष यादवले भदौ १९ गते एम्बुलेन्स दिन तयार हुनासाथ चालकले सङ्क्रमितको शव लिन नजाने भनेर अडान लिनु भयो । सबैलाई सम्झाइबुझाइ गर्न समय लागेकोले भदौ १९ गते अपरान्ह मात्र शव ल्याएर राजगढ गाउँपालिका-६ स्थित मृतककै फूलबारीमा व्यवस्थापन गरियो ।' निर्देशिका र कार्यविधिमा लेखिएको कुरा व्यवहारमा सबैले सहयोग नगर्दा कार्यान्वयन गर्न गाह्रो भइरहेको निमित्त प्रमुख यादवले बताउनु भयो ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार कोरोना सङ्क्रमित भारत आन्ध्र प्रदेश घर भई क्षिरेश्वरनाथ नपा-३ मा बस्दै आएका ६५ वर्षीय पुरुषको भदौ १८ गते बिहान मृत्यु भएको छ । चार वर्षदेखि यहाँ कामगर्दै आएका उनको शव आफ्नै आवाशगृहमा भदौ १८ गते फेला परेको थियो । मत्यु भएका उनको स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो । चार दिनदेखि ज्वरो र खोकी लाग्ने समस्याबाट ग्रसित उनको आवासगृहमै मृत्यु भएको थियो । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित श्रीनाथ गणका नेपाली सेनाको टोलीले भदौ १८ गते राति क्षिरेश्वरनाथ नपा-९ इच्छापुरस्थित जलाद खोलाको किनारमा व्यवस्थापन गरेको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पञ्जियारले बताउनु भयो ।

बारा प्रतिनिधि भोलनाथ पौडेलका अनुसार निजगढ नपा-९ का ५७ वर्षीय कोरोना सङ्क्रमित पुरुषको ललितपुरस्थित सुमेरु अस्पतालमा कोरोनाको उपचारको क्रममा भदौ १९ गते बिहान मृत्यु भएको नगरपालिकाका स्वास्थ्य संयोजक रमेश लामाले बताउनु भयो । एक महिनादेखि मिर्गौलाको उपचारमा रहेका उनको भदौ १५ गते पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

बागमती प्रदेश  

काठमाडौँमा ३ सय ८६, भक्तपुरमा ३६ र ललितपुरमा ३२ जनामा गरी उपत्यकामा मात्र भदौ १९ गते ४ सय ५४ जनामा कारोना सङ्क्रमणको पुष्टि भएको छ ।

चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालयले भदौ २० गतेदेखि निषेधाज्ञा खुकुलो बनाउँदै भदौ ३१ गतेसम्म थप गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा १९ गते बसेको बैठकले दिउँसोको समयमा निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो । यससँगै बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म किराना पसल, निर्माण सामग्री पसल, फेन्सी तथा कपडा पसल सञ्चालन गर्न पाइने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताउनुभयो । चितवनमा पहिलोपटक साउन ३१ गतेदेखि भरतपुर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो । चितवन मेडिकल कलेजको कोभिड सघन कक्षमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका-११ की ५२ वर्षीया महिलाको भदौ १९ गते मृत्यु भएको अस्पतालले जनाएको छ । श्वासप्रश्वास र छातीमा समस्या देखिएपछि महिलालाई भदौ ११ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

प्रदेश ५

रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार बुटवल उपमहा नपा-८ का ७८ वर्षीय पुरुषको कारोना सङ्क्रणका कारण भदौ १९ गते कोरोना विशेष अस्थायी अस्पतालको भेण्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको छ । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भदौ ४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवल आएका उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएकोले कोरोना विशेष अस्थायी अस्पतालको भेण्टिलेटरमा राखेर उपचार भइरहेकोमा उपचारकै क्रममा भदौ १९ गते मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले फोनमार्फत बताउनु भयो । यसैगरी, कोरोना सङ्मणकै कारण सिर्द्धार्थ नपा-७ की  ६४ वर्षीया महिलाको गौतम बुद्ध सामुदायिक मुटु अस्पताल र सोही नपा-८ का ४५ वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा भदौ १९ गते मृत्यु भएको छ ।

प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार जिल्लामा भदौ १२ गतेदेखि लगाइएको निशेधाज्ञा पुनः एक हप्ता थप गरिएको छ । कोरोना सङ्क्रमणको नियन्त्रण तथा रोकथामका लागि भदौ १८ गते जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड सङ्कट व्यवस्थापन समिति (डिसिसिएमसी)को बैठकले भदौ २५ गतेसम्म निशेधाज्ञा लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी गौरव पन्थीले बताउनु भयो । उपभोक्तलाई मध्यनजर गर्दै दैनिक उपभोग्य सामाग्री विक्री वितरण गर्ने पसलहरूमा सुरक्षाको मापदण्ड अपनाएर बिहान ७ बजेदेखि १० बजेसम्म खोल्न सकिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पन्थीले बताउनुभयो ।

कर्णाली प्रदेश  

जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार प्रशासन कार्यालयका कर्मचारीसहित अग्रपङ्क्तिमा रहेर काम गर्ने व्यक्तिहरूसहित १९ जनालाई कोरोना सङ्क्रमण भएको छ । भदौ १८ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको हो । कोरोना भाइरसको महामारीको समयमा जनताको जीवनको सुरक्षाका लागि अग्रपङ्क्तिमा रहेर का मगर्ने अधिकारीमा नै सङ्क्रमित भएको भदौ १८ गते सामाजिक सञ्जालमार्फत ति अधिकारीलले जानकारी दिए । जिल्ला विपद् व्यस्थापन समितिको बैठकमा उपस्थित व्यक्तिहरूसहित अन्यको नमूना स्वाब परीक्षण गर्दा १९ जनामा कोरोना पोजिटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर मङ्गल रावलले बताउनुभयो । योसँग जुम्लामा सङ्क्रमितको सङ्ख्या २ सय ६५ पुगेको छ । यसमध्ये १ सय १८ जना निको भएर घर फिर्ता भइसकेका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताउनुभयो । हालसम्म जिल्लाभर ८ हजार ४ सय ६८ जनाको पीसीआर परीक्षण गरिएको प्रशासनले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश  

दार्चुला प्रतिनिधि नरेन्द्र सिंह कार्कीका अनुसार मार्मा गाउँपालिकामा कार्यरत एक जना चिकित्कसकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दार्चुलाका दुई ओटा स्थानीयत तहमा स्थानीय प्रशासनले निषेधज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भदौ १९ गते साँझ साढे ६ बजेदेखि अर्को सूचना नभएसम्मको लागि मार्मा गाउँपालिका र शैल्यशिखर नगरपालिकाका विभिन्न वडाहरूमा निषेधज्ञा जारी गरेको हो । भदौ १९ गते डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मार्मा स्वास्थ्य चौकीमा कार्यरत एकजना चिकित्सकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ भने ४७ जना निको भएर घर फर्किएका छन् । प्रशासनले जारी गरेको सूचना अनुसार शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वर बजार, वडा नम्बर २ र ३ को सुन्दरपुर बजार देखि लुइटासम्म निषेधज्ञा जारी गरेको जनाएको छ । यस्तै मार्मा गाउँपालिकाको वडा नम्बर २ र ३ को लटिनाथ बजार, विटुले, भैसीबगर, चिउरानी, सिमार, सेलविसा, वडा नम्बर १ को पारिबगर, वडा नम्बर ४ को वडा कार्यालय र स्वस्थ्य चौकी र रेला बजार क्षेत्र सील गरिएको प्रशासनले जनाएको छ ।


अनलाइन डेस्क