कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १६ गते)
भदौ १६ गते १ हजार ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ । भदौ १६ गतेसम्म ७ लाख ५ हजार ५ सय ६० जनाको परीक्षण गर्दा ४० हजार ५ सय २९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १२ हजार ८८ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ १६ गतेसम्म कोरोना सङ्क्रमणका कारण २ सय ३९ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये २२ हजार १ सय ७८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ १६ गते ७ सय ६८ जना डिस्चार्ज भएका छन् भने निको दर ५४.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १८ हजार १ सय १२ जनाको उपचार भइरहेको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार जिल्लामा एक साताका लागि निषेधाज्ञाको समय थप गरिएको छ । खुकुलो प्रावधानसहित एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यसअघि दुई पटक थप हुँदै भदौ ५ गतेबाट जारी निषेधाज्ञा २२ गते राति १२ बजेसम्मको लागि लम्ब्याउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनु भयो । निषेधाज्ञाको अवधिमा जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । बजार तथा पसल साँझ ४ बजेसम्म खुल्ला हुने भएको छ । यसअघि दिनको १२ बजेसम्म मात्र बजार तथा पसल खुल्ला गरिएको थियो । प्रशासनले शनिबार भने अत्यावश्यक बाहेकका पसल सञ्चालामा रोक लगाएको छ । सरकारी कार्यालयले आलोपालो गरी न्यूनतम् सङ्ख्यामा कर्मचारी राखेर भदौ २१ गतेबाट तालिका अनुसार सेवा सञ्चालन गर्नुपर्ने भएको छ । उद्योगहरूले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न पाउने भएका छन् । जिल्लाभर राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी निरौलाले बताउनु भयो । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रीको सचिवालयले जनाएको छ । भदौ १५ गते राति आएको रिपोर्टमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको सचिवालयले जनाएको छ ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार बुद्धशान्ति गाउँपालिकाले कोरोना भाइरसको सङ्क्रमण प्रतिदिन बढेपछि जोखिम न्यूनीकरणका लागि भदौ १६ गते मध्यराति देखि भदौ ३१ गतेसम्म लकडाउनको घोषणा गरेको छ । सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड अनुसार सजगता अपनाएर बैङ्क तथा वित्तीय संस्था, दैनिक उपभोग्य पसल व्यवसाय बिहान ८ बजेदेखि २ बजेसम्म सञ्चालन गर्न दिने गरी लकडाउन गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताउनु भयो । यस अघि गाँउपालिकाले भदौ ५ गतेदेखि भदौ १६ गतेसम्म लकडाउन लगाएको थियो ।
उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार कोरोना भाइरस सङ्क्रमितहरूलाई उपचारका लागि जिल्लाको मदन भण्डारी आँखा अस्पताल गाईघाटमा आइसोलेशन सेन्टर सञ्चालन गरिने भएको छ । भदौ १५ गते प्रदेश सरकारले स्थानीय स्तरमा नै बिरामी राखेर उपचार गर्ने गरी सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो । सरकारले आइसोलेशनका लागि १५ लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार धुव्र सुवेदीले बताउनु भयो । ०७६ चैत ५ गते त्रियुगा नगरपालिका-३ भुल्केमा एकैपटक १२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि अस्पताल सञ्चालनको जिम्मा पाएको नेपाल नेत्रज्योती सङ्घले चैत १२ गते अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्न सक्ने निर्णय गरेको थियो । नेत्रज्योती सङ्घको निर्णयसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सिंहदरबार काठमाडौँले ०७७ असार २९ गते आँखा अस्पताललाई आइसोलेशन सेन्टरमा परिणत गर्ने र तत्काल ३० बेड उपलब्ध गराउने गरी निर्णय भएको नेत्रज्योती सङ्घका सभापति भागवत राउतले बताउनु भयो ।
प्रदेश २
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार कोरोना सङ्क्रमित मर्चैया नपा-६ की ६५ वर्षीय पुरुषको भदौ १५ गते उपचारको क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । सुगरसम्बन्धी उपचारको लागि भदौ ४ गते विराटनगरस्थित विराट नर्सिङ होममापुगेका उनको कोरोना परीक्षण भदौ १० गते गरिएकोमा सोही दिन रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ रिपोर्ट आएपछि उनलाई थप उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगी आइसोलेशनमा भर्ना गरिएकोमा उपचारकै क्रममा राति ९ बजे मृत्यु भएको प्रमुख यादवले बताउनु भयो । शव व्यवस्थापन गर्न सुरक्षा मापदण्ड पुरा गरी जिल्ला ल्याउने तयारी भइरहेको प्रमुख यादवले बताउनु भयो । हालसम्म जिल्लामा आठ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार मनरा सिसवा नगरपालिकाकी चार वर्षीया बालिकाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उच्च ज्वरो र सास फेर्न समस्या भएपछि बालिकालाई तीन साताअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको थियो । गत साउन २३ गते उपचारकै क्रममा उनको स्वाब सङ्कलन गरी परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बालिकालाई आइसोलेशनमा राखेर उपचार गर्ने क्रममा भदौ १४ गते दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनु भयो । यससँगै महोत्तरीमा मृत्यु हुनेको सङ्ख्या दुई जना महिलासहित १० जना पुगेको छ । त्यसैगरी भदौ १६ गते महोत्तरीका १० जनामा सङ्क्रमण पुष्टि भएसँगै कुल सङ्क्रमित सङ्ख्या १ हजार २ सय ९३ पुगेको कोरोना फोकल पर्सन गिरेन्द्र झाले बताउनु भयो ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कोरोना सङ्क्रमित कोल्हवी नपा-६ अधनवा टोलका ६० वर्षीय पुरुषको कोभिड अस्पताल गण्डकमा उपचारको क्रममा भदौ १६ गते बिहान मृत्यु भयो । श्वासप्रश्वास र मधुमेहका बिरामीमा कोरोना देखिएपछि उपचारकै क्रममा मृत्यु भएको डाक्टर चितरञ्जन साहले बताउनु भयो ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार बीरगंजमा पहिचान नखुलेका कोरोना सङ्क्रमित ६० वर्षीय पुरुषको नारायणी अस्पतालमा भदौ १५ गते राति उपचारको क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले बताउनु भयो । मृत्युपछि गरिएको जिन एक्र्सपर्ट टेस्टमा ती व्यक्तिमा कोरोना पोजिटिभ देखिएको डाक्टर चौरसियाले बताउनु भयो । बेवारिसे अवस्थामा सडकमा रहेका ती व्यक्तिलाई कोभिड एक्सन टिमका युवाहरूले भदौ १३ गते नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरेका थिए । मृतकको पहिचान नखुलेको डाक्टर चौरसियाले बताउनु भयो ।
नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा ६ दिनदेखि उपचार गराइरहेका बारा जिल्ला कोल्भी नगरपालिकाका ६० वर्षीय पुरुषको भदौ १६ गते बिहान मृत्यु भयो । उनलाई भदौ १० गते कोभिड अस्पताल गण्डकमा भर्ना गरी उपचार गरिएको र उपचारकै क्रममा उनको मृत्यु भएको डाक्टर चौरसियाले बताउनु भयो । मधुमेह र दमको समस्या रहेका उनलाई सेमी भेण्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
बीरगंज महानगरपालिका-२० हरपतगंजका ५३ वर्षीय पुरुषको नारायणी अस्थायी कोभिड अस्पताल बीरगंज हेल्थ केयरमा उपचारको क्रममा भदौ १६ गते बिहान मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनु भयो । उहाँलाई साउन ३१ गते उपचारको लागि अस्पतालमा भर्ना गरिएको थियो । उनमा टाइप टु मधुमेह र मिर्गौलासम्बन्धी समस्या रहेको डाक्टर चौरसियाले बताउनु भयो ।
बागमती प्रदेश
यस प्रदेशमा भदौ १६ गते काठमाडौँमा ३ सय ९३, ललितपुरमा ५८, चितवनमा ४५, मकवानपुरमा ३६, भक्तपुरमा ३०, दोलखा र धादिङमा ११/११, काभ्रेपलान्चोकमा आठ, नुवाकोट, सिन्धुली र रामेछापमा दुई/दुई, रसुवा र सिन्धुपाल्चोक एक/एक जना गरी ६ सय जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या ८ हजार ४ सय ५१ जना पुगेको छ । जसमध्ये १ हजार ३ सय ३६ जना उपचारपछि घर फर्किएका छन् भने ७ हजार ५८ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्मणको कारण मृत्यु हुनेको सङ्या ५७ जना पुगेको छ ।
काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार सुन्धारा स्थित केन्द्रीय कारागारका एक जना कैदीको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ । कञ्चनपुरबाट उपचारका लागि केन्द्रीय कारागारमा ल्याइएका ४० वर्षीय पुरुषको ललितपुरको धोबीघाटमा रहेको मेगा अस्पतालमा भदौ १५ गते राति मृत्यु भएको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले इन्सेक प्रतिनिधिलाई टोलिफोनमा बताउनु भयो । मृतक कैदी गम्भीर रोगको बिरामी रहेको र उपचारका क्रममा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो । यस्तै, वीर अस्पतालमा केन्द्रीय कारागारमा रहँदै आएका ६०, ५८ र ६२ वर्षका तीन जना पुरुष कैदीको मृत्यु भएको छ । उनीहरूको कोरोनाबाट मृत्यु भएको वा नभएको पत्ता लगाउन स्वाब सङ्कलन गरी परीक्षणमा पठाइएको जेलर बाँस्कोटाले बताउनु भयो । हालसम्म केन्द्रीय कारागारमा रहेका ५२ जना पुरुष कैदीबन्दीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार चितवन मेडिकल कलेजमा १६ गते मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१५ का ५८ वर्षीय पुरुषको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले बताउनु भयो । बिरामीलाई कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । यसैगरी जिल्लामामा १५ गते कोरोना भाइरस सङ्क्रमित तीन जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका-१३ निवासी ५५ वर्षीया महिला, भरतपुर महानगरपालिका-११ का ६५ वर्षीय पुरुष र भरतपुर महानगरपालिका-११ की १८ वर्षीया महिलाकाको मृत्यु भएको डा. लम्सालले बताउनु भयो ।
यसैबीच, भदौ महिना लागेपछि हालसम्मको तथ्याङ्क नै हेर्ने हो भने पनि पछिल्लो १५ दिनमा चितवनमा मात्रै ४ सय ९२ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । वैशाख ५ गते दुई जनामा सङ्क्रमण देखिएपछि सुरु भएको चितवनमा साउन ३२ गतेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ९ जना थियो । १६ गते साँझसम्ममा चितवनमा सङ्क्रमतिको सङ्ख्या ७ सय ४६ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बताउनु भयो ।
यसैबीच, कोरोना सङ्क्रमित गर्भवतीका लागि भरतपुर अस्पतालले छुट्टै कक्षको निर्माण थालेको छ । व्यथा लागेका गर्भवतीलाई राख्ने, साधारण बच्चा जन्माउने, शल्यक्रिया र शिशु कक्ष अलग्गै बनाउन सुरु गरेको अस्पतालले जनाएको छ । चितवनसहित १९ जिल्लाका बिरामी आउने यस अस्पतालमा कोभिड-१९ बाट सङ्क्रमित भएकाको राम्रो उपचार र अन्यलाई सुरक्षित बनाउन अलग्गै कक्ष बनाउन थालिएको हो । हाल दैनिक ३० जनाभन्दा बढी गर्भवतीले यस अस्पतालमा प्रसुति गराउँदै आएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
कञ्चनपुर प्रतिनिधि कोमलनिरञ्जन भाटका अनुसार माहाकाली नगरपालिकामा भदौ १५ गते बसेको सर्वपक्षीय बैठकले भदौ १५ गते राति १२ बजेदेखि भदौ २३ गतेसम्म बजार व्यवसाय र सार्वजनिक सेवा प्रवाहमा कडाई गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाको उल्लङ्घन गरी स्थानीयहरू बजार, नगरपालिका र सार्वजनिक स्थानमा भीडभाड गर्न थालेपछि निषेधाज्ञामा कडाई गर्न महाकाली नगरपालिकाले लकडाउन सुरु गरेको महाकाली नगरपालिकका प्रशासकीय प्रमुख गणेश मिश्रले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…
बलात्कार घटनाका आरोपित गिरफ्तार
अपाङ्गता हुनुभएकी १९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–५, जम्बुकाँधका २१ वर्षीय रमेश सावदलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २३ गते…