कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १५ गते)
भदौ १५ गते ८ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३९ हजार ४ सय ६० पुगेको छ । गत २४ घण्टामा ११ हजार १ सय २९ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ १५ गतेसम्म कोरोना सङ्क्रमणका कारण २ सय २८ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये २१ हजार ४ सय १० जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ १५ गते ५ सय ८८ जना डिस्चार्ज भएका छन् भने निको दर ५४.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १७ हजार ८ सय २२ जनाको उपचार भइरहेको छ । भदौ १५ गतेसम्ममा ६ लाख ९३ हजार ४ सय ७२ जनाको स्वाब परीक्षण गरेको पनि मन्त्रालयले जनाएको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा भदौ १५ गतेसम्म १ सय २५ जना स्वास्थ्यकर्मीमा कोराना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयले भदौ १५ गतेसम्म ६१ जना महिला र ६४ जना पुरुष स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । सङ्क्रमितमध्ये ३३ जना डिस्चार्ज भएका छन् । ४२ जना महिला र ५० जना पुरुष उपचाररत रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिनका लागि भदौ १५ गतेदेखि १७ गते राति १२ बजेसम्म निषेधाज्ञा कडाइ गर्ने निर्णय गरेको छ । भदौ १३ गते धनकुटामा एकैदिन सबैभन्दा बढी १९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । कोरोनाको भाइरसको सङ्क्रमण थप फैलन नदिन निषेधाज्ञा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीले बताउनु भयो । भदौ १५ गतेबाट बिहान ७ बजेदेखि १० बजेसम्म खाद्यान्न लगायत अत्यावश्यक पसल मात्र खोल्न पाइने छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि त्यसको जोखिमलाई रोक्न चौबिसे गाउँपालिकाले भदौ २० गते दिउँसो १२.०० बजेसम्म सवारी साधन प्रवेशमा रोक लगाएको छ । कोरोना सङ्कट व्यवस्थापन समितिको भदौ १५ गतेको बैठकले यसअघि भदौ १० गते दिउँसो १२ बजेदेखि भदौ १६ गते दिउँसो १२ बजेसम्म लागि एम्बुलेन्स, शववाहन र सरकारी सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनहरूलाई गाउँपालिका प्रवेशमा निषेध गरेको चौबिसे गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताउनु भयो ।
सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार छिमेकी जिल्ला तेहृथुममा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि मादी नगरपालिकाको भदौ १५ गतेको बैठकले भदौ २० गतेसम्मलाई नगरपालिका सील गर्ने निर्णय गरेको छ । तेहृथुमसँग सिमाना जोडिएको मादी नगरपालिकाले कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सील गर्ने निर्णय गरेको नगरपालिकाका मेयर विदुर सुब्बाले बताउनु भयो ।
प्रदेश २
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न राजविराज, हनुमाननगर कङ्कालिनी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकामा थप सात दिन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले भदौ १५ गते एक सूचना जारी गरी तीन स्थानीय तहमा अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन जिल्ला सुरक्षा समितिले निषेधाज्ञालाई भदौ २२ गतेसम्म निरन्तरता दिने निर्णय गरेको जानकारी दिनु भयो ।
सङ्घीय सांसद, प्रदेश सांसदहरू र राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थितिमा आज बसेको जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा लगत्तै बसेको जिल्ला सुरक्षा समितिको बैठकले कोरोनाको सङ्क्रमण बढी देखिएके स्थानीय तहमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय, सप्तरीका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी आनन्दकुमार ठाकुरले बताउनु भयो ।
सप्तरी जिल्लाभरी साउन २० गतेदेखि जारी गरिएको निषेधाज्ञा भदौ १५ गते मध्यराति सकिन लागेको बेला वैठकले निषेधाज्ञाको क्षेत्र कम गर्दै तीन स्थानीय तहमा भने जारी राख्ने निर्णय गरेको हो । उक्त क्षेत्रमा अत्यावश्यक सेवा अन्तर्गतका खाद्यान्न, तरकारी र फलफूलका पसलहरू बिहान ५ बजेदेखि बिहान १० बजेसम्म मात्र खोल्न पाइने छ । अन्य स्थानीय तहमा अत्यावश्यक सेवा अन्तर्गत पर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ । नेपाल सरकारले सञ्चालन गर्न रोक लगाएको बाहेकका पसल, सेवा र व्यवसाय स्वास्थ्य सतर्कता अपनाएर मात्र सञ्चालन गर्न पाइए पनि साप्ताहिक हाट बजार सञ्चालन गर्न नपाइने निर्णय भएको बैठकमा सहभागी नेकपाका प्रदेश सदस्य सुखराम यादवले बताउनु भयो ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार जल्लास्तरीय सिसिएमसिको भदौ १५ गते बसेको बैठकले थप १२ दिन लकडाउन थप्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताउनु भयो । सिसिएमसिको बैठकले भदौ १ गते देखि भदौ १५ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमण थप बढ्दै गएको हुँदा भदौ १६ गतेदेखि भदौ २७ गतेसम्म निषेधाज्ञा थप गरिएको र सबै स्थानीय तहहरूलाई कडाइका साथ पालना गराउन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी कणेलले बताउनु भयो ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार कोरोना सङ्क्रमणबाट मनरासिसवा-४ का ४० वर्षीय हेल्थ असिस्टेन्टको मृत्यु भएको जानकारी प्राप्त भएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिनु भयो । झाका अनुसार स्थानीय स्तरमै निजी क्लिनिक सञ्चालन गरेका ती स्वास्थ्यकर्मीको भदौ १२ गते वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । उनी भदौ ७ गतेदेखि बिरामी परेका थिए । स्वास्थ्य अवस्था अत्यन्तै खराब भएपछि उनलाई थप उपचारका लागि धरान लगेपछि मृत्यु भएको हो ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार आमनागरिकको जीवन रक्षा तथा कोरोना सङ्क्रमण नियन्त्रण गर्न भदौ ११ गते जिल्ला सुरक्षा समिति र भदौ १५ गते डिसिसिएमसिको निर्णय अनुसार भदौ १६ गते बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ अनुसार जिल्लाका सबै स्थानीय तहहरूमा निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सूचनामार्फत अनुरोध गर्नु भएको छ ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार कोभिड अस्पताल बीरगंज हेल्थ केयरको आइसीयूमा राखेर उपचार भइरहेका कोरोना सङ्क्रमित बीरगंज महानगरपालिका-२४ का ८० वर्षीय जेष्ठ नागरिकको भदौ १५ गते दिउँसो मृत्यु भएको छ । तीन दिनदेखि आइसीयुमा राखेर उनको उपचार भइरहेको थियो । ज्वरो र लिभरमा समस्या देखिएपछि नारायणी अस्पतलामा लगिएकोमा भदौ १३ गते स्वाब सङ्कलन गरी सोही दिन पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । रिपोर्ट पोजेटिभ आएपछि नारायणी अस्पतालबाट उनलाई अस्थायी कोभिड अस्पताल बीरगंज हेल्थ केयरमा थप उपचारका लागि भर्ना गरिएको थियो ।
बागमती प्रदेश
यस प्रदेशमा भदौ १५ गते काठमाडौँमा १ सय ८७, चितवनमा ७१, ललितपुरमा ७६, भक्तपुरमा ३६, मकवानपुरमा १५, सिन्धुलीमा चार, रामेछापमा दुई, दोलखा, धादिङ काभ्रे र सिन्धुपाल्चोक एक/एक जना गरी ३ सय ८६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या ७ हजार ८ सय ५१ जना पुगेको छ । जसमध्ये १ हजार ३ सय २८ जना उपचारपछि घर फर्किएका छन् भने ६ हजार ४ सय ६९ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्मणको कारण मृत्यु हुनेको सङ्या ५४ जना पुगेको छ ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणबाट भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका-६, केशरबागका ७८ वर्षीय पुरुषको भदौ १५ गते बिहान ७ बजे मृत्यु भएको अस्पतालका कोभिड-१९ क्लिनिकल कोअर्डिनेटर डाक्टर प्रमोद पौडेलले बताउनु भयो । बिरामीको भदौ २ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
यसैबीच, रत्ननगर नगरपालिका-४ मा रहेको त्रिशक्ति खाद्य उद्योगमा कार्यरत ७६ जना मजदुरमध्ये ५२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । उद्योगमा कार्यरत अधिकांश मजदुर तराईका हुन् । रत्ननगर नगरपालिका प्रमुख नारायण वनले उद्योग सञ्चालकले सावधानी नअपनाएकै कारण समस्या देखिएको बताउनु भयो ।
गण्डकी प्रदेश
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्लामा कोरोना भाइरस समुदायमा फैलन नदिन जिल्ला प्रशासन कार्यालयमा भदौ १५ गते बिहान बसेको सर्वपक्षीय, सर्वदलीय बैठकले भदौ १५ गते राति १२ बजेदेखि लागु हुने गरी सार्वजनिक यातायातका साधनहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । त्यस्तै छिमेकी जिल्लाबाट खाद्यान्न र अत्यावश्यक सामग्री लिएर आउने गाडीमा सवारी चालक र सहचालकलाई मात्र जिल्ला भित्रिन अनुमती दिइने भएको छ । अन्य यात्रुलाई भने प्रवेश निषेध गर्ने निर्णय भएको छ । बैठकले जिल्लाका ग्रामीण क्षेत्रमा पनि खाद्यान्न र अन्य तरकारी फलफुल बोकेका गाडी बाहेक यात्रुबाहक बस र जीपलाई पनि एक साता बन्द गर्ने निर्णय भएको सिसीएमसी पर्वतका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनु भयो । यसका साथै पर्वतमा दाङ्ग जिल्लाबाट आइपुगेका ४५ जना मजदुरलाई भदौ १५ फिर्ता पठाइएको छ । खानेपानी योजनाहरूमा काम गराउन निर्माण व्यवसायीले लुकिछिपी भित्राउन खोजिएका मजदुरलाई फिर्ता पठाइएको हो ।
यसैगरी जिल्ला प्रशासन कार्यालयले कुस्माबजारमा समुदायमा कोरोना सङक्रमण फैलन नदिनका लागि सहकारी संस्थाले घरदैलोमा पुगेर बचत सङकलन गर्ने कार्यलाई बन्द गर्न कुश्मा नगरपालिकालाई निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताउनु भयो ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङ नगरपालिकामा भदौ १५ गते रातिदेखि लागु हुने गरी ४८ घण्टाको लागि निषेधाज्ञा थप गरिएको छ । जिल्लामा भदौ ३ गतेदेखि जारी रहेको निषेधाज्ञा कोरोना रोकथाम व्यवस्थापन केन्द्र बागलुङको बैठकले थप गर्ने निर्णय गरेको हो । केन्द्रको बैठकले गरेको निर्णय अनुमोदनको लागि जिल्ला सुरक्षा समितिमा पठाएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनु भयो । त्यसैगरी भदौ १४ गते जिल्लाको पश्चिम तमानखोला गाउँपालिकाकी एक महिला र स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भए पछि कन्ट्रयाक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गर्नुपर्ने भएकाले १० दिनका लागि गाउँपालिका सील गरिएको स्वास्थ्य शाखा प्रमुख तिलक छन्त्यालले बताउनु भयो । भदौ १५ गते देखि लागु हुने गरी अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगरले बताउनु भयो । निषेधाज्ञाको अवधिमा अनावश्यक हिँड्डुल, सवारी सञ्चालन, सामुहिक भेला, बैठक जस्ता कार्यलाई निषेध गरिएको छ ।
सुदूरपश्चिम प्रदेश
अछाम प्रतिनिधि शिवराज ढुङ्गानाका अनुसार जिल्ला सङ्कट व्यवस्थापन समिति, अछामको बैठकले मङ्गलसेन नगरपालिका र साँफेबगर नगरपालिकालाई भदौ १६ गतेसम्म सील गरिएकोमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको भन्दै भदौ २२ गते रातिसम्म सील गर्ने निर्णय गरिएको मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले जानकारी दिनु भयो । कोरोना सङ्क्रमण पुष्टि हुने क्रम नरोकिएकोले थप जटिलतातर्फजान नदिनका लागि जिल्ला प्रशासन कार्यालयमा सम्पन्न र्सवदलीय बैठकबाट सील अवधिलाई थप गर्ने निर्णय गरिएको र सील गरिएको क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरेर कडाइ गरिने प्रमुख बोहराले बताउनु भयो । जिल्लाका १० ओटै स्थानीय तहले कम्तिमा एक/एक ओटा आइसोलेशन कक्ष निर्माण गर्नु पर्ने निर्णय समेत गरिएको प्रमुख बोहराले बताउनु भयो । जिल्लामा हालसम्म ८ सय ९३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ३ सय ८२ जनाको पीसीआर परीक्षणको रिपोर्ट आउन बाँकी छ ।
डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार समुदायस्तरमा कोरोना सङ्क्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, डोटीले जिल्लाभर लागु हुने गरी भदौ १४ गते राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजे सम्मको लागि निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले कोरोनाको जोखिम बढ्दै गएकाले समुदायमा नफैलियोस भन्नका लागि जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, डोटीको भदौ १३ गते बसेको बैठकले निषेधाज्ञा जारी गरेको बताउनु भयो । एम्बुलेन्स, खाद्य ढुवानी, तरकारी ढुवानी बाहेक सबै यातायातका साधनहरू पुर्ण रूपमा बन्द गरिएको र निषेधाज्ञा अवज्ञा गरेमा सङ्क्रमण रोग ऐन २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका नागरिक खबरदारी आवश्यक
सङ्क्रमणकालीन न्यायका नागरिक खबरदारी आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् । इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरले ०८१ कात्तिक २० गते विराटनगरमा आयोजना गरेको सङ्क्रमणकालीन न्याय र अबको बाटो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
सात वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले ०८१ कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले कात्तिक १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–१७, घर भई हाल गैँडाकोट नगरपालिका–१५, बस्दै आएका ३० वर्षीय सौगात रजाली मगरलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले असोज २७…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा, साँगुरीगढी गाँउपालिका-९ आहालेका ३० वर्षीय मनबहादुर राईलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले ०८१ कात्तिक १८ गते बलात्कार गरेको…
२ सय ५१ मिलियन बालबालिका र युवा अझै विद्यालय बाहिरः युनेस्को
प्रगतिको बावजुद २ सय ५१ मिलियन बालबालिका र युवा विद्यालय बाहिर रहेको युनेस्कोले जनाएको छ । युनेस्कोको ग्लोबल एजुकेशन मोनिटरिङ रिपोर्ट २०२४ अनुसार विद्यालय बाहिरको विश्वव्यापी जनसङ्ख्या झण्डै १० वर्षमा…