कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १४ गते)

भदौ १४ गते १ हजार २ सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३८ हजार ५ सय ६१ पुगेको छ । गत २४ घण्टामा १२ हजार ७ सय १७ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ १४ गतेसम्म कोरोना सङ्क्रमणका कारण २ सय २१ जनाको मृत्यु भएको छ । भदौ १४ गते मात्रै १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये २० हजार ८ सय २२ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ १४ गते २ सय ६७ जना डिस्चार्ज भएका छन् भने निको दर ५४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १७ हजार ५ सय १८ जनाको उपचार भइरहेको छ ।

प्रदेश २  

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार कोरोना भाइरस सङ्क्रमणबाट राजविराज नपा-२ की ६० वर्षीया एकल महिलाको भदौ १३ गते उपचारका लागि विराटनगर लैजाँदै गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । सघन उपचार कक्ष (आइसियू) र भेण्टिलेटरको अभावमा निमोनियाबाट ग्रसित महिलामा अक्सिजन कम भएर स्वास्थ्य अवस्था गम्भीर भएपछि विराटनगरस्थित अस्पताल लैजाँदै गर्दा मृत्यु भएको राजविराज नपा-२ का वडा अध्यक्ष अरुण यादवले जानकारी दिनु भयो । भदौ १२ गते स्वाब सङ्कलन गरिएको महिलामा भदौ १३ गते राति रिपोर्ट पोजिटिभ आएपछि विराटनगर लगिएको थियो । पाँच दिनदेखि ज्वरो आइरहेकोमा उनको उपचार राजविराजस्थित निजी क्लिनिकमा गराएकी थिइन् ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार लहान नगरपालिकामा रहेको मालपोत कार्यालयका ४० वर्षीय पुरुष कर्मचारीमा भदौ १४ गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । बिदामा झापा गएका उनले झापामा नै भदौ ११ गते पीसीआर परीक्षणको लागि स्वाबको नमुना दिएका थिए । उनमा कोरोना पोजेटिभ आएको सूचना आएपछि मालपोत कार्यालयका सम्पुर्ण कर्मचारीहरूलाई घर, होटेल वा नगरपालिकाको क्वारेण्टाइनमा बस्न र कार्यालयका कामहरू बन्द गर्न निर्देशन दिएको लहान नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामसुन्दर यादवले बताउनु भयो ।

धनुषा प्रतिनिधि दिपेन्द्र प्रसाद सिंहका अनुसार कोरोना भाइरस बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाभर भदौ १४ गते राति १२ बजेदेखि भदौ २१ गते राति १२ बजेसम्म निषेधाज्ञाको समयावधि थप गरेको छ । जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको भदौ १४ गते बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक कामबाहेक घर बाहिर नजान र सूचना विपरीत कार्य गर्नेलाई कानुन बमोजिम कारबाही गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले बताउनु भयो ।

सर्लाही प्रतिनिधि बुधन साहका अनुसार जिल्ला सुरक्षा समिति, कोरोना सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला विपद व्यवस्थापन समितिको भदौ १४ गते बसेको बैठकले जिल्लामा चौथो पटक निषेधाज्ञा थप गरेको छ । भदौ १४ गते मध्यरातदेखि भदौ २१ गते मध्यरातसम्मका लागि लागु हुने गरी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो । जारी सूचना उल्लङ्घन गरिए प्रचलित कानुन बमोजिम कार्यवाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार बीरगंजमा भदौ १४ गते बिहान कोरोना सङ्क्रमणबाट रौतहट जिल्ला राजपुर तुल्सीपुरका ४० वर्षीय पुरुषको मृत्यु भएको छ । नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड विशेष अस्पताल गण्डक हस्पिटलमा उपचार गराइरहेका उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिनु भयो । भदौ १२ गते सघन उपचार कक्षमा भर्ना गरेर उनको उपचार भइरहेको थियो । मधुमेहका बिरामी र गम्भीर खालको निमोनियाले पीडित भएका उनको उपचारको क्रममा मृत्यु भएको डाक्टर चौरसियाले जानकारी दिनु भयो ।

बागमती प्रदेश  

काठमाडौँमा ३ सय ७२, चितवनमा ९०, भक्तपुरमा ४५, काभ्रेपलान्चोकमा २५, ललितपुरमा १२, मकवानपुरमा नौ, सिन्धुलीमा पाँच, धादिङमा तीन, सिन्धुपाल्चोकमा दुई र रामेछपमा एक जना गरी यस प्रदेशमा भदौ १४ गते ५ सय ६४ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या ७ हजार ४ सय ८० जना पुगेको छ ।

काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार केन्द्रीय कारागार सुन्धारामा ६ जना महिलासहित ५० जना कैदीबन्दीलाई कोरना सङ्क्रमण पुष्टि भएको छ । कारागारका १ सय ७५ जनामा गरिएको पीसीआर परीक्षणमा भदौ १४ गते मात्र ३५ जनामा सङ्क्रमण भएको केन्द्रीय कारागार शाखाले जनाएको छ । साथै नेपाल प्रहरीमा १ सय ७५ जनाको परीक्षण गरिएकोमा ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसैगरी डिल्लिबजार कारागारमा एक जना प्रहरीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार कोरोना सङक्रमणबाट भरतपुर महानगरपालिका-१० स्थित चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका-११ का ५२ वर्षीय पुरुषको भदौ १४ गते दिउँसो १२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर दयाराम लम्सालले जानकारी दिनुभयो । योसँगै चितवनका मात्रै मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसैबिच व्यवसायहरूमा आवद्ध निजी क्षेत्रका सङ्घसंस्थाले भदौ १४ गते जिल्ला प्रशासन कार्यालय चितवनमा सात बुँदे ज्ञापनपत्र बुझाउँदै भदौ १५ गतेदेखि निषेधाज्ञासहितको लकडाउन हटाउन माग गरेका छन् । उनीहरूले ज्ञापनपत्रमा निरन्तरको लकडाउनले आपूर्ति श्रृङ्खला टुट्न गई मानिस रोगले भन्दा पनि भोक र व्यवसायिक तनावले अति असामान्य अवस्था सिर्जना हुन सक्नेमा निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको भन्दै निषेधाज्ञासहितको लकडाउनको विकल्प खोज्न अनुरोध गरिएको हो ।

उपचारका लागि डुलाउँदाडुलाउँदै एक जना जण्डिस रोगका बिरामीको निधन भएको छ । कालिगण्डकी अस्पताल कावासोतीमा उपचार गरिएपनि समस्या जटिल भएपछि ५४ वर्षीय होमबहादुर गुरुङका आफन्तले भदौ १३ गते राति ११ बजे भरतपुरका सुविधासमपन्न मेडिकल कलेज, भरतपुर सरकारी अस्पताल जस्ता अन्य थुप्रै अस्पतालहरूमा उपचारका लागि रातभर डुलाउँदाडुलाउँदै बिहान होमबहादुरको मृत्यु भएको हो । चार ओटा निजी अस्पतालले उपचार नहुने बताएपछि गुरुङलाई भरतपुर सरकारी अस्पताल लगिएको थियो । भरतपुर अस्पतालमा पनि उपचार नपाउने अवस्था आएपछि पुलिस प्रशासन गुहारेपछि बल्ल सरकारी अस्पतालले उपचार गरेको मृतकका भाइ टेकप्रसाद गुरुङले बताउनुभयो । सरकारी अस्पतालमा भेण्टिलेटर सेवा नभएका कारण डाक्टरले सुविधायुक्त ठाउँमा जान भनेपछि बिरामीलाई लिएर तेस्रो पटक चितवन मेडिकल कलेज पुगेको केही समयपछि मृत्यु भएको हो ।

गण्डकी प्रदेश

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार समुदायस्तरमा कोरोना सङ्क्रमित बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय तनहुँले भानु नगरपालिकामा थप १० दिन निषेधाज्ञा जारी गरेको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँको भदौ १४ गते बसेको बैठकले नगरपालिकाका सम्पूर्ण क्षेत्रमा भदौ २५ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । भानु नगरपालिकामा भदौ १४ गते मात्रै २२ जना सङ्क्रमित थपिएका छन् । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोरोनाको जोखिम बढ्दै गएकाले भानु नगरपालिकामा भदौ १५ गतेदेखि भदौ २४ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको बताउनु भयो । निषेधाज्ञा अवज्ञा गरे सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रदेश ५

रुपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार बुटवल उपमनपा- ५ का ६१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको आइसियूमा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देएपिछि भदौ १४ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको र कोराना परीक्षण गराउँदा पोजेटिभ आएपछि उनलाई लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा राखेर उपचार थालिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन तथा कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले बताउनु भयो । उनी उच्च रक्तचाप र मधुमेहको बिरामी थिए । तीन वर्षअघि उनको मुटुको शल्यक्रियासमेत गरेको डाक्टर थापाले बताउनु भयो । शवलाई लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहका राखिएको र अन्तिम संस्कारका लागि परिवार र सम्बन्धित निकायसँग समन्वय भइरहेको अस्पतालले जनाएको छ ।

यसैगरी, कोरोनाको सङ्क्रमण बढ्दै गएपछि रुपन्देहीमा जारी लकडाउन भदौ २० गतेसम्मका लागि जिल्लाभर थपेको छ । जिल्लास्तरीय विपद् व्यवस्थापन केन्द्रको भदौ १४ गते बसेको बैठकले कोरोना नियन्त्रणको प्रभावकारी माध्यम लकडाउन भएको निष्कर्ष सहित समयावधि बढाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताउनु भयो ।

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार बाणगङ्गामा नगरपालिकास्थित एनएमबि बैङ्क, जितपुर शाखाका एक कर्मचारी कोरोना सङ्क्रमण पुष्टि भएपछि भदौ १३ गतेदेखि बैङ्क सील गरिएको छ । बैङ्कमा रहेका सबै कर्मचारीको पीसीआर जाँचको नतिजा आएपछि मात्र बैङ्कका गतिविधि सञ्चालन हुने छ । बैङ्कका कर्मचारी र सम्पर्कमा रहेका व्यक्तिको पीसीआर सङ्कलन भदौ १५ गते गरिने बाणगङ्गा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताउनु भयो ।

कर्णाली प्रदेश

रुकुम पश्चिम प्रतिनिधि मनिषा केसीका अनुसार मुसीकोट नगरपालिकामा कोराना भाइरस सङ्क्रमणको अवस्था सुधार नभएपछि भदौ १५ गते बिहान ४ बजेदेखि ०७७ भदौ २१ गतेसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेलले बताउनु भयो । मुसीकोट नगरपालिका ७ नम्बर वडाका तीन पुरुष र एक महिला गरी चार जनालाई कोरोना भाइरसको सङ्क्रमण देखिएपछि निषेधाज्ञा थप गरिएको पौडेलले बताउनु भयो । त्यसैगरी, त्रीवेणी गाउँपालिकाका ९ र १० नम्बर वडामा पनि एक/एक जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि भदौ १४ गते राति १२ बजेदेखि भदौ २१ गतेसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेलले बताउनु भयो । जिल्ला अस्पताल सल्लेका एक जना कर्मचारीलाई कोरोना भाइरस सङ्क्रमण देखिएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले सबै सेवा भदौ १४ गतेदेखि सुचारु गरेको स्वास्थ्य सेवा कार्यालयका व्यवस्थापक महेश चौलागाईले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश

बझाङ प्रतिनिधि रमेश केसीका अनुसार दुर्गाथली गाउँपालिका वडा नम्बर ४ र ५ का थप ४७ जनामा भदौ १४ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सो गाउँपालिका वडा नम्बर ४ र ५ लाई भदौ २७ गतेसम्मका लागि सील गरिएको छ । समुदायस्तरमा थप कोरोना सङ्क्रमण फैलिन नदिनका लागि वडा नै सील गरिएको र वडाबासीहरूलाई आ-आफ्नो घरबाहिर ननिस्कन अनुरोध गरिएको दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष महेशप्रसाद जोशीले बताउनु भयो । दुर्गाथली गाउँपालिकामा भदौ १४ गते सङ्क्रमण पुष्टि भएका व्यक्तिहरूलाई चौधारी माविमा स्थापना गरिएको आइसोलेशनमा राखिने वडाध्यक्ष जोशीले बताउनु भयो । समुदयास्तरमै कोरोना सङ्क्रमण देखिन थालेपछि दुर्गाथली गाउँपालिका वडा नम्बर ७ मा लाग्ने ऐतिहासिक बिर्सती मेलासमेत मनाउनमा प्रतिबन्ध लगाइएको र सो मेलामा पुजा गर्नका लागि पाँच जना भन्दा बढी नजानसमेत स्थानीयलाई अनुरोध गरिएको दुर्गाथली गाउँपालिकाका अध्यक्ष प्रयागराज जोशीले बताउनु भयो । हालसम्म जिल्लामा ३ सय ६७ जनामा कोरोना पुष्टि भएकोमा २ सय ७७ जना निको भएर घर फर्किएका छन् भने बाँकी सङ्क्रमितहरूको उपचार भइरहेको छ ।


अनलाइन डेस्क