कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ८ गते)

  ०७७ वैशाख ८ गते

देशभर ३३ हजार ५ सय ३१ जनामा कोरोना सङ्क्रमणको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा देशभर पीसिआर विधिबाट ८ हजार ३ सय ३८ र आरडीटी विधिबाट २५ हजार १ सय ४८ जनाको परीक्षण गरिएको जानकारी दिनुभयो । डाक्टर देवकोटाका अनुसार आरडीटी विधिबाट प्रदेश १ मा २ हजार ३ सय ४९, प्रदेश २ मा ३ हजार २ सय ३८, बागमती प्रदेशमा ४ हजार ६ सय ७६, गण्डकी प्रदेशमा ३ हजार ७ सय ५१, प्रदेश ५ मा २ हजार ३ सय २४, कर्णाली प्रदेशमा ३ हजार २ सय ३२ र सुदुरपश्चिम प्रदेशमा ५ हजार ५ सय ७८ जनाको परीक्षण भइसकेको छ । उहाँले हालसम्म देशभर ५ हजार ९ सय ३६ जना क्वारेन्टाइन र १ सय ११ जना आइसोलेसनमा रहेको बताउनुभयो । हालसम्म नेपालमा कोभिड-१९ बाट सङ्क्रमित हुनेहरूको सङ्ख्या ३१ जना रहेको र चार जना उपचारपछि डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ ।

प्रदेश १

प्रदेश १ मा वैशाख ८ गतेसम्म पीसीआर र आरडिटी विधिबाट ३ हजार २ सय ६८ जनाको परीक्षण गरिएको छ । कोरोना भाइरस (कोभिड- १९) का शङ्कास्पद ६ सय ५९ जनाको नमूना सङ्कलन गरिएको छ । नमूना सङ्कलन गरिएका मध्ये १३ जना पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । ६६ जना महिला र ३ सय २५ जना पुरुष गरी ३ सय ९१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । २ सय ५५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । वैशाख ८ गतेसम्म प्रदेश १ मा ३ सय ८७ जना शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन गरिएको थियो । वैशाख ८ गते एकैदिन २ सय ७२ जनाको नमूना सङ्कलन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा आरडीटी विधिबाट २ हजार ६ सय ९ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये दुई जना महिला र चार जना पुरुष गरी ६ जनाको एण्टीवडी पोजेटिभ देखिएको छ । तेह्रथुममा गरिएको परीक्षणमा एक जना महिला र एक जना पुरुषमा एण्टीवडी पोजेटिभ देखिएको बताइएको छ । आरडीटीमा ३ सय ५५ जना महिला र २ हजार ४ सय ४८ पुरुष गरी २ हजार ६ सय ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा वैशाख ८ गतेसम्म ३ सय २१ जनाको आरडीटी परीक्षण गरिएको छ । प्रदेश १ मा ४ हजार ५ सय ७१ जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । १ सय १२ बेड थपिएको छ । वैशाख ८ गतेसम्म १ सय १ जना महिला र ७ सय २४ पुरुष गरी ८ सय २५ जना क्वारेन्टाइनमा बसेका छन् । पाँच जना महिला र पाँच जना पुरुष गरी १० जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा ४ सय ४९ आइसोलेशन बेड तयार गरिएको छ । आइसोलेशनमा आठ जना महिला र २७ जना पुरुष गरी ३५ जना भर्ना भएका छन् । दुई जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ४ हजार ३ सय ४३ पुगेको छ । ७ सय १६ जना महिला र ३ हजार ६ सय २७ जना पुरुष होम क्वारेन्टाइनमा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

मोरङका विभिन्न दल सम्बद्ध मुस्लिम अगुवाहरूले कोरोना भाइरसको प्रतिरक्षामा एकीकृत योजना बनाएर लागु गर्न नेपाल सरकार तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिल्ला प्रशासन कार्यालय मोरङमार्फत ज्ञापनपत्र पठाएका छन् । प्रधानमन्त्रीलाई पठाइएको ज्ञापनपत्रमा लकडाउनले गर्दा अन्तर्राष्ट्रिय सीमाहरू बन्द भएका कारण भारत लगायत अन्य देशका मुस्लिम तीर्थयात्री (जमात)हरू देशका विभिन्न मस्जिदहरूमा अलपत्र अवस्थामा बसिरहेको हुँदा कोरोनाको सङक्रमण नहोस र भएको अवस्थामा समेत त्यसलाई फैलिन नदिन स्थानीय तह, प्रशासन र प्रदेश सरकारको समन्वयमा कोरोना भाइरसको रोकथाम, उपचार र प्रतिरक्षामा एकीकृत योजना बनाएर लागु गर्न माग गरिएको छ । ज्ञापनपत्रमा लकडाउनको अवधिमा हुनसक्ने कालोबजारी, कृत्रिम अभाव र आर्थिक अपचलनका घटनाहरूका विषयमा नियमित अनुगमन गर्न तथा दैनिक उपभोग्य वस्तुहरूको सेवा प्रवाहमा विशेष ध्यान दिन आग्रह गरिएको छ । नेकपाका तर्फबाट ताजिम अन्सारी, वसिम आलम, नेपाली कांग्रेसका सलिम अन्सारी, राजपाका मोहम्वत कादिर लगायतका नेताले ज्ञापनपत्र बुझाएका थिए ।

उदयपुर जिल्ला त्रियुगा नगरपालिका-३ भुल्केका २ सय ५१ जनाको स्वाब सङ्कलनपछि नेपाली सेनाको चिकित्सकसहितको टोली वैशाख ८ गते हेलिकोप्टरबाट काठमाडौँ फर्किएको छ । दुई दिन लगाएर नेपाली सेनाको छाउनी अस्पतालका मेजर डाक्टर प्राची रायमाझीको नेतृत्वमा आएको चार जनाको स्वास्थ्यकर्मीको टोलीले ५३ घर मुस्लिम समुदायका परिवार, छिमेकी र बाहिरी भागमा काम गर्दै आएका नेपाली सेनाको १८ नम्बर बाहिनीका सेनाको स्वाब सङ्कलन गरेको हो । वैशाख ७ गते समय अभावले १ सय ५२ जनाको मात्र स्वाब सङ्कलन गरिएकाले बाँकी रहेका ९९ जनाको ८ गते नमूना सङ्कलन गरिएको बाहिनीपति सहायकरथी कृष्णप्रसाद सापकोटाले जानकारी दिनु भयो ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

प्रदेश २ मा वैशाख ८ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ५ सय ९० जनाको स्वाब परीक्षण गरिएकोमा ५ सय ४१ जनाको रिपोर्ट नेगेटिभ र चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । ४५ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

त्यसैगरी, आरडीटी किटबाट परीक्षणका लागि वैशाख ८ गतेसम्म ३ हजार २ सय ३८ जनाको स्याम्पल सङ्कलन गरिएकोमा ३ हजार ८७ जनाको रिपोर्ट नेगेटिभ र सात जनाको रिपोर्ट पोजेटिभ आएको छ । पोजेटिभ रिपोर्ट आएकामध्ये ६ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ भने एक जनाको पीसीआर रिपोर्ट आउँन बाँकी रहेको प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश २ मा वैशाख ८ गतेसम्म १ हजार २ सय ५५ जना क्वारेन्टाइनमा रहेका छन् भने २ हजार ३ सय ८० जना होम क्वारेन्टाइनमा रहेका छन् । प्रदेशका आठ ओटै जिल्लामा २ सय २० बेड क्षमताको आइसोलेशन वार्ड छ । आइसोलेशन वार्डमा कोरोना आशङ्का गरिएका १४ जना बिरामी उपचारार्थ छन् ।

प्रदेश २ को प्रदेश सभा सचिवालयले गठन गरेको कोरोना रोकथाम तथा नियन्त्रण अनुगमन सर्वदलीय संसदीय समितिले वैशाख ७ र ८ गते प्रदेशका विभिन्न स्थानमा पुगेर स्थलगत अनुगमन गरेको छ । समितिका संयोजक समाजवादी पार्टीका सचेतक शैलेन्द्रकुमार यादव र सदस्यहरू राजपाका सचेतक परमेश्वर साह, कांग्रेस संसदीय दलका नेता रामसरोज यादव, नेकपाका सासद  रामचन्द्र मण्डल र प्रदेश २ सचिवालयका डाक्टर अजय मिश्रा सहितको टोलीले बाराको कलैया जिल्ला अस्पताल र बीरगञ्जको क्षेत्रीय अस्पतालको निरीक्षण अनुगमन गरेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले धनुषाका धार्मिक अगुवाहरूलाई बोलाएर जिल्लामा धार्मिक स्थलहरूमा कोही लुकेर बसेका छन् भने उपचार तथा क्वारेन्टाइनमा ल्याउनमा सहयोग गर्न वैशाख ८ गते आग्रह गर्नु भएको छ । जिल्लाका विभिन्न राजनीतिक दलका मुस्लिम प्रतिनिधिहरू तथा केही मौलानाहरूलाई समेत बोलाएर प्रमुख जिल्ला अधिकारी निरौलाले मुस्लिम अगुवा र मौलानाहरूको सहयोग बिना जमातीहरूको बारेमा जानकारी पाउन नसकिने भन्दै सहयोग गर्न आग्रह गर्नु भएको छ । कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी गणेशचन्द्र मिश्रद्वारा जानकारी गराइए अनुसार बैठकबाट चार बुँदे निर्णय गरिएको छ । जिल्लाभित्र रहेका सम्पूर्ण मन्दिर, मस्जिद र गुम्बा लगायतका धार्मिक संरचनाहरूमा नव आगन्तुक तथा अपरिचित व्यक्तिहरूलाई बास नदिने तथा नयाँ व्यक्तिहरू आएमा सम्बन्धित संस्थाले तत्काल स्थानीय प्रशासनलाई खबर गर्ने लगायतका निर्णय गरिएको छ । बैठकमा मन्दिरका महन्थहरूलाई समेत बोलाइएको थियो ।

निरन्तरको लकडाउनका कारण उत्पादित तरकारी बिक्री नभई खेतबारीमै कुहिन थालेपछि सप्तरीका किसानहरू मारमा परेका छन् । ऋणकर्जा लिएर कोशी नदीको बगरमा वर्षेनी मौसमी तरकारी खेती गर्दै आएका हनुमाननगर कंकालिनी नगरपालिका-७ का किसान कृष्णविहारी मेहताले तरकारी बिक्री गर्ने बेलामा लकडाउन भएकाले उहाँको मात्र दैनिक २ सय किलो तरकारी कुहिन लागेको दुखेसो पोख्नु भयो । सप्तरी जिल्लामा कूल खेतीयोग्य जग्गा ८१ हजार ६ सय ६८ हेक्टर रहेकोमा १० हजार एक सय ४७ हेक्टरमा तरकारी खेती हुँदै आएको छ । तरकारी खेती गरेर जीविका चलाउँदै आएका कञ्चनरूप नगरपालिका-६ सितापुर गाउँका करिब १ सय घर रहेको महतो परिवार पनि मर्कामा परेका छन् ।

राहत पाउनका लागि आवश्यक कागजपत्र नभएर राहत नपाएका रौतहटको चन्द्रपुरका विपन्न तथा गरिब परिवारलाई नगरपालिकाले राहत उपलब्ध गराउने भएको छ । पहिलो चरणमा छुटेका व्यक्तिहरूलाई राहत वितरणका लागि नामाली सङ्कलन वडा/वडामा भइरहेको चन्द्रपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देले जानकारी दिनु भयो ।

रौतहटको गौर नगरपालिकासँग जोडिएको भारतको सीमा क्षेत्रबाट हुने जावतजावतलाई पूर्णरूपमा रोक लगाउन गौर नगरपालिका-१ का अध्यक्ष भरत साह र नगरका मेयर अजय गुप्ताको पहलमा गौर नगरपालिकाले स्वयम्सेवक खटाएको छ । गौरबाट भारतको बैरगनीया लगायतका स्थानमा आवतजावत हुने भएकाले पूर्णरूपमा रोक लगाउन स्थानीय तहले प्रयास गरेको गौर नगरपालिकाले जनाएको छ ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

बागमती प्रदेशका जिल्लामा ४ हजार ६ सय ७६ जनामा र्‍यापीड टेष्ट विधिबाट कोरोना सङ्क्रमण परीक्षण गरिएको छ । प्रदेशका १३ ओटै जिल्लामा र्‍यापीड टेष्ट गर्दा १३ जनामा पोजेटिभ देखिएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डा. पुरुषोत्तम सेडाइले जानकारी दिनुभयो । र्‍यापीड टेष्टको कामलाई बागमती प्रदेशमा तीब्रता दिइएको मन्त्रालयले जनाएको छ । र्‍यापीड टेष्ट काठमाडौँमा १ हजार १ सय ९३ जना, भक्तपुरमा २ सय ५४ जना, ललितपुरमा ३ सय ३४ जना, रसुवामा ३० जना, नुवाकोटमा ३ सय ६८ जना, चितवनमा ४ सय ६४ जना, सिन्धुलीमा ३ सय ५२ जना, काभ्रेमा ३ सय ५६ जना, सिन्धुपाल्चोकमा २ सय ७० जनामा गरिएको हो ।

चितवनमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले तितेपातीको स्यानिटाइजर बनाएको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको विश्विद्यालयका उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिनुभयो । तितेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजरको यो पहिलो प्रयोग हो । सो स्यानिटाइजर विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार तयार पारिएको सापकोटाले बताउनु भयो ।

लकडाउनको अवधिभर दोलखाको भीमेश्र नगरपालिकाका विभिन्न ११ जनाले निःशुल्क एम्बुलेन्स सेवा लिएका छन् । भीमेश्वर नगरपालिकाले लकडाउनका कारण अन्य सवारीका साधान नचल्ने भए पछि गर्भवती, अहासय, अशक्त, फरक क्षमता भएका र विपन्न समुदायका लागि उपचारका लागि स्वास्थ्य संस्था सम्म पुग्नका लागि निःशुल्क एम्बुलेन्स तथा यातायात सुविधा उपलब्ध गराउने घोषणा गरेको थियो ।

भक्तपुरको गठ्ठाघरमा १ सय ९२ पैदल यात्रुलाई र जगातीमा ५ सय ७७ जनालाई निःशुल्क खाना खुवाइएको छ । भक्तपुरमा कोही भोकै नपरून् भनी विपन्न तथा यात्रामा लागेकाहरूलाई ठाउँठाउँमा खानाको व्यवस्था गरिँदै आइएको छ । चारदिनदेखि प्रहरीले भक्तपुरको बाटो हिँड्ने पैदल यात्रीलाई जगातीमा रोकेर खाना, खाजा खुवाएर गाडीमा हालेर घर पठाउने व्यवस्था गरेको छ ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्रवेशद्वारमा वैशाख ८ गतेदेखि स्वचालित Disinfectant टनेल राखिएको छ । अस्पताल आउने व्यक्ति टनेलबाटमात्र प्रवेश गर्ने व्यवस्था गरिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५

कोभिड-१९ महामारीको रूपमा फैलिएसँगै प्रदेश ५ ले यो महामारीको बारेमा सही जानकारी लिन र प्रकोपलाई नेपालमा फैलन नदिने उद्देश्यले नेपाल कोभिड-१९ ट्रेसिङ एप निर्माण तथा सञ्चालनमा ल्याएको छ । यो एप प्रदेश ५ मुख्यमन्त्री पोर्टल http://www.cm.p5.gov.np/ मा गएर डाउनलोड गर्न सकिने मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताउनुभयो । कोरोना सङ्क्रमण रोकथाम र न्यूनिकरणका लागि सङ्घीय सरकारले गरेका निर्णयहरूलाई प्रदेश र स्थानीय तहले कार्यान्वयन गराउनुका साथै स्थानीय स्तरबाट समेत विभिन्न पहलहरू भइरहेका छन् । हाल प्रदेश ५ मा २ हजार ४ सय ३२ जना क्वारेण्टाइनमा रहेका छन् भने १ सय ३ जना आइसोलेशनमा रहेका छन् । यसैगरी प्रदेश ५ का सबै जिल्लाहरूमा पहिलो चरणको राहत वितरण कार्य सकिएसँगै केही जिल्लाका स्थानीय तहहरूले दोस्रो चरणको राहत वितरणका लागि तयारी गरिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख ८ गतेदेखि अर्को सूचना जारी नगरेसम्मका लागि दिउँसो ४ बजेपछि कुनै पनि पसल सञ्चालन गर्न रोक लगाएको छ । रुकुम पूर्वको भूमे गाउँपालिकाले लकडाउनको समयमा रेडियो रुकुम एफएम १०२.३ मेगाहर्ज तथा युट्युब च्यानलबाट पढाइ सुचारू गर्न लागेको छ ।

कोभिड-१९ बाट उत्पन्न परिस्थितिमा मानव अधिकारको अवस्था अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगको नेतृत्वमा बाँकेमा जिल्लास्तरीय अनुगमन समिति गठन गरिएको छ । प्रदेश ५ का जिल्लाहरूमा राहत वितरण, कोरोना टेष्ट र क्वारेण्टाइनमा राख्ने तथा जनचेतनामूलक कार्यहरूमा तीव्रता दिइएको इन्सेकका जिल्ला प्रतिनिधिहरूले पठाएको विवरणमा उल्लेख छ ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

कर्णाली प्रदेशमा ३ हजार ४ सय जनाको द्रुत परीक्षण गरिएको छ भने ८ सय ९५ जनाको स्बाव परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका निर्देशक रीता भण्डारीले बताउनु भयो । दैलेख जिल्लाको आठबीस नगरपालिकाले कोभिड-१९ विरुद्ध खटिएका करारमा रहेका स्वास्थ्यकर्मी बिरामी परे ५० प्रतिशत उपचार खर्च व्यहोर्ने र मृत्यु भएमा उनीहरूका परिवारलाई एकमुष्ठ ५ लाख रुपियाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय वैशाख ८ गते नगरपालिकाको ५१ औँ बैठकले गरेको नगरप्रमुख खड्गप्रसाद उपाध्यायले जानकारी दिनु भयो । साथै, सबै स्वास्थ्यकर्मीलाई तलब स्केलको ५० प्रतिशत अतिरिक्त प्रोत्साहन भत्ता पनि दिइने नगरप्रमुख उपाध्यायले बताउनु भयो ।

कोरोना भाइरस (कोभिड-१९)को सङ्क्रमण बढ्ने भयले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका-३ का स्थानीयबासी युवाहरू पालो लगाएर रातदिन टुक्सोखोल्मु पुलमा बस्ने गरेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताउनु भयो । लकडाउनको अवधिभर जिल्ला बाहिर र भित्रबाट गाउँमा आवतजावत हुन नदिन खगालगाउँनजिकै कर्णाली नदीमा रहेको टुक्सोखोल्मु पुल र जाड खोल्सीबाट भित्रिने बाटोमा दैनिक गाउँका युवाहरू पालैपालो बस्ने गरेको अध्यक्ष लामाको भनाइ छ ।

राष्ट्रिय मानव अधिकार आयोगको कार्यविधि अनुसार वैशाख ८ गते कालीकोटमा गठन गरिएको अनुगमन समितिमा इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्ल सदस्यमा चयन हुनुभएको छ । डोल्पा जिल्लामा पहिलो पटक सेल्फ क्वारेन्टाइनमा रहेका पाँच जनाको कोभिड-१९ को द्रुत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा प्रमुख डाक्टर सिजन रावलले जानकारी दिनु भयो ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

कोरोना भाइरसबाट सङ्क्रमित बिरामीको उपचारका लागि कञ्चनपुरको महाकाली अस्पतालमा ५० शैयाको आइसोलेसन कक्ष निर्माण कार्य सुरू भएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले कोरोना भाइरस नियन्त्रणका लागि महाकाली अस्पताल परिसरमा आइसोलेसन कक्ष बनाउन १ करोड रकम विनियोजन गरेको छ । प्रदेश सरकारले धनगढी र कञ्चनपुरमा ५०/५० शैयाको कोरोना विषेश अस्पताल निर्माण गर्ने निर्णय अनुसार निर्माण कार्य सुरू गरिएको हो ।

उत्पन्न वर्तमान जटिल परिस्थितिमा मानव अधिकार अवस्था अनुगमन नेटवर्कको कार्यविधि २०७६ अनुसार जिल्लास्तरीय मानव अधिकार अवस्था अनुगमन समिति वैशाख ८ गते गठन गरिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले जिल्लामा गठन गरेको अनुगमन समितिमा इन्सेक बैतडी जिल्ला प्रतिनिधि नरी बडुलाई सदस्यमा चयन गरिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण रोक्न सरकारले जारी गरेको लकडाउनका कारण खोप कार्यक्रम स्थगन हुँदा नियमित खोप कार्यक्रमअन्तर्गत २ सय ६० बढी बालबालिका मासिकरूपमा प्रभावित भएको स्वास्थ्य कार्यालय, दार्चुलाले जनाएको छ । भारतको धार्चुलास्थित मिनि स्टेडियमको क्वारेन्टाइनमा राखिएका मालिकार्जुन गाउँपालिका-८ का ३८ वर्षीय गोपालसिंह धामीको उपचारको लागि पहल सुरू भएको छ । २३ दिनदेखि क्वारेन्टाइनमा बस्नुभएका धामीको एकसातादेखि मानसिक समस्या देखिएकोले उनको उपचार आवश्यक भएको भन्दै इन्सेक दार्चुला जिल्ला प्रतिनिधिले समाचार सम्प्रेषण गर्नुभएको थियो । जिल्ला प्रशासन कार्यालय, दार्चुलाले वैशाख ८ गते भारत पिथौरागढ जिल्लाअन्तर्गत एसडिएम कार्यालय धार्चुलालाई सम्बोधन गर्दै धामीको उपचारका लागि आवश्यक समन्वय एवम् सहजीकरण गरिदिन पत्राचार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुवँरले जानकारी दिनु भयो ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क