कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ११ गते)
भदौ ११ गते १ हजार १ सय ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३५ हजार ५ सय २९ पुगेको छ । गत २४ घण्टामा १२ हजार ६ सय २९ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ ११ गतेसम्म कोरोना सङ्क्रमणका कारण १ सय ८३ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये २० हजार ७३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ ११ गते ५ सय ६९ जना डिस्चार्ज भएका छन् भने निको दर ५६.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १५ हजार २ सय ७३ जनाको उपचार भइरहेको छ । भदौ ११ गतेसम्म ६ लाख ४७ हजार ८ सय ८१ जनाको स्वाब परीक्षण भएको छ । हालसम्म सङ्क्रमितमध्ये २८ हजार १ सय ५० जना पुरूष र ७ हजार ३ सय ७९ जना महिला रहेका पनि मन्त्रालयले जनाएको छ ।
प्रदेश १
झापा प्रतिनिधि नरेश खातीका अनुसार भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा पीसीआर परीक्षण बन्द भएको छ । प्रयोगशालामा चाहिने आरएनए एक्स्ट्रयाक्सन र पीसीआर किट स्टकमा भएपनि प्लेट कभर नभएपछि परीक्षण बन्द भएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले बताउनु भयो । पीसीआर परीक्षण बन्द भएपछि भदौ ९ गतेदेखि जिल्लामा सङ्कलन गरिएका कुनै पनि स्वाब नलिएको उहाँले जानकारी दिनुभयो । पीसीआर परीक्षण सेवा बन्द भएपछि कैद भुक्तानका लागि झापा कारागार पठाउने कैदीलाई समस्या भएको झापा कारागारका जेलर राजेन्द्र निरौलाले जानकारी दिनुभयो । कोरोना भाइरसको सङ्क्रमण भए/नभएको जाँच बिनै कारागार पठाएपछि कारागार प्रशासनलाई स्वास्थ्य सुरक्षा चुनौती थपिएको उहाँले बताउनु भयो । प्रयोगशालामा आवश्यक प्लेट कभर सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयसँग माग गरिसकेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर पीताम्बर ठाकुरले बताउनु भयो । प्लेट आउन केही दिन लाग्ने उहाँले बताउनु भयो । मेची प्रादेशिक अस्पतालमा स्वीस सरकारले उपलब्ध गराएको पीसीआर मेशिन प्रदेश सरकारले मेचीलाई प्रदान गरेको थियो । प्रयोगशाला साउन २६ गतेदेखि सञ्चालनमा आएको थियो । हालसम्म २ हजार ५ सय ८ जनाको पीसीआर परीक्षण भएको अस्पतालले जनाएको छ ।
उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि साउन ३० गतेदेखि तीन ओटा नगरपालिकामा जारी गरिएको निषेधाज्ञा भदौ १२ गते मध्यरातिदेखि हटाउने निर्णय गरिएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्था स्थिर रहेपछि भदौ ११ गते प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्र र सुरक्षा समितिको संयुक्त बैठकले निषेधाज्ञा हटाउने निर्णय गरेको हो । बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिकामा १५ दिनयता जारी निषेधाज्ञा हटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो । निषेधाज्ञा हटाउने निर्णय भएपनि कोरोना भाइरस सङ्क्रमणको अवस्था भयावह भएका सुनसरी, सिरहा, सप्तरी जिल्लासँग जोडिएका नाकामा बाहृय आवागमनलाई ठप्प पार्ने र सरकारले रोक लगाएका बाहकेका व्यापार, व्यवसायलाई सुचारु गर्ने निर्णय गरेको प्रजिअ पाण्डेले बताउनुभयो । जिल्लामा १ सय ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ । त्यसमध्ये २२ जना उपचारमा छन् भने बाँकी सबै उपचारपछि घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो ।
धनकुटा प्रतिनिधि इश्वर थापाका अनुसार जिल्लामा जारी निषेधाज्ञा भदौ १७ गतेसम्म थप गरिएको छ । जिल्लास्तरीय कोभिड-१९ जोखिम व्यवस्थापन समितिको भदौ ११ गतेको बैठकले निषेधाज्ञाको समयावधि थप्ने निर्णय गरेको समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिनुभयो । पहिलो चरणमा साउन २९ गतेदेखि भदौ ४ गतेसम्म धनकुटा नगरपालिकाका ६ ओटा वडा र त्यसपछि भदौ ११ गतेसम्म जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको थियो । भदौ ११ गते मध्यरातिबाट सकिने निषेधाज्ञाको अवधि पुनः थप गरी भदौ १७ गतेसम्म पुर्याइएको हो । प्रमुख जिल्ला अधिकारी विमलीले जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सम्पर्कमा आएकाहरूको पहिचान गरी परीक्षण गर्ने काम भइरहेकाले समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनेर निषेधाज्ञा गर्नु परेको बताउनु भयो । जिल्लामा निषेधाज्ञा थप गरिएको भएपनि बिहान ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म सबै प्रकारका पसल सुरक्षा सावधानी अपनाएर खोल्न पाइने निर्णय जिल्लास्तरीय कोभिड-१९ जोखिम व्यवस्थापन समितिले गरेको छ । धनकुटामा हालसम्म २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमा १७ जना निको भएका छन् भने एक जना धरान र दुई जना मोरङ गोठगाउँको उपचार केन्द्रमा उपचाररत छन् ।
प्रदेश २
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कोरोना सङ्क्रमित सुवर्ण गाउँपालिका-४ हर्दीया टोलकी २३ वर्षीया आठ महिनाकी गर्भवतीको उपचारका क्रममा भदौ ११ गते बिहान नारायणी अस्पताल बीरगंजमा मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर आतुलेश चौरसियाले बताउनु भयो । उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र झाडापखाला लागेपछि भदौ ८ गते आइसोलेशन वार्डमा राखेर उपचार गराई भदौ १० गते नारायणी अस्पतालको प्रयोगशालमा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको थियो ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार बटेश्वर गाउँपालिकाले जारी गरेको निषेधाज्ञा भदौ १७ गते राति १२ बजेसम्म थप गर्ने निर्णय गरेको छ । यसअघि साउन ३० गतेदेखि गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको थियो । भदौ ११ गतेदेखि अत्यावश्यक स्वास्थ्य सेवा र एम्वुलेन्स सेवा बाहेक सम्पूर्ण सेवा बन्द रहने बटेश्वर गाउँपालिका स्वास्थ्य संयोजक रुद्रनारायण यादवले बताउनु भयो । निषेधाज्ञाको अवधिमा गाउँपालिकामा लाग्ने सानाठूला सम्पूर्ण हाटबजार पूर्णरूपमा बन्द गर्न गराउने पनि उहाँले बताउनु भयो । खाद्यान्नका पसलहरू बिहान ७ बजे देखि १० बजेसम्म खोल्न दिने गरी निर्णय भएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतले बताउनु भयो ।
यसैबिच प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा कोरोना भाइरस सङ्क्रमण देखा परेका २ सय जना स्थानीय प्रशासनको सम्पर्कमा नरहेको खुलासा भएको छ । पीसीआर परीक्षण गराउने समयमा लेखाएको ठेगाना र सम्पर्क नम्बरमा सङ्क्रमितहरू फेला नपरेको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले बताउनु भयो । सङ्क्रमित भएर परिवार समाजमा बस्दा महामारी अझ फैलिने जोखिम भएको हुँदा सम्पर्कविहीन सङ्क्रमितलाई अन्य माध्यमबाट समेत खोज्ने प्रयास भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनु भयो ।
बागमती प्रदेश
यस प्रदेशमा भदौ ११ गते थप ४ सय ९६ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ६ हजार ६८ जना पुगेको छ । जसमध्ये ९ सय ४६ जना उपचारपछि घर फर्किएका छन् भने ५ हजार ८३ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । कोरोना सङ्क्रमणका कारण भदौ ११ गते थप दुई जनाको मृत्यु भएसँगै हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ३९ जना पुगेको छ ।
रामेछाप प्रतिनिधि नवराज पथिकका अनुसार जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको भदौ ११ गते बसेको बैठकले भदौ १८ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण जिल्लामा निरन्तर बढेकोले निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो । कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन यसअघि भदौ ४ गते राति १२ बजेदेखि १३ गते राति १२ बजेसम्म लगाइएको निषेधाज्ञालाई भदौ १८ गते राति १२ बजेसम्म जारी राख्ने निर्णय भएको उहाँले बताउनुभयो ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार शिवपुरी गाउँपालिकामा भदौ ११ गते एकैदिन सात जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि गाउँपालिकाभर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । केही वडामा पहिले नै निषेधाज्ञा कायम रहेको भए पनि भदौ ११ गते राति १२ बजेबाट लागु हुने गरी जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाभरी एक हप्ताको लागि निषेधाज्ञा लागू गरेको हो ।
गण्डकी प्रदेश
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार काठेखोला गाउँपालिकाका इञ्जिनियरलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि गाउँपालिकाको कार्यालय एक साताको लागि बन्द गरिएको छ । भदौ ११ गते बिहान क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर परीक्षणमा कर्मचारीमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका अन्य कर्मचारी, जनप्रतिनिधि र स्थानीयको कोरोना परिक्षण गर्नुपर्ने भएकाले भदौ १८ गतेसम्म गाउँपालिका बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो ।
प्रदेश ५
बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार नेपालगञ्ज उपमनपा-७ की ७० वर्षीया महिलाको भदौ ११ गते कोरोना सङ्मणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनु भयो । उनलाई फोक्सोको निमोनिया देखिएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भदौ ३ गतेबाट भर्ना गरिएको थियो । कोरोना रोगको लक्षण देखिएपछि कोहलपुर शिक्षण अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनको भदौ ५ गते गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले बताउनु भयो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको छ । उनको शव व्यवस्थापन भदौ ११ गते गरिएको छ ।
यसैगरी, नेपाल टेलिकमको नेपालगञ्ज कार्यालयमा कार्यरत आठ जना कर्मचारीमा कोरोना भाइरस पुष्टि भएपछि भदौ ११ गते सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलसम्म कार्यालय सिल गरिएको जनाएको छ ।
यसैगरी, उच्च अदालतमा कार्यरत एक जना कर्मचारीमा भदौ ११ गते कोरोना पोजेटिभ देखिएपछि अदालतका सम्पूर्ण काम कारबाही बन्द गरिएको छ । उच्च अदालत बारका अध्यक्ष विकास आचार्यले अदालतमा कार्यरत कर्मचारीमा सङ्क्रमण पुष्टि भएपछि आकस्मिक बैठकले कर्मचारीहरूको स्वाब सङ्कलन गरी परीक्षण रिपोर्ट नआउन्जेलसम्मका लागि अदालतका सबै काम रोक्ने निर्णय गरेको बताउनु भयो ।
नवलपरासी पश्चिम प्रतिनिधि नारायण भुसालका अनुसार जिल्लामा कारोना भाइरस सङ्क्रमण बढ्दै गएपछि कोरोना डिडिआरसीको बैठकले तेस्रो पटक पाँच दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले बताउनु भयो । जिल्लामा सङ्क्रमणको दर बढ्दै गएको र स्वाब परीक्षणका लागि दिएका व्यक्तिहरू खुलेआम घुम्ने र विभिन्न कार्यक्रममा सहभागी हुने गरेकोले सङ्क्रमणको जोखिम बढ्ने र स्थिति भयावह हुने भएकाले अबदेखि स्वाब सङ्कलन गरिएका व्यक्तिको नाम सार्वजनिक गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले बताउनु भयो । जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या १ सय ८६ पुगेको छ । जसमध्ये १ सय २६ जना उपचार पश्चात निको भएर घर फर्किएका छन् । गत २४ घण्टामा आठ जनामा कोरोना पुष्टि भएको छ ।
कर्णाली प्रदेश
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार जिल्ला प्रशासन कार्यालय दैलेखले भदौ ४ गतेदेखि सुरु भएको निषेधाज्ञा भदौ १२ गते रातिसम्मका लागि लम्ब्याएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताउनु भयो । थप गरिएको निषधाज्ञा अवधिमा औषधि पसल लगायत स्वास्थ्य सेवा, खानेपानी, इन्धन, कृषि उपज ओसारपसार लगायतका अत्यावश्यकीय सेवाहरू विहान ६ बजेदेखि ८ बजेसम्म र अपरान्ह ४ बजेदेखि ६ बजेसम्म खुला गरिने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा जनाइएको छ ।
डोल्पा प्रतिनिधि विष्णुप्रसाद देवकोटाका अनुसार जिल्ला विपद् व्यवस्थापन समितिको भदौ १० गते बसेको बैठकले जिल्लालाई एक सातासम्मका लागि सिल गर्ने निर्णय गरेको छ । छिमेकी जिल्लाहरू रुकुम, जाजरकोट र जुम्लामा कोभिड-१९ को सङ्क्रमण र जोखिम उच्चस्तरमा रहेको र निषेधाज्ञ समेत जारी भएको अवस्थामा डोल्पामा पनि सङ्क्रमणको जोखिम हुन सक्ने भन्दै भदौ १० गते राती १२ बजेदेखि एक हप्ताका लागि सिल गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनु भयो ।
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत दुईजना चिकित्सक सहित सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरेन्द्रनगर स्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भदौ १० गते गरिएको पीसीआर परीक्षणबाट उनीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कोरोना सङ्क्रमणको पुष्टि भएकाहरूमा दुईजना चिकित्सक, चारजना मेडिकल अधिकृत र एकजना कर्मचारी रहेको प्रदेश अस्पतालका निर्देशक डम्मर खड्काले बताउनु भयो । चिकित्सक सहितको टोलीलाई कोरोना सङ्क्रमण पुष्टि भएसँगै भदौ ११ गतेदेखि सातदिनका लागि ओपीडी सेवा बन्द गरिएको निर्देशक खड्काले बताउनु भयो । हाल कोरोना विशेष अस्पतालको रूपमा रहेको प्रदेश अस्पतालमा २३ जना कोरोना सङ्क्रमित उपचाररत छन् ।
जाजरकोट प्रतिनिधि दिनेशकुमार श्रेष्ठका अनुसार जिल्ला अस्पताल जाजरकोटमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि अस्पतालको आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत चार जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य स्वास्थ्यकर्मीको रिपोर्ट आउन बाँकी रहेकोले थप सङ्क्रमण फैलिन नदिन अस्पतालको आकस्मिक बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डाक्टर सुनिल पुनले बताउनु भयो । सङ्क्रमित चिकित्सक र स्वास्थ्यकर्मीलाई आइसोलेशनमा राखेर उपचार थालिएको डा. पुनले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेश
कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार धनगढीस्थित सेती प्रादेशिक अस्पतालका ११ जना स्वास्थ्यकर्मी र एक जना कर्मचारी गरी १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पहिलो पटक साउन १ गते एक जना स्टाफ नर्समा कोरोना सङ्क्रमण पुष्टि भएकोमा भदौ ११ गतेसम्म सङ्क्रमित कर्मचारी र स्वास्थ्यकर्मीको सङ्ख्या १२ पुगेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताउनु भयो । सङ्क्रमितमध्ये ११ जना महिला र एक जना पुरुष रहेकोमा दुई जना सङ्क्रमणको निको भएको सूचना अधिकारी श्रेष्ठले बताउनु भयो । सेती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमासमेत कोरोना पुष्टि भएपछि स्थानीय सेवाग्रहीहरूसमेत त्रसित भएका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
खानेपानीको अभाव भएपछि स्थानीयलाई सास्ती
आदर्श गाउँपालिका–६ खतेडा, सिल्ल, काडा र टोट्बिला गाउँका स्थानीय वर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् । खानेपानी अभावका कारण यस क्षेत्रका स्थानीयहरुले वर्षेनी सास्ती खेप्नुपरेको छ । आदर्श गाउँपालिकामा झण्डै…
कारागारमा भौतिक संरचना जीर्ण रहेको कैदी र थुनुवाको गुनासो
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेश कार्यालयको नेतृत्वमा ०८१ मङ्सिर २३ गते स्याङ्जा जिल्ला कारागारको अनुगमन गरिएको छ । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा जिल्ला कारागार स्याङ्जाको…
लैङ्गिक हिँसाविरुद्ध एकजुट हुनुपर्नेमा जोड
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा मङ्सिर २७ गते काठमाडौँमा ७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसकाे सन्दर्भमा लैङ्गिक हिँसा विरुद्धको १६ दिने अभियान अवस्था सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
अपाङ्गता हुनुभएकी ३७ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले मालारानी गाउँपालिका-८. हंसपुरका ४० वर्षीय खेतबहादुर घर्तीलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिबलाल पाण्डेयको ०८१ मङ्सिर…
बलात्कार गरेको कसुरमा १३ वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले लमही नगरपालिका–१ का २९ वर्षीय नवराज भन्ने नमराज पोख्रेललाई १३ वर्ष कैद गर्ने फैसला गरेको छ । जिल्ला अदालतका…