कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ १० गते)

भदौ १० गते ८ सय ५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३४ हजार ४ सय १८ पुगेको छ । गत २४ घण्टामा १३ हजार २ सय ५३ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ १० गतेसम्म कोरोना सङ्क्रमणका कारण १ सय ७५ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये १९ हजार ५ सय ४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ १० गते ३ सय ८५ जना डिस्चार्ज भएका छन् भने निको दर ५६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १४ हजार ७ सय ३९ जनाको उपचार भइरहेको छ ।

chart_aug_26नेपालमा कोरोना सङ्क्रमित पहिचान भएको सात महिना पुरा भएको छ यो अवधिमा सङ्क्रमितको सङ्ख्या ३४ हजार नाघेको छ भने मृत्यु हुनेको सङ्ख्या १ सय ७५ पुगेको छ । गत माघ ९ गते पहिलो सङ्क्रमित पहिचान भएका थिए । सङ्क्रमित पहिचानको ६ महिनामा (साउन १० गतेसम्म) सङ्क्रमितको सङ्ख्या १८ हजार ४ सय ८३ पुग्यो भने मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो । त्यसपछिको एक महिनामा मृत्यु हुनेको सङ्ख्या हवात्तै बढेको तथ्याङ्कले देखाउँछ । साउन १० गतेदेखि भदौ १० गतेसम्मको पछिल्लो एक महिनाको अवधिमा १५ हजार ९ सय ३५ सङ्क्रमित थपिएका छन् भने १ सय ३० जना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो एक साताको तथ्याङक हेर्दा प्रतिदिन ६ सय ८१ जनामा कोरोना देखिएको छ भने प्रतिदिन सात जनाको मृत्यु भएको छ ।

२०७७ भदौ १० गते
२०७७ भदौ १० गते

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार जिल्लाभर एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगर महानगरपालिकासहित चार ओटा स्थानीय तहमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो । भदौ १० गतेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाएर एक साता थप्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनु भयो । निषेधाज्ञामा बजारलाई १२ बजेसम्म खुल्ला गर्न दिने निर्णय भएको छ । त्यसपछि सबै बजार र पसल बन्द हुनेछ । बजार खुल्ला गरिएपनि सवारी साधन सञ्चालन गर्न भने पाइने छैन । मोटरसाइकल र साइकललाई पनि चल्न नदिनेगरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

धनकुटा प्रतिनिधि ईश्वर थापाका अनुसार कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि चौविसे गाँउपालिकाले एकसाताका लागि सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय भदौ १० गते गरेको छ । चौबिसे गाउँपालिकामा भदौ १० गते दिउँसो १२.०० बजेदेखि भदौ १६ गते दिउँसो १२.०० बजेसम्म लागि एम्बुलेन्स, शववाहन र सरकारी सवारी साधन बाहेकका सम्पूर्ण सवारी साधनहरूलाई गाउँपालिका प्रवेशमा निषेध गरिएको चौबिसे गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताउनु भयो । कोरोना भाइरस सङ्क्रमण भएका जिल्लाहरूबाट खाद्यान्न लगायतका सामग्रीहरू ढुवानी गर्न गाउँपालिकाको अनुमति विना विभिन्न सवारी साधनहरू गाउँपालिका प्रवेश गर्ने गरेका कारणले कोरोना भाइरसको उच्च जोखिम बढ्ने देखिएकाले एक हप्ता सवारी साधन प्रवेशमा निषेध गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जितमान जिमीले बताउनु भयो ।

सनुसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार स्वास्थ्य सामग्री र पूर्ण सुरक्षाको माग गर्दै भदौ ९ गतेदेखि विरोधमा उत्रिएका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्सहरूसँग वार्ताका लागि प्रतिष्ठानले भदौ १० गते पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ । अस्पताल निर्देशक डा. गैरीशङ्कर साहको संयोजनमा समितिमा मेट्रोन उपेन्द्र यादव, कर्मचारी प्रशासनका उमेश कोइराला, नर्सिङ स्टाफहरूको तर्फबाट सफला बुढाथोकी र रमा बस्नेतसहितको समिति गठन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताउनु भयो । उहाँका अनुसार समितिले आन्दोलनरत नर्सिङ स्टाफहरूको समस्या सामधानको सुझाव सहित मार्गदर्शन दिने गरी एक हप्ताभित्र रिपोर्ट बुझाउने छ । धरान उपमहानगरपालिकामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि एक साताका लागि लकडाउन थप गरिएको छ । भदौ १० गते धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले लकडाउन भदौ १७ गते मध्यराति १२ बजेसम्म थप गर्ने निर्णय गरेको धरान उपमहानगरपालिका-९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले बताउनु भयो ।

प्रदेश २  

सर्लाही प्रतिनिधि बुधन साहका अनुसार ब्रहृमपुरी गाउँपालिकामा कोरोना भाइरस सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या बढ्न थालेपछि गाउँपालिकाले भदौ १० गते सूचना जारी गर्दै अति आवश्यक सेवा बाहेका अन्य सेवाहरू बन्द गर्ने गरी भदौ १७ गतेसम्म अर्थात सात दिनसम्मको लागि पूर्ण रुपमा ब्रहृमपुरी गाउँपालिका सिल गरिएको ब्रहृमपुरी गाउँपालिकाका अध्यक्ष विनोद साहले बताउनु भयो ।

समुदायका व्यक्ति तथा कर्मचारी र जनप्रतिनिधिहरूमा कोरोना सङ्क्रमण देखिएको हुँदा ब्रहृमपुरी गाउँपालिकालाई सात दिनसम्मका लागि सील गर्नु परेको गाउँपालिका अध्यक्ष साहले बताउनु भयो ।

गाउँ क्षेत्रभित्र थप सङ्क्रमण फैलिन नदिन औषधि र ग्याँस बाहेक अन्य सबै प्रकारका पसलहरू दैनिक तथा सप्ताहिक रूपमा लाग्ने हाट बजारहरू, बैङ्क तथा वित्तीय संस्थाहरू, विमा कम्पनीका शाखा तथा उपशाखा कार्यलय, उधोग तथा कलकारखाना, सरकारी तथा गैरसरकारी सङ्घसंस्था र कार्यालयहरूबाट उपलब्ध हुने सेवाहरू पूर्ण रूपमा बन्द गरिएको गाउँपालिका अध्यक्ष साहले जानकारी दिनु भयो ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार गुजरा नपा-६ का वडा अध्यक्षलाई भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको नगर प्रमुख सन्तलाल चौधरीले जानकारी दिनु भयो । उहाँका अनुसार कार्यपालिकाका अधिकांश सदस्यहरूले स्वइच्छाले स्वाव परीक्षण गराउँदा एक जना वडा अध्यक्षमा सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमित वडा अध्यक्षलाई चन्द्रपुर नपा-२ मा रहेको अस्थायी कोरोना अस्पतालमा लगिएको छ । सङ्क्रमित वडा अध्यक्षले आफूलाई कुनैपनि लक्षण नदेखिएको बताउँदै चाँडै नै सङ्क्रमणलाई जितेर जनताको सेवामा फर्कने विश्वास व्यक्त गर्नु भयो ।

यसैबिच रौतहट उद्योग वाणिज्य सङ्घले ०७७ भदौ १० गते एक सूचना जारी गरी कोरोना भाइरस सङ्क्रमण जोखिम झन् बढ्ने भएकोले हाल खाद्यान्न तथा निर्माण सामग्री बाहेकका पसल व्यवसाय नखोली जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको निर्णय कार्यान्वयन गर्न सबै व्यवसायीहरूमा अनुरोध गरीएको उद्योग बाणिन्य सङ्घ जिल्ला शाखा रौतहटका महासचिव सुनिलकुमार साहले बताउनु भयो ।

बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कोरोना सङ्क्रमिति कलैया उमनपा-१ भवानीपुरका ७० वर्षीय पुरुषको भदौ ९ गते राति कोभिड अस्पताल बीरगंजमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेस चौरसीयाले बताउनु भयो । मृतक केही महिनादेखि श्वास प्रश्वास, निमोनिया र उच्च रक्त चापको समस्याले ग्रसित रहेको परिवारका सदस्यले बताउनु भयो ।

यसैबिच कोरोना सङ्क्रमित विश्रामपुर गाउँपलिका-१ छतवाका ४२ वर्षीय पुरुषको भदौ ९ गते कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा भदौ ९ गते राति मृत्यु भएको डा.चौरसीयाले बताउनु भयो । मृतक मृगौलाको समस्याले पीडित रहेको चौरसीयाले बताउनु भयो । शव व्यवस्थापन गर्न परिवार र नेपाली सेनासँग समन्वय गरिरहेको र निषेधाज्ञाको पालना गर्न सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण पङ्गेनीले बताउनु भयो ।

बागमती प्रदेश 

यस प्रदेशमा भदौ ९ गते काठमाडौँमा २ सय ३०, मकवानपुरमा ५९, ललितपुरमा ४७, चितवनमा ४२, भक्तपुरमा २६, काभ्रेपलान्चोकमा २१, रसुवा, दोलखा र धादिङमा दुई/दुई, सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा एक/एक जना गरी ४ सय ३४ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ५ हजार ५ सय ७२ जना पुगेको छ । जसमध्ये ९ सय १९ जना उपचारपछि घर फर्किएका छन् भने ४ हजार ६ सय १६ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । भदौ ९ गते काठमाडौँका ५१ वर्षीय पुरुष र भक्तपुरकी ५३ वर्षीया महिलाको मृत्यु भएसँगै हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या ३७ जना पुगेको छ ।

काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको भदौ १० गते बसेको संयुक्त बैठकले निषेधाज्ञा भदौ १७ गतेम्म लम्ब्याउने निर्णय गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले संयुक्त बैठकको निर्णयका आधारमा आफूले काठमाडौँ जिल्लाभर निषेधाज्ञा जारी गरेको टेलिफोनमा इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो । यसअघि भदौ ३ गतेदेखि लागु गरेको निषेधाज्ञा भदौ १० गते मध्यराति सकिँदै छ । कोरोना सङ्क्रमितको दर दैनिक बढिरहेको भन्दै भदौ ९ गते काठमाडौँका मेयरहरूले प्रमुख जिल्ला अधिकारी दाहाललाई निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए । सङ्क्रामक रोग ऐन-०२० को दफा २ र स्थानीय प्रशासन ऐन-०२८ को दफा ६ (३) अनुसार जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञा जारी गर्ने अधिकार छ ।

थप गरिएको निषेधाज्ञा अवधिमा आइसोलेशन सेन्टर बढाउने, कन्ट्याक्ट ट्रेसिङ र टेष्टको दायरा बढाउने स्थानीय प्रशासनले निर्णय गरेको छ । एक साता लामो निषेधाज्ञापछि उपत्यकामा कोरोना भाइरस सङ्क्रमणको 'चेन ब्रेक' भएको उपत्यकाका तीन ओटै प्रमुख जिल्ला अधिकारीको निष्कर्ष छ । 'एक हप्ताको निषेधाज्ञाको कारण कोरोना सङ्क्रमणको चेन ब्रेक भएको समीक्षा गरेका छौं ।' काठमाडौँका प्रमुख जिल्ला अधिकारी दाहालले भन्नुभयो-'उपत्यकामा मोविलिटी ठप्प भएको छ । चेन ब्रेक भएपछि आधारभूत रूपमा सङ्क्रमणको दर घट्ने विश्वास छ । अब अझै निषेधाज्ञालाई कडा बनाउँछौँ ।'

रसुवा प्रतिनिधि हेमनाथ खतिवाडाका अनुसार जिल्लामा एक जना स्वास्थ्यकर्मी सहित तीन जनामा सङक्रमण देखिएको छ । कालिका गाउँपालिका-५ जिविजिवेस्थित ग्रामीण अस्पतालमा कार्यरत २७ वर्षीया महिला स्वास्थ्यकर्मीमा भदौ ७ गते सङ्क्रमण पुष्टि भएको हो । उनी साउन ४ गते काठमाडौँबाट अस्पताल आएका थिए । भदौ ४ गते ११ जनाको स्वाव सङ्कलन गरिएकोमा अन्य १० जनाको भने रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रिय सरुवा रोग प्रयोगशाला टेकुमा गरिएको परीक्षणको क्रममा संक्रमण देखिएको स्वास्थ्य कार्यालय प्रमुख किरण श्रेष्ठले बताउनुभयो । हालसम्म जिल्लामा १७ जनामा कोरोना पुष्टि भएकोमा १३ जना निको भएर घर फर्किसकेका छन् ।

दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै पुनः पाँच दिन निशेधाज्ञा थप भएको छ । जिल्ला सङ्कट व्यवस्थापन समितिको भदौ १० गते सम्पन्न बैठकले जिल्लाको अवस्था विश्लेषण गरी पुनः पाँच दिन निशेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो ।

चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार भरतपुर अस्पतालको आइसोलेसनबाट भदौ ९ गते भागेका भरतपुर महानगरपालिका-१२ का १९ वर्षीय एक युवकलाई प्रहरीले नुवाकोटबाट भदौ १० गते गिरफ्तार गरेको छ । नुवाकोटको बेलकोटगढी-५ स्थित नेपाल प्रहरीको चेकिङको क्रममा ती युवकलाई १० गते बिहान साढे दश बजे गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर जानकारी दिनुभयो । उनी भरतपुरदेखि साइकल चलाएर त्यहाँसम्म पुगेको चितवन प्रहरीले जनाएको छ । उनलाई नुवाकोटमा नै आइसोलेसनमा राख्ने गरी समन्वय भइरहेको उहाँले बताउनुभयो ।

नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार समुदायमा कोरोना सङ्क्रमण भएको भन्दै जिल्ला प्रशासनले लागू गरेको निषेधाज्ञको अवधि एक साता थप गरिएको छ । यसअघि भदौ २ गते थप गरिएको निषेधाज्ञा भदौ ९ गते राति १२ बजे समाप्त भएको थियो । जिल्ला प्रशासन कार्यालयले केही स्थानको निषेधाज्ञा हटाएको छ भने ६ ओटा स्थानीय तहको २० ओटा वडाको निषेधाज्ञलाई भने एक साता निरन्तरता दिने निर्णय गरेको हो । प्रशासनले लिखु गाउँपालिकाको वडा नं ४, ५ र ६ का सम्पूर्ण क्षेत्र, तादी गाउँपालिकाको वडा नं ३ र ५ का सम्पूर्ण क्षेत्र, बेलकोटगढी नगरपालिकाका वडा नं ५, ७, ८, १२ र १३ का सम्पूर्ण क्षेत्र, शिवपुरी गाउँपालिकाका वडा नं ६, ७ र ८ का सम्पूर्ण क्षेत्र, ककनी गाउँपालिकाका पासाङ ल्हामु राजमार्ग आसपासका वडा नं १, २, ४ र ६ का सम्पूर्ण क्षेत्र र तारकेश्वर गाउँपालिकाको वडा नं २, ४ र ५ का सम्पूर्ण क्षेत्रमा एक साताको लागि निषेधाज्ञा थप गरेको हो । प्रशासन कार्यालयले विदुर नगरपालिका, सूर्यगढी गाउँपालिका, पञ्चकन्या गाउँपालिकाको निषेधाज्ञ भने हटाएको छ । तर, निषेधाज्ञा हटाए पनि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा भने रोक लगाएको छ ।

गण्डकी प्रदेश

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले शुक्लागण्डकी नगरपालिकामा यस अघिदेखि लगाउदै आएको निषेधाज्ञाको अवधि तीन दिन थप गरेको छ । प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शुक्लागण्डकी नगरपालिकाबाट अनुरोध आए अनुसार निषेधाज्ञाको अवधि भदौ १३ गते राति १२ बजेसम्मका लागि थप गरिएको बताउनु भयो । यस अघि भदौ ३ गते देखि गरिएको निषेधाज्ञा भदौ १० गते राति १२ बजे सकिदै थियो । निषेधाज्ञाको सूचनामा अत्यावश्यक बाहेक अन्य सार्वजनिक सेवा, यातायात तथा अन्य सम्पूर्ण व्यवसाय पूर्णरूपमा बन्द हुने जनाइएको छ । निषेधाज्ञाको उल्लङ्घन गरे स्थानीय प्रशासन ऐन २०२८ तथा सङ्क्रामक रोग ऐन २०२० अन्तरगत कारबाही हुने जनाइएको छ । शुक्लागण्डकी नगरपालिका भित्र समुदायमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हुँदा निषेधाज्ञाको अवधि थप गरिएको नगर प्रमुख किसान गुरुङले बताउनुभयो ।

प्रदेश ५

बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार कोरोना भाइरसको कारण भदौ ९ राति नेपालगञ्ज उपमनपा-१ का ३७ वर्षीय एक जना पुरुषको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी फोक्सोको निमोनिया बिरामी थिए । भदौ ८ गतेबाट कोरोना रोगको लक्षण देखा परेकोले नेपालगञ्ज मेडिकल कलेजबाट कोहलपुर शिक्षण अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव व्यवस्थापन भदौ १० गते गरिएको श्रेष्ठले बताउनु भयो । उनको भदौ ९ गते गरिएको पीसीआर रिपोर्ट पोजेटिभ आएको श्रेष्ठले बताउनु भयो । यससँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

अर्घाखाँची प्रतिनिधि नारायण भुसालका अनुसार कोरोना सङ्क्रमण बढ्दै गएपछि भदौ १० गते बसेको डिडिएमसीको बैठकले भदौ १७ गतेसम्म पूर्ण लकडाउन लगाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी विक्रम थापाले बताउनु भयो । उहाँका अनुसार अति आवश्यक बाहेका सम्पूर्ण सेवामा रोक लगाइएको छ ।

सुदूरपश्चिम प्रदेश

डोटी प्रतिनिधि वाशुदेव जोशीका अनुसार बोगटानफुडशिल गाउँपालिका-४ सात्फरीमा समुदाय स्तरमा कोरोना फैलिन सक्ने जोखिम उच्च रहेको भन्दै भदौ १० गतेदेखि वडा नै सील गरिएको वडा अध्यक्ष दिपबहादुर बमले बताउनु भयो । भारतबाट आएका एक युवामा कोराना सङ्क्रमण पुष्टि भएको र सङ्क्रमित व्यक्ति स्थानीय युवाहरूसँग नियमित सम्पर्कमा रहेकोले वडा नै सील गर्नु परेको वडाध्यक्ष बमले बताउनु भयो । कोराना सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका सबै जनाको खोजी गरी पीसीआर परीक्षण गर्ने तयारी भइरहेको र कन्ट्राक्ट ट्रेसिङको रिपोर्ट नआउदासम्म वडा नै सील गरिने बोगटानफुडशिल गाउँपालिकाका अध्यक्ष कमल गडशिलाले बताउनु भयो ।

कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार घोडाघोडी नगरपालिका-१० का स्थानीयहरूमा भदौ ८ गते गरिएको कोरोना भाइरस परीक्षणका क्रममा एकै दिन २२ जनामा सङ्क्रमण पुष्टि भएपछि नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीको अध्यक्षतामा बसेको नगर समितिको बैठकले वडा नम्बर १० सील गर्ने निर्णय गरेको छ । वडामा थप सङ्क्रमण नहोस् भन्नका लागि सील गर्ने निर्णय गरिएको नगरप्रमुख चौधरीले बताउनु भयो । आन्तरिक ट्राभलहिस्ट्री भएका व्यक्तिहरूमा कोरोना देखिन थालेपछि समुदायमा फैलिने खतरा बढदै गएकोले एक टोलबाट अर्को टोलमा आवतजावतमा समेत रोक लगाइएको नगरप्रमुख चौधरीले बताउनु भयो ।


अनलाइन डेस्क