कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ८ गते)

भदौ ८ गते ७ सय ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३२ हजार ६ सय ७८ पुगेको छ । गत २४ घण्टामा १० हजार २ सय ३४ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ ८ गतेसम्म कोरोना सङ्क्रमणका कारण १ सय ५७ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये १८ हजार ८ सय ६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ ८ गते १ सय ७५ जना डिस्चार्ज भएका छन् भने निको दर ५७.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १३ हजार ७ सय १५ जनाको उपचार भइरहेको छ ।

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा भदौ ७ गते राति एक जना कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-८ का ६५ वर्षीय पुरुषको उपचार क्रममा मृत्यु भएको उपचार केन्द्रका प्रमुख डाक्टर दीपक सिग्देलले बताउनु भयो । 'कन्ट्याक्ट ट्रेसिङ' मा परेका उनको स्वाब सङ्कलन गरेर भदौ ४ गते परीक्षणका लागि कोशी अस्पतालको प्रयोगशालामा लगिएको थियो । रिपोर्ट भदौ ७ गते पोजेटिभ आएको थियो । दिउँसो रिपोर्ट पोजेटिभ आएका पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि राति उपचारका लागि कोभिड अस्पताल लगिएको थियो । मोरङमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि इटहरी उपमहानगरपालिकाले वडा-६ र ९ लाई सील गर्ने निर्णय गरेको छ । भदौ ८ गते बसेको बैठकले अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द गर्ने गरी भदौ १४ गतेसम्म दुई वडामा सील गर्ने निर्णय भएको इटहरीका मेयर द्वारिकलाल चौधरीले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले भदौ १४ गतेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।

भोजपुर प्रतिनिधि गणेश विष्टका अनुसार जिल्लामा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले भदौ ८ गतेदेखि जिल्ला प्रवेश गर्ने सबै नाकामा सील गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि भदौ ८ गते बसेको सरोकारवाहरूको बैठकले जिल्ला प्रवेशका सबै नाकामा सील गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद लुईंटेलले बताउनु भयो । भदौ २२ गतेसम्म जिल्ला प्रवेशका नाकामा सील गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सो अवधिमा जिल्लामा सञ्चालित सबैखाले साना तथा ठूला होटल, सवारी साधन आदी सञ्चालनमा पूर्ण रोक लगाइने छ ।

प्रदेश २ 

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार लहान नपा-२४ का एक २२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट भदौ ८ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचारको लागि भदौ २ गते धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । भदौ ७ गते उनको स्वाब सङ्कलन गरी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताउनु भयो । मृतकको शवलाई सुरक्षा मापदण्ड पुरा गरी व्यवस्थापन गर्न सिरहा ल्याउने तयारी भइरहेको र परिवारका सदस्यहरूलाई घरमै बस्न जानकारी गराउन टोली खटाएको उहाँले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टरसहित एकै दिन भदौ ५ गते ३१ जनामा कोरोना सङक्रमण भएकामध्ये सात जनालाई बेड अभावका कारण भदौ ८ गतेसम्म पनि आइसोलेशन अस्पतालमा व्यवस्थापन गर्न नसकिएको लहान नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामसुन्दर यादवले बताउनु भयो । बेड अभावमा सात जना सङ्क्रमितहरूलाई इलाका प्रहरी कार्यालय लहानमै राखिएको प्रमुख यादवले बताउनु भयो ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार कोरोना भाइरसको सङ्क्रमणले जनकपुरधाम उपमहानगरपालिका-२२ देवपुरा रुपैठा बस्ने ५८ वर्षीय एक पुरुषको भदौ ७ गते मृत्यु भएको छ । मृत्यु भएका कोरोना सङ्क्रमितलाई स्थानिय जनकपुरधाम उपमहानगरपालिकाको समन्वयमा नेपाली सेनाको टोलीले शवको व्यवस्थापन गरेको छ । धनुषामा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक विजय झाले बताउनु भयो ।

बागमती प्रदेश

यस प्रदेशमा भदौ ८ गते काठमाडौँमा १ सय ७७, ललितपुरमा ३३, चितवनमा ३२, भक्तपुरमा १४, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकमा पाँच/पाँच जना, रामेछाप, धादिङ र मकवानपुरमा दुई/दुई, र दोलखामा एक जना गरी २ सय ४३ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या ४ हजार ८ सय १५ जना पुगेको छ । जसमध्ये ७ सय ७५ जना उपचारपछि घर फर्किएका छन् भने ४ हजार ८ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण हुनेको सङ्ख्या ३२ पुगेको छ ।

ललितपुर प्रतिनिधि दीपक घिमिरेका अनुसार कोभिड-१९ सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि छिमेकी तथा टोलबासीहरूबाट भएको धम्की तथा अमानवीय व्यवहारका घटनाहरूप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौँ, चितवनलगायत देशका विभिन्न जिल्लाहरूमा कोभिड-१९ सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि धम्की तथा अमानवीय व्यवहार भएको पाइएको आयोगले भदौ ८ गते एक विज्ञप्ति प्रकाशन गरी जनाएको छ । आयोगले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि अग्रपङ्क्तिमा रहेका नागरिकको जीवन रक्षाका लागि कार्य गर्ने स्वास्थ्यकर्मीहरूमाथि सम्मानजनक व्यवहार गर्न समेत आग्रह गरेको छ । साथै आयोगले कानुनको दायराभन्दा माथि गई गरिने यस प्रकारका घटनाहरूको छानबिन गरी दोषीउपर कानुनी कारबाही गर्न समेत स्थानीय प्रशासनलाई आग्रह गरेको छ ।

काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार उपत्यका नगरपालिका मेयर फोरमको भदौ ८ गते बसेको बैठकले उपत्यकाका तीन ओटै जिल्लामा जारी निषेधाज्ञा भदौ १५ गतेसम्म लम्ब्याउन सुझाव दिएको छ ।

गण्डकी प्रदेश

बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्लामा एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङमा भदौ ८ गते बसेको सरोकारवालाहरूको बैठकले भदौ १५ गते रातिसम्म लागु हुने गरी जिल्ला सदरमुकाममा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यसअघि भदौ ३ गते एक साताका लागि ९ गते रातिसम्म निषेधाज्ञा जारी गरेको थियो । समुदायस्तरमा कोरोना फैलिन थालेपछि रोकथाम तथा नियन्त्रणको लागि निषेधाज्ञा जारी गरे पनि बैङ्क तथा वित्तिय संस्था सञ्चालनमा आउदा थप जोखिम बढेको गुनासो आएपछि यसपटक बैङ्क तथा वित्तीय संस्था समेत बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनु भयो । बागलुङ बजारसँगै बागलुङ नगरपालिकामा अति आवश्यक खाद्यान्न, तरकारी, दुध लगाएतका पसलहरू पनि दिनको एक पटक बिहान ७ बजेदेखि ९ बजेसम्म खुलाउने निर्णय गरिएको छ ।

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार व्यास नगरपालिकामा पाँच दिन लकडाउन थपिएको छ । भदौ १ गतेदेखि ७ गते दिउँसो १२ बजेसम्म निषेधाज्ञा जारी गरिएकोमा नगरपालिकाले थप पाँच दिन लकडाउन थप्ने निर्णय गरेको हो । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले भदौ १२ गते राति १२ बजेसम्म लकडाउन थप्ने निर्णय गरेको हो । कोभिड-१९ को जोखिम कायमै रहेकाले पाँच दिनका लागि लकडाउन लम्ब्याइएको नगर कार्यपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताउनु भयो । लकडाउन अवधिभर औषधिजन्य व्यापार तथा नीजि स्वास्थ्य संस्थाहरू, दूध उपलब्ध गराउने बाहेकका अन्य सम्पूर्ण व्यापार व्यवसाय, उद्योग, कलकारखाना र सार्वजनिक यातायातका सवारी साधन बन्द रहने छन् । प्रवक्ता श्रेष्ठका अनुसार नगर क्षेत्रभित्रका बैङ्कहरूको एटिएम सेवा र आन्तरिक कार्य बाहेक अन्य सबै सेवा बन्द हुनेछन् ।

म्याग्दी प्रतिनिधि अमृत बास्कुनेका अनुसार कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) म्याग्दीले कोरोना भाइरसको सङक्रमणको जोखिम नियन्त्रण गर्नका लागि थप कडाइ गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीका सूचना अधिकारी एवम् सहायक प्रमुख जिल्ला अधिकारी महेश सुवेदीका अनुसार कोरोना भाइरसको जोखिमलाई कम गर्नका लागि जिल्ला प्रवेश गर्ने बेनीको कालिपुल बाहेकका सबै नाका सील गर्ने पुरानै निर्णय यथावत रहेको बताउनु भयो । त्यसैगरी कोरोना सङ्क्रमण भएको जिल्लाबाट म्याग्दी प्रवेश गर्नका लागि सम्भव भएसम्म पछिल्लो एक हप्ताको पीसीआर रिपोर्ट साथमा राख्नुपर्ने छ । कोरोना रोकथामका लागि अन्य सदरमुकाम साथै अन्यत्रको भीडभाड कम गर्नका लागि सामाजिक सङ्घसंस्थालाई परिचालन गरिने भएको छ । त्यस्तै आइसोलेशन तथा क्वारेन्टाइन थप गर्नुपर्ने अवस्था आएको खण्डमा उद्योग वाणिज्य सङ्घ म्याग्दीले बन्दोबस्तीको सामग्री व्यवस्थापन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीका सूचना अधिकारी सुवेदीले बताउनु भयो । साथै क्वारेण्टाइन र आइसोलेशन व्यवस्थापन गर्नुपर्ने भएमा सोका लागि जिल्ला समन्वय समितिले व्यवस्था गर्ने समेत निर्णय भएको छ । त्यस्तै कोरोना भाइरस सुरु भएदेखि भएको खर्चको सम्पूर्ण विवरण सबैले सार्वजनिक गर्ने, आइसोलेशनमा स्वास्थ्यकर्मी बेनी अस्पतालले व्यवस्था गर्ने, आइसोलेशन तथा क्वारेन्टाइन सरसफाइका लागि स्थानीय तहहरूले कर्मचारी व्यवस्था गर्ने, बेनीमा रहेको क्वारेन्टाइनमा हुने आर्थिक व्यवस्थापनका लागि स्थानीय तहले कर्मचारी खटाउने निर्णय सीसीएमसीले गरेको छ ।

प्रदेश ५

नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष, स्वस्थ्य चौकीका एक जना नर्स, पृथ्वीचन्द्र जिल्ला अस्पताल परासीका तीन जना डाक्टर र एक जना नर्ससहित ३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डाक्टर मोहम्मद नुरुल होदाले अस्पतालका आकस्मिक सेवा बाहेक अन्य सबै सेवा बन्द गरिएको बताउनु भयो ।

रूपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार रोहिनी गाउँपालिका-३ का ५३ वर्षीय पुरुषको कोरोनाका कारण भदौ ६ गते उपचारका लागि भारत लैजादै गर्दा भारतको नौतुनहवा नजिकै छपवा भन्ने ठाउँमा मृत्यु भएको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । उच्च रक्तचाप र मधुमेहको समस्याबाट पीडित रहेका मिश्रलाई एक्कासी स्वास प्रश्वासमा समस्या देखिएपछि आफन्तले उपचारका लागि बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा लगेका थिए । अस्पतालले कारोनाको आशङ्का गरेर लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाएपछि भर्नाका लागि बेड खाली नभएपछि अस्पतालले काठमाडौँ रेफर गरेको थियो । बिरामीका आफन्तले काठमाडौँ लैजान भन्दा भारत लैजाने भन्दै आरडिटी चेक गर्दा रिपोर्ट नेगेटिभ आएपछि पीसीआर जाँचका लागि स्वाब दिएर भदौ ६ गते उपचारका लागि भारत लगिएको थियो । भदौ ६ गते मृत्यु भएका मिश्रलाई परिवारका सदस्यहरूले पुनः रोहिणीस्थित घरमा फर्काएर एक रात राखी भदौ ७ गते अन्तिम संस्कारका रोहिणी खोलास्थित बैकुण्ठपुर घाटमा लगिएको थियो । मृतकलाई अन्तिम संस्कारका लागि चितामा राख्दै गर्दा मृतकको पीसीआर रिपोर्ट पोजेटिभ आएको सूचना स्वास्थ्य कार्यालयले दियो । मृतकको दाहसंस्कारका लागि करिब ४ सय जना सहभागी भएको र कोरोना सङ्क्रमणको रिपोर्ट पोजेटिभ आएको खबर पाएपछि मलामीहरू भागाभाग भएको मलामी गएका स्थानीय नरेश कुर्मीले बताउनु भयो । यस विषयमा रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादवले २ सय जना घरपरिवारका मान्छे मात्रै मलामी गएको दावी गर्दै कोरोना सङ्क्रमित भन्ने थाहा पाए लगत्तै प्रशासन र गाउँपालिकाको स्वास्थ्य शाखामा जानकारी गराएर सङ्क्रमितको शव व्यवस्थापनको मापदण्ड अनुसार गर्ने भनेका थियौं । तर कसैले पनि सुनेनन् । सबैजना घरपरिवार सहभागी भएरै अन्तिम संस्कार गरेको उहाँले बताउनु भयो ।

बाँके प्रतिनिधि स्मृति देवकोटाका अनुसार जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एकजना थुनुवा भदौ ८ गते खजुरास्थित कृषि तालिम केन्द्रको आइसोलेशनबाट फरार भएका छन् । लागू औषध मुद्दामा गिरफ्तार परेका २४ वर्षीय पुरुषमा भदौ ५ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास खड्काले बताउनु भयो । उहाँले उपचारको क्रममा रहेका फरार थुनुवाको खोजी कार्य भइरहेको बताउनु भयो । उहाँले थुनुवाको सुरक्षामा रहेका जिल्ला प्रहरी कार्यालयका पाँच जना सुरक्षाकर्मीहरू माथि पनि अनुसन्धान भइरहेको बताउनु भयो ।

कर्णाली प्रदेश

रुकुम प्रतिनिधि मनिषा केसीका अनुसार मुसीकोट नगरपालिका, सानीभेरी गाउँपालिका र आठवीसकोट नगरपालिकामा कोराना भाइरसको सङ्क्रमण देखिएपछि आठवीसकोट नगरपालिकाका-९, ११ र १२ नम्बर वडालाई ०७७ भदौ ७ गते बिहान ४ बजेदेखि भदौ १३ गतेसम्म तथा मुसीकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा ०७७ भदौ ८ गते बिहान ४ बजेदेखि भदौ १४ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । मुसीकोट नगरपालिकामा १७ जना, सानिभेरी गाउँपालिकामा तीन जना र आठवीसकोट नगरपालिका ९, ११ र १२ नम्बर वडाका ६ जना गरी २६ जना व्यक्तिहरूलाई कोरोना भाइरसको सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले सिल गर्ने निर्णय गरेको हो । एक साताका लागि अत्यावश्यक सेवा र साधनबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बताउनु भयो ।


अनलाइन डेस्क