कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (भदौ ५ गते)

भदौ ५ गते ८ सय ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौ ५ गतेसम्म सङ्क्रमितको सङ्ख्या ३० हजार ४ सय ८३ पुगेको हो । गत २४ घण्टामा १३ हजार ६ सय ७९ जनाको स्वाब परीक्षण गरिएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदन अनुसार भदौ ५ गतेसम्म कोरोना सङ्क्रमणका कारण १ सय ३७ जनाको मृत्यु भएको छ । भदौ ५ गते मात्रै कोरोना सङ्क्रमणका कारण ११ जनाको मृत्यु भएको छ । सङ्क्रमितमध्ये १८ हजार २ सय १४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । भदौ ५ गते २ सय ५० जना डिस्चार्ज भएका छन् भने निको दर ५९.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । १२ हजार १ सय ३२ जनाको उपचार भइरहेको छ ।

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार विराटनगर महानगरपालिकामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला सुरक्षा समितिको भदौ ५ गतेको बैठकले पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताउनु भयो । विराटनगर महानगरपालिकाले लगाएको २१ दिनको लकडाउन भदौ ५ गते मध्यरातिबाट सकिएको छ ।

उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार कोरोना भाइरसको सङ्क्रमण बढेपछि साउन २९ गतेदेखि त्रियुगा नगरपालिका, बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकामा घोषणा गरिएको निषेधाज्ञाको अवधि थप पाँच दिन बढाइने भएको छ । भदौ ५ गते बसेको बैठकले भदौ १२ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले बताउनु भयो ।

सङ्खुवासभा प्रतिनिधि भविन कार्कीका अनुसार हिमालयकीरण क्याम्पसमा निर्माण गरिएको आइसोलेशन सेन्टर तोडफोड गर्ने जो कोहीलाई पनि कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले भदौ ५ गते सूचना जारी जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका तीन जना व्यक्तिलाई क्याम्पसको आइसोलेशनमा राख्दा समुदायमा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने भन्दै खाँदबारी नगरपालिका-७ का स्थानीयले विरोध गरेका थिए । भदौ ४ गते क्याम्पसमा आइसोलेशन सेन्टर राख्न नहुने भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका थिए । तर कोभिड-१९ सङ्कट व्यवस्थापन समितिले क्याम्पसमै आइसोलेशन निर्माण गरी भदौ ४ गतेदेखि कोरोना भाइरस सङ्क्रमितलाई राख्ने निर्णय गरेको थियो । सोही राति आइसोलेशन सेन्टरमा पहिचान नखुलेका पक्षले तोडफोड गरेको थियो । तोडफोडको घटनामा संलग्न जो कोहीलाई कारबाही गर्न आदेश भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्ले बताउनु भयो । हाल तीन जना सङ्क्रमितलाई सोही आइसोलेशन सेन्टरमा राखिएको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार बुद्धशान्ति गाउँपालिकाले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि भदौ ५ गतेदेखि भदौ ९ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । त्यसैगरी जोखिम न्यूनीकरणका लागि मेचीनगर नगरपालिका, कमल गाउँपालिका, बुद्धशान्ति गाँउपालिका र गौरीगञ्ज गाउँपालिकाका १५ ओटा वडामा भदौ ९ गते राति १२ बजेसम्म झापा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

प्रदेश २ 

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार भदौ ५ गते मृत्यु भएका डाकनेश्वरी नपा-८ की ३३ वर्षीया महिला र सुरुङ्गा नपा-२ का ३७ वर्षीय पुरुषको कोरोनाको शङ्कामा भदौ ५ गते मृतकको घर गई स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । रूपनी गाउँपालिका-४ का ४० वर्षीय पुरुष र सुरुङ्गा नगरपालिका घर भई राजविराज नपा-६ स्थित घरमा बस्ने ३५ वर्षीया महिलाको स्वास्थ्य अवस्था बिग्रिएपछि उपचारका लागि भदौ ५ गते धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताउनु भयो । यादवका अनुसार राजविराजमा भेण्टिलेटरको अभावमा उहाँहरूलाई धरान लगेर भेण्टिलेटरमा उपचार्रार्थ भर्ना गरिएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सङ्घीय सरकारले ६ महिनाअघि चार ओटा भेण्टिलेटर उपलब्ध गराए पनि भौतिक पूर्वाधार र जनशक्तिको अभावमा जडान र सञ्चालन गर्न नसकिएको अस्पतालका निमित्त प्रमुख डाक्टर रणजितकुमार झाले बताउनु भयो ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार मिर्चैया नपा-४ का ६८ वर्षीय पुरुषको मृत्युपछि भदौ ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । सेवा निवृत्त शिक्षक रहेका उहाँलाई ज्वरो आउने समस्या देखिएपछि भदौ २ गते स्वाब सङ्कलन गरी परीक्षणको लागि राजविराज प्रयोगशालामा पठाइएको थियो । भदौ ३ गते उहाँको मृत्यु भएपछि घर परिवारलगायत गाउँलेहरूले शवको दाहसंस्कार गरेको मिर्चैया नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुरेशकुमार सिहंले बताउनु भयो । मृतकको परीक्षणमा कोरोना पोजेटिभ आएपछि परिवारका सदस्यहरूलाई होम आइशोलेसन बस्न निर्देशन दिएको र अन्य कसैसँग पनि भेटघाट नगर्न भनिएको सिहंले बताउनु भयो ।

इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टरसहित सिरहामा भदौ ५ गते इलाका प्रहरी कार्यालय लहानका २२ जना प्रहरी, नौ जना थुनुवा, क्वारेन्टिनका एक, गोलबजार नगरपालिकाका दुई, धनगढीमाई नगरपालिकाका चार र मिर्चैया नगरपालिकाका पाँच गरी ४३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । महेन्द्र गेनाइ आइसोलेशन अस्पतालले बेड नभएकाले बिरामी नपठाउनु भनी जानकारी गराएकोले थपिएको सङ्क्रमितहरूलाई व्यवस्थापन गर्न समस्या भएको लहान नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामसुन्दर यादवले बताउनु भयो ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार नगराइन नपा-५ गङ्गुलीस्थित प्रदेश २ सरकारले निर्माण गरेको आइसोलेशन सरसफाई अभावमा निकै दुर्गन्धित भएको सङ्क्रमितहरूले गुनासो गरेका छन् । प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयले निर्माण गरेको २ सय ५० बेडको आइसोलेशनमा महिनौदेखि सरसफाई नहुँदा सङ्क्रमित बस्ने भवन निकै दुर्गन्धित र फोहोर देखिएको कोरोना भाइरसका सङ्क्रमित भई विगत चार दिनदेखि गङ्गुलीको आइसोलेशनमा बस्दै आएका जनकपुरका एक सञ्चारकर्मीले गुनासो गरेका छन् ।

विगत आठ दिनदेखि आइसोलेशनमा बस्दै आउनु भएका हंसपुर नगरपालिकाका एक वडा अध्यक्षले आइसोलेशनमा निकै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको गुनासो गरेका छन् । आइसोलेशनको नाममा कोठामा बेड नभएको, सरसफाई नभएको, धारामा खानेपानी नभएको, तातोपानी गर्ने व्यवस्था नभएको र दैनिक बन्दागोभीको तरकारी र उरिदको दाल खुवाउँदै आएकाले निकै पीडा भइरहेको इन्सेक धनुषा प्रतिनिधिलाई टेलिफोनमा गुनासो गरेका हुन् ।

उनले पोलोथिनको झोलामा राखेर खाना खुवाउँदै अमानवीय व्यवहार गर्दै आएको बताए । वडा अध्यक्षले आफूहरूलाई पौष्टिक आहार र फलफूल खान नदिएको भन्दै हंसपुर नगरपालिकाका प्रमुखलाई गुनासो गरेपछि भदौ ४ गते प्रमुखले पठाएको केरा, स्याउ, अनार र च्यवनप्रासलगायतका सामान गेट भित्र लान नदिएको गुनासो गरे ।

सङ्क्रमित भइ आइसोलेशनमा विगत सात दिनदेखि बस्दै आएका एक प्रहरी जवानले आफुहरूलाई यस आइसोलेशनमा पानी खाने सुविधा समेत नभएको गुनासो गरेका छन् । आइसोलेशनमा ११ दिनदेखि बस्दै आएका ७० वर्षीय एक ज्येष्ठ नागरिकले आफूहरूलाई अहिलेसम्म ज्वरो समेत नजाँचेको आरोप लगाएका छन् । आइसोलेशनमा बसिरहँदा श्वास प्रश्वासमा समस्या हुँदै आएको भएपनि चिकित्सकहरू कहिल्यै नआउने गरेको उनको गुनासो छ ।

आइसोलेशनमा बस्नेहरूले आफुहरूलाई पौष्टिक आहार, सन्तुलित खाना र सरसफाई लगायतको आवश्यकता अनुसारको औषधीको सुविधाको लागि पहल गरि दिन मानवअधिकारकर्मी, पत्रकार तथा सम्बन्धित सरोकारवालाहरूलाई आग्रह गरेको आइसोलेशनमा बस्दै आएका सञ्चारकर्मीले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो ।

सर्लाही प्रतिनिधि बुधन साहका अनुसार ललितपुर जिल्लास्थित पाटन अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित मलङ्गवा नपा-९ बस्ने ४६ वर्षीय पुरुषको भदौ ५ गते मृत्यु भएको जनस्वास्थ्य कार्यालय सर्लाहीका जनस्वास्थ्य निरीक्षक सुशील झाले बताउनु भयो । ती पुरुषमा श्वास प्रश्वासमा समस्या तथा ज्वरो आए पछि उपचारको लागि पाटन अस्पतालमा साउन ३० गते भर्ना गरिएको थियो । उहाँको स्वाब परीक्षण गर्दा भदौ २ गते नै पोजेटिभ रिपोर्ट आएको सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो ।

बागमती प्रदेश  

काठमाडौँमा १ सय ४३, मकवानपुरमा ३२, ललितपुरमा २५, चितवनमा २३, भक्तपुरमा १५, सिन्धुलीमा आठ, नुवाकोटमा दुई, दोलखा, धादिङ र रसुवामा एकएक जना गरी यस प्रदेशमा भदौ ५ गते २ सय ५० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या ४ हजार ३४ जना पुगेको छ । जसमध्ये ७ सय ३४ जना उपचारपछि घर फकिएका छन् भने ३ हजार २ सय ७१ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । आज काठमाडौँकी ७६, चितवनकी ७३, दोलखाकी ३० वर्षीया महिला र ललितपुरका ८६ वर्षीय पुरुष गरी चार जनाको उपचारको क्रममा मृत्यु भए सँगै यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या २९ जना पुगेको छ ।

धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार गङ्गाजमुना गाउँपालिकाले भदौ १० गतेसम्मको लागि सबै सेवा बन्द गरेको छ । गाउँपालिकाका अध्यक्ष बलबहादुर अधिकारीको अध्यक्षतामा भदौ ५ गते सम्पन्न भएको बैठकले कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि सील गर्ने निर्णय गरेको हो । गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठकले गाउँपालिका भित्रका अत्यावश्यक पसल र सेवा बाहेक अन्य सबै पसल तथा सेवा हरू बन्द गर्ने निर्णय भएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । यस अघि भदौ ६ गतेसम्म बन्द गर्ने गरिएको निर्णयलाई कोरोना भाइरस महामारी रोक्न समय थप गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोद रोक्काले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार जिल्ला प्रशासन कार्यालय तनहुँले कोभिड-१९ को महामारीका बीचमा पनि सेवामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई उचित व्यवहार नभए कारवाही गर्ने चेतावनी दिएको छ । प्रशासनले भदौ ५ गते सूचना प्रकाशित गरी आइसोलेशन र क्वारेन्टिनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सवारी चालकलाई स्वास्थ्य र सुरक्षाका मापदण्डको पूर्ण पालना गरी आफ्नो घर, डेरा र समुदायमा फर्कँदा कँहीकतै उचित व्यवहार नभएको गुनासो आएकाले त्यस्तो नगर्न सबैलाई सचेत गराएको छ ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र चालकलाई उचित व्यवहार नगरेको पाइए सङ्क्रामका रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र अन्य प्रचलित कानून बमोजिम कारवाही गरिने सहायक प्रजिअ बरालले बताउनु भयो ।

सङ्क्रामका रोग ऐन, २०२० को दफा ३ (१) मा 'यो ऐन वा यस ऐन अन्तर्गत दिइएको आदेशलाई अपहेलना गर्ने व्यक्ति उपर १ महीनासम्म कैद वा रु. १००।- सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।'-भनिएको छ । उपदफा (२) मा 'यो ऐन अन्तर्गत अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्‍याउनेलाई ६ महीनासम्म कैद वा रु. ६००।- सम्म जरिबाना वा दुवै सजाय हुनेछ ।'-भनिएको छ ।

यसैगरी जिल्ला प्रशासन कार्यालय तनहुँले म्याग्दे गाउँपालिकामा भदौ ५ गते राति १२ बजेदेखि भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको छ । कोभिड-१९ को सङ्क्रमण समुदायमा फैलन सक्ने परिस्थिति सिर्जना भएकाले जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको भदौ ५ गते बसेको बैठकले म्याग्दे गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञा अवज्ञा गरे सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने प्रशासन कार्यालयले जनाएको छ ।

यसअघि प्रशासनले व्यास नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका वडा नं २ देखि ९ र देवघाट गाउँपालिका वडा नं ५ मा निषेधाज्ञा जारी गरेको छ । बन्दिपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाले भने एक हप्ता अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरेको छ ।

प्रदेश ५

रूपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार कोरोना भाइरसका कारण प्यूठान जिल्ला स्वर्गद्वारी नरपालिका-७ सोत्रेका ६५ वर्षीय पुरुषको भदौ ५ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको धागो काराखानस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई ज्वरो आउने, रुघाखोकी लाग्ने र स्वास/प्रस्वासमा समस्या देखिएपछि भदौ १ गतेदेखि कोरोना विशेष अस्पतालको भेण्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारका क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा. विष्णु गौतमले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । उहाँ केही समय अघि भारतबाट आएर क्वारेन्टाइनमा बस्नुभएको थियो । थ्रुट स्वाबको परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएपछि प्यूठानमै उपचार भइरहेको थियो । उहाँको फोक्सोमा सङ्क्रमण देखिएको, सुगर, उच्च रक्तचापको बिरामी समेत रहेको र निमोनिया पनि देखिएकोले अवस्था गम्भीर भएर उपचारकै क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकलपर्सन डाक्टर सुदर्शन थापाले बताउनु भयो । शवलाई लुम्बिनी प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । यससँगै प्रदेश ५ मा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।

पाल्पा प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाका अनुसार कोरोना सङ्क्रमण फैलिन नदिन जिल्लामा भदौ ५ गतेदेखि १२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । भदौ ४ गते जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेश

डोटी प्रतिनिधि बाशुदेव जोशीका अनुसार शिखर नगरपालिकामा कोराना भाइरसको सङ्क्रमण बढेसँगै नगरपालिकाका सम्पूर्ण वडाहरूमा भदौ ५ गतेदेखि १२ गते सम्मका लागि पूर्ण रूपमा लकडाउन गरिएको नगरपालिकका प्रमुख सिताराम जोशीले बताउनु भयो । नगरपालिकामा जिल्लाकै सबैभन्दा बढी जोखिम बढेको हुँदा तिज र गौरा पर्वमा बढी भिडभाड हुने भएकोले सम्भावित जोखिम कम गर्नका लागि लकडाउन गरिएको नगरप्रमुख जोशीले बताउनु भयो । जिल्लामा कोराना भाइरसको उच्च सङ्क्रमण बढ्दै गएको हुँदा सामूहिक रूपमा भिडभाड गरेर चार्डपर्व मनाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताउनु भयो ।


अनलाइन डेस्क