कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ७ गते)
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख ७ गते दिउँसोसम्म २९ हजार ५ सय ६७ जनाको स्वास्थ्य परीक्षण गरिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा पीसीआर विधिबाट ८ हजार ८१ र आरडीटी विधिबाट २१ हजार ४ सय ८६ जनाको परीक्षण गरिएको जानकारी दिनुभयो । उहाँले देशभर परीक्षणको दायरा बढाउँदै लगिएको समेत बताउनुभयो । मन्त्रालयका अनुसार हाल देशभर ५ हजार १ सय ८० जना क्वारेन्टाइन र १ सय ३ जना आइसोलेशनमा रहेका छन् । सो पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव रघुराम विष्टले शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत डा. शेरबहादुर पुनलाई लिखित स्पष्टीकरण सोधिएको भन्दै समाचार प्रकाशन प्रसारण भएकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताउनुभयो । डा. पुनले पनि माहामारीका बेला यस्ता गलत समाचार फैलँदा त्यसले जनमानसमा गलत सन्देश जाने भन्दै त्यस्तो कार्य नगर्न सञ्चारमाध्यमलाई आग्रह गदै विज्ञप्ति जारी गर्नु भएको छ । वैशाख ७ गतेसम्म नेपालमा ३१ जनामा कोरोना सङ्क्रमण देखिएकामा चार जनालाई निको भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय मुस्लिम आयोगले नेपालमा रहेका विदेशी 'जमाती'हरूको सम्पूर्ण विवरण दुई दिनभित्र बुझाउन नेपालस्थित जमाती प्रमुखलाई निर्देशन दिएको छ । उदयपुरको मस्जिदमा रहेका १२ जना र पर्सामा तीन जना जमातीमा कोरोना सङ्क्रमण पुष्टी भएपछि आयोगले जमातीहरूको विवरण मागेको हो । मुस्लिम आयोगमा वैशाख ७ गते बसेको बैठकले कुनै पनि मस्जिद र मदरसाहरूमा जमातीलाई नलुकाइएको स्पष्ट पारेको आयोगका अध्यक्ष समिममिया अन्सारीले बताउनु भयो ।
प्रदेश १
प्रदेश १ मा वैशाख ७ गतेसम्म पीसीआर र आरडीटी विधिबाट २ हजार ६ सय ६८ जनाको परीक्षण गरिएको छ । दुवै विधिबाट २ हजार ६ सय ६८ जनाको परीक्षण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा वैशाख ७ गतेसम्म ३ सय १५ जना पुरुष र ७२ जना महिलासहित शङ्कास्पद ३ सय ८७ जनाको नमूना सङ्कलन गरिएको छ । नमूना सङ्कलन गरिएकामध्ये १३ जना पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरूको कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार भईरहेको छ । २ सय ९८ जना पुरुष र ६३ जना महिलासहित ३ सय ६१ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । आरडीटी विधिबाट १ हजार ९ सय ७५ पुरुष र ३ सय ६ जना महिलासहित २ हजार २ सय ८१ जनाको परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये एक जना महिला र तीन जना पुरुष गरी चार जनाको एण्टीवडी पोजेटिभ आएको छ । ३ सय ५ जना महिला र १ हजार ९ सय ७२ जना पुरुष गरी २ हजार २ सय ७७ जनाको रिपोर्ट नेगेटिभ आएको छ । प्रदेश १ मा वैशाख ७ गतेसम्म ४ हजार ४ सय ५९ जना क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । प्रदेश १ मा वैशाख ७ गते नौ ओटा बेड थपिएका छन् । वैशाख ७ गतेसम्म ७८ जना महिला र ५ सय ९८ जना पुरुष गरी ६ सय ७६ जना क्वारेन्टाइनमा बसेका छन् । एक जना महिला र दुई जना पुरुष गरी तीन जना वैशाख ७ गते डिस्चार्ज भएका छन् । प्रदेश १ मा होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ४ हजार २ सय २३ पुगेको छ । होम क्वारेन्टाइनमा ७ सय ४ जना महिला र ३ हजार ५ सय १९ जना पुरुष बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा ४ सय ४९ ओटा आइसोलेशन बेड तयार गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा वैशाख ७ गतेसम्म ७ सय ४ थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीइ) वितरण गरिएको छ ।
उदयपुरको एक मस्जिदमा बस्दै आएका १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रदेश १ का विभिन्न जिल्लामा सतर्कता बढाइएको छ । सङ्क्रमित बसेका स्थान आसपासका बासिन्दाको स्वास्थ्य जाँच गर्न थालिएको छ । शङ्कास्पद व्यक्तिहरूलाई क्वारन्टाइनमा राखिएको छ । सङ्क्रमित १३ जनालाई विराटनगरस्थित कोभिड- १९ उपचार केन्द्रको आइसोलेशनमा राखिएको छ । चिकित्सकको रेखदेखमा उनीहरूको उपचार भइरहेको प्रदेश १ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिनु भयो । प्रदेश प्रहरीले मातहतका कार्यालयलाई त्यस्ता स्थानमा निगरानी गर्न निर्देशन दिएको छ । बसिरहेको स्थानभन्दा अन्यत्र आउजाउ गर्न नदिने, स्वास्थ्य जाँच गराएर सुरक्षित भइ बस्न भन्ने अनि आवश्यक परे सरकारले बनाएका क्वारेन्टाइनमा लगेर राख्ने गरिएको छ । उदयपुरलगायत केही स्थानमा स्वास्थ्यकर्मीको टोली परिचालन गरी स्थानीयको स्वास्थ्य जाँचको काम भइरहेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनु भयो । प्रदेश १ का विभिन्न स्थानमा रहेका मस्जिदहरूमा स्थानीय प्रहरी र प्रशासनले केही दिन अघिदेखि नै निगरानी गर्दै आएको थियो । मस्जिदमा बस्दै आएका विदेशी नागरिकहरूको स्वाब नमूना परीक्षण गर्ने काम पनि भइरहेको छ ।
कोरोना सङ्क्रमित क्षेत्र उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा नेपाली सेनाको छाउनी अस्पतालका मेजर डा. प्राची रायमाझीको नेतृत्वमा आएको चार जनाको टोलीले वैशाख ७ गते स्वाब सङ्कलन सुरु गरेको छ । उनीहरू काठमाडौँबाट नेपाली सेनाको हेलिकोप्टरमा आएका आएका थिए । त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीको पहल र समन्वयमा २ सय जनाको स्वाब सङ्कलन गरी काठमाडौँ लगिने भएको छ । भुल्केको एउटा मस्जिदमा बस्दै आएका १३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि गाउँ सिलबन्दी गरेर परीक्षण कार्यलाई सरकारले तीब्र बनाएको हो ।
प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
प्रदेश २
प्रदेश २ मा वैशाख ७ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद ५ सय ७९ जनाको स्वाब परीक्षण गरिएकोमा ५ सय ४० जनाको रिपोर्ट आएको छ । जसमध्ये ५ सय ३६ जनाको रिपोर्ट नेगेटिभ र चार जनाको रिपोर्ट पोजेटिभ आएको छ । ३९ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
त्यसैगरी, आरडीटी किटबाट परीक्षणका लागि वैशाख ७ गतेसम्म २ हजार ४ सय जनाको स्याम्पल सङ्कलन गरिएकोमा २ हजार ३ सय ९३ जनाको रिपोर्ट नेगेटिभ र ६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सप्तरी जिल्लामा गरिएको परीक्षणमा तीन र सर्लाही जिल्लामा गरिएको परीक्षण एक जना, धनुषामा गरिएको परीक्षणमा दुई जना गरी ६ जनाको पोजेटिभ रिपोर्ट देखिएको छ । ६ जना मध्ये पाँच जनाको पीसीआर प्रविधिबाट गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ भने सप्तरीमा आरडिटी परीक्षणबाट पोजेटिभ रिपोर्ट देखिएको एक जनाको पिसिआर रिपोर्ट आउँन बाँकी रहेको प्रदेश २ सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश २ मा वैशाख ७ गतेसम्म १ हजार २ सय ३८ जना क्वारेन्टाइनमा रहेका छन् भने २ हजार ६५ जना होम क्वारेन्टाइनमा रहेका छन् । प्रदेशको आठ ओटै जिल्लामा २ सय २० बेड क्षमताको आइसोलेशन वार्ड छ । आइसोलेशन वार्डमा कोरोना आशङ्का गरिएका २१ जना बिरामी उपचारार्थ छन् ।
प्रदेश २ सरकारले दोस्रो चरणको राहत प्याकेजको घोषणा वैशाख ७ गते गरेको छ । मन्त्रिपरिषद्को बैठकबाट स्थानीय तहहरूले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरूको लिष्टको आधारमा प्रदेश सरकारले जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय मार्फत राहत सामग्री खरिद गरी प्याकेट तयार गरेर लिष्ट सहित वडालाई जिम्मा लगाउने र वडाले प्याकेट प्राप्त गरेको २४ घण्टाभित्र सम्बन्धित परिवारको जिम्मा लगाउने निर्णय गरेको छ । स्थानीय तहले बुझाएको लिष्टमा कुनै समस्या देखिए जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेशसभा सदस्यहरूले छानविन गरी वास्तविक पीडितको पहिचान गरिने व्यवस्था समेत गरिएको छ । मन्त्रिपरिषदको बैठकले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक उपकरणहरू खरिद गर्न ६८ करोड रुपियाँ निकासा गरेको छ । निकासा गरिएको रकमले पीसीआर मेसिन सहितका अन्य उपकरणहरू खरिद गरिने जनाएको छ । मन्त्रिपरिषद्ले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना बिरामीहरूको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपियाँ दिने निर्णय समेत गरेको छ
यसैबीच, प्रदेश राहत कोषमा महालक्ष्मी बैङ्क जनकपुर शाखाले ४ लाख रुपियाँ सहयोग गरेको छ । कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको कोषका लागि महालक्ष्मी बैङ्क जनकपुर स्थित प्रतिनिधिहरूले वैशाख ७ गते बिहान मुख्यमन्त्री लालबाबु राउतलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना भाइरस महामारीको रूप लिए त्यसबाट उत्पन्न हुन सक्ने परिस्थिति व्यवस्थापनका लागि नेपाली सेना मध्य-पूर्व पृतनाले गरेको तयारी सम्बन्धी प्रदर्शनीको अवलोकन गर्नु भएको छ । पृतनाले धनुषाको क्षीरेश्वरनाथ नगपालिका-५ महेन्द्रनगर स्थित श्रीनाथ गणमा गरेको प्रदर्शनीको अवलोकन गर्दै मुख्यमन्त्री राउतले नेपाली सेनाको तयारी बारे आवश्यक जानकारी प्राप्त भएको र यसले अन्य सुरक्षा निकाय र स्वयम्सेवी संस्थालाई समेत लाभ पुर्याउने विश्वास व्यक्त गर्नु भयो । नेपाली सेनाले कोरोना सङ्क्रमित व्यक्तिको पहिचानदेखि अस्पताल पुर्याउने र मृत्यु भएपछिको अवस्थामा शव व्यवस्थापनसम्मको तयारी बारे प्रदर्शनी गरिएको थियो । उक्त प्रदर्शनीमा व्यवस्थापनमा खटिने सुरक्षाकर्मीले प्रयोग गर्ने पीपीइ देखि शव व्यवस्थापनमा अपनाइने अन्य उपायहरू बारे समेत जानकारी गराएको थियो । नेपाली सेना मध्य-पूर्व पृतनाका पृतनापति सुरेश कुमार कार्कीको अध्यक्षतामा भएको उक्त प्रदर्शनीमा मुख्यमन्त्री राउतका अतिरिक्त नेपाल प्रहरीका प्रदेश प्रहरी प्रमुख पद्युमन कुमार कार्की, सशस्त्र प्रहरीका डिआइजी, धनुषा र महोत्तरीका प्रमुख जिल्ला अधिकारी, प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेण्डेण्ट लगायतका चिकित्सकहरूको उपस्थिति रहेको थियो ।
पर्साको बहुदरामाइ नपा-९ विश्रामपुरको मौजे टोलमा वैशाख ६ गते बेलुकी दुई पक्षबीच झडप भएको छ । जमातीहरूलाई मस्जिदमा नराख्न आग्रह गर्दा मौजे टोलमा देवान र कलवार पक्षबीच भएको झडपमा दुवै पक्षका गरी आठ जना घाइते भएका छन् । घाइते हुनेहरूमा देवान पक्षका ३० वर्षीय फैयाद देवान, १९ वर्षीय फतिमा खातुन, ३४ वर्षीय मखमुल राय भाट र ४१ वर्षीय बडिया राय भाट तथा कलवार पक्षका २५ वर्षीय चन्दन गुप्ता कलवार, २६ वर्षीय सुनिल गुप्ता कलवार, २८ वर्षीय राधेश्याम गुप्ता र ४३ वर्षीय सुशिला देवी छन् । घाइतेहरूको बीरगञ्जको नेशनल मेकिडल कलेज र गण्डक हस्पिटलमा उपचार भइरहेको छ । घटनामा संलग्न दुई जनालाई प्रहरीले गिरफ्तार गरेको छ । वडा अध्यक्ष रवि गुप्ताले गाउँमा समाजिक सद्भाव बिथोल्ने नियत राखेकाहरूका कारण दुःखद् घटना हुन पुगेको बताउनु भयो । मस्जिदमा बाहिरका कोही पनि मान्छे नरहेको उहाँले बताउनु भयो । हिजो बेलु्कीदेखि गाउँको स्थिति तनावग्रस्त भएपछि रातिदेखि नै गाउँमा प्रहरी खटिएको भन्दै उहाँले सामाजिक सद्भाव नबिग्रियोस भनेर आफूहरू लागिरहेको जानकारी दिनु भयो ।
सामाजिक सञ्जालमा कोरोनाको गलत समाचार सम्प्रेशन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहाले सुखिपुर नगरपालिका-९ का ३० वर्षीय सुरेश कुमार कर्णलाई वैशाख ७ गते गिरफ्तार गर्यो । जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेले सुरेशले सामाजिक सञ्जालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४९ पुग्यो भनी झुठा समाचार सम्प्रेशन गरेकोले अनुसन्धानका लागि गिरफ्तार गरेको बताउनु भयो ।
प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
बागमती प्रदेश
बागमती प्रदेशमा वैशाख ७ गते मानिसहरूको जमघट हुने स्थानहरू मठ, मन्दिर, मस्जिद तथा चर्चजस्ता धार्मिकस्थलहरूमा अनुगमन गरिएको छ । कोरोनाको सम्भावित सङ्क्रमणलाई रोक्न तथा फैलन नदिन जनचेतनामूलक माइकिङ गर्ने, विपन्न नागरिकलाई राहत वितरण गर्नेलगायतका काममा स्थानीय सरकार क्रियाशील छन् । प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेशमा ३ हजार भन्दा बढीको कोरोनाको नमूना परीक्षण भइरहेको र प्रदेशको सबै जिल्लाबाट परीक्षण सुरू भइसकेको बताउनु भयो ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले नियमित औषधि सेवन गर्ने बिरामीहरूका लागि घरघरमा गएर निःशुल्क रूपमा औषधि वितरण गरिएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन लामाले बताउनुभयो । अध्यक्ष लामाका अनुसार गाउँपालिकामा रहेका चिकित्सक र स्वास्थ्यकर्मीलाई परिचालन गरी औषधि उपलब्ध गराइएको हो ।
बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा वैशाख ७ गते दिउँसोसम्म ३ हजार ७ सय ५१ जनाको र्यापीड टेष्ट किटद्वारा परीक्षण गरिएको छ । गण्डकी प्रदेशमा वैशाख ७ गते आरडीटी विधिबाट गरिने परीक्षणमा तीव्रता दिइएको तथा विपन्न नागरिकलाई राहत वितरण गरिएका विवरण इन्सेकका जिल्ला प्रतिनिधिहरूले पठाएका छन् । गोरखामा आरडीटीमा पोजेटिभ रिपोर्ट आएकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । जापानबाट चैत ३ गते नेपाल फर्किएकी ५० वर्षीय महिलाको वैशाख ४ गते र्यापीड डाइग्नष्टिक टेष्ट (आरडीटि) मा रिपोर्ट पोजेटिभ आएपछि स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । टेकुमा गरिएको परीक्षणको रिपोर्ट नेगेटिभ आएको पालुङटार नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी दीपेन्द्र गिरीले बताउनु भयो ।
गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
प्रदेश ५
प्रदेश ५ का १२ ओटा जिल्लामा कोरोनाबाट हुनसक्ने प्रभावसम्बन्धी अध्ययन गरी फर्किएको टोलीसँग प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले वैशाख ६ गते छलफल गरेको छ । उक्त टोलीलाई सङ्घीय सरकारले खटाएको थियो ।
प्रदेश ५ को जनस्वास्थ्य निर्देशनालय बुटवलका सूचना अधिकृत मनबहादुर वलीका अनुसार वैशाख ७ गतेसम्म २ सय ५९ जनाको थ्रोट स्वाब लिइएकोमा २ सय ४६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १२ जनाको रिपोर्ट आउने क्रममा छ ।
कोरोनाको त्रासका कारण काठमाडौँ लगायतका ठाउँबाट पैदल आएकाहरूलाई नवलपरासीको बर्दघाट नगरपालिकाले खाना खुवाउन र गन्तब्यमा पठाउन सहयोग गरेको छ । बर्दघाट नगरपालिकाले वैशाख ६ गते दाङ, सल्यान र बर्दिया जान हिँडेका १ सय ६८ जनालाई खाना खुवाएर बसको व्यवस्था गरी गन्तव्यमा पठाएको बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा बस्यालले जानकारी दिनु भयो । भेरी अस्पताल नेपालगञ्जमा वैशाख ७ गतेदेखि कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन पिसिआर विधिबाट चेकजाँच सुरू गरिएको छ । भेरी आस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रकाशबहादुर थापाले एक दिनमा १ सय जनासम्मको नमुना परीक्षण गर्न सकिने बताउनु भयो ।
प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
कर्णाली प्रदेश
लकडाउनका कारण अवरुद्ध बालबालिकाको पढाइलाई निरन्तरता दिन एसईई परीक्षार्थीलाई लक्षित गरी शिक्षा विकास तथा समन्वय इकाई दैलेख, सेभ द चिल्ड्रेन/एभरेष्ट क्लब दैलेख र स्थानीय तहहरूको समन्वयमा वैशाख ७ गतेदेखि दैलेखका दुई ओटा स्थानीय एफएम रेडियोबाट एसईई परीक्षा तयारी दूरशिक्षा रेडियो कार्यक्रम सञ्चालन गरिएका छन् । मुगु जिल्ला र हुम्ला जिल्लाको चङ्खेली सीमाबाट दैनिक मानिसहरू हुम्ला प्रवेश गर्न थालेपछि कोरोना भाइरस फैलिन सक्ने भएकोले चङ्खेली गाउँपालिका-५ नेप्का गाउँमा अनुमतिबिना प्रवेश गर्नेलाई ३० हजार रुपियाँ जरिवाना गर्ने निर्णय भएको वडाध्यक्ष भैरव तामाङले जानकारी दिनु भयो । कालीकोटको तिलागुफा नगरपालिकाले देशभित्र र बाहिर अलपत्र परेका नागरिकको उद्दार गर्ने निर्णय गरेको छ । नगरपालिकाले देशका विभिन्न ठाउँमा रहेका नागरिकहरूले आफू बसेको स्थानका बारेमा जानकारी गराउनुका साथै नजिकका आफ्ना साथीहरूको पनि विवरण राखी खबर गर्न अनुरोध गरिएको नगरप्रमुख रत्नबहादुर शाहीले बताउनु भयो ।
मुगु, छायाँनाथ रारा नगरपालिकाको वैशाख ६ गतेको बैठकको निर्णयले कोरोना भाइरस रोकथामका लागि नगरभित्रका पाँच ओटा हेल्थ डेक्स र नपाको कार्यालयमा खटिएका चार जना गरी २४ जना करारमा काम गरिरहेका स्वास्थ्यकर्मीलाई मासिक १५ हजार रकम प्रोत्साहनस्वरूप प्रदान गर्ने निर्णय गरेको नगरप्रमुख हरिजङ्ग शाहीले जानकारी दिनु भयो । रुकुम पश्चिममा नेपाल बाहिरबाट आएका व्यक्तिहरू र तिनीहरूको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूको कोरोना भाइरसको द्रुत परीक्षण गर्नका लागि आरडीटी किट अभाव भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
सुदूरपश्चिम प्रदेश
सेती प्रादेशिक अस्पतालमा उपचाररत लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका २१ वर्षीय युवकलाई अस्पतालले आज डिस्चार्ज गरेको छ । भारतको मुम्बइबाट चैत १२ गते घर फर्किएका उनको चैत २२ गते कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ दखिएको थियो । हिजो वैशाख ६ गते शनिबार गरिएको दोस्रो परीक्षण र आजको परीक्षण रिपोर्ट नेगेटिभ देखिएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।
भारत पिथौरागढको धार्चुलास्थित बलुवाकोटको शिविरमा क्वारेण्टाइनमै आमाको किरिया बसेका दार्चुला शैल्यशिखर नगरपालिका-१ का बासुदेव भट्टलाई नेपाल ल्याइएको छ । महाकाली पुलको ढोका खोलेर उनलाई नेपाल ल्याइएको हो । उनको जिल्ला अस्पताल दार्चुलामा गरिएको र्यापीड टेष्टको रिपोर्ट नेगेटिभ आएपछि शैल्यशिखर नगरपालिकाको एम्बुलेन्समार्फत घर पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताउनु भयो ।
राष्ट्रिय मानव अधिकार आयोगको कार्यविधिअनुसार कोभिड-१९को अवस्थालाई मध्यनजर गर्दै बझाङमा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा बझाङका अध्यक्ष जगदिश रोकाया संयोजक रहने गरी पाँच सदस्यीय मानव अधिकार अनुगमन समिति गठन गरिएको छ । समितिको सदस्यमा इन्सेक जिल्ला प्रतिनिधि रमेश केसीलाई चयन गरिएको छ ।
लकडाउनको अवधिमा छाक टार्न समस्या उत्पन्न भएमा विकास बजेट काटेर भए पनि भोको बस्न नपर्ने व्यवस्था मिलाउने अछाम जिल्लाको साँफेबगर नगरपालिकाका प्रमुख कुलबहादुर कुँवरले बताउनुभएको छ । साँफेबगर नगरपालिका-३ सिद्धेश्वरमा राहत वितरण गर्दै प्रमुख कुँवरले आफ्नो नगर क्षेत्रभित्रका कुनै व्यक्ति भोको रहनुपर्ने अवस्था आउन नदिनेमा नगरपालिका प्रतिबद्ध रहेको बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला थाहा नगरपालिका–६ घर भई शैलुङ गाउँपालिका–८ मा बस्ने ३९ वर्षीय हिराकाजी बलामीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
२ सय १० घरधुरी परिवारमा खानेपानीको समस्या
झिमरुक गाउँपालिका-१, सौतामारे गाउँका २ सय १० घरधुरी परिवारमा खानेपानीको समस्या भएको छ । सौतामारे गाउँमा लामो समयदेखि खानेपानीको सुविधा नहुँदा घण्टौँ लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको छ । साबिकको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रेश्वरी गाउँपालिका–२, सल्यानका २१ वर्षीय लक्ष्मण विकलाई १० वर्ष कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश प्रतिमाकुमारी भट्टराइ पोख्रेलको ०८१ कात्तिक…
गुल्मीको उपनिर्वाचनका मतदाता बढे, एकिकृत सुरक्षा योजना बन्दै
गुल्मीमा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मतदाता सङ्ख्या बढेको छ । ०७९ सालको तुलनामा झण्डै ३ सय मतदाता अहिले थपिएका छन् । मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुङ्ग्री गाउँपालिका–२ का २३ वर्षीय दिपक विकलाई प्रहरीले ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २६ गते बलात्कार गरेको…