कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३२ गते)
साउन ३२ गते ६ सय ४१ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार ६ सय ६० पुगेको छ । जसमध्ये १ सय ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ३२ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १७ हजार ३ सय ३५ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन ३२ गते १ सय ३४ जना डिस्चार्ज भएका छन् भने निको दर ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ९ हजार २ सय २१ जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा १२ हजार २ सय ४७ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । कुल सङ्क्रमितमध्ये ६५ प्रतिशत निको, ३४.६ प्रतिशत उपचाररत र ०.४ प्रतिशतको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोरोना भाइरसको सङ्क्रमणबाट विराटनगर महानगरपालिका-२ की ५० महिलाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुनसरी धरानमा साउन ३१ गते राति मृत्यु भएको छ । पाँच दिनदेखि न्यूरो अस्पताल विराटनगरमा उपचाररत उनलाई अत्यधिक ज्वरो, खोकी, श्वास/प्रश्वासमा समस्या भएपछि साउन ३१ गते साँझ धरान रेफर गरिएको थियो । धरानमा उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले बताउनु भयो । कोरोना सङ्क्रमणबाट मोरङमा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।
त्यसैगरी, विराटनगर महानगरपालिकामा कोरोना भाइरस सङ्क्रमणको परीक्षण गराउन स्वाब सङ्कलनमा खटिदै आएका एक चिकित्सकमा साउन ३२ गते सङ्क्रमण पुष्टि भएको छ । स्वाब सङ्कलनमा खटिने चिकित्सकमा नै सङ्क्रमण देखिएपछि तत्कालका लागि स्वाब सङ्कलन कार्य अघि बढ्न नसकेको महानगरका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले बताउनु भयो । चिकित्सकमा कोरोना भाइरस पोजेटिभ देखिएपछि महाशाखाका कर्मचारी क्वारेन्टाइनमा बसेका छन् । अन्य स्वास्थ्यकर्मीको कोरोना परीक्षण गराएर रिपोर्ट आएपछि स्वाब सङ्कलनको काम पुनः सुरु गरिने कार्कीले बताउनु भयो ।
प्रदेश २
धनुषा प्रतिनिधि दिपेन्द्र सिंहका अनुसार कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दिनप्रतिदिन बढिरहेको भन्दै जिल्ला प्रशासन कार्यालयले साउन ३२ गते राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजेसम्मको लागि लकडाउन घोषणा गर्ने निर्णय गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३)बमोजिम जिल्लाभर लकडाउनलगायतका चार बुँदे निर्णय गर्नुभएको छ । साउन ३० गते जनकपुरधाम उपमहानगरपालिका-१६ बस्ने ४३ वर्षीय पुरुषको मृत्यु भएपछि सोही दिन परिवारले दाहसंस्कार गरेकोमा उनमा कोरोना सङ्क्रमण भएको रिपोर्ट साउन ३२ गते आएको प्रदेश २ का सामाजिक विकास मन्त्रालयका वरिष्ठ अधिकृत विजय झाले बताउनुभएको छ । उपचारको क्रममा जनकपुरस्थित काव्या हस्पिटलमा उनको मृत्यु भएको थियो ।
सर्लाही प्रतिनिधि बुधन साहका अनुसार जिल्ला सुरक्षा समिति, कोरोना सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद व्यवस्थापन समितिको बैठकले भदौ १ गतेदेखि भदौ ७ गते राति १२ बजेसम्मका लागि जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । साउन ३२ गते बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलको अध्यक्षतामा साउन ३२ गते बसेको सिएमसिको बैठकमा कोरोना नियन्त्रणको लागि लकडाउन माध्यम नै उपयूक्त रहेको ठहर गर्दै साउन ३२ गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि स्थानीय तहहरूलाई आफ्नो तहमा लकडाउन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । सोही आग्रह अनुसार सिरहाका स्थानीय तहहरूले अत्यावश्यक बाहेकका सम्पुर्ण बजार, पसल, हाट बजार लगायतका स्थानहरूमा भदौ १५ गते सम्मका लागि लकडाउनको घोषणा गरेको छ । सिरहा नपा, कल्याणपुर नपा, गोलबजार र मिर्चैया नपाले साउन ३२ गते राति १२ बजेदेखि लागु हुने गरी लकडाउनको घोषणा गरेको सिरहाका नगर प्रमुख अशेश्वर यादवले बताउनु भयो ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले साउन ३२ गते जिल्ला प्रशासन कार्यालयमा जिल्ला कोभिड समन्वय समितिको निर्णय अनुसार भदौ १ गते बिहान ५ बजेदेखि अर्को सूचना जारी नभए सम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग नियन्ण ऐन २०२० को दफा २ बमोजिम जिल्लाका सबै स्थानीय तहहरूमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनु भएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा साउन ३२ गते काठमाडौँमा १ सय २६, ललितपुरमा ३८, चितवनमा २७, भक्तपुरमा आठ, मकवानपुरमा चार, नुवाकोट र सिन्धुलीमा एक/एक जना गरी २ सय ५ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या २ हजार ८ सय ६६ जना पुगेको छ । जसमध्ये ६ सय ५४ जना उपचारपछि घर फर्किएका छन् भने २ हजार १ सय ९५ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १७ जना पुगेको छ ।
काठमाडौँ उपत्यकामा तीब्र रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण दक्षिण ललितपुरका बागमती गाउँपालिका, महाङ्काल गाउँपालिका र कोन्ज्योसोम गाउँपालिकाहरू समेत उच्च जोखिम रहेको भन्दै तीन ओटै गाउँपालिकाका अध्यक्ष फोरमको साउन ३२ गते बसेको बैठकले संयुक्त विज्ञप्ति जारी गर्दै भदौ १ गतेदेखि १५ गतेसम्म सार्वजनिक यातायात पूर्ण रूपले बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाबाट सञ्चालित हुने अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू सो अवधिमा बन्द हुने विज्ञप्तिमा उल्लेख छ । कोन्ज्योसोम गाउँपालिका वडा नं. ४ नल्लु भञ्ज्याङ्ग र बागमती गाउँपालिका वडा नं. २ बगुवामा नेपाल प्रहरीको चेक पोष्ट राखने र बिर्खेधारामा स्वास्थ्यकर्मी, नेपाली सेना र नेपाल प्रहरीको हेल्थ डेस्क सहित संयुक्त चेकपोष्ट राख्ने अध्यक्ष फोरमद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ ।
त्यसैगरी, ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्रदेव भारतीद्वारा साउन ३२ गते जारी गरिएको सूचनामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको सन्दर्भमा नगरपालिका क्षेत्रभित्र जिल्ला प्रशासन कार्यालय ललितपुरले साउन ३० गते जारी गरेको आदेश पालना गर्न भनिएको छ । खुला स्थानमा मानिसहरू भेला भई जम्मा हुन, भिडभाड गर्न, अनावश्यक हिँडडुल गर्न, जात्रा महोत्सव सञ्चालन गर्न, यात्रुहरू ओसारपसार गर्ने सार्वजनिक यातायातका साधन सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, मनोरञ्जन स्थल, सैलुन, व्यूटीपार्लर, जिमखाना, फुटपाथ, खुला ठाउँ र ठेला गाडा/साइकलमा सञ्चालन गरिने विभिन्न व्यवसाय, कवाडी सङ्कलन गर्न, होटल रेस्टुरेन्ट सञ्चालन गर्न निषेध गरिएको सूचनामा उल्लेख छ ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार जिल्ला प्रशासन कार्यालयले माडी नगरपालिका बाहेक पाँच ओटा स्थानीय तहमा साउन ३२ गते रातिबाट लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । भरतपुर महानगरपालिकामा साउन ३१ गतेदेखि नै निषेधाज्ञा जारी गरिएको थियो । भरतपुर महानगरपालिका लगायत ६ ओटै स्थानीय तहमा निषेधाज्ञाको अवधि भदौ ५ गतेसम्मका लागि तोकिएको छ । रत्ननगर, खैरहनी, राप्ती, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनु भयो ।
सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार जिल्लामा कोरोना सङ्कट व्यवस्थापन समितिको साउन ३१ गते बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको बैठकले एक साता लकडाउन गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताउनु भयो । खनालका अनुसार जिल्ला भित्र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम अत्यावश्यकीय काममा बाहेक घर बाहिर ननिस्कन र हिँडडुल गर्न नपाइने भनिएको छ । जिल्लाका सरकारी, गैरसरकारी कार्यालयहरूबाट अत्यावश्यक सेवा मात्र प्रदान गर्ने र बैङ्क तथा वित्तीय संस्थाहरू एवम् सहकारीहरू दिनको ११ बजेदेखि २ बजेसम्म सञ्चालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताउनु भयो ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै स्वाब सङ्कलन र परीक्षण गर्नु पर्नेको सङ्ख्या पनि बढिरहेको छ । जिल्लामा पीसीआर परीक्षणका लागि ल्याब नहुँदा स्वाब सङ्कलन गरी हेटौँडा र काठमाडौँ पठाउने गरिएको छ । परीक्षणका लागि पठाइएको नमूनाको रिपोर्ट आउन छिटोमा तीन दिन र ढिलोमा सातदिनसम्म लाग्ने गरेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तम खनालले बताउनु भयो । 'परीक्षणका लागि रातारात दौडाएर स्वाब ल्याबमा पुर्यायो । त्यहाँ पनि पालो कुर्नु पर्दा रिपोर्ट आउन कहिले सात दिनसम्म पनि लाग्ने गरेको छ' खनालले भन्नु भयो ।
यसैबीच, विदुर नगरपालिकाले त्रिसुली जिल्ला अस्पतालमा पीसीआर मेसिन सञ्चालन गर्नका लागि प्रक्रिया अघि बढाएको छ । नगरपालिकाले साउन ३२ गते पीसीआर मेसिन खरिद तथा ल्याब स्थापनाका लागि बोलपत्र आह्वानको सूचना प्रकाशित गरेको छ । नौ दिने सूचना प्रकाशित गरेको र आगामी १५ दिनभित्र पीसीआर ल्याब जिल्ला अस्पतालमा स्थापना भई सञ्चालन गरिने योजना रहेको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले बताउनु भयो ।
काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार जिल्लामा बढ्दै गएको कोरना सङ्क्रमणको सङ्ख्यालाई मध्यनजर गर्दै दुई दिनका लागि काठमाडौँको व्यापारिक केन्द्र न्युरोड क्षेत्रका पसल बन्द गरिने भएको छ । काठमाडौँ महानगरपालिका-२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले भदौ १ र २ गते न्युरोड क्षेत्रका पसलहरू बन्द गर्न र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले तोकेका मापदण्ड पूरा गरेर मात्रै भदौ ३ गतेबाट पसलहरू खुला गर्ने निर्णय भएको इन्सेक प्रतिनिधिलाई टेलिफोन मार्फत बताउनु भयो । होलसेल मूल्य लगायतको व्यापारिक क्षेत्रहरू खिचापोखरी, गुच्चा टोल, ओटु लगायतका क्षेत्रमा अहिलेसम्म सात जनामा कोभिड-१९ सङ्क्रमण देखिएको छ । बन्द गरिएको यस क्षेत्रमा दुई दिनमा सबै व्यवसायीहरूको अनिवार्य कोरोना परीक्षण हुने समेत महर्जनले बताउनु भयो । व्यवसाय सञ्चालनमा आए पनि विक्रेता र ग्राहकले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्ने, पसलमा एक भन्दा बढी काउन्टर खोल्न नपाइने र प्रत्येक पसलमा भौतिक दूरी कायम हुने वातावरण बनाउन समेत आग्रह गरिएको अध्यक्ष महर्जनले बताउनु भयो ।
गण्डकी प्रदेश
नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) प्रतिनिधि तिर्थराज डुम्रेका अनुसार गण्डकी प्रदेश सरकारले विशेष अनुदान मार्फत मध्यविन्दु जिल्ला अस्पतालमा दुई ओटा भेन्टिलेटर सहित पाँच बेडको आइसियू जिल्ला अस्पताललाई अनुदानमा दिएको छ । तर, दक्ष जनशक्ति अभावमा भेन्टिलेटर सहितको आइसियू सेवा तत्काल सञ्चालनमा आउन नसकेको अस्पतालका सूचना अधिकृत छविलाल सुवेदीले बताउनु भयो । भेन्टिलेटर र आइसियु बेड जडानको काम सुरु हुन थालेपनि जनशक्ति अभावमा अझै एक महिना सेवा सञ्चालनमा आउन सक्ने अवस्था नरहेको उहाँले बताउनु भयो । हाल जिल्लाका कुनै स्वास्थ्य संस्थामा आइसियू र भेन्टिलेटर सेवा सञ्चालनमा छैनन् । हाल प्रदेश सरकारले अनुदानमा भेन्टिलेटर र आइसियू उपलब्ध भएता पनि त्यसको जडान र सञ्चालनमा दक्ष जनशक्ति अभाव हुँदा अन्यौलता देखिएको भन्दै तत्काल दक्ष जनशक्तिको व्यवस्थापन गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्ने जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समितिका संयोजक बद्रीनाथ नेपालले बताउनु भयो । यस बिषयमा जानकारी लिन इन्सेक जिल्ला प्रतिनिधिले जिल्ला अस्पताल सञ्चालक समितिका अध्यक्ष डाक्टर गोपाल खनाललाई साउन ३२ गते सम्पर्क गर्दा उहाँले भेन्टिलेटर र आइसियु बेड जडान र जनशक्ति व्यवस्थापनको विषयमा छलफल गर्न हाल आफू पोखरामा रहेको बताउनु भयो । सोको लागि हाल जिल्ला अस्पतालमा रहेका जनशक्तिलाई नै तालिम प्रदान गर्नेगरी छलफल भइरहेको उहाँले बताउनु भयो । जिल्लाको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई कोरोना अस्थाई अस्पताल निर्माण गरी आइसोलेशन सेवा सञ्चालन गरिएको छ ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार अन्य जिल्लाहरूमा कोरोना सङ्क्रमितको सङख्या बढ्दै गएपछि पर्वत प्रहरीले साउन ३२ गतेदेखि सचेतनाका लागि 'एसएमएस' अभियान सुरु गरेको छ । कोरोनाबाट बच्नका लागि तीन सतर्कताहरू सोसल डिस्टेन्स, मास्क र सेनेटाइजर 'एसएमएस' प्रयोग गर्ने सूत्र अपनाउन अनुरोध गर्दै जनचेतनामूलक अभियान सुरु गरेको हो । ५० जनाभन्दा बढीको सङ्ख्यामा बजारमा निस्किएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले पसलमा डोरी टाँगेर राख्ने, मास्क लगाउने तथा बजारमा मास्क नलगाइ हिँड्नेलाई सम्झाउने र जरिवाना तिराउने काम गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताउनु भयो ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार जिल्लामा स्थित आन्तरिक राजश्व कार्यालयमा कार्यरत ६ जना कर्मचारीहरूले दैनिक खाना खाने धौलागिरी अस्पताल अगाडिको होलटकी महिलामा साउन ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि आन्तरिक राजश्व कार्यालय सिल गरिएको छ । दैनिक खाना खुवाउने महिलालाई नै कोरोना सङ्क्रमण देखिएपछि अनलाइन बाहेकका सबै सेवा बन्द गरिएको आन्तरिक राजश्व कार्यालय बागलुङका प्रमुख हेमराज सुवेदीले बताउनु भयो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँको व्यास नगरपालिका र आँबुखैरेनी गाउँपालिकाले कोरोना सङ्क्रमण बढ्दै गएको भन्दै भदौ १ गतेदेखि एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । नगरपालिकामा साउन ३२ गते जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घ संस्था तथा बैङ्क तथा वित्तीय संस्थाका प्रतिनिधिहरूको संयुक्त बैठकले एक साताका लागि दमौली बजार बन्द गर्ने निर्णय गरेको हो । बैठकले कोरोना सङ्क्रमित व्यक्तिहरूको सम्पर्कमा रहेकाहरूको कन्ट्याक्ट ट्रेसिङ गर्ने निर्णय पनि गरेको छ । व्यास नगरपालिका- १ मा साउन ३२ गते प्रहरी दम्पत्ति सहित चार जना र यस अघि एक जना गरी पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै सिङ्गो नगरपालिका नै जोखिममा परेको हुँदा भदौ १ गतेदेखि एक साताका लागि स्वास्थ्य, सरसफाई र विपद् व्यवस्थापन बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको नगर प्रमुख बैकुण्ठ न्यौपानेले बताउनु भयो । समुदायमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि आँबुखैरेनी गाउँपालिका भित्रका सम्पूर्ण बजार क्षेत्र भदौ १ गतेदेखि एक साताका लागि बन्द गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताउनु भयो ।
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार जिल्लामा साउन ३२ गते बसेको कमाण्ड पोष्टको बैठकले भदौ १ गतेबाट ७ गतेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । कोभिड-१९ को सङ्क्रमण बढ्दै गएको निष्कर्ष निकाल्दै भदौ १ गतेबाट सार्वजनिक यातायात र नीजि सवारी साधान सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताउनु भयो । अत्यावश्यक काम बाहेक हिँड्डुल नगर्न पनि सर्वसाधारणलाई अपिल गरिएको छ । जिल्लाका सरकारी कार्यालयहरूमा पनि अत्यावश्यक बाहेकका सबै सेवा पनि बन्द गरिएको उहाँले बताउनु भयो ।
प्रदेश ५
कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले भदौ १ गतेदेखि ७ गतेसम्म जिल्लामा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । साउन ३२ गते जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड-१९ रोकथाम तथा नियन्त्रण समितिको बैठकले भदौ ७ सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यस अघि जिल्लामा साउन २७ गतेदेखि ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा गरिएको थियो । कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएपछि भदौ ७ गतेसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताउनु भयो । यसैगरी उद्योग, कलकारखानाको हकमा भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको न्यूनतम स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाइने छ ।
प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार सरकारले पछिल्लो समय विद्यालयमा बनाइएका आइसोलेशन र क्वारेन्टान खाली गर्न भनेपनि प्यूठान नगरपालिकामा अझै विद्यालयमा बनाइएको क्वारेन्टाइन र आइसोलेशनमा सङ्क्रमितहरू बसिरहेका छन् । नगरपालिकाका विद्यालयहरूमा अझै विदेशबाट आएकालाई क्वारेन्टाइनमा राख्ने गरेको र एउटा विद्यालयमा चारजना सङ्क्रमित समेत राखिएको प्यूठान नगरपालिका कार्यालयले जानकारी दिएको छ । खाली गरिएका अधिकांश विद्यालयमा स्थानीय तहले सरसफाई गनुपर्ने भएपनि प्यूठान नगरपालिकाले हालसम्म उक्त प्रक्रिया नअपनाएको अभिभावक हरिन योगीले गुनासो गर्नु भयो । खाली भएका विद्यालयमा निर्मलीकरण गरिने प्यूठान नगरापलिकाका शिक्षा संयोजक विष्णु पोख्रेलले बताउनु भयो । जिल्लाका धेरै स्थानीय तहहरूले क्वारेन्टाइन तथा आइसोलेशन भएका विद्यालयहरू निर्मलीकरण गरी अन्य विकल्पहरूको तयारी गरेको पोख्रेलले बताउनु भयो ।
रूपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार कारोना भाइरसको सङ्क्रमण समुदायस्तरमा फैलिन थालेपछि साउन ३२ गते बसेको जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले प्रमुख जिल्ला अधिकारी महादेव पन्थको संयोजकत्वमा र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा 'क्वीक रेस्पोन्स टिम' गठन गरेको छ । बैठकले स्थानीय तहहरूमा आवश्यक पर्ने सामग्री खरिद गर्नसक्ने समेत निर्णय गरेको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो । यसैगरी, बुटवल उपमनपामा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि बुटवल उपमनपा भित्र बैङ्क तथा वित्तीय संस्थाबाट हुने नगद कारोबार साउन ३२ गतेबाट पूर्ण रूपमा बन्द गरेको बुटवल उपमपाका मेयर शिवराज सुवेदीले बताउनु भयो । उपमनपाले सूचना मार्फत अनलाइबाट मात्र कारोबार गर्न पाइने जनाएको छ । भदौ १ गतेदेखि लागु हुने गरी नगरभित्र खाद्यान्न पसलहरू बिहान ७ बजेदेखि ९ बजेसम्म स्वास्थ्य तथा सुरक्षाको मापदण्ड अपनाएर खोल्न पाइने छ भने दुग्धजन्य पसल बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म बिक्री वितरण गर्न पाइने उपमेयर गुमादेवी आचार्यले बताउनु भयो ।
कर्णाली प्रदेश
मुगु प्रतिनिधि जीवन सेजुवालका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भदौ १ गतेदेखि दुई सातासम्म जिल्लाभर 'सेमी लकडाउन' को घोषणा गरिएको छ । साउन ३१ गतेको संकट व्यवस्थापन समितिको बैठकले जिल्ला भित्रिने र बाहिरिने सबै नाका सहित एक स्थानीय तहबाट अर्कोमा आवत-जावत गर्न पूर्ण रूपले रोक लगाएको, दैनिक उपभोग्य वस्तुहरूको अभाव नहोस् भनेर पसलहरू बिहान ६ देखि १० बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म स्वास्थ्य सुरक्षाका उपाय अपनाएर खोल्न दिने र होटल तथा सैलुनहरू अर्को आदेश नुहन्जेलसम्म पूर्णरुपले बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । कोरोना भाइरस सङ्क्रमण देखिएका ६ जना मध्ये दुई जना आइसोलेशनमा रहेको र अन्य निको भएर घर फर्किएको सहायक प्रमुख जिल्ला अधिकारी केशव ज्ञवालीले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मकवानपुर जिल्ला थाहा नगरपालिका–६ घर भई शैलुङ गाउँपालिका–८ मा बस्ने ३९ वर्षीय हिराकाजी बलामीलाई कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई…
२ सय १० घरधुरी परिवारमा खानेपानीको समस्या
झिमरुक गाउँपालिका-१, सौतामारे गाउँका २ सय १० घरधुरी परिवारमा खानेपानीको समस्या भएको छ । सौतामारे गाउँमा लामो समयदेखि खानेपानीको सुविधा नहुँदा घण्टौँ लगाएर पानी बोक्नुपर्ने बाध्यता रहेको छ । साबिकको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रेश्वरी गाउँपालिका–२, सल्यानका २१ वर्षीय लक्ष्मण विकलाई १० वर्ष कैद फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश प्रतिमाकुमारी भट्टराइ पोख्रेलको ०८१ कात्तिक…
गुल्मीको उपनिर्वाचनका मतदाता बढे, एकिकृत सुरक्षा योजना बन्दै
गुल्मीमा आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मतदाता सङ्ख्या बढेको छ । ०७९ सालको तुलनामा झण्डै ३ सय मतदाता अहिले थपिएका छन् । मुसिकोट नगरपालिका–१ का वडाध्यक्ष मोहन घिमिरेको…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लुङ्ग्री गाउँपालिका–२ का २३ वर्षीय दिपक विकलाई प्रहरीले ०८१ कात्तिक २७ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले कात्तिक २६ गते बलात्कार गरेको…