कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३१ गते)
कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार नाघेको छ । साउन ३१ गते ४ सय ६८ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २६ हजार १९ जना पुगेको छ । जसमध्ये १ सय २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ८० जना पुरुष र २२ जना महिला रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ३१ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १७ हजार २ सय १ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन ३१ गते १ सय २४ जना डिस्चार्ज भएका छन् भने निको दर ६६.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ८ हजार ७ सय १६ जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा ११ हजार ४७ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी प्रदेश २ मा ४४ जनाको मृत्यु भएको छ ।
प्रदेश २
प्रदेश २ मा साउन ३१ गते सम्ममा ७ हजार ४ सय १८ जना कोरोना सङ्क्रमित पुगेकोमा ३ हजार ५ सय ४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल ३ हजार ८ सय २७ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन ३१ गते सम्ममा ४६ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश २ जनकपुर सम्पर्क कार्यालय राजविराजका २२ जना प्रहरीसहित २७ जना साउन ३१ गते कोरोना पोजिटिभ भएको रिपोर्ट आएपछि कता राख्ने ? भन्ने समस्या आएको कोभिड-१९ व्यवस्थापन संयोजक एवम् गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले बताउनु भयो । जनशक्तिको अभावमा थप सङ्क्रमित भएका २२ जना प्रहरीलाई हाल तालिम केन्द्रमा नै आइसोलेट गरिएको डाक्टर झाले बताउनु भयो । यसअघि सङ्क्रमण पुष्टि भएका तालिम केन्द्रका ६ जना आइसोलेशनमा छन् ।
सप्तकोशी नगरपालिका-१ का ५४ वर्षीय व्यापारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको भन्दै सप्तकोशी नगरपालिकाले साउन ३० गते 'अत्यन्त जरुरी सूचना' जारी गरी एक वडाबाट अर्को वडा, एक घरबाट अर्को घर नजान, सम्पूर्ण बजार, पसल बन्द गरी उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार धनगढीमाई नपा-१ स्थित महेन्द्र गेनाइ आइसोलेशन अस्पतालबाट साउन ३० गते राति एक जना कोरोना सङ्क्रमित फरार भएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले बताउनु भएको छ । सिरहा कारागारमा रहेको २३ वर्षीय पुरुषको साउन २५ गते स्वाब सङ्कलन गरी परीक्षणको लागि राजबिराजको प्रयोगशाला पठाइएकोमा साउन २८ गते कोरोना पुष्टि भएपछि उपचारको लागि सोही दिन उनलाई महेन्द्र गेनाइ अस्पताल लगिएको थियो । नेपाली सेनाको सुरक्षा निगरानीमा रहेका उनी अस्पतालबाट राति ९:३० बजे भागेको प्रजिअ कँडेलले बताउनु भयो । सुरक्षाकर्मीहरूले खोजतलास गरिरहेको पनि उहाँले बताउनु भयो ।
विष्णुपुर गाउपालिका-१ का ४० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट बिराटनगरस्थित कोशी अस्पतालमा साउन २९ गते राति ८ बजे मृत्यू भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । रुघा, खोकी, ज्वरोको समस्या देखिएपछि उपचारको लागि साउन २८ गते विराटनगरको कोशी अस्पताल लगिएको थियो । मृत्यूपछि कोरोना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रमुख यादवले बताउनु भयो ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार जनकनन्दनी गाउँपालिका-४ बस्ने ५० वर्षीय पुरुषको उपचार नपाएर मृत्यु भएको पीडित पक्षले आरोप लगाउनु भएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि जनकपुरको निजीदेखि सरकारी अस्पतालले उपचार गर्न नमानेको बताउनु हुँदै दिनभरि अस्पताल धाउँदा अन्त्यमा काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको जनकनन्दनी गाउँपालिकाका उपप्रमुख भारती कार्कीले बताउनु भयो । बिरामीलाई अस्पताल भर्ना गराउनका लागि जनकपुरका विभिन्न निजी अस्पतालहरूमा आग्रह गर्दासमेत भर्ना नगरेको उहाँले बताउनु भयो । उहाँले धनुषाका प्रमुख जिल्ला अधिकारी, एसपी, प्रदेशका मन्त्री, सांसदलगायत प्रादेशिक अस्पतालका डाक्टरहरूलाई बिरामी भर्ना गरी उपचार गर्न आग्रह गर्दा पनि भर्ना नगरेको दुखेसो व्यक्त गर्नु भयो । अन्त्यमा प्रादेशिक अस्पताल जनकपुरले साउन २९ गते १ बजे अस्पतालमा भर्ना नगरि काठमाडौंको लागि रेफर गरेपछि एम्बुलेन्समा लैजाँदै गर्दा ३ बजे मृत्यु भएको थियो । मृतकको साउन ३० गते कोरोना पोजेटिभ भएको रिपोर्ट आएपछि नेपाली सेनाको टोलीको समन्वयमा शव व्यवस्थापन गरिएको उपप्रमुख भारती कार्कीले बताउनु भयो ।
बटेश्वर गाउँपालिका-२ का २५ वर्षीय युवामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि साउन ३२ गतेदेखि भदौ १० गतेसम्म बटेश्वर गाउँपालिकाको कामकाज बन्द गर्ने निर्णय गरिएको छ ।
रौतहट जिल्ला प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार रौतहट जिल्ला प्रशासनले निषेधाज्ञाको अवधि पुनः सात दिन थप गरी भदौ ७ गतेसम्म पुर्याएको छ । कोभिड १९ को सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको र सङ्क्रमणको जोखिम उच्च रहेकोले साउन ३१ गते बसेको जिल्ला सुरक्षा समितिको निर्णय अनुसार साउन २४ गतेबाट जारी गरिएको निषेधाज्ञालाई ०७७ भदौ १ गते देखि ०७७ भदौ ७ गते राति १२ बजे सम्मलाई निरन्तरता दिएको हो ।
बागमती प्रदेश
यस प्रदेशमा साउन ३१ गते काठमाडौँमा ८०, मकवानपुरमा १७, ललितपुर, चितवन, काभ्रे, भक्तपुरमा नौ/नौ, दोलखामा पाँच, रामेछापमा तीन, सिन्धुली र रसुवामा एक/एक जना गरी १ सय ४३ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या २ हजार ६ सय ६१ जना पुगेको छ । जसमध्ये ६ सय ४१ जना उपचारपछि घर फर्किएका छन् भने २ हजार ३ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या १७ जना पुगेको छ ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका भरतपुर अस्पतालको आइसीयू कक्षमा कार्यरत एक जना डाक्टरमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि साउन ३१ गते आइसीयूमा कक्षका बिरामी र अन्य नर्सहरूको स्वाव सङ्कलन गरी परीक्षणका लागि पठाइएको छ । दुई दिन अघि मात्रै अस्पतालको आकस्मिक कक्षमा कार्यरत नर्समा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताललाई सिल गरिएको छ । स्वास्थ्यकर्मी र बिरामीको गरी ७० जनाको स्वास्व परीक्षणका लागि पठाइएको र नतिजाको पर्खाइमा रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताउनु भयो ।
यसैबीच, भरतपुर स्थित श्री पुष्पाञ्जली हस्पिटलले कोरोना सङ्क्रमितको उपचार सुरु गरेको छ । साउन ३० गते स्वास्थ्य मन्त्रालयको एचइओसीबाट प्रकाशित सूचना र निर्देशानुसार कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई सोही अस्पतालमा राख्ने र हब अस्पताल (कोरोना सङ्क्रमितको उपचार गर्ने मुख्य अस्पताल) सँग समन्वय गरी उपचार गराउनु भनिएको सूचनामा उल्लेख छ । रत्ननगर नगरपालिका-९ निवासी ६१ वर्षीय पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि अस्पतालमै उपचार जारी रहेको अस्पतालका व्यवस्थापक सुजन अधिकारीले बताउनु भयो ।
जिल्लाका हालसम्म १५ जना स्वास्थ्यकर्मीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित स्वास्थ्यकर्मीमध्ये सात जना निको भएर काममा फर्केका छन् । जिल्लामा सुरक्षामा खटिएका ११ जना सुरक्षाकर्मीमा पनि कोरोना सङ्क्रमित पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले हालसम्म जिल्लामा कार्यरत रहेका नेपाल प्रहरीका दुई जना सङ्क्रमित भएको जानकारी दिनु भयो । सशस्त्र प्रहरी गण ३ नं बाहिनी भण्डारामा कार्यरत रहेका आठ जना सशस्त्र प्रहरीहरूमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताउनु भयो ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार जिल्ला सङ्कट व्यवस्थापन समिति दोलखाले साउन ३१ गते बिहानदेखि भदौ ६ गते राति १२ बजेसम्मका लागि दोलखा जिल्लाभर लकडाउन गरेको छ । गौरीशंकर गाउँपालिकाको दुईजनामा कोरोना सङ्क्रमण देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङले साउन ३० गते थप पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि बसेको समितिको बैठकले एक हप्ता जिल्लाभर लकडाउन गर्ने घोषणा गरेको समितिका संयोजक डबल पाण्डेले बताउनु भयो । कोरोना भाइरस सङ्क्रमितसँगको सम्पर्कमा पुगेकाहरूको खोजी, पूर्व सर्तकता र थप फैलन नदिनका लागि हप्ताभर लकडाउन गर्ने निर्णय गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताउनु भयो । जिल्लामा खाद्यान्न, तरकारी र दुग्धजन्य पसलहरू भने बिहान १० बजेसम्म खोल्न पाइने छ । निषेधाज्ञाको उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ अनुसार एक महिनासम्म कैद वा १ सय रुपियाँ जरिवाना गरिने समेत प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो ।
काठमाडौँ प्रतिनिधि विमला पौडेलका अनुसार कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले व्यापार व्यवसाय लगायत केही गतिविधिमा रोक लगाएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले साउन ३० गते एक आदेश जारी गर्दै सङ्क्रमणको जोखिम बढे पनि भिडभाड गर्ने, भेला हुने, जुलुस गर्ने लगायतका क्रियाकलाप हुन थालेकोले भेला भएर गरिने क्रियाकलापहरूमा रोक लगाइएको हो । 'काठमाडौँ उपत्यकामा कोभिड-१९ को सङ्क्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड-१९ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने गराउन सन्दर्भमा साउन ३० गते राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि काठमाडौँ जिल्लाभरि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम अत्यावश्यक बाहेकका गतिविधिहरू गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दाहालाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यसैबीच, दक्षिणकाली नगरपालिकामा साउन ३० गतेदेखि भदौ ८ गतेसम्म नगरपालिका क्षेत्रभित्र बाहिरी जिल्लाहरूबाट आउजाउ गर्नेहरूको सङ्ख्या बढ्दै गएपछि कोरोना सङ्क्रमण नियन्त्रण गर्न लकडाउन गर्ने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता अम्रिका बलामीले बताउनु भयो । साउन ३० गते बसेको नगरस्तरीय समन्वय समितिको बैठकले लकडाउन गर्ने निर्णय गरेको उहाँले बताउनु भयो ।
गण्डकी प्रदेश
गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार ट्राभल हिस्ट्री नभएकी ३२ वर्षीय एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि पालुङटार नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । उपचारका लागि चितवन पुगेकी एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको मेयर दिपकबाबु कँडेलले बताउनु भयो । साउन ३१ गते बसेको सरोकारवालाको बैठकले भदौ ७ गते सम्मका लागि स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अति आवश्यक सेवामा खटिने कर्मचारीहरू, एम्बुलेन्स, औषधि, खाद्यान्न, तरकारी बाहेकका अन्य सबै कार्यालय, उद्योग, व्यवसाय, बैङ्क तथा वित्तिय संस्था, मेला जात्रा र आवतजावात बन्द गरिएको कँडेलले बताउनु भयो । अति आवश्यक खाद्यान्न र तरकारी पसलहरू बिहान ६ बजे देखि १० बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म भौतिक दूरी कायम राखी खोल्न पाइने नगरपालिकाले जनाएको छ ।
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार बागलुङको बडिगाड गाउँपालिकाले साउन ३१ गते रातिदेखि अनिश्चितकालका लागि गाउँपालिका सिल गरेको छ । वडा नम्बर ६ का वडाध्यक्षमा कोरोना सङक्रमण पुष्टि भएपछि गाउँपालिका सिल गर्ने निर्णय गरिएको स्वास्थ्य शाखा प्रमुख चुडामणि कँडेलले बताउनु भयो । त्यसैगरी, साउन ३१ गते जिल्ला समन्वय समिति बागलुङका प्रमुखलाई पनि कोरोना सङ्क्रमण पुष्टी भएको छ ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार जिल्ला भित्र साउन ३१ गतेदेखि कोरोना रोकथाम तथा व्यवस्थापन समितिले अनिवार्य मास्कको अभियान सञ्चालन गरेको छ । मास्क प्रयोग नगर्नेलाई तत्कालै जरिवाना गर्ने अभियान चलाएको डिएसपी विश्वराज अधिकारीले बताउनु भयो । जिल्ला भित्र व्यवसाय सञ्चालन गरेका व्यवसायीहरूलाई पनि अनिवार्य स्वास्थ्य सतर्कता अपनाएर व्यवसाय गर्न सुझाव दिइएको पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्माले बताउनु भयो ।
प्रदेश ५
रूपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिका-७ का ४० वर्षीय पुरुषको साउन ३१ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको धागो काराखानस्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतकलाई ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वास-प्रश्वासमा समस्या देखिएपछि साउन २९ गतेदेखि कोरोना विशेष अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको थियो । उपचारका क्रममा साउन ३१ गते बिहान ८ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डाक्टर विष्णु गौतमले बताउनु भयो । मृतक तीन महिना अघि भारतबाट आएको र सुरुमा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएपनि जिन एक्र्सपर्ट गरेर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको र पुनः गरिएको पीसीआर परीक्षणमा पनि पोजेटिभ आएको डाक्टर गौतमले बताउनु भयो । मृतक उपचारका लागि अस्पताल आउँदा फोक्सोमा सङ्क्रमण देखिएको र अवस्था गम्भीर भएर उपचारकै क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले बताउनु भयो ।
कर्णाली प्रदेश
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार कर्णाली प्रदेशमा बढ्दो कोरोना भाइरस सङ्क्रमणलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रदेश सरकारले आइसोलेशन बेड बढाउनुको साथै स्वाब परीक्षणको दायरा बढाउन एक्सट्रयाक्सन मेसिन जडान गर्ने तयारी गरेको छ । प्रदेश सरकारले सङ्घीय सरकारको सहयोगमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश सरकारकै लगानीमा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा एक्स्ट्रयाक्सन मेसिन जडान गर्न लागेको सामाजिक विकास मन्त्री दल रावलले बताउनु भयो । मन्त्री रावलका अनुसार एक्स्ट्रयाक्सन मेसिनबाट दैनिक १ हजार जनाको स्वाब परीक्षण गर्नुको साथै ३५ मिनेटमै परीक्षणको नतिजा दिन सकिन्छ । मन्त्री रावलले यसै साता भित्र दुवै स्थानमा एक्सट्रयाक्सन मेसिन जडान गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको बताउनु भयो । यसैबीच कर्णाली प्रदेश सङ्कट व्यवस्थापन केन्द्रले प्रदेशमा बढ्दो कोरोना जेखिमलाई कम गर्न सिमा नाकामा कडाई गर्नुको साथै प्रदेश प्रवेशमा अनिवार्य रूपमा तीन दिन अघिको पीसीआर रिपोर्ट पेश गर्नु पर्ने निर्णय गरेको छ । व्यवस्थापन केन्द्रका अध्यक्ष एवम् कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा साउन २९ गते बसेको बैठकले यो सहित कालिकोट, दैलेख र सल्यान जिल्लामा आइसियु कक्ष र भेन्टिलेटर थप गर्ने निर्णय समेत गरेको छ । यस्तै, सामाजिक विकास मन्त्रालयले भारत तथा विदेशबाट आएका नागरिकहरूलाई सीमा नाकामा रोकी सात दिनसम्म क्वारेटाइनमा राखेर स्वाब परिक्षणपछि मात्र घरमा जाने व्यवस्था मिलाउने र पर्यटकीय क्षेत्रमा घुमफिर तथा प्रदेश राजधानी वीरेन्द्रनगर लगायत अन्य जिल्लाका सदरमुकाम र बजार क्षेत्रका होटेल रेष्टुरेन्ट भदौ १ गतेदेखि पूर्णरूपमा बन्द गर्ने व्यवस्थापन केन्द्रले निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…
निःशुल्क डाइलासिस सेवाको पालो नपाउँदा बिरामी मर्कामा ! (फोटो फिचर)
सरकारले मृगौला रोगका बिरामीलाई निःशुल्क डाइलासिस गर्ने व्यवस्थापन गरेपनि पर्याप्त मात्रामा स्रोत, साधन र जनशक्तिको अभावले बिरामीले निःशुल्क सेवा पाउनबाट वञ्चित हुँदा बिरामी मर्कामा परेका छन् । गुलरिया नगरपालिका–१२, लालपुरका…
हत्या घटनाका आरोपितविरुद्ध उजुरी
धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार की २८ वर्षीया लक्ष्मीनिया देवी मण्डलको हत्या गरेको आरोपमा ०८१ कात्तिक १५ गते मटिहानी नगरपालिका-५ का २२ वर्षीय राकेश नायक र निजका पत्नी २५ वर्षीया रीनादेवी…