कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन ३० गते)
कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको छ । साउन ३० गते ५ सय ९४ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार ५ सय ५१ जना पुगेको छ । जसमध्ये ९९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा ७७ जना पुरुष र २२ जना महिला रहेका छन् । कोरोना सङ्क्रमणका कारण भएको पहिलो मृत्यु सिन्धुपाल्चोककी सुत्केरीको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन ३० गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १७ हजार ७७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन ३० गते २ सय ४० जना डिस्चार्ज भएका छन् भने निको दर ६६.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ८ हजार ३ सय ७५ जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार कोरोना सङ्क्रमितका लागि ९ सय ४२ आइसियू र ४ सय ९६ भेण्टिलेटर रहेका छन् ।
प्रदेश २
प्रदेश २ मा साउन ३० गते सम्ममा ७ हजार २ सय ९० जना कोरोना सङ्क्रमित पुगेकोमा ३ हजार ४ सय ९७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल ३ हजार ७ सय ४९ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन ३० गते सम्ममा ४४ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्लामा आवत-जावतका लागि सञ्चालनमा रहेको एक मात्र प्रवेश विन्दु कुनौली नाका साउन ३० गते राति १२ बजेदेखि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय, सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी दिनु भयो । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल र सो मातहत रहेको आइसोलेशन केन्द्रमा स्वास्थ्यकर्मी अभाव भएकाले १८ ओटै स्थानीय तहले एक-एक जना स्वास्थ्यकर्मी उपलब्ध गराउन सहमत भएको उहाँले बताउनु भयो । सप्तरीका ६४ वर्षीय सांसदको साउन ३० गते प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ । बाल रोग विशेषज्ञ डाक्टर समेत रहनु भएको उहाँ निजी क्लिनिक सञ्चालन गर्दै आउनु भएको छ ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढेको भन्दै अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरू साउन ३० गतेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।
सर्लाही प्रतिनिधि बुधन साहका अनुसार समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि १५ दिनका लागि हरिवन नगरपालिका सिल गरिएको छ । हरिवन नगरपालिका भित्रमा साउन २६ गते ४ सय ११ जनाको स्वाब परीक्षण गर्दा २२ जना स्थानीयमा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएपछि साउन ३० गतेदेखि १५ दिनका लागि हरिवन नगर क्षेत्र पूर्ण रूपले सील गरिएको हरिवन नगरपालिकाका नगर प्रमुख गणेशप्रसाद प्रसाईंले बताउनु भएको छ । त्यसै गरी, कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि लालबन्दी नगरपालिकाको लालबन्दी नगर क्षेत्रभित्र पनि साउन ३० गतेदेखि सील गरिएको लालबन्दी नगरपालिकाका नगर प्रमुख मानबहादुर खड्काले बताउनु भएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा साउन ३० गते काठमाडौँमा ८३, ललितपुरमा ३०, सिन्धुलीमा ११, मकवानपुरमा ७, भक्तपुरमा ६, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक र दोलखामा एक/एक जना गरी १ सय ५५ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या २ हजार ५ सय १८ जना पुगेको छ । जसमध्ये ६ सय ३८ जना उपचारपछि घर फर्किएका छन् भने १ हजार ८ सय ६३ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण हुनेको सङ्ख्या १७ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोतमराज सेढाईँले बताउनु भयो ।
चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार भरतपुर क्यान्सर अस्पतालमा कार्यरत एक जना नर्समा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा साउन ३० गतेसम्म १४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । रत्ननगर बकुलहर अस्पतालका मेसु डाक्टर विश्ववन्धु बगालेले आफू र पत्नी पनि कोरोना पोजेटिभ भएपछि घरमै आइसोलेशनमा रहे पनि सङ्क्रमितको घर हो भनी सूचना टाँस्न भरतपुर महानगरपालिका-४ का टोलवासी घरमा आइपुगेको बताउनु भयो । सुरक्षित तरिकाले बसेको अवस्थामा स्वास्थ्यकर्मीलाई निरुत्साहित पार्ने उद्देश्यले टोलवासीबाट भएको काम खेदजनक रहेको नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष लोकबहादुर सेढाईले बताउनु भयो । यसैगरी अन्य स्वास्थ्यकर्मीहरू माथि पनि दुर्व्यवहार भएको छ । अस्पतालमा कार्यरत डाक्टरमा कोरोना देखिएपछि केही स्वास्थ्यकर्मीलाई घरधनीले दुर्व्यवहार गरेका छन् । घरधनीले कोठाबाट निकालिदिएपछि केही स्वास्थ्यकर्मी होटलमा बसेको अस्पतालका मेसु डा. विश्वबन्धु बगालेले बताउनु भयो । कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दो क्रममा रहेपछि साउन ३० बसेको सर्वपक्षीय बैठकले उपचारमा नयाँ व्यवस्था गर्ने निर्णय गरेको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले बतानु भयो । सिरियस अवस्थाका सङ्क्रमितको उपचार भरतपुर अस्पताल र दुई मेडिकल कलेजमा गर्ने निर्णय भएको छ । यसका लागि जिल्लामा कूल ३ सय बेड आइसोलेशन तयार गर्ने निर्णय भएको छ । यसैबीच, कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि साउन ३१ गतेदेखि भरतपुर महानगरपालिकाभित्र एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको भरतपुर महानगर प्रमुख रेनु दाहालले बताउनु भयो । महानगरपालिकाका मेयर रेणु दाहाल, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, जिल्ला प्रहरी प्रमुख नान्तीराज गुरुङ, चितवन उद्योग वाणिज्य सङ्घ, यातायात व्यवसायीलगायत सरोकारवाला निकायका प्रमुखहरूबीच भरतपुर महानगरपालिकामा भएको छलफलबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार विदुर नगरपालिका-९ मा स्थानीय प्रशासनले शिल गरे पनि स्थानीयले अवज्ञा गरेको गुनासो आएपछि विदुर नगरपालिकाले साउन ३० गतेबाट ६ दिनका लागि औषधी पसल बाहेक अरू कुनै पनि पसलहरू सञ्चालन गर्न नदिने निर्णय गरेको छ । नगरपालिकाले कोही कसैलाई खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु आवश्यक परेमा वडा कार्यालयसँग समन्वय गरी स्वास्थ्य मापदण्ड पूरा गराएर उपलब्ध गराइने निर्णय भएको विदुर नगरपालिकाका मेयर सन्जु पण्डितले बताउनु भयो । पञ्चकन्या गाउँपालिकाले पीसीआर रिपोर्टमा कोरोना नेगेटिभ आएकोलाई मात्र गाउँपालिका भित्र प्रवेश दिने भएको छ । साउन ३० गते सूचना जारी गर्दै समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिन नदिनका लागि भन्दै पछिल्लो तीन दिनभित्रको पीसीआर रिपोर्टमा नेगेटिभ आएकालाई मात्र प्रवेश दिइने उल्लेख गरिएको छ । यस गाउँपालिकामा हालसम्म चार जना सङ्क्रमित भएकोमा तीन जना निको भइसकेका छन् भने एक जना खरानीटार अस्पतालको आइसोलेशनमा रहेको प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले बताउनु भयो ।
सिन्धुपाल्चोक प्रतिनिधि नातिबावु धितालका अनुसार कोरोना भाइरस समुदायसम्म फैलन नपाओस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालयबाट दिईदै आएको अत्यावश्यक सेवा बाहेक अरू सेवा साउन ३० गतेबाट बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै नयाँ नागरिकताको प्रमाणपत्र, नागरिकताको प्रतिलिपि, पासपोर्ट, संस्था दर्ता, संस्था नविकरण, पत्रपत्रिका दर्ता लगाएका सेवा बन्द गरिएको तथा शान्ति सुरक्षा र प्राकृतिक प्रकोपसम्बन्धी काम भने सुचारु हुने सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताउनु भयो ।
गण्डकी प्रदेश
म्याग्दी प्रतिनिधि अमृत बास्कुनेका अनुसार म्याग्दीमा विदेशबाट आउने नागरिकहरूलाई मात्र नभएर अन्य जिल्लाबाट आएकालाई पनि क्वारेन्टाइनमा राख्ने विषयमा सीसीएमसीको बैठकमा छलफल भएको सीसीएमसीका सदस्य सुरत केसीले बताउनु भयो । अनावश्यक आवत जावतलाई निरुत्साहित गर्ने र सुरक्षा चेकजाँचमा कडाइ गर्ने विषयमा पनि सीसीएमसीको बैठकमा छलफल भएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताउनु भयो । साउन ३० गतेसम्म जिल्लामा ४८ जनामा कोरोना सङ्क्रमण भएकोमा सबै जना निको भएका छन् भने म्याग्दी कोरोना सङ्क्रमण मुक्त भएको छ । त्यस्तै मुस्ताङ जिल्ला पनि कोरोना सङ्क्रमण मुक्त भएको छ ।
पर्वत प्रतिनिधि सन्तोष थापाका अनुसार कुश्मा नगरपालिका-१४ आर्थरमा लकडाउनमा वितरण गर्न भनी आएको राहत दाल, चामल, तेल वितरण नै नगरी कुहिएको छ । राहतका लागि पठाइएको २५ बोरा चामल र अन्य खाद्यान्न वितरण नै नगरी कुहिएको स्थानीय रुद्रमोहन रिमालले बताउनु भयो । कुश्मा नगरपालिकाले लकडाउनका कारण खाद्य सङ्कट परेकाहरूलाई दाल, चामल, तेल लगायतका खाद्यान्न वितरण गर्ने गरी राहत कोषमा जम्मा भएको रकम मार्फत प्रति वडालाई ४ लाख रुपियाँ पठाइएको थियो । सो रकमबाट खरिद गरिएको राहत सामग्रीहरू कुहिएको हो । आर्थरको पञ्चकोशी माविमा राखिएको राहत कुहिएर गयो तर लकडाउनको समस्यामा परेकाहरूले भने राहत नपाएको स्थानीयको गुनासो छ । नगरपालिकालाई प्रत्येक वडाले उपलब्ध गराएको तथ्याङ्क अनुसार प्रति वडा ४ लाख रुपियाँ बराबरको राहत सामग्री पठाइएको तर वडाले के कसरी वितरण गरेका छन् भन्नेबारे कुनै जानकारी नआएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले वडामा पठाएको राहत सामग्रीको जिम्मा वडा कार्यालयले नै लिएको बताउनु भयो ।
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार भानु नगरपालिकाको एउटै वडामा २० जना सर्वसाधारणलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि छिमेकी बन्दिपुर गाउँपालिका बन्द गरिएको छ । गाउँ कार्यपालिकाले साउन ३० गते सूचना प्रकाशन गरी एक साताका लागि गाउँपालिका भित्र अत्यावश्यक बाहेक सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको हो । गाउँ कार्यपालिकाको कोभिड-१९ जोखिम, बन्दाबन्दी र न्यूनिकरण सम्बन्धमा बसेको बैठकले भदौ ५ गतेसम्म एक साताका लागि अत्यावश्यक स्वास्थ्य सेवा, सञ्चार, दुग्ध उत्पादक, दाना तथा तरकारी बाहेक सबै सेवाहरू पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनु भयो । यसैबीच, साउन २९ गतेदेखि तनहुँको भानु नगरपालिका र देवघाट गाउँपालिकामा पनि एक साताका लागि लकडाउन गरिएको छ ।
प्रदेश ५
रूपन्देही प्रतिनिधि रीमा बिसीका अनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा कोभिड-१९ को द्रुत परीक्षण सेवा साउन ३० गतेदेखि सुरु भएको छ । आकस्मिक उपचारमा आउने बिरामीहरूलाई लक्षित गरी सो सेवा सुरु गरिएको अस्पतालले जनाएको छ । प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले साउन ३० गते मेशिनबाट आफ्नै स्वाब परीक्षण गरी सेवाको उद्घाटन गर्नु भएको थियो । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका अन्य बिरामीको उपचार सहज हुने र चिकित्सकहरूमा कोरोना सङ्क्रमणको जोखिम न्यूनिकरणमा सहयोग मिल्ने मन्त्री बरालले बताउनु भयो । नेपाल सरकार राष्ट्रिय क्षयरोग कार्यक्रम अन्तर्गत उपलब्ध जिन एक्र्सपर्ट मेसिनलाई अपडेट गरी अस्पतालमा एक्र्सपर्ट एक्सप्रेस सार्स कोभ टु परीक्षण सेवा सुरु गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डाक्टर राजेन्द्र खनालले बताउनु भयो । डाक्टर खनालका अनुसार यस मेसिनबाट कोभिड- १९ को परीक्षणको नतिजा पोजिटिभ भए ३० मिनेट र नेगेटिभ भए ४५ मिनेटमा आउने छ । अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले अस्पतालमा पहिले नै उपलब्ध ल्याबको सेवालाई बिस्तार गरिएको बताउनु भयो । उहाँले क्षयरोगीहरूको परीक्षण हुँदै आएको जिन एक्र्सपर्ट मेसिनको कार्टेजसँगै बायोसेफ्टी क्याबिनेट थप गरी कोभिड-१९ को परीक्षण सुरु गरिएको बताउनु भयो ।
कर्णाली प्रदेश
सुर्खेत प्रतिनिधि दुर्गा थापाका अनुसार वीरेन्द्रनगर नगरपालिकामा तीब्र रूपमा बढ्दै गएको कोरोना सङ्क्रमणको जोखिमलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले भदौ १ गतेदेखि लागु हुने गरी पाँचदिनसम्म वीरेन्द्रनगर नगरपालिका भित्र निशेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा जिल्ला कोभिड-१९ सङ्कट केन्द्र र जिल्ला सुरक्षा समितिको साउन २९ गते बसेको छुट्टाछुट्टै बैठकको निर्णयअनुसार वीरेन्द्रनगर नगरपालिकामा निशेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनु भयो । निशेधाज्ञा जारी गरिएको क्षेत्रमा स्वास्थ्य, सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, दुध, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी पसल तथा फोहरमैला व्यवस्थापन गर्ने कार्य सञ्चालन हुने, मृत्यु दाह संस्कारमा बढीमा १५ जना सहभागी हुने र धार्मिक सामाजिक तथा साँस्कृतिक लगायतको कुनै पनि प्रकारको जमघट तथा भेला गर्न नपाइने सहायक प्रजिअ पौडेलले जानकारी दिनुभयो ।
जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कोरोना भाइरस रोकथामका लागि पातारासी गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । गाउँपालिकामा पीसीआर परीक्षण गर्दा २३ वर्षीय पुरुष सवारी चालकमा कोरोना पोजेटिभ देखिएपछि अनिश्चित कालका लागि साउन ३० गते बिहान ६ बजेदेखि निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भयो । हाल आठ जना व्यक्ति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलशनमा रहेका छन् । औषधी पसल र स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण क्रियाकलापहरू बन्द गर्न प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा जारी सूचनामा उल्लेख छ । पछिल्लो समयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला कोभिड नियन्त्रण कमाण्ड समितिको समन्वयमा भिडभाड बढी हुने क्षेत्रहरूमा नमूनाको रूपमा पीसीआर परीक्षण गरिदै आइएको छ ।
सुदूरपश्चिम प्रदेश
डोटी प्रतिनिधि बासुदेव जोशीका अनुसार जिल्लामा कोरोना सङ्क्रमण वृद्धि भएको भन्दै जिल्ला प्रशासन कार्यालय, डोटीले साउन ३० गतेदेखि सवारी पास वितरण बन्द गरेको छ । एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि वितरण गर्दै आएको सवारी पास साउन ३० गतेदेखि लागु हुनेगरी अर्को व्यवस्था नभएसम्मका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताउनु भयो । गृह मन्त्रालयले साउन २९ गते सूचना जारी गरी एक जिल्लाबाट अर्को जिल्ला प्रवेसका लागि दिने गरिएको सबै प्रकारका पास खारेज गर्ने निर्देशन दियो । त्यसको कार्यान्वयनका लागि बन्द गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बाढीपहिरोका कारण पनौतीमा धेरै क्षति (फोटो फिचर)
पनौती नगरपालिकाले आफ्नो नगरपालिकामा बाढी–पहिरोका कारण जनजीवन विकराल अवस्थामा पुगेको बताउँदै सहयोगको अपिल गरेको छ । नगर प्रमुख रामशरण भण्डारीले विज्ञप्ति जारी गर्दै सहयोगको अपिल गर्नु भएको हो । पनौती…
कोशी प्रदेशमा मनसुनजन्य विपदका कारण चार अर्ब बढीको नोक्सान, १८ ओटा सामुदायिक विद्यालय भवनमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा वडाध्यक्षका लागि उपनिर्वाचन हुने
सिरिजङ्गा गाउँपालिका-३ सिकैचामा वडाध्यक्षका लागि ०८१ मङ्सिर १६ गते नै उपनिर्वाचन हुने भएको छ । बैदेशिक रोजगारीमा जानु भएका सिकैचाका वडाध्यक्ष दिलप्रसाद बोखिमले स्थानीयको दबाबपछि हङकङबाटै राजीनामा पत्र पठाएपछि सिकैचामा…
आर्थिक अभावले उपचार नपाएका बोहराको चार वर्षदेखि गोठमा बास
घरको आर्थिक अवस्था निकै कमजोर भएर उपचार हुन नसकेका सिमकोट गाउँपालिका–२, ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा विगत चार वर्षदेखि गोठमा बस्न बाध्य हुनुभएको छ । आँखा नदेख्ने र हिँड्डुल…
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण कारागार व्यवस्थापनमा समस्या उत्पन्न भइ कैदीबन्दीले समस्या भोग्नु परेको छ । कारागारमा कैदीबन्दीका लागि आवश्यक पर्ने…