कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख ५ गते)
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख ५ गते उदयपुरमा १२ जना र चितवनमा दुई जनामा कोरोना सङ्क्रमण देखिएको जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या ३० पुगेको छ । ति मध्ये दुई जनालाई निको भइसकेको र २८ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । वैशाख ५ गते भेटिएका सङ्क्रमितमा उदयपुर जिल्लाका १२ जना पुरुष र चितवनका एक जना पुरुष र एक जना महिला रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर विधिबाट ७ हजार ६ सय ८८ र आरडीटी विधिबाट १६ हजार ५ सय ६५ गरी २४ हजार २ सय ५३ जनाको कोरोना परीक्षण गरेको जनाएको छ । गत २४ घण्टामा ४ हजार ८ सय २२ जनाको परीक्षण गरिएको छ । आरडीटी विधिबाट सोलुखुम्बु र डोल्पाबाहेकका ७५ ओटै जिल्लामा परीक्षण सुरू भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट १६ जनामा कोरोना सङ्क्रमण देखिएकोमा एक जना निको भएर घर गएका छन् भने १५ जनाको उपचार भइरहेको छ । कैलालीमा पाँच, पर्सामा चार, बागलुङमा दुई, ललितपुरमा दुई र काठमाडौँमा दुई जनाको उपचार भइरहेको छ । मन्त्रालयले देशभरी ४ हजार ६ सय ७ जना क्यारेण्टाइन र ९० जना आइसोलेशनमा रहेको जनाएको छ ।
सरकारले कोरोनाभाइरस (कोभिड-१९) रोकथाम र नियन्त्रणमा खटिने ३४ जना आवसीय चिकित्सकलाई सुदूरपश्चिम प्रदेश पठाएको छ। वैशाख ५ गते जहाज चाटर्ड गरेर स्वास्थ्य मन्त्रालयले चिकित्सकलाई धनगढी पठाएको हो । मन्त्रालयका सल्लाहकार डा. खेम कार्कीले सरकारी छात्रवृत्तिमा पढिरहेका आवसीय चिकित्सकलाई सुदूरपश्चिमका विभिन्न ठाउँमा खटिनको लागि पठाइएको बताउनु भयो । सरकारले यसअघि नै छात्रवृत्तिमा पढेका स्वास्थ्यकर्मीलाई कोरोना उपचार र रोकथाममा खटाउने निर्णय गरेको थियो। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले ३३ जनामध्ये १३ जना चिकित्सकलाई सेती प्रादेशिक अस्पताल र बाँकीलाई प्रदेशका अन्य जिल्लामा खटाइने जानकारी दिनु भयो । मन्त्री सुवेदीले अछाम, बैतडी, डडेलधुरा र दार्जुलामा तीनतीन जना र कैलालीको टीकापुर र बझाङ जिल्ला अस्पतालमा दुई-दुई जना चिकित्सक पठाइने बताउनु भयो । चार जना चिकित्सकलाई भने कञ्चनपुरको महेन्द्रनगर खटाउने प्रदेशको तयारी छ ।
सर्वोच्च अदालतले पैदल हिँडेर घरतर्फ जाँदै गरेका सर्वसाधारणलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन आदेश दिएको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको वैशाख ५ गतेको इजलासले सुरक्षाको उपाय अबलम्वन गर्दै अत्यन्त प्राथमिकताका साथ राजमार्गमा सवारी साधनको व्यवस्था गरी निशुल्क रूपमा गन्तव्यमा पुर्याउन आदेश दिएको हो । आदेशमा भनिएको छ-'यी वर्गको तथा समूहको व्यक्ति र वृहत समाजको हितलाई समेत ध्यानमा राखी स्थानीय रूपमा हाल परिचालित स्वास्थ्य परीक्षणसम्बन्धी जनशक्तिको मोवाइल समूहहरूलाई परिचालन गरी उनीहरूको र्यापीड टेष्ट गर्दै सुरक्षाको लागि अपनाउनुपर्ने सबै आवश्यक उपायहरू अवलम्वन गर्दै अत्यन्त प्राथमिकताको साथ उनीहरूलाई सरकारको कार्यमा आस्वस्थ हुने गरी अविलम्ब सबै राजमार्गहरूबाट सवारी साधनहरूको निशुल्क व्यवस्था गरी उनीहरूको गन्तव्य स्थानमा पुर्याइदिनू ।'
प्रदेश १
प्रदेश १ मा वैशाख ५ गते १२ जनामा कोरोना सङ्क्रमण भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेको छ । उदयपुरमा १२ जना पुरुषको परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । कोराना सङ्क्रमण पुष्टि हुनेमा ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षीय पुरुष रहेका छन् । वैशाख २ गते त्रियुगा नगरपालिका-३ भुल्के मस्जिदमा बसेका १२ जना भारतीय नागरिकसहित १६ जना मुसलमान भेटिएका थिए । मस्जिदमा रहेका १२ जनासँग भारतीय परिचयपत्र भएको र अन्य चार जना नेपाली भएको पाइएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताउनु भयो । प्रदेश १ मा वैशाख ५ गतेसम्म ६७ जना महिला र २ सय ८८ जना पुरुषसहित ३ सय ५५ जनाको स्वाब परीक्षण गरिएको छ । स्वाब परीक्षण गरिएका मध्ये ५९ जना महिला र २ सय ४४ पुरुष गरी २ सय ९५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । ६० जनाको रिपोर्ट आउन बाँकी रहेको छ । वैशाख ५ गतेसम्म प्रदेश १ मा ६२ जना महिला र ५ सय ३३ पुरुषसहित ५ सय ९५ जनालाई क्वारेण्टाइनमा राखिएको छ । क्वारेण्टाइनमा बसेका १३ जना महिला र ४९ जना पुरुष गरी ६२ जना डिस्चार्ज भएका छन् । होम क्वारेण्टाइनमा ४ हजार १९ जना बसेका छन् । प्रदेशभरी ६ सय ८१ जना महिला र ३ हजार ३ सय ३८ जना पुरुष होमक्वारेण्टाइनमा बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
प्रदेश १ मा वैशाख ५ गतेसम्म ६ सय ८३ थान व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) वितरण गरिएको छ ।
सुनसरी जिल्ला हरिनगर गाँउपालिकामा रहेको एक मस्जिदबाट वैशाख ५ गते जिल्ला प्रहरी कार्यालय इनरूवाले ६ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सुनसरी प्रशासनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा रहेका सबै मस्जिद खाली गराउने निर्णय पछि प्रहरीले गरेको खोजविनका क्रममा घुस्की मस्जिदमा आश्रय लिएर बसेका ६ जना विदेशी नागरिक फेला परेका हुन । कवरत मस्जिदमा आश्रय लिन आएका मुस्लिम धर्मगुरू जमातीहरूलाई नियन्त्रणमा लिएर कोरोना सङ्क्रमण भए नभएको आवश्यक परीक्षण गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य परीक्षण पश्चात सबै जनालाई भुटाहा जेनरल अस्पतालमा रहेको क्वारेण्टाइनमा राखिएको प्रहरीले जनाएको छ । सुनसरी प्रशासनले मस्जिद खाली गराएपछि विभिन्न मस्जिदमा रहेका ३६ जना भारतीय र सात जना पाकिस्तानी नागरिकसहित ५५ जना विदेशी जमातीहरूलाई इटहरीको जनता क्याम्पसमा निर्माण गरिएको क्वारेण्टाइनमा राखिएको छ ।
प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
प्रदेश २
प्रदेश २ मा वैशाख ५ गतेसम्म ५ सय ४५ जनाको स्वाब सङ्कलन गरिएकोमा हालसम्म ५ सय ८ जनाको रिपोर्ट आएको छ । जसमध्ये ५ सय ४ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ भने चार जनाको रिपोर्ट पोजेटिभ देखिएको छ । ३७ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
प्रदेशको आठ ओटै जिल्लामा वैशाख ५ गतेसम्म ९ सय ६ जनाको र्यापीड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटबाट परीक्षण गरिएकोमा ९ सय ४ जनाको नेगेटिभ आएको छ भने दुई जनाको पोजेटिभ देखाएको छ । सप्तरीका दुई जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपनि पिसिआर प्रविधिबाट गरिएको स्वाब परीक्षण रिपोर्ट भने नेगेटिभ आएको प्रदेश २ सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
हालसम्म आठ ओटै जिल्लाको १ सय ६२ वटा क्वारेण्टाइनमा १ हजार ४७ जना छन् भने चिकित्सकको सल्लाह अनुसार १ हजार ६ सय ८३ जनालाई होम क्वारेण्टाइनमा राखिएको छ ।
प्रदेश २ अन्तर्गतका सिरहामा ६, धनुषामा दुई, बारामा दुई र पर्सामा चार गरी १४ जनालाई आइसोलेशन वार्डमा राखिएको छ । प्रदेशमा आइसोलेशन बेड क्षमता २ सय २० रहेको छ ।
प्रदेश नं. २ मा ६ ओटा सरकारी अस्पताललाई स्तरोन्नति गरी ५०-५० बेडको कोभिड उपचारयुक्त अस्पतालमा स्तरोन्नति गर्न लागेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । महोत्तरीको जलेश्वर अस्पताल, पर्साको पोखरिया, सप्तरीको भारदह, धनुषाको डुमरिया, बाराको कलैया अस्पताल र जनकपुरको प्रादेशिक अस्पताल कै परिसरमा रहेको नर्सिङ कलेजमा कोभिड अस्पताल बनाउन लागेको हो ।
प्रदेश २ समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले मन्त्रालयले सरकारी अस्पतालहरूलाई कोभिड विशेष उपचार केन्द्रमा परिणत गर्न जलेश्वर अस्पताललाई ८ करोड, कलैया अस्पताललाई ७ करोड, सिरहा अस्पताललाई ८ करोड, प्रादेशिक अस्पताल जनकपुरलाई २२ करोड रूपैयाँ उपलब्ध गराएको बताउनुभयो । उहाँले अरू अस्पतालहरू रकम माग गर्ने क्रममा रहेको बताउनु भयो । घिमिरेका अनुसार अस्पताललाई आवश्यक सामान खरिदको सबै प्रक्रिया मिले पनि लकडाउनले जहाज र कार्गो नचल्दा समयमै स्वास्थ्य उपकरण ल्याउन मुस्किल भइरहेको छ । उहाँले भन्नुभयो, 'अहिले नेपालमै उपलब्ध समान जुटाएर काम चलाइँदै छ ।'
पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीको अध्यक्षतामा वैशाख ५ गते बसेको बैठकले आपूर्ति व्यवस्था सहज गर्न अत्यावश्यक बस्तुहरू खाद्य, किराना, पानी, ग्याँसको विक्री वितरणका पसलहरू बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खुला राख्ने निर्णय गरेको छ । औषधी पसल भने २४ घण्टा खुला रहनेछ । खुला स्थानमा तरकारी र फलफूलको विक्री वितरणलाई भने रोक लगाएको छ भने होम डेलिभरी गर्न दिने निर्णय गरेको छ ।
सर्लाही जिल्ला रामनगर गाउँपालिकामा लकडाउनबाट प्रभावित वास्तविक परिवारहरूको नाम छुटाएको भन्दै स्थानीयहरू आक्रोशित भएर ढुङ्गामुढा गरेका छन् । ढुङ्गामुढा गर्नेलाई सार्वजनिक मुद्दा नलगाएसम्म राहत वितरण कार्यक्रम अनिश्चितकालका लागि बन्द गरिएको गाउँपालिका प्रमुख कृष्ण बर्माले बताउनु भएको छ ।
गौरमा वैशाख ५ गते लकडाउनको बेला बाहिर बसेका व्यक्तिहरूलाई भित्र जाउ भनेर सम्झाउन खोज्दा प्रहरी माथि नै आक्रमण भएपछि रौतहट प्रहरीले बल प्रयोग गरेको प्रहरी उपरीक्षक रविराज खड्काले बताउनु भयो । उपरीक्षक खड्काका अनुसार गस्तीमा गएका प्रहरीमाथि स्थानीयले आक्रमण गर्दा प्रहरी हवल्दार महेश खङ घाइते भए । घाइते खङको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको छ । प्रहरीले गौर नगरापलिका-३ का २२ वर्षीय विवेक यादव, सोही ठाउँका २६ वर्षीय राहुल यादव, २९ वर्षीय राजीव यादव र ३० वर्षीय अभिषेक यादवलाई नियन्त्रणमा लिएको छ ।
प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
बागमती प्रदेश
चितवनको भरतपुर अस्पतालको आइसोलेशनमा रहेका दुई जनामा पीसीआर रिपोर्ट पोजेटिभ भेटिएपछि थप एकिन गर्न काठमाडौँ पठाइएको अस्पतालका सूचना अधिकरी लिलाधर पौडेलले बताउनु भयो । स्वास्थ्य मन्त्रालयले चितवनका दुई जनामा कोरोना सङ्क्रमण देखिएको पुष्टि गरेको छ ।
बागमती प्रदेशमा अलपत्र परेका व्यक्तिहरूको उचित व्यवस्थापनका लागि आवश्यकता अनुसार काम गर्न, जिल्लामा भएका एम्बुलेन्सलाई कमाण्ड पोष्टमार्फत व्यवस्थापन गरी सञ्चालन गर्न, एम्बुलेन्स सञ्चालन गर्न अटेर गर्ने संस्था र चालकलाई कारवाही गर्न प्रदेश सरकारले निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
गण्डकी प्रदेश
कास्कीको मादी गाउँपालिका-८ नागिधारमा खानेपानी आयोजनाको काम गर्ने ६ जना मजदुर पोखरामा अलपत्र परेका छन् । वैशाख ४ गते बिहान ५ बजे नागिधारबाट घर जान भनी हिँडेका उनीहरूलाई पोखरा मनपा-१७ विरौटामा प्रहरीले रोकेपछि अलपत्र परेका हुन् । गण्डकी प्रदेश सरकारले मजदुरहरूलाई आफू बसिरहेको ठाउँ नछोड्न निर्देशन गरेता पनि उनीहरूको उचित व्यवस्थापन हुन सकिरहेको छैन । गण्डकी प्रदेशका प्रवक्ता रामशरण बस्नेतले उनीहरूको व्यबस्थापनको तयारी भैरहेको जानकारी दिनुभयो । उहाँका अनुसार मजदुरहरूलाई कार्यक्षेत्रमै फर्काएर उचित व्यवस्थापन गरिनेछ । त्यसका लागि स्थानीय तहसँग समन्वय भइरहेको उहाँको भनाइ छ । शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्कीले राज्यका तर्फबाट गरिएका प्रयास लक्षित वर्गमा पुग्न नसकेको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ ।
गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
प्रदेश ५
भारतको बढनीको क्वारेनटाइनमा रहेका १६ जना नेपालीहरूलाई गृह मन्त्रालयको अर्को निर्णय नहुञ्जेलसम्म नेपालको क्वारेण्टाइनमा नल्याउने निर्देशन भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनु भयो । भारतको कानपुरदेखि ६ दिनको बाटो हिँडेर आएका अर्घाखाँची जिल्ला भूमिकास्थान नपा-३ का ४० वर्षीय पुरूषलाई बुद्धभूमि नपा-१० मा वैशाख ४ गते राति १० बजे भेटेपछि क्वारेण्टाइनमा राखिएको छ ।
लकडाउनका समयमा दाङको लमही बजारमा खाद्यवस्तुको मूल्य वृद्धि गरेको पाइएको छ । मूल्य वृद्धि भएको गुनासो आएपछि लमही नगरपालिका, चेम्वर अफ कमर्श, देउखुरी उद्योग वाणिज्य सङ्घ र प्रहरीको संयुक्त टोलीले गरेको अनुगमनमा खाद्यवस्तुमा २० रुपियाँसम्म वृद्धि गरेको पाइएपछि मूल्य नबढाउन आग्रह गरिएको छ । १५ दिनदेखि दशगजास्थित अस्थायी क्वारेण्टाइनमा बसेका नेपालीलाई जिल्ला प्रशासन कार्यालय बाँकेले घर फर्काउने तयारी गरेको छ । वैशाख ४ गते घर जान तयारीमा रहेका उनीहरूलाई गृह मन्त्रालयको आदेश भन्दै जिल्ला प्रशासन कार्यालयले छोडन नमानेपछि यहाँ रहेका व्यक्तिहरूले आन्दोलन गरेका थिए । उनीहरूले दुईओटा बसको सिसा समेत फुटाइदिएका थिए । गृह मन्त्रालयले घर पठाउन आदेश दिएलगतै छाडिने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताउनुभयो ।
प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
कर्णाली प्रदेश
कोरोना भाइरस (कोभिड-१९) द्रुत परीक्षण गर्ने किट र उपकरण लकडाउनको २५ औँ दिनपछि हिमाली जिल्ला डोल्पामा पुगेको छ । कीट र उपकरण पुगेपछि कोरोनाको परीक्षण स्थानीय तहबाट सुरु गरिने भएको छ । कोरोना आरडीटी परीक्षण किट १ सय ४० थान, मलेरीयाको किट १ सय २५ थान र रगत निकाल्न प्रयोग गरिने सेट जिल्लामा पुगेको स्वास्थ्य सेवा प्रमुख डा. सिजन रावलले जानकारी दिनु भयो । स्वास्थ्य विभागले पहिला विदेशबाट आएकाको स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएको भए पनि कुन स्थानीय तहमा कति छ भन्ने विवरण जिल्लामा नआएकाले परीक्षण सुरू हुन नसकेको डा. रावलले बताउनु भयो ।
जुम्लाको सिञ्जा गाउँपालिकाको नराकोटस्थित साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय सिलबन्दी गरिएको छ । म्याद नाघेको आयोडिन नुन वितरण गरेपछि इलाका प्रशासन कार्यालय नराकोट जुम्लाले डिपो सिलबन्दी गरिएको हो । लकडाउनले मर्कामा परेका विपन्न परिवारलाई दैनिक उपभोग्य वस्तु राहत वितरण गर्ने क्रममा हिमा गाउँपालिकाले म्याद नाघेको नुन वितरण गरेको थियो । प्रशासनले अनुगमन गर्दा हिमा गाउँपालिका-१ का नरेन्द्र विक र बबरजङ्ग शाहीले राहतमा पाएको नुनको उत्पादन मिति क्रमशः २०१६ र २०१७ उल्लेख गरिएको थियो । साल्टट्रेडिङ कर्पोरेशन लिमिटेड जुम्लाका प्रमुख खगेन्द्र मल्लका अनुसार म्याद नाघेको नुनमा आयोडिन भए/नभएको निक्र्योल गर्न ल्याब परीक्षण गर्न पठाएको बताउनु भयो ।
लकडाउनका कारण दैनिक ज्याला मजदुरी गर्न नपाई बिहान बेलुकी गुजारा गर्न गाह्रो भएका कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका वडा नं ५ र ६ का विपन्न परिवारलाई राहतस्वरूप नगद वितरण गरिएको गाउँपालिका अध्यक्ष खडानन्द चौलागाइँले जानकारी गराउनु भयो । गाउँपालिकाको कोरोना रोकथाम राहत कोषबाट आठ ओटै वडामा खाद्यान्न वितरण गर्ने योजनाअनुसार पहिलो चरणमा दुई ओटा वडाका १ सय १४ परिवारलाई राहत वितरण गरिएको अध्यक्ष चौलागाईंको भनाइ छ ।
भारतको गोरखपुरबाट चैत १ गते घर फर्केका मुगु जिल्ला खत्याड गाउँपालिका निवासी एक व्यक्तिको वैशाख ४ गते गरिएको द्रुत परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि वैशाख ५ गते पुनः परीक्षण गर्दा पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिनु भयो । उहाँका अनुसार ती व्यक्तिलाई हाल गाउँपालिकाको आइसोलेशनमा राखिएको छ ।
कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित र शङ्कास्पद बिरामीको उपचारका लागि सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख ५ गते ३४ जना चिकित्सकको टोली धनगढी आएको छ । सङ्घीय स्वास्थ्य मन्त्रालयले पठाएको चिकित्सकहरूको टोलीलाई आवश्यकताका आधारमा सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा पनि पठाउने तयारी भइरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसको जोखिमबाट जोगाउन भन्दै सबै अन्तर्राष्ट्रिय नाका बन्द गरे पनि अत्यावश्यक वस्तुको नाममा भारतीय तरकारी निर्वाधरूपमा आउँदा सुदूरपश्चिमका सीमावर्ती बजारमा जोखिम बढेको छ । नेपाली नागरिक छिर्न नदिए पनि अत्यावश्यक वस्तु भन्दै हरेक दिन भारतीय तरकारी भित्रिन थालेपछि सीमा क्षेत्रका बस्तीमा जोखिम बढेको छ । सीमा पारीबाट तरकारी बोकेर ल्याइने गाडी र चालक तथा सहचालकहरूलाई न जाँच गरिन्छ न त क्वारेण्टाइनमै राखिन्छ । नेपालमा लकडाउन गरिएको चैत ११ गतेदेखि कैलालीको गौरीफन्टा नाकाबाट मात्रै १४ सय १३ टन तरकारी आयात भएको जनाइएको छ । दैनिक १० देखि १२ ट्रकहरू कैलाली भन्सारबाट नेपाल प्रवेश हुने गरेका छन् । भारतका विभिन्न शहरबाट तरकारी आयात हुने र सँगै आउने भारतीय नागरिकहरूबाट समेत कोरोनाको सङ्क्रमण फैलिने खतरा रहेको धनगढीको त्रिनगर कृषि उपज हाटबजार व्यवस्थापन समितिका अध्यक्ष भवानसिंह चैसिरले बताए ।
सीमा नाकामा रहेका नेपालीलाई स्वदेश ल्याउने निर्णय गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनु भयो । कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका-१० सरस्वती टोलका बासिन्दाले वडा कार्यालयले कुहिएको चामल दिएको गुनासो गरेका छन् । भारतबाट नेपाल भित्रिएका व्यक्तिमा कोभिड-१९ को सङ्क्रमण देखिएपछि निगरानी बढाइएको छ । सहजरूपमा हुने सीमा वारपार रोक्न सरकारी निर्देशनअनुसार सशस्त्र प्रहरी बल नेपालले सुरक्षा फौजलाई सीमामा केन्द्रित गर्न थालेको छ । सशस्त्र प्रहरी बल नेपाल ५० नम्बर गुल्म दार्चुलाका डिएसपी डम्मरबहादुर विष्टका अनुसार सशस्त्र प्रहरीले लेकमको रतौडा, लाली, मालिकार्जुनको बाकु, उकु, डिन्सी, महाकालीको काकडा, व्यासको धौलाकोट स्याकु र डोकटमा अस्थायी पोष्ट स्थापना गरेको छ । महाकाली नदीबाट हुने अवैध क्रियाकलाप र भारतबाट महाकाली नदी भएर नेपाल प्रवेश रोक्न गस्ती बढाइएको डिएसपी विष्टले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…
निःशुल्क डाइलासिस सेवाको पालो नपाउँदा बिरामी मर्कामा ! (फोटो फिचर)
सरकारले मृगौला रोगका बिरामीलाई निःशुल्क डाइलासिस गर्ने व्यवस्थापन गरेपनि पर्याप्त मात्रामा स्रोत, साधन र जनशक्तिको अभावले बिरामीले निःशुल्क सेवा पाउनबाट वञ्चित हुँदा बिरामी मर्कामा परेका छन् । गुलरिया नगरपालिका–१२, लालपुरका…
हत्या घटनाका आरोपितविरुद्ध उजुरी
धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार की २८ वर्षीया लक्ष्मीनिया देवी मण्डलको हत्या गरेको आरोपमा ०८१ कात्तिक १५ गते मटिहानी नगरपालिका-५ का २२ वर्षीय राकेश नायक र निजका पत्नी २५ वर्षीया रीनादेवी…