कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २८ गते)

कोरोना भाइरसको सङ्क्रमणका कारण थप १० जनाको मृत्यु भएको छ भने ४ सय ८४ जना सङ्क्रमित  थपिएका छन् । साउन २८ गतेसम्ममा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९२ पुगेको छ । साउन २८ गतेसम्ममा कोरोना सङ्क्रमितको सङ्ख्या २४ हजार ४ सय ३२ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन २८ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १६ हजार ७ सय २८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन २८ गते ६४ जना डिस्चार्ज भएका छन् भने निको दर ६८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ७ हजार ६ सय १३ जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा १० हजार ४ सय ८१ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ ।

काठमाडौँ उपत्यकाका किष्ट अस्पतालमा दुई जनाको मृत्यु भएको छ भने ह्याम्स, मेडिसिटी र पाटन अस्पतालमा एक÷एक जनाको मृत्यु भएको छ । त्यसैगरी बीपी कोरोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र बुटवल कोरोना विशेष अस्पतालमा एक/एक जनाको मृत्यु भएको छ । यस्तै सप्तरीमा सङ्क्रमण पुष्टिपछि अस्पताल लैजाँदै गर्दा, महोत्तरी र बारामा मृत्युपछि सङ्क्रमण पुष्टि भएका गरी कोरोनाका कारण थप १० जनाको ज्यान गएको हो ।

कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै गृहमन्त्रालयले सवारी पास वितरण कार्यलाई बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गर्दै मन्त्रालयले साउन २९ गतेबाट लागु हुने गरी सवारी पास वितरणको कार्य बन्द गर्न निर्देशन दिएको हो । सरकारले यसअघि एक जिल्लाबाट अर्को जिल्लामा जानका लागि सवारी पास उपलब्ध गराउँदै आएको थियो ।

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा विराटनगर महानगरपालिका– ५ का ५७ वर्षीय पुरुषको साउन २८ गते मृत्यु भएको अस्पतालले जनाएको छ । दम र सुगरका कारण स्वास्थ्यमा समस्या आएपछि साउन २५ गते अस्पताल भर्ना भएका बिरामीलाई अक्सिजन दिएर उपचार भइरहेको अवस्थामा मृत्यु भएको अस्पताल व्यवस्थापन समितिका संयोजक ज्ञानबहादुर बस्नेतले बताउनु भयो । त्यसैगरी कोरोना भाइरसको सङ्क्रमणबाट बुढीगङ्गा गाउँपालिका–२ का ५५ वर्षीय एक पुरुषको साउन २८ गते उपचारका क्रममा मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा साउन २८ गते सङ्क्रमित पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । एक सातादेखि प्रतिष्ठानको आइसोलेशनमा राखेर उपचार भइरहेको अवस्थामा साउन २८ गते श्वासप्रश्वासको समस्या देखिएपछि आकस्मिक कक्षमा भर्ना गरिएको थियो । सङ्क्रमित पुरुषलाई साउन २६ गते कोशी अस्पतालबाट वीपीमा रेफर गरिएको कोशी अस्पताल विराटनगरका प्रमुख मेडिकल सुपरीटेन्डेण्ट डा.चुमनलाल दासले बताउनु भयो । यो सँगै मोरङमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार गौरादह नगरपालिकाले ५० बेड क्षमताको आइसोलेशन तयार गरेको छ । कोरोना सङ्क्रमण पुष्टि भएकाहरू बेड अभाव भएपछि घरमै बस्न बाध्य भएको अवस्थामा नगरपालिकाले बिरामीलाई होल्ड गरेर उपचार गर्ने गरी आइसोलेशन तयार गरेको गौरादहका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले बताउनु भयो । साउन २६ गते सङ्क्रमण पुष्टि भएका पाँच जनालाई नगरले आफ्नै आइसोलेशनमा राखेको छ । जुरोपानी स्वास्थ्य चौकीको नयाँ भवनलाई आइसोलेशन बनाइएको छ । त्यसैगरी कोरोना भाइरसका सङ्क्रमित बढेपछि मेचीनगर नगरपालिकाले भदौ ३ गतेसम्म लकडाउनको अवधि बढाएको छ । साउन २८ गते बसेको बैठकले लकडाउनको अवधि थप गरेको नगरपालिकाका मेयर विमल आचार्यले बताउनु भयो ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार धरान उपमहानगरपालिकामा समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको उपमहानगरपालिकाले साउन २८ गतेदेखि गरेको लकडाउन भदौ ३ गतेसम्म लम्ब्याएको छ । साउन २८ गते बसेको कार्यपालिका बैठकले लकडाउन भदौ ३ गतेसम्म जारी राख्ने निर्णय भएको धरान उपमहानगरपालिका–९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले बताउनु भयो । यसैगरी धरान उपमहानगरपालिका भित्रै रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितलाई बेड अभावको कारण भर्ना गर्न समन्वय नगरेको भन्दै धरान उपमहानगरपालिका आफैँले २३ बेडको आइसोलेशन सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रदेश २

प्रदेश २ मा साउन २७ गते सम्ममा ६ हजार ९ सय १३ जना कोरोना सङ्क्रमित पुगेकोमा ३ हजार ४ सय १७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल ३ हजार ४ सय ५७ जना सङ्क्रमितहरू उपचाररत रहेको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार राजविराज नपा–६ का ७२ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन २८ गते पुष्टि गरेको छ । मुटु र थाइराइडको समस्याबाट पीडित उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालाबाट रिपोर्ट आए लगत्तै राजविराजस्थित साइकृष्णा हस्पिटल एण्ड मेडिकल कलेज आइसोलेशन केन्द्र ल्याउने क्रममा साउन २७ गते राति मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजितकुमार झाले जानकारी दिनु भयो । साउन २७ गते साँझ मृतक, उनका ज्वाँइ सप्तरी जिल्ला अदालतका नायव सुब्बा राजविराज नपा–२ का ३६ वर्षीय पुरुष तथा गजेन्द्रनारायण सिंह अस्पताल एवम् छिन्नमस्ता अस्पताल राजविराजमा कार्यरत ३२ वर्षीय डाक्टर (कन्सल्टेण्ट एनेस्थेसीओलोजिस्ट) मा कोरोना सङ्क्रमण देखिएको थियो ।

रुपनी गाउँपालिका–५ बसविट्टी र सोही गाउँपालिका–६ तेरहौताको बीचमा रहेको खाँडो खोलामा नेपाली सेनाले साउन २८ गते मृतकको शव व्यवस्थापन गरेको छ । अन्य स्थानीय तहबाट ल्याएर शव व्यवस्थापन गरेको भन्दै स्थानीयले विरोध जनाए पनि तीनै तहको सुरक्षा निकायले घेरा हाली शव व्यवस्थापन गरेको रुपनी गाउँपालिका–६ का बृजमान तामाङ्गले जानकारी दिनु भयो ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार इलाका प्रहरी कार्यालय लहानमा रहेको हिरासत कक्षका चार जना थुनुवा, जिल्ला कारागारमा रहेका थुनुवा चार जना, सिरहा शाखा ग्लोबल बैङ्कका एक जना, जिल्ला प्रशासन कार्यालयका एक जना कर्मचारी र सशस्त्र सिमा सुरक्षा बलका एक जना प्रहरीमा गरी ११ जनामा साउन २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । साउन २५ गते उनीहरूको नमुना सङ्कलन गरी राजबिराज प्रयोगशालामा पठाइएको यादवले बताउनु भयो । सङ्क्रमित सबै जनालाई जिल्ला अस्पताल र महेन्द्र गेनाइ अस्पतालको आइशोलेशनमा उपचारको लागि पठाउने तयारी भइरहेको बताउनु भयो । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलका अनुसार ग्लोबल बैङ्क सिरहा शाखालाई बन्द गरी कर्मचारीहरूलाई सेल्फ आइसोलेशनमा पठाएको, जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूलाई पनि सेल्फ क्वारेण्टाइनमा बस्न साथै शान्ति सुरक्षा, ठाडो उजुरी र मुद्दा सम्बन्धी कार्य बन्द गराएको बताउनु भयो ।

कोरोना भाइरसको माहामारी समुदायमा देखिएपछि सुखिपुर नगरपालिकाले साउन २८ गतेदेखि साउन ३२ गते सम्मका लागि लकडाउन घोषणा गरेको छ । अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन, हाट, बजार पुर्णरूपमा बन्द गर्न नगरपालिकाले आह्वान गरेको नगरपालिका प्रमुख रामअवतार यादवले बताउनु भयो ।

त्यसै गरी, लक्षमीपुर पतारी गाउँपालिकाले पनि साउन २८ गतेदेखि भदौ ५ गतेसम्मका लागि लकडाउन गरेको गाउँपालिका अध्यक्ष रामवल्लभ साहले बताउनु भयो । अति आवश्यक काम बाहेक बाहिर ननिस्कन र पसल, हाट बजारहरू सबै बन्द राख्न सबैमा आग्रह गरेको बताउनु हँदै उहाँले बिहान ८ बजेदेखि ११ बजेसम्म मात्र पसलहरू खोल्न आग्रह गरेको बताउनु भयो ।

रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार कटहरिया नगरपालिकामा भदौ ६ गतेसम्म निषेधाज्ञा जारी रहने भएको छ । साउन २७ गते बसेको सर्वपक्षीय बैठकले कटहरिया नगर क्षेत्रभित्र १२ दिनसम्म निषेधाज्ञा गर्ने सहितका निर्णय गरेको छ । रौतहटको कटहरिया नगरपालिकामा समुदायस्तरमा नै कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि साउन २७ गते नगर प्रमुख सियाराम कुश्वाहाको अध्यक्षमा सर्वपक्षीय बैठक बसेको थियो ।

बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कलैया उमनपा निवासी ७५ वर्षीय पुरूषको किष्ट मेडिकल कलेजमा उपचारको क्रममा साउन २८ गते मृत्यु भएको छ । उनलाई साउन २६ गते अस्पताल भर्ना गरिएको थियो । कलैया उमनपा–३ गङ्गापुरको आइसोलेशनमा साउन २१ गतेदेखि नोवेल कोरोना भाइरस सङ्क्रमण भएर आएकी २४ वर्षीया युवतीले बिरामीहरूलाई सेवा प्रवाह नगरेको इन्सेक जिल्ला प्रतिनिधि भोलानाथ पौडेललाई साउन २८ गते फोन र सामाजिक सञ्जालमार्फत गुनासो गरेकी छन् । उनले सामाजिक सेवा गर्दागर्दै कोरोना पोजेटिभ भएको बताउँदै कोरोना पोजेटिभ भएको लक्षण देखिएको चार दिनपछि मात्र पीसीआर परीक्षण गरेको बताइन् । उनले पीसीआर परीक्षण भएको चार दिनसम्म घर परिवारसँग बस्दा आमालाई कोरोना पोजेटिभ लक्षण देखिएको र परीक्षण गराउन कसैले पहल नगरेकाले पहल गरिदिन इन्सेक जिल्ला प्रतिनिधिसँग आग्रह गरेकी छन् ।

बागमती प्रदेश

यस प्रदेशमा साउन २८ गते काठमाडौँमा १ सय ९, ललितपुरमा २१, चितवनमा १५, भक्तपुरमा आठ, काभ्रेमा पाँच, मकवानपुरमा तीन, नुवाकोट, धादिङ, सिन्धुली र दोलखामा दुई/दुई र रामेछापमा एक जना गरी १ सय ७० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या २ हजार १ सय ६७ जना पुगेको छ । जसमध्ये ६ सय २५ जना उपचारपछि घर फर्किएका छन् भने १ हजार ५ सय २५ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण आज धादिङका एक जना पुरुष र काठमाडौँकी एक महिलाको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या १७ जना पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोतमराज सेढाईँले बताउनु भयो ।

धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्लामा कोभिड–१९ को महामारी समुदाय स्तरमा जान सक्ने सम्भावनालाई रोकथाम गर्नका लागि साउन २८ गते जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ भने गल्छी गाउँपालिकाले गल्छी बजार शिल गर्दै पालिका भित्रका राजमार्ग क्षेत्रका पसलहरू बन्द गराएको छ । एक जना होटल सञ्चालक र प्रहरीका एक उच्च अधिकारीलाई कोरोना सङ्क्रमण पुष्टी भएसँगै जिल्ला प्रशासन कार्यालयले साउन २८ गते राति १२ बजेदेखि भदौ ३ गते राति १२ बजेसम्मका लागि स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० बमोजिम निषेधाज्ञा जारी गरेको प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले एक सूचना प्रकाशित गर्दै कालुपाण्डे मार्गको मलेखु धादिङबेसी खण्ड, निलकण्ठ नगरपालिका वडा नम्बर २, ३, ४, ७ ८, १२ र १४ का क्षेत्रहरूमा निषेधाज्ञा जारी गरेको छ ।

साउन २८ गते बसेको संकट व्यवस्थापन समितिको बैठकले जिल्लामा रहेका एम्बुलेन्सहरूलाई तयारी अवस्थामा राख्ने, स्वाब सङ्कलन गर्ने भिटिएम, व्यक्तिगत सुरक्षा सामाग्री र जनशक्ति सङ्घीय सरकार र प्रदेश सरकारसँग माग गर्ने, सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरूको कन्ट्याक टे«सिङ गरी कोभिड–१९ परिक्षणका लागि नमूना सङ्कलन गर्ने लगायतका निर्णयहरू गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो ।

यसैगरी, त्रिभुवन राजपथ र पृथ्वीराजमार्ग क्षेत्रका सबै बैङ्क, वित्तिय संस्था, होटल, शैक्षिक सस्था, बन्द गराउने, र करदाता सेवा कार्यालय गल्छीको सेवा समेत बन्द गरिने सङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।

नीलकण्ठ नगरपालिका–१४ धुवाकोट घर भई काठमाडौँको ह्याम्स अस्पतालमा स्वासप्रस्वास र फोक्सो उपचारका लागि भर्ना भएका ३५ वर्षीय पुरुषको साउन २७ गते मृत्यु भएको धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले बताउनु भयो । कोरोना सङ्क्रमितको मृत्यु धादिङ जिल्लाको पहिलो घटना हो ।

सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार जिल्लामा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएपछि थप सङ्क्रमण हुन नदिन जिल्लाको पाँच ओटा गाउँपालिकाको विभिन्न वडाहरूमा हिँडडुल गर्न तथा सवारी साधन समेत बन्द गरी शिल गरिएको सम्बन्धित गाउँपालिका तथा नगरपालिकाले जनाएका छन् ।  जुगल गाउँपालिका–५ का दुई जना शिक्षकलाई कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएपछि गाउँपालिकाले विज्ञप्ति जारी गरी सो वडालाई शिल गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनु भयो ।  त्यसैगरी, बाह्रविसे नगरपालिकाले विज्ञप्ति जारी गरी वडा नं. ४ सील गरिएको नगरपालिका प्रमुख निमफुन्जु शेर्पाले बताउनु भयो । त्यस ठाउँका ८४ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणबाट साउन २३ गते मृत्यु भएको थियो । घरबाट फर्केर विद्यालय आएका एक जना शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि इन्द्रावती गाउँपालिका–७ मा आवतजावत र हिँडडुल बन्द गरी शिल गरिएको गाउँपालिका अध्यक्ष बंशलाल तामाङले बताउनु भयो ।

त्यसैगरी, हेलम्बु गाउँपालिकामा पाँच जना शिक्षकलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि वडा नं. १ देखि ४ सम्मको गाउँहरूमा आवतजावत गर्न बन्द गराइ शिल गरिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन लामाले बताउनु भयो ।

सुनकोशी गाउँपालिका–७ का एक शिक्षकमा पनि कोरोना सङ्क्रमण भएपछि विज्ञप्ति जारी गरी वडा शिल गरिएको अध्यक्ष इश्वर तिमल्सिनाले बताउनु भयो ।

विद्यालय बन्द भएपछि घर गएका शिक्षकहरू विद्यालयमा फर्केर आउँदा सङ्क्रमण भएको पुष्टि भएपछि समुदाय तहमा सङ्क्रमण फैलन नदिन स्थानीय तहमा भएको प्रकोप व्यवस्थापन समितिले सम्बन्धित ठाउँमा आवत जावत बन्द गरी शिल गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी चापागाईँका अनुसार सङ्क्रमित शिक्षकहरू सबै जिल्ला बाहिरका हुन् ।

चितवन प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार कोरोना भाइरसको सङ्क्रमण बढेसँगै जिल्लामा रातको समयमा हिँडडुलमा रोक लगाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको साउन २७ गते बसेको बैठकले साउन २८ गते राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँड्डुलमा रोक लगाएको हो । बैठकले रातको समयमा सवारी साधन र मानिसहरूको पैदल आवागमनमा रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताउनु भयो । अन्य जिल्ला तथा छिमेकी मुलुकबाट अनुमति विना जिल्लामा प्रवेश गर्न सक्ने मानिसका कारण कोभिड–१९ को सङ्क्रमणको जोखिम बढेको देखिएको बैठकको निष्कर्ष छ । जिल्ला प्रवेश गर्ने नाकाहरूमा हुने गरेको जाँचलाई थप प्रभावकारी बनाई निरन्तरता दिने र विदेशबाट आउने नेपालीलाई होल्डिङ सेन्टरमार्फत सम्बन्धित स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइनमा पुर्‍याउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।

गण्डकी प्रदेश

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार देवघाट गाउँपालिकामा समुदायका दुई जना व्यक्तिलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन २९ गते बाट एक साताको लागि गाउँपालिका शिल हुने भएको छ । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवघाटका ५४ र ३० वर्षका दुई पुरुषलाई कोरोना पुष्टि भएको थियो । ५४ वर्षीय पुरुष देवघाटमै रहेका थिए भने ३० वर्षीय पुरुष हालै मात्र काठमाडौंबाट आएका थिए । उनीहरूको सम्पर्कमा आएका ५० जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको देवघाट गाउँपालिकाका स्वास्थ्य संयोजक प्रदिप बुढाथोकीले बताउनु भयो । गाउँपालिकाको कोभिड समितिले एक साताका लागि साउन २८ गते गाउँपालिका शिल गर्न जिल्ला प्रशासन कार्यालयमा सिफारिस पठाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले गाउँपालिका शिल गर्ने बारेमा साउन २८ गते नै नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई जानकारी गराइ सोही अनुसार परिचालनको लागि निर्देशन दिइसकिएको बताउनु भयो ।


अनलाइन डेस्क