कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २२ गते)

साउन २२ गते ३ सय ६० जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २१ हजार ७ सय ५० जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन २२ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १५ हजार ३ सय ८९ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन २२ गते २ सय ३३ जना डिस्चार्ज भएका छन् भने निको दर ७०.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ६५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । ६ हजार २ सय ९६ जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा ६ हजार ६ सय २२ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कुनै पनि सभा सम्मेलन तथा जमघटका कार्यक्रम नगर्न आग्रह गर्नुभएको छ । उहाँले साउन साउन २२ गते नियमति पत्रकार सम्मेलनमा यस्तो आग्रह गर्नुभएको हो ।

प्रदेश १ 

इलाम प्रतिनिधि कोकिला ढकालका अनुसार सशस्त्र प्रहरी बल हेडक्वारटर न. १ गणका १७ जना सशस्त्र प्रहरीमा साउन २२ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । साउन २२ गते मध्यरातिदेखि सूर्योदय नगरपालिकाले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि लकडाउनको घोषणा गरेको छ ।

उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार बेलका नगरपालिकाले साउन २२ गते मध्यरातिदेखि लकडाउन घोषणा गरेको छ । साउन २२ गतेदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि जिल्ला मालपोत कार्यालय बन्द गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

झापा प्रतिनिधि नरेश खातीका अनुसार अर्जुनधारा नगरपालिकाले साउन २६ गतेसम्मका लागि लकडाउनको अवधि थप गरेको छ । साउन २२ गते लकडाउनको अवधि सकिएपछि नगरपालिकाले पुन चार दिनका लागि लकडाउनको अवधि थप गरेको हो । सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार साउन २२ गतेदेखि जिल्लामा लकडाउन घोषणा गरिएको छ ।

प्रदेश २ 

प्रदेश २ मा साउन २२ गते सम्ममा जम्मा ५ हजार ९ सय ५२ जना कोरोना सङ्क्रमित पुगेकोमा ३ हजार २ सय ३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल २ हजार ६ सय ९३ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन २२ गते सम्ममा २५ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार रूपनी गाउँपालिका-५ धुरगाउँका ४५ वर्षीय मृतक पुरुषको कोरोना रिपोर्ट पोजिटिभ आएर साउन २२ गते पुष्टि भएपछि शोकमा डुबेका परिवार र गाउँलेहरूमा सन्त्रास छाएको छ । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको प्रयोगशालामा साउन २१ गते राति गरिएको परीक्षणमा मृतकको रिपोर्ट पोजिटिभ आएपछि परिवार र गाउँलेहरूमा समेत सङ्क्रमण फैलिएको अनुमान गरिएको छ । मलेशियाबाट करिब एक महिनाअघि आएर पीसीआर परीक्षण नगरी घरमा बसेका उनको साउन २० गते राति उपचार गर्न धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । खोकी र स्वासप्रस्वासमा समस्या आएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएका उनको उपचार हुन नसकेपछि उपचारका लागि धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या सप्तरीमा दुई पुगेको छ । कोरोनाको लक्षण रहेको भन्दै स्वास्थ्य कार्यालय सप्तरीले तत्काल दाह संस्कारमा रोक लगाउँदै उनीसहित छिन्नमस्ता अस्पतालमा साउन २० गते राति मृत्यु भएका डाक्नेश्वरी नगरपालिका-९ पत्थरगाढाका ७१ वर्षीय र राजगढ गाउँपालिका-६ कुरनवा टोलका ८५ वर्षीय पुरुषको साउन २१ गते स्वाब सङ्कलन गरिएको थियो । उनीहरूको रिपोर्ट भने नेगेटिभ आएको छ ।

खानामा किरा भेटिएको भन्दै सङ्क्रमितहरू साउन २२ गते आक्रोशित भएर तोडफोडमा उत्रेपछि राजविराजस्थित साइकृष्ण हस्पिटल एण्ड मेडिकल कलेजको आइसोलेशन केन्द्र तनावग्रस्त भएको छ । एक बालकले खाँदै गरेको खानामा किरा फेला परेको भन्दै केही सङ्क्रमितहरूले खाना नखाने अडान राखेर भोक हडतालमा बसेर विरोध जनाए । पटक-पटक गुनासो गर्दा पनि व्यवस्थापन पक्षले सुधार नगरेपछि आफूहरूले टेबुल, बेञ्च तोडफोड गरेर अनसनमा बसेको सङ्क्रमित एक युवकले बताए ।

गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रणजीतकुमार झाले सङ्क्रमतिमध्येका पाँच/छ जनाले महिला स्वास्थ्यकर्मीलाई जिस्काउने, अपशब्द बोल्ने, दुर्व्यवहार गर्ने, तोडफोड गर्ने, बहाना खोजीखोजी विवाद गर्ने तथा सङ्क्रमितहरूको पहिचान खोलेर तस्विर र भिडिओ सार्वजनिक गर्ने गरेको कामप्रति आपत्ति जनाउनु भएको छ । सङ्क्रमितहरूले आइसोलेशन केन्द्रमा रहेको बेञ्च, टेबुल, टेण्ट तोडफोड गरेको र तीन ओटा सीसी क्यामेरासमेत बिगारेको अस्पताल प्रशासनले जनाएको छ । आइसोलेशन केन्द्रका सामग्रीहरू तोडफोड गर्दै र स्वास्थ्यकर्मीहरूलाई दुर्व्यवहार गर्न थालेपछि भागेर अस्पताल आएको एक नर्सले बताउनु भयो । खाना व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने विषयमा जिल्लास्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन समितिमा छलफल भइरहेको पनि उहाँले जानकारी दिनु भयो । राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादव, जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत आनन्द ठाकुरले आइसोलेशनमा भएको सम्पूर्ण घटना विवरणको यथार्थ जानकारी लिन सम्बन्धित स्वास्थ्यकर्मीको टोली, खाना व्यवस्थापन पक्ष र विरोधमा रहेका ६/७ जना सङ्क्रमितहरूसँग भेटेर समाधानको उपाय खोज्ने बताउनु भयो ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार सिरहा जिल्लामा साउन २१ गते समुदायका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मिर्चैया नपा- ५ मा एक जना, सोही नपाको मंगलम पोलिक्लिनिकका स्वास्थ्यकर्मी दुई जना र गोलबजार नगरपालिकाको पेट्रोल पम्प परिसरको लाइन होटलमा एक जनामा कोरोना सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । कोरोनाको सङ्क्रमित भेटिएपछि मिर्चैया नगरपालिकाले साउन २२ गतेदेखि साउन ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । त्यसैगरी पेट्रोल पम्प सील गरिएको छ । कोरोना पुष्टि भएसँगै सिरहा प्रशासनले स्वास्थ्य कार्यालय र स्थानीय तहको सहयोगमा सङ्क्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने कार्य सुरू गरेको स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताउनु भयो । इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल प्रसाद जैसवारका अनुसार मिर्चैया नगरपालिकाले साउन २२ गतेदेखि लकडाउन घोषणा गरेदेखि नै प्रहरीको सक्रियतामा सबै बजार, पसलहरू बन्द गराइएको छ भने स्थानीय सवारी साधनहरूलाई जोर बिजोरमा चलाउन दिइएको बताउनु भयो ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा बसेको सर्वपक्षीय बैठकले प्रदेश २ मा कोरोना महामारी नियन्त्रणका लागि तत्काल ५ सय शैयाको आइसोलेशन बेड थप गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री निवासमा साउन २० गते सम्पन्न बैठकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश सरकारले हालसम्म गरेका निर्णयहरू तत्काल कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समेत गरेको मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादवले बताउनु भयो ।

प्रदेश २ का एक जना मन्त्रीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि उहाँलाई आइसोलेशनमा राखिएको धनुषाका आइसोलेशन प्रमुख डाक्टर जामुनप्रसाद सिंहले इन्सेक धनुषा प्रतिनिधिलाई बताउनु भयो । जिल्ला प्रशासन कार्यालय धनुषाले साउन १९ गते राति १२ बजेदेखि जनकपुरधाम उपमकानगरपालिकामा निषेधाज्ञा जारी गरेको भएपनि मन्त्रालयमा हाजिर हुँदै आएका कर्मचारीहरूले साउन २२ गतेदेखि आउन छोडेको मन्त्रालयका एक कर्मचारीले बताउनु भयो ।

महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार महोत्तरीको सदरमुकाम जलेश्वरमा लगाइएको निषेधाज्ञालाई थपिएको छ । सदरमुकाम जलेश्वर र महोत्तरी गाउँपालिकाको दुई ओटा वडामा साउन १६ गते राति ११ बजेदेखि लगाइएको निषेधाज्ञा २५ गते सम्मका लागि कायम गरिएको छ । यसअघि साउन २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनु भयो । पछिल्लो समय महोत्तरीमा कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासनले साउन १६ गते राति ११ बजे देखि लागु हुने गरि पाँच दिनको लागि निषेधाज्ञा जारी गरेको थियो भने अहिले पुनः २५ गते सम्मको लागि थपिएको छ । यसअघि जलेश्वर नगरपालिकाका २२ जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका अनिश्चितकालका लागि सील गरिएको छ ।

सर्लाही प्रतिनिधि बुधन साहका अनुसार सर्लाही जिल्ला सुरक्षा समिति, कोरोना सङ्कट व्यवस्थापन केन्द्र तथा जिल्ला विपद् व्यवस्थापन समितिको सहमतिमा सूचना जारी गर्दै साउन २१ गतेदेखि साउन २७ गते राति १२ बजेसम्मका लागि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । कोभिड-१९ को सङ्क्रमणबाट मलङ्गवा नगरपालिका निवासी एक महिलाको काठमाडौँमा मृत्यु भएको छ । साउन १९ गते कोरोना पुष्टि भएकी ६३ वर्षीया महिलाको साउन २१ गते काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा मृत्यु भएको हो । मृतक महिला प्रहरी अस्पतालमा साउन १६ गते भर्ना भएको सशस्त्र प्रहरीका प्रवक्ता डीआइजी राजु अर्यालले बताउनु भएको छ । मनमोहन अस्पतालमा उपचार गराइ रहेकी ती महिलामा कोरोनाको लक्षण देखिएपछि प्रहरी अस्पतालमा रेफर गरिएको थियो ।

बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कलैया अस्पतालका एक जना चिकित्सक, दुई जना नर्स, दुई जना स्वीपर, एक जना फार्मेसिष्ट, एक जना एक्स-रे टेक्निसियनलगायत १० जानालाई साउन २२ गते कोभिड-१९ पोजेटिभ भएकाले अस्पतालका सम्पूर्ण सेवा बन्द गरी सील गर्न पर्ने अवस्था रहेको वरिष्ठ मेडिकल अफिसर ओमप्रकाश कुशवाहाले बताउनु भएको छ । कलैयामा कार्यरत एक जना चिकित्सकलाई शङ्कास्पद कोरोना पोजेटिभ देखिएकाले पुनः परीक्षणका लागि नारायणी अस्पतालमा स्वाब साउन २२ गते पठाएको उहाँले बताउनु भएको छ । अस्पतालमा केही दिन अगाडि चारजना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि सबै सेवा बन्द गरेर प्रसूति सेवा मात्र सञ्चालन भएको डाक्टर कुशवाहाले बताउनु भयो । अस्पतालका सम्पूर्ण सेवा बन्द गरेर अस्पताल सील गरी सबै स्वास्थ्यकर्मी कलैया अस्पतालमा बस्ने वा गंगापुरमा रहेको आइसोलेसनमा जाने निर्णय हुन बाँकी रहेको डाक्टर कुशवाहाले बताउनु भयो । कलैया अस्पतालको इमरजेन्सी वार्डमा उपचार गराइरहेका बिरामीलाई स्वास्थ्यकर्मीहरूमा कोरोना पोजेटिभ भएकाले अन्यत्र सुरक्षित ठाउँमा उपचारका लागि व्यवस्था गर्न इन्सेक प्रतिनिधि भोलानाथ पौडेललाई एक चिकित्सकले आग्रह गर्नु भएको छ । उहाँले कोरोना पोजेटिभ भएको खबर आएपनि अस्पताल प्रशासनले सेवा बन्द गर्ने आदेश नदिएकाले कोरोना पोजेटिभ भएका चिकित्सकले नै सेवा दिनु परेको समस्या समाधानका लागि पहल गरिदिन इन्सेक बारा प्रतिनिधिसँग आग्रह गर्नु भएको छ ।

निजगढ नगरपालिकामा समुदाय स्तरमा कोरोना सङ्क्रमण भेटिएकाले त्यसको नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी गरेको निषेधाज्ञा पूर्ण पालना गरी सचेत रहन नगर प्रमुख सुरेशकुमार खनालले साउन २२ गते अनुरोध गर्नु भएको छ । समुदाय स्तरमा कोरोना सङ्क्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका नागरिकहरूको कन्ट्याक्ट ट्रेसिङ्ग गरी रोग नियन्त्रण कार्य नगरपालिकाको कार्यालयले सरोकारवाला निकायसँग समन्वयमा गरिरहेको नगर प्रमुख खनालले बताउनु भएको छ ।

गण्डकी प्रदेश

लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीका अनुसार साउन २२ गते लमजुङ जिल्लाको मानव अधिकार अनुगमन समितिले लमजुङ सामुदायिक अस्पतालमा बनाइएको कोरोना सङ्क्रमित बस्ने आइसोलेशन वार्डको अनुगमन गरेको छ । अनुगमनको क्रममा आइसोलेशनमा हाल भर्ना रहेकाहरुले वार्डमा खुल्ला ठाँउ नरहेकोले व्यायाम गर्ने नपाएको गुनासो गरेका छन् । जिल्लामा अहिले १५ जना सङ्क्रमितको उपचार आइसोलेशनमा भइरहेको जिल्ला सामुदायिक अस्पतालमा प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । शारीरिक व्यायाम र खेल खेल्नको लागि सरकारले व्यवस्थापन गरिदिए हामीलाई कोरोनासँगको लडाइ जित्न र मानसिक रूपमा बलियो हुन सहज हुने हुँदा यो माग पूरा गरिदिन हाम्रो जोडदार माग भएको सङ्क्रमितहरूको दावी छ । सङ्क्रमितको यो गुनासोलाई साउन २३ गते हुने जिल्ला स्तरीय दैविक प्रकोप व्यवस्थापन बैठकमा एजेण्डाको रूपमा लैजाने अस्पतालका प्रशासन प्रमुख श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

गोरखा प्रतिनिधि हरिराम उप्रेतीका अनुसार साउन २२ गते बसेको जिल्ला कमाण्ड पोष्टको बैठकले चार किल्ला तोकेर लक्ष्मी बजार क्षेत्र सील गर्ने घोषणा गरेको छ । समुदाय स्तरमा कोरोना सङ्क्रमण देखिएपछि लक्ष्मीबजार क्षेत्र सिल गरिएको छ । २४ वर्षीया एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङका क्रममा थप तीन जनामा सङ्क्रमण पुष्टि भएपछि गोरखा नगरपालिका-९ लक्ष्मीबजार क्षेत्र सिल गरिएको जिल्ला प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताउनुभयो । कोरोना सङ्क्रमण न्यूनीकरण र सावधानीका लागि उक्त क्षेत्र सील गरिएको उहाँले बताउनुभयो । अत्यावश्यक काम बाहेक उक्त क्षेत्रमा हिँड्डुल नगर्न भनिएको उहाँले बताउनुभयो । उक्त क्षेत्रमा वडा कार्यालय, बैङ्क तथा वित्तीय संस्थाको सेवा प्रवाह पनि बन्द गरिएको छ ।

प्रदेश ५

प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार जिल्लामा पहिलेको अवस्थामा जस्तै सङ्क्रमितको सङ्ख्या नबढे पनि समुदायमा सङ्क्रमण प्यूठान नपाको -७ मा एक जना समुदायका व्यक्तिमा सङ्क्रमण देखिए पछि प्यूठान नपाको -७  र ८ को बाग्दुला क्षेत्र साउन २१ गतेदेखि २५ गतेसम्मका लागि सील गरी परीक्षणको दायरा बढाएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताउनु भयो । जिल्लामा हाल सात जना आइसोलेशनमा रहेका छन् । ३ सय ५४ जनाको पीसीआर परीक्षणका लागि स्वाब पठाइएकोमा रिपोर्ट आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार तौलिहवामा रहेको लक्ष्मी बैङ्कका २२ वर्षीय पुरुष,  मेघा बैङ्कका २५ वर्षीया महिला, तिनाउ मिशन डेभलपमेण्ट बैङ्कका २१ वर्षीय र २३ वर्षीय पुरुष तथा कृष्णनगरमा रहेको नेपाल बैङ्कका ३४ वर्षीया महिला र एभरेष्ट बैङ्कका ३४ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य संयोजक उमेश गुप्ताले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार बैङ्कका कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सम्बन्धित बैङ्कहरू सील गरिएका छन् । उहाँका अनुसार सङ्क्रमितहरू होम आइसोलेशन बसेका छन् ।

कर्णाली प्रदेश 

जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार कोरोना सङ्क्रमण थप जोखिम हुन नदिनका लागि साउन २२ गतेदेखि कनका सुन्दरी गाउँपालिका-८ पाण्डव गुफास्थित कोटघर स्वास्थ्य चौकी सील गरिएको छ । सोही गाउँपालिका-३ लुम गाउँकी एक महिलालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएपछि अनिश्चित समयका लागि स्वास्थ्य चौकी सिल गरिएको स्वास्थ्य चौकी प्रमुख पद्मा रावतले बताउनु भयो । कोरोना सङ्क्रमण पुष्टि भएकी महिला कोटघर स्वास्थ्य चौकीमा उपचार गराइरहेकोमा थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा आएको हाडसिंजा स्वास्थ्य चौकीका इञ्चार्ज वीरेन्द्र उपाध्यायले बताउनु भयो । सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाका अनुसार कोरोना पुष्टि भएपछि कन्ट्रयाक ट्रेसिङ गर्नका लागि यो विधि अपनाएको हो । जुम्लाका ६९ जना कोरोना सङ्क्रमित निको भएर फिर्ता भए पनि पहिलेकै व्यक्तिमा पुनः परीक्षण गर्दा तीन जना व्यक्तिमा सङ्क्रमण देखिएको छ ।

सुदूरपश्चिम प्रदेश

कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार कैलाली जिल्ला कैलारी गाउँपालिकामा साउन २२ गतेबाट अनिश्चितकालिन लकडाउन लागु गरिएको छ । समुदायमा कोरोना फैलिन नदिनका लागि गाउँपालिका अध्यक्ष लाजुराम चौधरीको अध्यक्षतामा साउन २१ गते बसेको बैठकले लकडाउन लागु गरिएको हो । सो गाउँपालिकामा कार्यरत तीन जना स्वास्थ्यकर्मी, हसुलियास्थित दिपेन्द्र माविको क्वारेण्टाइनका एक जना भान्से र चौकीदारसहित सात जनामा साउन २० गते कोरोना पुष्टि भएपछि यस्तो निर्णय गरिएको गाउँपालिका अध्यक्ष चौधरीले जानकारी दिनु भएको छ ।


अनलाइन डेस्क