कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २३ गते)

साउन २३ गते ४ सय ६४ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार २ सय १४ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन २३ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १५ हजार ८ सय १४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन २३ गते ४ सय २५ जना डिस्चार्ज भएका छन् भने निको दर ७१.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७० जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । ६ हजार ३ सय ३० जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा ७ हजार ९ सय २६ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले सरकारी, सामुदायिक तथा निजी अफिसहरूमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट तुरुन्त बन्द गर्न, बन्द गर्न नमिल्ने भए भर्चुअल्ली गर्न आग्रह गर्नुभएको छ । उहाँले साउन २३ गते नियमति पत्रकार सम्मेलनमा यस्तो आग्रह गर्नुभएको हो ।

काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र सरोकारवाला निकायका प्रमुखहरूको २०७७ साउन २३ गते बसेको संयुक्त बैठकले कार्यालयमा सेवाग्राहीको भीडभाड अत्याधिक बढेको र कार्यालयबाटै कोभिड-१९ को संक्रमण सर्वसाधारणमा फैलिन सक्ने जोखिम बढेका कारण साउन २५ गतेबाट भदौ ८ गतेसम्मको लागि अत्यावश्यक बाहेकका सेवाहरू हाललाई स्थगित गर्ने निर्णय गरेको छ ।

प्रदेश

मोरङ जिल्ला प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार कोरोना भाइरस सङ्क्रमणका कारण साउन २३ थप एक जना पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-९ का ५८ वर्षीय पुरुषको कोशी अस्पतालमा मृत्यु भएको हो । मृत्युपछि परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो । मृत्तकको रिपोर्ट पोजेटिभ आएपछि कोरोना भाइरसकै कारण मृत्यु भएको पत्ता लागेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. चुमनलाल दासले बताउनु भयो । शवको व्यवस्थापनका लागि नेपाली सेनाको शव व्यवस्थापन टोलीलाई जिम्मा दिएको डा. दासले बताउनु भयो । मोरङमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

प्रदेश

प्रदेश २ मा साउन २३ गते सम्ममा ६ हजार १ सय ६४ जना कोरोना सङ्क्रमित भएकोमा ३ हजार २ सय ७७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल २ हजार ८ सय ३९ जना सङ्क्रमितहरू उपचारार्थ छन् । साउन २३ गते सम्ममा प्रदेश २ मा ३० जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार गजेन्द्रनारायण सिंह अस्पताल राजविराजको आकस्मिक कक्षमा उपचारार्थ राजविराज नगरपालिका-६ की ५५ वर्षीया महिला, उनको उपचारमा संलग्न चार जना अहेबको साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक कक्ष, सर्जरी र ओपिडी सेवा बन्द भएको निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर रणजितकुमार झाले बताउनु भयो । आकस्मिक कक्षका थप चार जना अहेबमा सङ्क्रमण पुष्टि भएपछि हाल आइसोलेशनमा बस्ने अहेबको सङ्ख्या सात पुगेको छ । आकस्मिक कक्षकी एक सरसफाई कर्मचारी र अस्पतालकै पोषण गृहमा कार्यरत एक नर्स भने दुई दिन अघि मात्र निको भई घर फर्किएका छन् । आकस्मिक कक्ष निसङ्क्रमण गर्न पुरै एक दिन लाग्ने भन्दै डाक्टर झाले सात जना स्वास्थ्यकर्मी आइसोलेशनमा र शङ्कास्पद तीन चिकित्सकसहित २७ जना स्वास्थ्यकर्मी, कर्मचारी होम क्वारेन्टाइनमा बस्नु परेपछि कर्मचारीसमेत अभाव भएकाले आकस्मिक कक्षसहित सर्जरी र ओपिडी सेवा पनि बन्द गर्नुपरेको बताउनु भयो । अस्पतालमा उपचार्रार्थ बिरामी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षागार्ड लगायतलाई कोभिड-१९ को दायरामा ल्याउनु पर्ने तथा पूरै अस्पताल निसङ्क्रमण गरेर सुरक्षित बनाउनु पर्ने अवस्था रहेकोले बाहिरका मानिसलाई आवतजावत समेत बन्द गरिएको डाक्टर झाले बताउनु भयो । अस्पताल खुला भएको अर्को सूचना प्रकाशित नहुञ्जेल नयाँ बिरामी भर्ना लिन नसकिने डाक्टर झाले बताउनु भयो ।

यसैगरी, गजेन्द्रनारायण सिंह अस्पतालको पूर्वमा रहेको छिन्नमस्ता अस्पताल (निजी अस्पताल) राजविराजको अपरेशन थ्रेटरमा कार्यरत सिरहा जिल्ला सिरहा नगरपालिका-१७ का ३३ वर्षीय ओटी असिस्टेन्टमा साउन २३ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि सो अस्पतालसमेत बन्द गरिएको अस्पतालका प्रशासकीय प्रमुख राजेश झाले बताउनु भयो । छिन्नमस्ता अस्पतालका चिकित्सकसहित ७० जना कर्मचारीलाई होम क्वारेन्टाइन बस्न भनेको जानकारी दिँदै प्रशासन प्रमुख झाले साउन २६ गते सबैको स्वाब सङ्कलन गरिने बताउनु भयो । सरकारी र निजी दुई अस्पताल बन्द भएपछि जिल्लावासी उपचार सेवाबाट बञ्चित भएका छन् ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार गोलबजार नगरपालिका-१२ का २२ वर्षीय पुरुषको उपचारको क्रममा साउन २२ गते कोरोनाबाट मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले बताउनु भयो । किड्नीमा समस्या रहेको उनको नियमित डायलोसिस प्रादेशिक अस्पताल जनकपुरमा हुँदै आएको थियो । साउन १९ गते डायलोसिसका लागि जनकपुर पुगेका उनको पीसीआर परीक्षणका लागि स्वाब लिएर घर पठाइएकोमा साउन २१ गते रिपोर्ट पोजेटिभ आएको थियो । सोही दिन उनलाई प्रादेशिक कोभिड अस्पताल जनकपुर पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि उनलाई धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको यादवले बताउनु भयो । मृतकको शव सिरहामा नेपाली सेनाको सहयोगमा साउन २३ गते सम्मानपूर्वक गोलबजार नगरपालिकास्थित गागन खोलामा व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी कणेलले बताउनु भयो । साथै मृतकको सबै परिवारलाई क्वारेन्टाइनमा राखेर निगरानी समेत गरेको प्रमुख जिल्ला अधिकारी कणेलले बताउनु भयो ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार शहिद नगरपालिका-८ डुमरीयामा कोरोना भाइरसको सङ्क्रमणले ३८ वर्षीय पुरुषको मृत्यु हुनुका साथै दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको भन्दै कोरोना न्यूनीकरणका लागि वडा नं. ८ मा भिडभाड हुने खालको कुनै पनि गतिविधि नगर्न निर्णय गरिएको छ । साउन २३ गते शहिद नपा-८ का अध्यक्ष तनुकलाल कुसियैतको अध्यक्षतामा बसेको जनप्रतिनिधि, स्थानीय प्रशासन र बुद्धिजिवीहरूको बैठकबाट वडा नं. ८ को चार ओटा गाउँ डुमरिया, बिसरभोराको दुई टोल र नाथपट्टी लगायतको सम्पूर्ण टोलहरूमा लाग्दै आएको हाट, बजार, भोज-भतेर, धार्मिक तथा सांस्कृतिक मेला, सेमिनार, बैठक लगायत भिडभाड हुने खालका कुनै पनि गतिविधी नगर्न नगराउन सर्वसम्मतबाट निर्णय गरिएको स्थानीय युवा मनोज कुमार मण्डलले बताउनु भयो ।

सर्लाही प्रतिनिधि बुधन साहका अनुसार सर्लाहीमा साउन २३ गते कोरोना पुष्टि भएका हरिपुर्वा नगरपालिका-९ बस्ने ४५ वर्षीय पुरुषको ललितपुर स्थित पाटन अस्पतालको आइसीयूमा उपचारको क्रममा मृत्यु भएको डा. विजय शर्माले बताउनु भयो । मृतक पुरुष साउन १९ गते अस्पताल भर्ना भएका थिए । आइसीयूमा भर्ना भएका उनको इन्सेफलाइटिस रोगको उपचार भइरहेको थियो । यो सँगै सर्लाहीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।

बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कलैया उमनपा-३ गंगापुरमा रहेको आइसोलेशनमा रहेका ४५ वर्षीय पुरुषले आफू साउन २१ गतेदेखि आइसोलेशनमा बसे पनि कलैया अस्पताल अन्तर्गतको कोभिड अस्पतालले सङ्क्रामक रोग २०२० को दफा २ को उपदफा ३ को मर्म अनुसार सेवा प्रवाह नगरेको इन्सेक जिल्ला प्रतिनिधि भोलानाथ पौडेललाई साउन २३ गते फोन मार्फत बताए । आइसोलेशन कक्षमा पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा नदिएको, प्रयोग गरिएका भाडाहरू राम्ररी सफा नभएको, स्नानघर तथा शौचालय सफा नभएको, हात धुने बेसिन फोहर भएको, ढोका, टेबुल लगायतका सामग्रीहरूमा डिसइन्फेक्टेन्ट प्रयोग नगरिएको र हात धुने, नुहाउने र खाने पानीको पर्याप्त व्यवस्था नभएको जिल्ला प्रतिनिधिलाई बताउनु भयो । कलैया अस्पतालका बरिष्ठ मेडिकल अधिकृत डा. ओमप्रकाश कुशवाहाले अस्पताल प्रशासनले सक्दो प्रयास गरेको र चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना पोजेटिभ भएकाले केही समस्या भए पनि सुधार गर्दै लैजाने बताउनु भयो ।

पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार बीरगञ्ज मनपा-३ बस्ने ६५ वर्षीय पुरुषको बीरगञ्जस्थित नारायणी अस्थायी कोभिड विशेष गण्डक अस्पतालमा उपचारका क्रममा साउन २३ गते बिहान मृत्यु भएको छ । कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएका ६५ वर्षीय पुरुषको साउन २३ गते साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका डाक्टर उदयनारायण सिंहले बताउनु भयो । साउन २३ गते बिहान मृत्यु भएपछि ती पुरुषको स्वाब सङ्कलन गरेर पीसीआर जाँचका लागि नारायणी अस्पतालमा पठाइएको थियो । केहीदिन देखि सामान्य ज्वरो र रूघाखोकीबाट ग्रस्त उनमा साउन २२ गते श्वासप्रश्वासको समस्या देखिएको थियो । साउन २२ गते  दिउँसो उहाँलाई बीरगञ्जस्थित एड्भान्स मेडिकेयर हस्पिटलमा भर्ना गरिएको थियो । आइसीयुमा राखेर उपचार गर्नु पर्ने अवस्था देखेपछि चिकित्सकले आइसीयु अभावमा अन्य अस्पतालमा जान रेफर गरेका थिए । त्यहाँबाट नेशनल मेडिकल कलेजमा लगिएकोमा अस्पतालले भर्ना गर्न नमानेपछि उहाँलाई कोभिड अस्पताल पुर्‍याइएको मृतकका आफन्तले बताए । नेशनल मेडिकल कलेजमा भर्ना गर्न नमानेपछि उनलाई बीरगञ्ज मनपा-३ का वडा अध्यक्ष वैजु स्वर्णकारको पहलमा गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

बागमती प्रदेश

यस प्रदेशमा साउन २३ गते काठमाडौँमा ९२, ललितपुरमा १०, नुवाकोटमा आठ, मकवानपुरमा ६, भक्तपुरमा चार र सिन्धुपाल्चोकमा एक जना गरी १ सय २१ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ५ सय ५४ जना पुगेको छ । जसमध्ये ५ सय ९१ जना उपचारपछि घर फर्किएका छन् भने ९ सय ५३ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण १० जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोतमराज सेर्ढाईँले बताउनु भयो ।

नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको जोखिम बढेको भन्दै साउन २५ गतेबाट एक दिनमा चार ओटा स्थानीय तहका सेवाग्राहीलाई मात्र सेवा दिने गरी काम गर्ने सूचना जारी गरेको छ । १२ ओटा स्थानीय तह रहेको जिल्ल्लामा एउटा स्थानीय तहका नागरिकले हप्तामा दुई दिनमात्र जिल्ला प्रशासन कार्यालयबाट सेवा लिन पाउने छन् । सेवा लिनका लागि फोन गरेर नाम लेखाउने र प्रशासनले दिएको समयमात्र आएर सेवा लिने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनु भयो । सीएमसीको बैठकले जिल्ला अस्पताल त्रिसूलीमा पीसीआर मेसिन खरिद गर्न आवश्यक बजेटका लागि स्थानीय पूर्वाधार विकास कार्यक्रममार्फत खरिद गर्ने गरी नुवाकोट क्षेत्र नं. २ का सांसद नारायणप्रसाद खतिवडाले प्रतिवद्धता जनाउनु भएपछि प्रक्रिया अघि बढाउन विदुर नगरपालिकालाई भनिएको प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बताउनु भयो । जिल्लामा साउन २३ गतेमात्र आठ जना कोरोना सङ्क्रमित एकैदिन थपिएका छन् । हालसम्म जिल्लामा ५३ जना सङ्क्रमित भएका छन् । ३६ जना सङ्क्रमित भने निको भइसकेका छन् ।

प्रदेश

कोरोना सङ्क्रमण बढ्दै गएपछि बाँकेमा साउन १८ गतेदेखि लगाइएको निषेधाज्ञाको अवधि पुनः बढाइएको छ । यस अघि जारी गरेको निषेधाज्ञाको अवधि साउन २४ गतेसम्म भएकोले साउन २३ गते बसेको डिसिसीएमसीको बैठकले साउन २७ गतेसम्म थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनु भयो ।

कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार जिल्लामा कोरोना भाइरसको सङ्क्रमण समुदाय स्तरमा नै देखिएकोले साउन २३ गते बिहान ५ बजेदेखि साउन ३२ राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको उल्लङ्घन गरे कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यस अवधिमा अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यलय, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने सेवाहरू पूर्ण रूपमा बन्द गरिने प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताउनु भयो । मालबाहक ढुवानीका साधान बाहेक जिल्ला भित्र सञ्चालन हुने सार्वजनिक यातायातका सवारी साधानहरू, मोटरसाइकल, स्कुटरहरू जोर बिजोर प्रणालीमा सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

बर्दिया प्रतिनिधि मानबहादुर चौधरीका अनुसार कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि साउन २२ गते बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसीएमसी) को बैठकले साउन २५ गतेदेखि साउन २९ गतेसम्म जिल्लामा निषेधज्ञा लगाउने निर्णय गरेको छ । बर्दियासँग सिमाना जोडिएका छिमेकी जिल्लाहरू बाँके र कैलालीमा कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि सङ्क्रमण फैलन नदिन बर्दियामा समेत निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गणेश विक्रम साहले बताउनु भयो । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गर्न समेत जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।


अनलाइन डेस्क