कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २५ गते)

साउन २५ गते ३ सय ८० जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९ सय ७२ जना पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन २५ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १६ हजार ३ सय ५३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन २५ गते ४० जना डिस्चार्ज भएका छन् भने निको दर ७१.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये ७५ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । ६ हजार ५ सय ४४ जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा ८ हजार ५ सय १५ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश १

मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार प्रदेश १ मा कोरोना भाइरसको सङ्क्रमणबाट प्रभावित तीन ओटा जिल्लाका होटेलमा आइसोलेशन केन्द्र सञ्चालन गर्ने निर्णय प्रदेश १ सरकारले साउन २५ गते गरेको छ । मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा बसेको प्रदेश १ कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले झापा, मोरङ र सुनसरी जिल्लाका एक-एक ओटा होटल र नीजि अस्पतालमा आइसोलेशन केन्द्र सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेकाले नीजि अस्पताल र होटलमा आइसोलेशन केन्द्र सञ्चालन गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले बताउनु भयो । सीसीएमसी बैठकले लक्षणविहीन कोरोना भाइरस सङ्क्रमितका लागि स्थानीय तहसमेतको साझेदारी र सहकार्यमा विराटनगर महानगरपालिकास्थित मारवाडी सेवा समाजमा ५०, जनता क्याम्पस रङ्गेलीको भवनमा १ सय र सुनसरीको हरिनगर गाउँपालिकाको जेनरल अस्पतालमा ५० र बराहक्षेत्र नगरपालिकाको कृष्णदास आश्रममा १ सय बेडको आइसोलेशन केन्द्र थप गर्ने निर्णय गरिएको छ ।

सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत दुई जना चिकित्सकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रतिष्ठानका नाक, कान तथा घाँटी विभागका सहायक प्राध्यापक र जैविक तथा रसायन विज्ञानका प्राध्यापकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका चिकित्सकमा कोरोना देखिएपछि आवासीय चिकित्सकहरूले लापरबाही गरेको भन्दै प्रतिष्ठानले चिकित्सकहरूमा निगरानी बढाउने र सेनिटाइजमा विशेष ध्यान दिने जनाएको छ । धरान उपमहानगरपालिकामा दोब्बर मूल्यमा बेचबिखन गर्दै गरेको अवस्थामा नगर प्रहरीले साउन २५ गते पाँच क्वीन्टल तरकारी नियन्त्रणमा लिएको छ । साउन २२ गतेदेखि धरानमा गरिएको लकडाउनको फाइदा उठाउँदै दोब्बर मूल्यमा तरकारी बेचबिखन गर्ने पाइएपछि नगर प्रहरीले अनुगमन गरी तरकारी नियन्त्रणमा लिएको धरान उपमहानगरपालिकाले जनाएको छ ।

प्रदेश २

प्रदेश २ मा साउन २५ गते सम्ममा जम्मा ६ हजार ४ सय ४१ जना कोरोना सङ्क्रमित पुगेकोमा ३ हजार ३ सय ३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल ३ हजार ७५ जना सङ्क्रमितहरू उपचाररत छन् । प्रदेशमा साउन २५ गते सम्ममा ३२ जनाको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार जिल्लामा कोभिड-१९ सङ्क्रमणको जोखिम बढेपछि साउन २० देखि २६ गतेसम्म कायम रहेको निषेधाज्ञालाई निरन्तरता दिँदै भदौ २ गते राति ११ बजेसम्म पुर्‍याइएको छ । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरी आचार्यको अध्यक्षतामा साउन २५ गते बसेको जिल्ला सुरक्षा समिति र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको संयुक्त बैठकले सप्तरीको सम्पूर्ण क्षेत्रभरी लागु रहेको निषेधाज्ञा पुनः एक साताका लागि थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो । कोभिड-१९ सङ्क्रमणको अवस्था र जोखिम विश्लेषणका आधारमा एक साताका लागि निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको विज्ञप्ति जारी गर्दै जिल्ला प्रशासन कार्यालयले साउन २७ गतेको कृष्णाष्टमीलगायतका चार्डपर्व आफ्नै घरमा सुरक्षित साथ मनाउन अनुरोध गरेको छ । स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्ला भरी अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकिय अधिकृत एवम् सूचना अधिकारी आनन्द ठाकुरले बताउनु भयो ।

सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार लहान नगरपालिका-१० स्थित सशस्त्र प्रहरी बेसमा कार्यरत ३५ वर्षीय प्रहरी जवानमा साउन २४ गते कोरोना सङ्क्रमण पुष्टि भएको लहान नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताउनु भयो । सङ्क्रमित प्रहरी जवानको लहानमा स्वास्थ्य शाखाले साउन २० गते स्वाब सङ्कलन गरेको थियो भने साउन २४ गते परीक्षणको नतिजा आएपछि सङ्क्रमित प्रहरीलाई महेन्द्र गेनाइ आइसोलेशन अस्पताल धनगढीमा उपचारको लागि भर्ना गरिएको प्रमुख यादवले बताउनु भयो । सशस्त्र प्रहरी जवानमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बेस क्याम्पमा कार्यरत प्रहरीहरू सेल्फ क्वारेन्टाइनमा बसेको र कन्ट्याक्ट ट्रेसिङ्गको काम सुरु गर्ने तयारी रहेको स्वास्थ्य शाखाका प्रमुख यादवले बताउनु भयो ।

आन्तरिक राजश्व कार्यालय लहानमा ग्लोबल आई.एमई. बैङ्कको शाखा रहेकोमा बैङ्कको कर्मचारी कोरोना सङ्क्रमित पुष्टि भएपछि बैङ्क र राजश्व कार्यालयमा कार्यरत कर्मचारीहरू सबैको पीसीआर गरी नतिजा नआउञ्जेलसम्मका लागि साउन २५ गतेदेखि अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द रहने सूचना जारी गरेको प्रमुख कर अधिकृत कमलबहादुर रावलले बताउनु भयो ।

लहान नगरपालिकले साउन २५ गते सूचना प्रकाशित गर्दै समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै गएकोले नगरपालिका भित्रका २४ ओटा वडाका वडा कार्यालयहरूबाट अत्यावश्यक सेवा बाहेकका अन्य सेवाहरू साउन ३२ गतेसम्मका लागि बन्द गरेको प्रमुख प्रशासकिय अधिकृत खेमनन्द भुषालले बताउनु भयो ।

धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार जिल्ला प्रशासन कार्यालय धनुषामा साउन २५ गते बसेको सुरक्षा समितिको बैठकबाट जारी निषेधाज्ञालाई साउन २५ गतेदेखि साउन मसान्तसम्म सात दिन लम्ब्याउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनु भयो । बैठकमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषदद्वारा सञ्चालित यात्री निवासलाई क्वारेन्टाइन बनाउने निर्णय गरिएको छ । धनुषामा कोरोना सङ्क्रमितहरूका लागि बेडको अभाव भएकाले आइसोलेशन बेड थप गरिनेसमेत निर्णय गरिएको छ । बैठकबाट जनकपुरमा सञ्चालित बैङ्क तथा वित्तिय संस्थाहरूलाई 'सिफ्ट वाइज' खोल्ने निर्णय गरिएको छ । बैङ्क तथा वित्तिय संस्थाहरू सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा दिएको समय/सिमा अनुसार सञ्चालन गर्न भनिएको छ । सुरक्षा समितिको बैठकमा  नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान ब्युरो (सुरक्षा निकाय)का प्रमुख, जनकपुरधाम उप-महानगरपालिकाका प्रमुख, जिल्ला जन स्वास्थ्यका प्रमुख, प्रादेशिक अस्पतालका मेसू, उद्योग वाणिज्य सङ्घ जनकपुर र धनुषा चेम्बरका पदाधिकारीहरूको उपस्थित रहेको थियो । नगर क्षेत्रभित्र विभिन्न वडामा लाग्दै आएको साप्ताहिक हाट बजारहरू तत्काल बन्द गर्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीद्वारा हस्ताक्षरित सार्वजनिक सूचनामा उल्लेख छ । धनुषाधाम नगरपालिकाले प्रदान गर्दै आएको स्वास्थ्य सेवा, कृषि सेवा, विपद् व्यवस्थापन सेवा बाहेक अन्य सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ ।

महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि महोत्तरीमा एक हप्ता निषेधाज्ञा थप गरिएको छ । जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाका ३ र ५ नं. वडाको सम्पूर्ण क्षेत्रमा साउन २५ गते राति १२ बजेबाट भदौ १ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनु भयो । जिल्लामा कोरोना सङ्क्रमित बढ्दै गएपछि रोकथामका लागि निषेधाज्ञा अपरिहार्य भएकाले कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र महोत्तरीको साउन २५ गतेको निर्णय अनुसार निषेधाज्ञा थप गरिएको कटुवालले बताउनु भयो ।

सर्लाही प्रतिनिधि बुधन साहका अनुसार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा साउन २५ गते बसेको सुरक्षा समितिको बैठकबाट जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्दै जान थालेपछि साउन २६ गतेदेखि साउन ३२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताउनु भयो । जिल्लास्थित खानेपानी कार्यालय, मालपोत कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयका कर्मचारीहरूमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सर्लाही जिल्ला प्रशासनले कडाइ गरेको हो । जिल्लामा लागु गरिएको निषेधाज्ञा नमान्ने जोसुकैलाई कारबाही गरिने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो । खाद्यान्न र तरकारी पसलका सन्दर्भमा भने प्रत्येक दिन दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म भौतिक दूरी कायम गरी बिक्री वितरण गर्न पाइने सूचनामा उल्लेख गरिएको छ । छिमेकी मुलुक भारतबाट हुने सामग्री ढुवानीबाहेकका अन्य सबै प्रकारका आवागमन पूर्ण रूपमा निषेध गर्ने र सिमा-नाका पूर्ण रूपमा सिल हुनेसमेत प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

बागमती प्रदेश

यस प्रदेशमा साउन २५ गते काठमाडौँमा ९०, मकवानपुरमा २३, सिन्धुलीमा आठ, चितवनमा सात, नुवाकोटमा चार, ललितपुरमा दुई, धादिङ, रामेछाप र सिन्धुपाल्चोकमा एक/एक गरी १ सय ३७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ७ सय ७४ जना पुगेको छ । जसमध्ये ६ सय ३ जना उपचारपछि घर फर्किएका छन् भने १ हजार १ सय ६० जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण ११ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले बताउनु भयो ।

गण्डकी प्रदेश

तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार तनहुँको धार्मिक क्षेत्र देवघाटमा आगामी भदौ ७ गतेसम्म 'लकडाउन' गरिने भएको छ । देवघाट क्षेत्र विकास समितिको संयोजनमा साउन २५ गते आयोजित सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमणको जोखिम बढ्दा देवघाट क्षेत्रमा सतर्कता अपनाउने निर्णय गरेको हो । देवघाट क्षेत्र मुलुककै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य रहेको तथा यस क्षेत्रमा विभिन्न बृद्धाश्रममा बृद्धबृद्धाहरू र गुरुकुलमा बालबालिकाहरू समेत रहेको हुँदा उनीहरू सबैलाई कोरोनाको जोखिमबाट बचाउन पनि सबैले सुरक्षाका उपायहरू अवलम्बन गर्न जरुरी रहेको क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताउनु भयो ।

देवघाटमा मलामीको सङ्ख्या २० देखि २५ जना भन्दा बढी हुन नपाइने, मलामीहरू अनावश्यक रूपमा घुमफिर गर्न नपाइने, देवघाट क्षेत्रको चितवन र तनहुँ तर्फका होटलहरू भदौ ७ गतेसम्म सञ्चालन गर्न नपाइने, अत्यावश्यक वस्तु तथा सेवा उपलब्ध गराउने पसलहरू विहान ७ बजे देखि १० बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म मात्र निश्चित सुरक्षाका मापदण्ड पूरा गरी सञ्चालन गर्नुपर्ने निर्णय गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताउनु भयो ।

त्यसैगरि देवघाट क्षेत्रमा सार्वजानिक यातयातका साधनहरूको सञ्चालन भदौ ७ गतेसम्म बन्द गर्ने, नित्य कर्म बाहेक मठ मन्दिर खुला गर्न नपाइने, आश्रमहरूमा सत्संग र ध्यान समेत बन्द गर्नुपर्ने निर्णय गरेको कार्यकारी निर्देशक घिमिरेले बताउनु भयो । लकडाउन घोषणा गर्ने अधिकार सरकारलाई मात्र भएको हुँदा यो निर्णयलाई लकडाउन नभनिएको तर निर्णय लकडाउन सरह नै बुझ्न अध्यक्ष पौडेलले सर्वसाधरणलाई अनुरोध गर्नु भयो ।

प्रदेश ५

कोहलपुर मेडिकल कलेजमा उपचारत कोहलपुर नगरपालिका-२ की ७० वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण साउन २५ गते मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताउनु भयो । यो सँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । यसअघि नरैनापुर र बैजनाथ गाउँपालिकाका एक /एक जनाको मृत्यु भएको थियो ।

बाँकेमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई बढाउदै लगिएको छ भने नेपालगञ्ज बजार क्षेत्र सील गरेर सेना परिचालन गरिएको छ ।

नवलपरासी पश्चिम प्रतिनिधि नारायण पराजुलीका अनुसार रामग्राम नगरपालिकाका एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नगरपालिका कार्यालय सिल गरिएको छ । यस सँगै जिल्लामा कूल सङ्क्रमितको सङ्ख्या १ सय २६ पुगेको छ । जसमध्ये १ सय १९ जना उपचार पश्चात् निको भई घर फर्किएका छन् भने सात जना उपचारत रहेका छन् । सङ्क्रमितको सम्पर्कमा आएका अन्य कर्मचारी र जनप्रतिनिधिहरूको पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी १० दिनका लागि नगरपालिकाको कार्यालय सिल गरिएको रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ताले बताउनु भयो ।

यसैगरी, बर्दघाट नगरपालिका- १२ भटौलीयाकी २१ वर्षीया एक युवतीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि उक्त वडाको भटौलीया बजार समेत सिल गरिएको मेयर धिरज शर्मा बस्यालले बताउनु भयो । बस्यालका अनुसार सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको छ ।

कर्णाली प्रदेश

जुम्ला जिल्ला प्रतिनिधि मानदत्त रावलका अनुसार समुदायमा कोरोना भाइरस फैलिएपछि सदरमुकाम खलङ्गास्थित चन्दननाथ नगरपालिका र तिला गाउँपालिका- ५ ढिमकोट गाउँमा निषेधाज्ञा जारी गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रतिवेदन अनुसार कोरोना सङ्क्रमण देखिएकोले दुई स्थानीय तहमा साउन २५ गते दिउँसो ३ बजेदेखि अर्को निर्णय नहुँदासम्म निषेधाज्ञा जारी गरिएको हो ।

चन्दननाथ नगरपालिका- १ का एक पुरुष, वडा नं. ३ का एक महिला र वडा नं. ६ का एक पुरुषमा कोरोना सङ्क्रमण देखिएकोले थप सङ्क्रमण फैलिन नदिनका लागि नगरपालिकामा निषेधाज्ञा जारी गर्नु परेको डिएसपी लालबहादुर धामीले बताउनु भयो । त्यसैगरी, तीला गाउँपालिका- ५ ढिमकोट गाउँमा एक जना महिलामा कोरोना सङ्क्रमण देखिएको छ ।

यस अघि जुम्लामा ६९ जनालाई कोरोना भाइरस सङ्क्रमण देखिएपनि सबै जना निको भएर घर फिर्ता भएका थिए । तर कनकासुन्दरी गाउँपालिका- ३ लुम गाउँकी एक जना महिला र जुम्लाको सदरमुकाम खलङ्गाका निको भएर घर पठाएको तीन जना व्यक्तिमा पुनः सङ्क्रमण देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने खतरा देखिएकोले गाउँघर, मेला पर्वमा भिडभाड नगर्न र मेला पर्व बन्द गर्न आग्रह गरेको छ ।


अनलाइन डेस्क