कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २६ गते)
साउन २६ गते ३ सय ३८ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार ३ सय १० जना पुगेको छ । जसमध्ये ८० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन २६ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १६ हजार ४ सय ९३ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन २६ गते १ सय ४० जना डिस्चार्ज भएका छन् भने निको दर ७०.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ६ हजार ७ सय ३८ जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । सङ्क्रमितमध्ये १६ प्रतिशत अर्थात ३ हजार ७ सय १६ जना महिला र ८४ प्रतिशत अर्थात १९ हजार ५ सय ९४ जना रहेका छन् ।
काठमाडौँ उपत्यकाभित्रका नगरपालिकाहरूले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सबै सेवा १५ दिनका लागि बन्द गर्ने भनी साउन २६ गते निर्णय गरेका छन् । काठमाडौँ उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरूको सङ्गठन 'नगरपालिका मेयर फोरम'को बैठकले स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अरु सबै सेवा बन्द गर्ने निर्णय गरेको फोरमद्वारा सार्वजनिक गरिएको निर्णयमा उल्लेख छ । निर्णयको बुँदा नम्बर १० मा 'उपत्यकाभित्र समूदायस्तरमा सङ्क्रमणको उच्च जोखिमलाई ध्यानमा राख्दै स्थानीय तहहरूबाट अत्यावश्यक सेवाबाहेक अन्य सेवा प्रवाहलाई १५ दिन बन्द गर्ने' भनिएको छ ।
प्रदेश १
मोरङ प्रतिनिधि नेत्रप्रसाद अधिकारीका अनुसार जिल्ला अदालतका न्यायाधीशमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि जिल्ला अदालत मोरङको काम कारबाही साउन २६ गतेदेखि २८ गतेसम्म बन्द गरिने भएको छ । एक जना न्यायाधीशमा साउन २६ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएका कारण अदालत तीन दिनका लागि बन्द गरिएको सूचना अधिकारी युवराज पौडेलले बताउनु भयो । कोरोना महामारीका समयमा अदालतले अहिले अति आवश्यकीय सेवासहित, पक्राउ पूर्जी जारी, थुनुवाको म्याद थप, मुद्दाको थुनछेक गर्ने लगायतका काम कारबाही गर्दै आएको थियो । अदालतका सूचना अधिकारी युवराज पौडेलले साउन २६ गतेबाट यी सबै काम कारबाही बन्द गरिएको बताउनु भयो ।
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार जिल्ला प्रशासन कार्यालयले साउन ३२ गतेसम्मका लागि जिल्लाका सबै क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ । निषेधित क्षेत्रको समय साउन २६ गते सकिएसँगै साउन ३२ गतेसम्म कायम रहने प्रशासनले जनाएको छ । जिल्लामा कोरोना भाइरस सङक्रमितको सङ्ख्या बढेसँगै कोरोना अस्पतालमा बेड अभाव भएपछि निषेधित क्षेत्र घोषणा गरिएको प्रशासनले जनाएको छ ।
प्रदेश २
प्रदेश २ मा साउन २६ गतेसम्ममा जम्मा ६ हजार ५ सय ३४ जना कोरोना सङ्क्रमित पुगेकोमा ३ हजार ३ सय ५७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल ३ हजार १ सय ४४ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन २६ गतेसम्ममा ३३ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सप्तरी प्रतिनिधि मनोहरकुमार पोखरेलका अनुसार तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियामा तीव्ररूपमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँगै सङ्क्रमितलाई व्यवस्थापन गर्न तिलाठी कोइलाडी गाउँपालिकाले आफ्नै आइसोलेसन केन्द्र बनाएर सञ्चालनमा ल्याएको छ । जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रमा दुई पटक निर्णय भए पनि तिलाठी कोइलाडी गाउँपालिका बाहेक अन्य स्थानीय तहले आइसोलेशन सञ्चालनको जिम्मेवारी सङ्घीय र प्रदेश सरकारको भएको भनी पञ्छिदै आएकोले सङ्क्रमितको व्यवस्थापनमा समस्या भइरहेको जिल्ला प्रशासन कार्यालय, सप्तरीका प्रशासकीय अधिकृत एवम् सूचना अधिकारी आनन्द ठाकुरले बताउनु भयो । तिलाठी कोइलाडी गाउँपालिका-२ लौनियामा मात्र ४२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएपछि थप सङ्क्रमण हुन नदिन वडा अध्यक्ष खगेन्द्र मण्डलको नेतृत्वको टोलीले माइकिङ्ग गरेर सचेतना फैलाउनुका साथै स्वास्थ्य मापदण्ड नअपनाउनेलाई आर्थिक कारबाही गर्ने निर्णय गरेको छ । वडामा गरिएको कडा लकडाउनलाई थप्दै २१ दिनसम्म पुर्याइने जनाउँदै वडाध्यक्ष मण्डलले गाउँमा चिया, खाजा र मदिरालगायतका पसलहरू पूर्ण रूपमा बन्द गरी सामान बिक्री वितरण गर्न र भारतको कुनौली आवतजावत गर्न पूर्ण रूपमा रोक लगाइएको बताउनु भयो ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलले जिल्लामा आफूसँग मात्र ३ सय थान भिटिएम किट रहेको र यो मात्रा अपुग भएकोले पटक-पटक प्रदेशमा ताकेता गर्दा पनि भिटिएम नआउदा अभाव भएको बताउनु भयो । भिटिएमको अभावका कारण द्रुतगतिमा कोरोना परीक्षण गर्न र कन्ट्याक्ट ट्रेसिङ्ग गर्न पनि समस्या भएको उहाँले बताउनु भयो । स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार माग गरे जती भिटिएम किट नपठाएर कममात्र पठाउदा समस्या भएको बताउनु भयो । आइशोलेसनमा बस्ने बिरामीहरूको पटक-पटक जाँच गर्नु पर्ने भए पनि समयमा जाँच नहुँदा आइशोलेसन र क्वारेन्टाइनमा बढी दिन बस्नु परेको यादवले बताउनु भयो ।
त्यसैगरी, सिरहा नगरपालिका र धनगढीमाई नगरपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण बढ्न थालेपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयको समन्वयमा साउन २५ गते राति १२ बजेदेखि साउन ३२ गतेसम्मका लागि लकडाउन गरेको सिरहा नगरपालिकाका प्रमुख अशेश्वर यादवले बताउनु भयो । अति आवश्यक बाहेकका पसल, बजार, हटिया लगायतका पसलहरू बन्द गर्न आहृवान गरेको र बिना काम घरबाहिर आवतजावत नगर्न सबैलाई आग्रह गरिएको धनगढीमाई नगरपालिका प्रमुख हरिनारायण चौधरीले बताउनु भयो ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार मिथिला विहारी नगरपालिका-५ का ४५ वर्षीय पुरुषको कोरोना भाइरसको सङ्क्रमणले मृत्यु भएको पुष्टि भएको छ । मृतकको साउन २५ गते बिहान ७ बजे श्वास प्रश्वासमा समस्या देखिएपछि उपचारको लागि जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्थानीय सुरेन्द्र साहले इन्सेक प्रतिनिधिलाई बताउनु भयो । मृतक पुरुषको स्वाब सङ्कलन गरी साउन २५ गते नै परिवारजनले दाहसंस्कार गरिसकेका थिए । मृतकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि दाहसंस्कारका लागि मलामी गएकाहरूलाई होम क्वारेण्टाइनमा बस्न जिल्ला प्रशासन कार्यालय धनुषाले निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताउनु भयो ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा सामाजिक विकासमन्त्री नवलकिशोर साह र मुख्य न्यायाधिवक्ता दीपेन्द्र झासहितको टोलीले साउन २५ गते उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल र श्रममन्त्री रामेश्वर रायसँग भेट गरी कोरोना भाइरस रोकथामका लागि विशेष प्याकेज घोषणा गर्न आग्रह गरेको मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादवले बताउनु भयो । टोलीले कोरोना सङ्क्रमणबाट प्रदेश २ अतिप्रभावित भएकाले तत्काल विशेष प्याकेजको घोषणा गर्न आग्रह गरेको छ । मुख्यमन्त्रीको टोलीलाई भेटको क्रममा उपप्रधानमन्त्री पोखरेलले बीरगञ्ज नेशनल मेडिकल कलेजमा कोभिड उपचारका लागि ५ सय शैयाको आइसोलेशन कक्ष तुरुन्त व्यवस्थापन गर्ने आश्वासन दिनु भएको छ । मुख्यमन्त्री राउतले भेटको क्रममा प्रदेशका लागि तत्काल ५० हजार भिटिएम रिएजेन्टको उपलब्धता तथा पीसीआर परीक्षणका लागि दुई ओटा आरएनए मेसिन उपलब्ध गराउन समेत माग गर्नु भएको छ ।
सबैला नगरपालिकाका मेयर विजयशङ्करप्रसाद साहको अध्यक्षतमा बसेको कार्यपालिकाको बैठकले साउन २५ गते राति १२ बजेदेखि भदौ १ गते राति १२ बजेसम्म सबैला नगरपालिकाको १ देखि १३ वडा क्षेत्र सिल गरी उक्त क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको छ । भदौ १ गतेसम्म सिल गरिएको अवधिमा एम्बुलेन्स, दमकल र शववाहन सञ्चालन गर्न दिने निर्णय गरिएको छ भने किराना पसल, औषधि पसल बिहान ७ बजेदेखि ११ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।
कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणको लागि नगराइन नगरपालिकाले नगरभित्र साउन २६ गतेदेखि साउन ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको नगर प्रमुख परमेश्वर यादवले बताउनु भयो । नगरपालिकाले आफ्नो कार्यालय, वडा कार्यालयको कामकाज बन्द गर्दै नगरभित्र लाग्दै आएको हाट, बजारलगायत सम्पूर्ण सङ्घसंस्था तथा कार्यालयहरू समेत पूर्ण रूपले बन्द गर्ने निर्णय गरेको प्रमुख यादवले बताउनु भयो ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार रामगोपाल नगरपालिका स्थित प्राथामिक स्वाथ्य केन्द्रमा कार्यरत प्राविधिक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि नगरपालिकाले प्राथामिक स्वास्थ्य केन्द्रलाई साउन २६ गतेदेखि शिल गरेको छ । नगर स्वास्थ्य संयोजक अच्छेलाल दासका अनुसार हाल स्वास्थ्य चौकीलाई पूर्णरूपमा शिल गरिएको बताउनु भयो । स्वास्थ्य चौकी शिल गरिएतापनि हाल प्रसुती सेवा लगायतका आकस्मिक सेवा भने सुचारू नै रहने संयोजक दासले बताउनु भयो । जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका फोकल पर्सन गिरेन्द्रकुमार झाले दिनु भएको जानकारी अनुसार साउन २६ गते महोत्तरीमा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । जलेश्वर नगरपालिकाकी दुई महिला र रामगोपालपुर नगरपालिकाको एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको प्रवक्ता झाले बताउनु भयो ।
सर्लाही प्रतिनिधि बुधन साहका अनुसार मलङ्गवा नगरपालिकामा कार्यरत दुई जना इञ्जिनियर सहित २१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले बताउनु भयो । कोरोना सङ्क्रमित दुवै इञ्जिनियरलाई तत्काल आ-आफ्नो घरमै आइसोलेटेड भई बस्न भनिएको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनु भयो ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार कोभिड-१९ रोगको सङ्क्रमण समुदायमा प्रवेश भएकाले जितपुरसिमरा उमनपामा ५ सय शैयाको आइसोलेसन केन्द्र स्थापना गर्न नगर प्रमुख कृष्ण पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन २५ गते निर्णय गरेको प्रदेश सभा सदस्य सुन्दर विश्वकर्माले बताउनु भयो । जितपुरसिमरा उमनपा-२ स्थित सञ्चालनमा रहेको क्वारेन्टाइनको स्तरउन्नती गरी ३ सय र सोही उपनमा-१ को पथलैयामा रहेको स्वास्थ्य तालिम केन्द्रमा १ सय शैयाको आइसोलेशन केन्द्र स्थापना गरी सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले बताउनु भयो । क्वारेन्टाइन र आइसोलेशनको सङ्ख्या आवश्यकता अनुसार उप-महानगरपालिकाले निर्णय गरी थप्दै लैजाने र चिकित्सक, स्वास्थ्यकर्मी लगायतका जनशक्ति उप-महानगरपालिकाको कार्यालयबाट खटाउने साथै थप जनशक्ति आवश्यक परेमा जिल्लासँग समन्वय गर्ने निर्णय भएको बैठकका सहभागी राजन पौडेलले बताउनु भयो । आइसोलेशन स्थापना, निर्माण, मर्मत, खरिद, खाना र खाजा लगायतका आवश्यक सामग्री खरिद गर्न नियमानुसार दरभाउपत्र आहृवान गरी व्यवस्थापन गर्ने निर्णय भएको इलाका प्रहरी कार्यालयका डिएसपी दिपक श्रेष्ठले बताउनु भयो ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार बीरगञ्जमा पछिल्लो समयमा अस्पतालहरूले बिरामीको भर्ना लिन नमान्दा मृत्युका घटना बढेकोमा स्थानीय प्रशासनले कारबाही गर्न नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साको मुल गेटमा धर्ना बसेका विद्यार्थी नेताहरूलाई प्रहरीले गिरफ्तार गरेको छ । केहीबेर धर्नास्थलमा प्रहरी र विद्यार्थीबीच झडप पनि भएको थियो । विद्यार्थीलाई तितर-बितर गर्न प्रहरीले लाठी चार्ज गरेको थियो । प्रहरीको लाठीचार्जका कारण केही विद्यार्थी घाइते भएको विद्यार्थी नेता मनोज साहले बताउनु भयो । निषेधाज्ञाको उल्लङ्घन गरेको आरोपमा प्रहरीले नेपाल विद्यार्थी सङ्घ पर्साका अध्यक्ष विकास तिवारी, जिल्ला उपाध्यक्ष शेष हजरा र ठाकुरराम बहुमुखी क्याम्पसका इकाई अध्यक्ष मनोज साहलाई गिरफ्तार गरेको छ ।
बागमती प्रदेश
यस प्रदेशमा साउन २६ गते काठमाडौँमा ३६, भक्तपुरमा चार, ललितपुरमा चार, नुवाकोटमा तीन, चितवन, रामेछाप र सिन्धुपाल्चोकमा एक/एक जना गरी ५० जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ८ सय २४ जना पुगेको छ । जसमध्ये ६ सय ३ जना उपचारपछि घर फर्किएका छन् भने १ हजार २ सय १० जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण ११ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तमराम सेढाईंले बताउनु भयो ।
यसैबीच, साउन २५ गते एकै दिन मकवानपुरमा २३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयले साउन २६ गते राति १२ बजेदेखि साउन ३२ गतेसम्मका लागि हेटौंडा नगरपालिका र मनहरी गाउँपालिकाको मुख्य राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
गण्डकी प्रदेश
तनहुँ प्रतिनिधि प्रकाशचन्द्र भट्टराईका अनुसार भानु नगरपालिकाका केही क्षेत्रमा साउन २४ गते प्रतिनिधिमूलक रूपमा गरिएको पीसीआर परीक्षणमा वडा नम्बर १ का एक सर्वसाधरणमा साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि भानु नगरपालिका र सम्पूर्ण वडा कार्यालयहरू एक साताका लागि बन्द गरिएको छ । नगरपालिकाले साउन २६ गते सूचना प्रकाशन गरी सर्वसाधारणलाई कोरोना सङ्क्रमणको जोखिमबाट बचाउन नगरपालिकाको कार्यालय र सम्पूर्ण वडा कार्यालयहरूको सेवा साउन २७ देखि भदौ २ गतेसम्मका लागि बन्द गरिने नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनिल पाण्डेले बताउनु भयो । नगरपालिका भित्रका सार्वजानिक सेवा प्रवाह गर्ने संघ संस्था, वित्तिय संस्थाको कार्यालय पनि यो अवधिमा बन्द हुने नगरपालिकाले जनाएको छ । त्यसैगरी नगरपालिका भित्र सञ्चालन हुने सार्वजानिक यातयातका साधनहरू तथा अत्यावश्यक सेवाका वस्तु तथा सेवाहरू बन्द गर्न नगरपालिकाले अनुरोध गरेको छ । यस अवधिमा स्वास्थ्य सम्बन्धी सम्पूर्ण सेवा तथा कार्यहरू, कोभिड-१९ सँग सम्बन्धित सम्पूर्ण कार्यहरू तथा विपद् व्यवस्थापन सम्बन्धी कार्यहरू भने पूर्ववतः सञ्चालनमा रहने पाण्डेले बताउनु भयो ।
प्रदेश ५
कपिलवस्तु प्रतिनिधि पार्वती आचार्यका अनुसार जिल्लामा समुदायस्तरमा कोरोना सङ्क्रमण देखिएपछि स्थिति भयावह हुन नदिन जिल्ला प्रशासन कार्यालयमा साउन २६ गते बसेको डिसीसीएमसीको बैठकले अत्यावश्यक सेवा बाहेक सबै सेवाहरू साउन २७ गतेदेखि बन्द गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम साउन ३२ गतेसम्मका लागि उक्त निर्णय गरिएको जनाएको छ । खाद्यान्न र तरकारी खरिद बिक्रीका लागि हरेक दिन बिहान ८ बजेदेखि १० बजेसम्म पसल खोल्ने र अत्यावश्कीय सेवा बाहेका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । जिल्लामा ८ सय ६७ जना कोरोना सङ्क्रमित मध्ये ७ सय ६४ जना निको भएर घर फर्किए छन् भने उपचारत १ सय ३ जना सङ्क्रमित मध्ये ६ जनालाई थप उपचारका लागि बुटवलको धागो कारखानामास्थित कोरोना अस्पतालमा पठाइएको स्वास्थ्य कार्यालयका फोकल पर्सन कुमार थापाले बताउनु भयो ।
कर्णाली प्रदेश
दैलेख प्रतिनिधि अमर सुनारका अनुसार कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा आफ्ना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि राष्ट्रिय बाणिज्य बैङ्क दैलेख शाखा र यहाँको एक गैरसकारी संस्था सामाजिक सेवा केन्द्र (सोसेक) को महिला तथा बालबालिका सेवा केन्द्रले सेवा स्थगन गरेका छन् । एक जना कार्यालय सहयोगीमा कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनको सल्लाहमा साउन २६ गतेदेखि कम्तिमा एक साताका लागि बैङ्क बन्द गरिएको राष्ट्रिय बाणिज्य बैङ्कका प्रबन्धक चेतन बीसीले बताउनु भयो । सोसेकले हिंसा पीडित महिला र बालबालिकाका लागि कानूनी सहयोग पर्याउँदै आएको महिला तथा बालबालिका सेवा केन्द्रका पाँच जना कर्मचारी सबैलाई कोरोना सङ्क्रमण देखिएपछि सोसेकले अनिश्चितकालसम्म सेवा बन्द गरेको जनाएको छ ।
त्यसैगरी, साउन २५ गते नारायण नगरपालिकाका ३५ र भैरबी गाउँपालिकाका ३ जनामा गरिएको परीक्षणमा भैरबीका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले बताउनु भयो ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…
भेडामा रोग फैलिएर औषधि उपचार नपाउँदा किसान मर्कामा !
तिला गाउँपालिका–५, ढिम्कोट गाउँमा पशुचौपाय भेडामा अज्ञात रोग फैलिएर औषधि उपचार नपाउँदा यहाँका स्थानीय किसान मर्कामा परेका छन् । अज्ञात रोग फैलिएपछि २५ ओटा भेडा मरेका छन् । कुन रोगले…
अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा इन्सेक प्रतिनिधि सम्मानित
सिन्धुपाल्चोक जिल्लामा मानव अधिकारको पक्षमा तथा समाजमा रहेका हरेक प्रकारका विभेद र हिंसा अन्त्यका लागि सक्रिय भूमिका निर्वाह गरेको भन्दै चौतारा सागाचोकगढी नगरपालिकाले मङ्सिर १८ गते ३३ औँ अन्तराष्ट्रिय अपाङ्गता…
इन्सेकको सक्रियतामा लैङ्गिक हिंसाविरुद्ध प्रभातफेरी
चौतारा सागाचोकगढी नगरपालिकाको आयोजना तथा इन्सेकको संयोजनमा र जिल्लामा क्रियाशील अन्य सामाजिक सङ्घ संस्थाहरुको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवसको…