कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (साउन २७ गते)
साउन २७ गते ६ सय ३८ जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । जसमध्ये ८३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले साउन २७ गते जारी गरेको प्रतिवेदन अनुसार सङ्क्रमितमध्ये १६ हजार ६ सय ६४ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । साउन २७ गते १ सय ७१ जना डिस्चार्ज भएका छन् भने निको दर ६९.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । ७ हजार २ सय १ जनाको उपचार भइरहेको छ । गत २४ घण्टामा १० हजार ४ सय ६२ जनाको स्वाब परीक्षण गरिएको मन्त्रालयले जारी गरेको स्थिति प्रतिवेदनमा उल्लेख छ । अहिलेसम्म ४ लाख ६२ हजार ६ सय ९८ जनाको स्वाब परीक्षण भइसकेको पनि मन्त्रालयले जनाएको छ ।
कोभिड-१९ सङ्क्रमणको सक्रिय सङ्क्रमित २ सयभन्दा बढी भएका जिल्ला र काठमाडौँ उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैङ्क, सहकारी, लघुवित्त एवम् वित्तीय सङ्घसंस्थालगायतका जनतासँग प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालय, निकाय एवम् सङ्घसंस्थाहरूले विद्युतीय माध्यमबाटसमेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन मन्त्री परिषदको बैठकले निर्णय गरेको छ । साउन २६ गते मन्त्रीपरिषदको बैठकले गरेका निर्णयका बारेमा सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधि एवम् अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चारकर्मीलाई जानकारी दिनु भएको हो । उहाँले यी निकायहरूको कार्यसम्पादन एवम् सेवा प्रवाहका लागि बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा आलोपालो गरी उपस्थित हुने र अन्य कर्मचारीहरूलाई सुरक्षित रूपमा घरबाटै कार्य सम्पादन गर्न सकिने तोकिएका कार्यहरू गर्ने व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनु पर्ने बताउनु भयो ।
प्रदेश १
सुनसरी प्रतिनिधि जयकृष्ण यादवका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) का चिकित्सकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि प्रतिष्ठानले साउन २८ गतेदेखि ओपीडी सेवा बन्द गर्ने भएको छ । प्रतिष्ठानका सात जना चिकित्सकमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र उहाँहरू प्रतिष्ठानकै आवास गृहमा बस्ने भएकाले सङ्क्रमण जोखिमलाई मध्यनजर गरी अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि ओपीडी सेवा बन्द गर्ने निर्णय भएको प्रतिष्ठानका सहायक निर्देशक डाक्टर विकास शाहले बताउनु भयो । धरान उपमहानगरपालिका क्षेत्रका स्थानीयमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भए पनि अस्पतालमा बेड अभावका कारण घरमै राख्नु परेको भन्दै धरान उपमहानगरपालिका-१९ स्थित हरियाली सामुदायिक वनको आवास गृहलाई आइसोलेशन सेन्टर बनाइने भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेशन बेड अभाव भएपछि उपमहानगरपालिकाले हरियाली सामुदायिक वन समूहको आवास गृहमा २३ बेड क्षमताको आइसोलेशन तयार गर्ने भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताउनु भयो । वीपी प्रतिष्ठानका विज्ञ चिकित्सक र नेपाली सेनासहितको टोलीले निरीक्षण गरेपछि आवास गृहलाई आइसोलेशन केन्द्र बनाउन छनोट गरेको र सो क्षेत्रको सुरक्षा तथा व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिने निर्णय भएको मेयर राईले बताउनु भयो ।
झापा प्रतिनिधि नरेश खातीका अनुसार जिल्लामा आइसोलेशनमा बेड अभाव भएपछि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका दुई व्यक्ति साउन २५ गतेदेखि क्वारेन्टाइनमा बसिरहेका छन् । अर्जुनधारामा नगरपालिकाका दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपनि आइसोलेशनमा बेड अभाव भएपछि क्वारेन्टाइनमा नै राख्न वाध्य भएको अर्जुनधारा नगर स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताउनु भयो । भारतबाट आएका ती व्यक्तिमा साउन २५ गते कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो ।
उदयपुर प्रतिनिधि भरत खड्काका अनुसार कोरोना भाइरस सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि त्रियुगा नगरपालिका, बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकाले भदौ ७ गतेसम्मका निषेधाज्ञाको घोषणा गरेको छ । निषेधाज्ञाका समयमा अत्यावश्यक बाहेक अन्य सबै सेवा बन्द गर्ने नगरपालिकाद्वारा साउन २७ गते जारी सूचनामा उल्लेख छ ।
प्रदेश २
प्रदेश २ मा साउन २७ गते सम्ममा ६ हजार ७ सय ६७ जना कोरोना सङ्क्रमित पुगेकोमा ३ हजार ३ सय ८५ जना उपचारपछि निको भएर घर फर्किएका छन् । प्रदेशमा हाल ३ हजार ३ सय ८५ जना सङ्क्रमितहरू उपचाररत छन् । साउन २७ गते सम्ममा ३५ जना सङ्क्रमितको मृत्यु भएको नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सिरहा प्रतिनिधि दुर्गा परियारका अनुसार इलाका प्रहरी कार्यालय गोलबजारको हिरासत कक्षका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हिरासतमा रहेका पाँच जना थुनुवाहरूको साउन २१ गते गरीएको परीक्षणको साउन २७ गते आएको नतिजामा दुई जनामा कोरोना पुष्टि भएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर जनक पुरीले बताउनु भयो । त्यसैगरी, सुखीपुर नपा-१ स्थित श्री जनता माध्यमिक विद्यालयमा रहेको क्वारेण्टाइनमा भएको पीसीआर टेष्टमा सोही नपा-९ का आठ जनामा साउन २७ गते कोरोना सङ्क्रमणको नतिजा पोजेटिभ आएको छ । आठै जना २१ देखि ४२ वर्षसम्मका पुरुष रहेका जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले बताउनु भयो । साउन २७ गते सुखिपुर नपामा कोरोना समितिको बैठक बसेर सङ्क्रमितहरूको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने समिति बनाएको र नगरपालिकाले टोललाई सिल गरी परीक्षणको लागि २ हजार भिटिएम खरिद गर्ने निर्णय भएको कणेलले बताउनु भयो ।
त्यसैगरी, कोरोना भाइरसको माहामारी दैनिक रूपमा बढ्दै गएपछि भगवानपुर गाउँपालिकाले साउन २७ गते देखि लकडाउन घोषणा गरेको छ । भारतको सिमानासँग जोडिएको गाउँपालिका भएको र आवतजावत नरोकिँदा सङ्क्रमणबाट जोगिन २७ गतेदेखि लागु हुने गरी १० दिनको लागि लकडाउन गरिएको गाउँपालिका अध्यक्ष बेचनप्रसाद यादवले बताउनु भयो ।
धनुषा प्रतिनिधि दिपेन्द्रप्रसाद सिंहका अनुसार प्रादेशिक अस्पताल जनकपुरको कोभिड-१९ विशेष अस्पतालस्थित आइशोलेशनमा १८ दिनदेखि आइसीयूमा उपचारत ६० वर्षीय पुरूषको साउन २६ गते राति मृत्यु भएको छ । साउन ८ गतेदेखि उपचाररत उनी निमोनिया र क्षयरोगबाट ग्रसित भई मृत्यु भएको उक्त आइसोलेशनका संयोजक डाक्टर जामनुप्रसाद सिंहले बताउनु भयो । संयोजक सिंहका अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा मृतकको शव व्यवस्थापन गरिने तयारी भइरहेको छ । मिथिला नगरपालिकाको शिक्षा शाखाका एक जना कर्मचारीको बुवालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएपछि साउन २७ गतेदेखि भदौ २ गतेसम्म नगरपालिका तथा वडा कार्यालय बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख हरिनारायण महतोले बताउनु भयो ।
जानकी मेडिकल शिक्षण अस्पताल (सिटी अस्पताल) जनकपुरको आइसियुमा भर्ना भई विगत चार दिनदेखि उपचाररत मिथिला नपा-८ बस्ने ६० वर्षीय बिरामीको कोरोना पीसीआर रिपोर्ट पोजेटिभ आएपछि अस्पतालले बिरामीको उपचार रोकेको पीडीत पक्षको आरोप छ । उच्च रक्तचापको समस्या देखिएपछि एम्बुलेन्समा राखेर काठमाडौँ लैजाँदा मुर्छा परेका बिरामीलाई बर्दिबासस्थित सिटी केयर हस्पिटलमा प्राथमिक उपचार गरी चिकित्कको सल्लाहमा जनकपुरस्थित जानकी मेडिकल शिक्षण अस्पतालको आइसीयूमा उपचारको लागि भर्ना गरिएको थियो । उपचाररत बिरामीलाई कोरोना पीसीआर टेष्ट गर्दा रिपोर्ट पोजेटिभ आएपछि जानकी मेडिकल कलेजले बिरामीको उपचार गर्न नमानेको बिरामीको परिवारजनले आरोप लगाएका छन् । पीडितका छोराले भन्नु भयो-'बुवाको अवस्थामा सुधार आइसकेको थियो तर कोरोना पोजेटिभ भएको रिपोर्ट आएदेखि डाक्टरले न उपचार गर्न मानेको छ, न त बुवालाई भेट्न जान दिएको छ ।' बुवाको ज्यान रक्षाको लागि कोरोना विशेष अस्पतालमा उपचारको लागि भर्ना गराई दिन धनुषाका सिडिओलगायतको सम्बन्धित निकायलाई आग्रह गर्दासमेत सुनवाइ नभएको उहाँले गुनासो गर्नुभयो । जानकी मेडिकल कलेज अस्पताल प्रशासन प्रमुख सुनिल यादवले बिरामीको उपचार नरोकिएको दावी गर्दै आफूहरूले बिरामीलाई कोभिड अस्पताल लैजान आग्रह मात्रै गरेको बताउनु भयो ।
महोत्तरी प्रतिनिधि अजयकुमार साहका अनुसार जनकपुरस्थित जानकी हेल्थ केयरमा साउन २५ गते उपचारको क्रममा मृत्यु भएका मटिहानी नपा–६ का ४५ वर्षीय पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ । साउन २७ गते महोत्तरीका थप ११ जना कोरोना सङ्क्रमित भएकोमा सङ्क्रमितहरूको सूची पुष्टी गर्ने क्रममा मटिहानीमै मृत्यु भएर साउन २६ गते नै दाह संस्कारसमेत भइसकेका एक जनाको रिपोर्ट पोजिटिभ भेटिएको हो । सूचना मिल्नासाथ मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले प्रहरीको सहयोगमा मलामी गएका ५६ जनाको सूची तयार पारेको बताउनु भयो । यससँगै मटिहानी बजार क्षेत्र सील गरिएको नगरप्रमुख मण्डलले बताउनु भयो ।
रौतहट प्रतिनिधि कोपिला तिमल्सिनाका अनुसार साउन २७ गते कोरोना सङ्क्रमण जाँचको आएको रिपोर्टमा दुई जना स्वास्थ्यकर्मी सहित ११ जनामा सङ्क्रमण पुष्टि भएको गरुडा नगरपालिकाका जनस्वास्थ्य अधिकृत आनन्द जयसवालले बताउनु भयो । उनीहरूलाई पुलिस स्कुल बिर्ताको आइसोलेशनमा राखेर कन्ट्याक्ट् ट्रेसिङ्गको तयारी भइरहेको जयसवालले बताउनु भयो । समुदायस्तरमा, स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरूलाई पनि रौतहटमा कोरोना पोजेटिभ देखिएकोले गौर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको स्वाब सङ्कलन गरी परीक्षण थालिएको छ । साउन २७ गते रौतहटको गौर नगरपालिकाका नगर प्रमुखलगायत जनप्रतिनिधि तथा कर्मचारीहरूको स्वाब सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरणनिधि तिवारीले बताउनु भयो ।
बारा प्रतिनिधि भोलानाथ पौडेलका अनुसार बारामा साउन मसान्तसम्मका लागि निषेधाज्ञाको समय लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको अध्यक्षतामा साउन २७ गते जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । कोभिड-१९ रोगको प्रभाव न्यूनीकरण गर्न जिल्ला सुरक्षा समितिको साउन १६ गतेको निर्णय अनुसार साउन १८ गते देखि जारी भएको निषेधाज्ञालाई थप प्रभावकारी बनाउँदै जिल्लाभर साउन मसान्तसम्म निरन्तरता दिने निर्णय भएको जिल्ला समन्वय समितिका अध्यक्ष नवलकिशोर सिंहले बताउनु भएको छ ।
बागमती प्रदेश
यस प्रदेशमा साउन २७ गते काठमाडौँमा १ सय १०, ललितपुरमा १६, मकवानपुरमा १४, धादिङमा ११, भक्तपुरमा सात, काभ्रेमा पाँच, नुवाकोट र चितवनमा तीन/तीन, सिन्धुपाल्चोकमा दुई, दोलखामा र रामेछापमा एक/एक जना गरी १ सय ७३ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमित हुनेको सङ्ख्या १ हजार ९ सय ९७ जना पुगेको छ । जसमध्ये ६ सय १८ जना उपचारपछि घर फर्किएका छन् भने १ हजार ३ सय ६४ जनाको विभिन्न अस्पताल तथा आइसोलेशन सेन्टरमा उपचार भइरहेको छ । हालसम्म यस प्रदेशमा कोरोना भाइरस सङ्क्रमणको कारण १५ जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तमराज सेढाईंले बताउनु भयो ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि जिल्ला प्रशासन कार्यालयले साउन २६ गते मध्यरातिबाट लागु हुने गरी आठ दिनका लागि दुप्चेश्वर, शिवपुरी, पञ्चकन्या, तारकेश्वर र तादी गाउँपालिकामा निषेधाज्ञा लागु गरेको छ । विदुर नगरपालिका लगायत अन्य स्थानीय तहहरूमा साउन २४ गतेबाट १० दिनको लागि लागु गरिएको निषेधाज्ञा जारी राखिएको छ ।
यसैबीच, जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रको साउन २६ गते बसेको वैठकले सदरमुकाममा १ सय बेड र १२ ओटा स्थानीय तहमा १० बेडका दरले १ सय २० बेड गरी जम्मा २ सय २० बेडको आइसोलेशन स्थापना गर्न आवश्यक स्रोत व्यवस्थापनका लागि बागमती प्रदेश सरकारलाई आग्रह गरेको छ । यस्तै, कोरोना रोकथामको लागि लागु गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन नेपाली सेना परिचालनका लागि सिफारिस समेत गरेको छ । जिल्लामा हालसम्म ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश
बागलुङ प्रतिनिधि सिर्जना पन्तका अनुसार धौलागिरी अस्पताल बागलुङका दुई जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि साउन २७ गतेबाट अस्पतालका आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालका अन्य स्वास्थ्यकर्मीको स्वाब परीक्षण गर्ने भएपछि अस्पतालले अर्को सूचना जारी नगरेसम्म अस्पतालमा सेवाग्राहीहरूलाई नआउन आग्रह गरिएको छ । साउन २६ गते साँझ अस्पतालका दुई जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएकाहरूमा समेत स्वाब परीक्षण गरिने निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर शैलेन्द्र विक पोखरेलले बताउनु भयो ।
प्रदेश ५
शिक्षण अस्पताल कोहलपुरमा साउन १५ गते उपचारको क्रममा मृत्यु भएका अछाम चौरपाटीका ५० वर्षीय पुरुषको मृत्युपछि गरिएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले बताउनु भयो ।
प्यूठान प्रतिनिधि रविन्द्र पाण्डेका अनुसार माण्डवी गाउँपालिकाका एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि गाउँपालिका अध्यक्ष श्रीधर रोकाले साउन २७ गते विज्ञप्ति जारी गर्दै नगरपालिकाको कार्यालय शिल गरिएको बताउनु भयो । जिल्लामा पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । साउन २६ गते मात्र एक जना थुनवा सहित २३ जना सङ्क्रमित फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा विष्णुपुर गाउँपालिका-७ का १९ वर्षीय अकलेश कुमार मण्डललाई सप्तरी प्रहरीले ०८१ माघ ९ गते गिरफ्तार गरेको छ । माघ ९ गते विहान ५ः४५ बजे…
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…