कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २२ गते)

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा वैशाख २२ गते नयाँ सङ्क्रमित फेला नपरेको प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनु भएको छ । उहाँका अनुसार सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । सङ्क्रमित भएका मध्ये पुरुष ५८ र महिला १७ जना रहेका छन् । प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा दुई, प्रदेश ५ मा १७ र सुदूरपश्चिम प्रदेशमा पाँच जना सङ्क्रमित रहेका छन् भने कर्णाली प्रदेशमा सङ्क्रमित छैनन् ।

corona_cure_may4

हाल उपचारमा रहेका सङ्क्रमितको सङ्ख्या ५९ छ । जसमा रुपन्देहीमा एक, नेपालगञ्जमा १६, धनगढीमा एक, भरतपुरमा एक, बीरगञ्जमा नौ र विराटनगरमा ३१ रहेका छन् । सबैको अवस्था सामान्य रहेको डाक्टर देवकोटाले जानकारी दिनुभएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार १३ हजार ६ सय ४० जनामा पिसिआर विधिबाट परिक्षण भएको छ भने आरडिटी विधिबाट ५० हजार ८ सय ४५ रहेको छ । जसमा प्रदेश नम्बर १ मा ५ हजार ८ सय ३७, प्रदेश नम्बर २ मा ५ हजार ७ सय ३६, बागमति प्रदेशमा ८ हजार ६ सय १०, गण्डकी प्रदेशमा ५ हजार ८ सय ८२, प्रदेश ५ मा ४ हजार ८ सय ३१, कर्णाली प्रदेशमा ५ हजार ८ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १ सय ३६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

सरकारले विद्यार्थी भर्ना र परीक्षाका सम्बन्ध कुनै निर्णय नभएको जनाएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय बैठकले अर्को सूचना जारी नभएसम्म भर्ना नगर्न र परीक्षाका कार्यक्रम तय नगर्नसमेत सम्बन्धित विद्यालय र क्याम्पसहरूलाई आग्रह गरेको छ । बैठकपछि मन्त्रालयद्वारा जारी विज्ञप्तिमा हाल सबै विद्यार्थीहरूको भर्ना तथा पठनपाठन स्थगित रहेको र यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयले कुनै पनि कक्षा वा तहमा नयाँ भर्ना नगर्न, नगराउनुका साथै भर्नाका नाममा कुनै किसिमले शुल्क लिने, अनलाइन पठनपाठनको नाममा शुल्क लिन वा बैङ्क खातामा रकम जम्मा गर्न लगाइने जस्ता कार्य रोक्न समेत आग्रह गरेको छ ।

प्रदेश १

प्रदेश १ मा वैशाख २२ गतेसम्म कोरोना भाइरस शङ्कास्पद १ हजार ६ सय ५२ जनाको नमूना सङ्कलन गरिएकोमा १ हजार ६ सय ४४ जनाको रिपोर्ट आएको छ । आठ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । वैशाख २२ गते २३ जना महिला र ७३ जना पुरुष गरी ९६ जनाको नमूना सङ्कलन गरिएको छ । नमूना सङ्कलन गरिएका मध्ये प्रदेश १ मा कोरोना सङ्क्रमण पुष्टी भएका ३१ जनाको उपचार भइरहेको छ । प्रदेशमा वैशाख २२ गतेसम्म आरडीटी विधिबाट ६ हजार १ सय २२ जनाको परीक्षण गरिएको छ । जसमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । आरडीटी पोजेटिभ आएका सबैको पीसीआर परीक्षणमा नेगेटिभ रिपोर्ट आएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश १ मा ५ हजार ८ सय ३० बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । वैशाख २२ गते १ सय १६ बेड थप गरिएको छ । क्वारेन्टाइनमा बस्नेको सङ्ख्या २ हजार ६३ जना पुगेको छ । ४ सय ३५ जना महिला र १ हजार ६ सय २८ जना पुरुष क्वारेन्टाइनमा छन् । होमक्वारेन्टाइनमा १ हजार ३ सय १० जना महिला र ५ हजार ६ सय १५ जना पुरुष बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश १ मा १० जना महिला र ३७ जना पुरुष गरी ४७ जना आइसोलेशनमा भर्ना भएका छन् । तीन जना महिला र चार जना पुरुष गरी सात जना वैशाख २२ गते डिस्चार्ज भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार एक जना आइसीयुमा भर्ना भएका छन् ।

विराटनगरका व्यापारीले लगातारको लकडाउनको कारण आफ्नो व्यवसाय धराशायी भएको भन्दै वैशाख २२ गते प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् । विराट व्यापार सङ्घको अगुवाइमा व्यापारीहरूले प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्की, प्रमुख जिल्ला अधिकारी मदन भुजेल र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई ज्ञापनपत्र बुझाएका छन् । व्यापारीहरूले लकडाउन अवधिभरको तथा लकडाउन समाप्त भएको तीन महिनासम्मको घर बहाल कर, व्यावसायिक कर तथा घरजग्गा करमा छुटको व्यवस्था गर्नुपर्ने माग गरेको विराट व्यापार सङ्घका महासचिव चन्द्र अधिकारीले बताउनु भयो ।

सुनसरीकोकोशी गाउँपालिका -५ का पाँच जना नेपालीलाई सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले भारतबाट लुकीछिपि आएको भन्दै उतै फिर्ता पठाएको छ । भारतको वीरपुरमा क्वारेन्टाइनमा १४ दिन बसेर आएकाहरूलाई सशस्त्र प्रहरीले उतै पठाएकोमा स्थानीयले विरोध गरेका छन् । रामधुनी नगरपालिकाले राहतका लागि खरिद गरेको चालममा मिश्रण गरिएको र कमसल भेटिएपछि नगरपालिकाले छानबिन प्रक्रिया अगाडि बढाएको छ ।

प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश २

सप्तरीको बोदे बर्साइन नपा-९ देउरी स्थित नेपाल-भारत सीमामा लकडाउनको समयमा खटिएका सशस्त्र प्रहरी बलका असई ४० वर्षीय कुलबहादुर कार्कीको वैशाख २२ गते मृत्यु भयो । भारतसँग सीमा जोडिएको क्षेत्रमा खटिएकै बेला अचानक बेहोस भएर ढलेका कार्कीलाई तत्कालै उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेको सशस्त्र प्रहरी बलका डिएसपी राजु दाहालले बताए । अस्पतालमा शवको पोष्टमार्टम पश्चात दाहसंस्कारका लागि परिवारका सदस्यहरूको जिम्मा लगाइयो ।

मिर्चैया नगरपालिका-७ स्थित वडा कार्यालयको प्राङ्गणमा वैशाख २२ गते राहत वितरणमा विवाद हुँदा चार सेल अश्रु ग्याँस र नौ राउण्ड हवाइ फायर भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी विनोद घिमिरेले बताए । वडाध्यक्षको उपस्थितिमा सोही वडाका अति विपन्न १ सय ३४ घरधुरीलाई राहत स्वरूप चामल १२ केजी, दाल एक केजी, नुन एक केजी, सोयाबिन ५ सय ग्राम, खाने तेल आधा लिटर वितरण भइरहेको अवस्थामा सोही ठाउँका असन्तुष्ट स्थानीयहरू आएर हाम्रो नाम राहतमा छुटेकोले समावेश गरी हामीलाई पनि राहत दिनुपर्छ भन्ने विषयमा विवाद हुँदा असन्तुष्ट पक्षहरूले ढुङ्गा मुडा गर्न थालेपछि भिड नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस र हवाई फायर गर्नु परेको डिएसपी घिमिरेले बताउनु भयो । स्थानीयहरूले प्रहरी टोली माथि ढुङ्गामुडा गर्दा इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सन्तुलाल जैसवार, सई वीरेन्द्र मण्डल, हवल्दार सरस्वती चौधरी, प्रहरी जवानहरू मोनिका अधिकारी, सवित्रा कुमाल समेत सामान्य घाइते भए । घाइतेहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार पछि कार्यालयमा फर्केको घिमिरेले बताउनु भयो ।

लकडाउनको समयमा महोत्तरीको सीमा क्षेत्र मनरासिस्वा नगरपालिका-९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ भारतीयलाई वैशाख २२ गते नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम रायले बताउनु भयो । पक्राउ परेका व्यक्तिहरूले आफ्नो घर भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता भएको बताएका छन् । उनीहरूले महोत्तरीको एकडारा गाउँपालिका-५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएको बताएका छन् । पक्राउ परेकाहरूलाई प्रहरीचौकी कट्टकिटैयामा लगिएको छ । उनीहरूलाई नगरपालिकाका प्रमुख, सुरक्षा निकाय र प्रशासनसँग समन्वय गरी क्वारेन्टाइनमा राख्ने बारेमा छलफल भइरहेको वडाध्यक्ष रायले बताउनु भयो ।

बजार अनुगमन समिति धनुषाले बढी मूल्य लिएर सिमेन्ट बिक्री गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका- ११ स्थित आनन्द इन्टरप्राइजेज हार्डवयरका सञ्चालक ४८ वर्षीय रामप्रताप साहलाई वैशाख २१ गते नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयको जिम्मा लगायो । उनले बजार मूल्यभन्दा प्रति बोरामा २ सय रुपियाँ बढीमा बिक्री गरेका थिए । साहलाई अनुगमन समितिले ४९ बोरा सिमेन्टसहित नियन्त्रणमा लिएको थियो । यसैगरी, जनकपुरधाम उपमहानगरपालिका-४ माछाबजार स्थित चन्दन आइरण स्टोर्सका सञ्चालक चन्चल कुमार चौधरीलाई पनि बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । चौधरीले बजार भाउ भन्दा बढी मूल्यमा सिमेन्ट बिक्री गरिरहेको अवस्थामा प्रहरीले गोदाममा रहेको शिवम सिमेन्ट ३ सय ५० बोरा, मारूती सिमेन्ट २० बोरा, सगरमाथा सिमेन्ट ५० बोरा गरी जम्मा ४ सय २० बोरा बरामद गरी गोदाम र पसलमा रितपूर्वक सिल गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

बागमती प्रदेश

सरकारले यातायातमा गरेको कडाइका आधारमा वैशाख २१ गते मात्रै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ४ सय ६० दुई पाङ्ग्रे र ३६ ओटा चार पाङ्ग्रे सवारी साधन नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । काठमाडौँको सडकमा लकडाउन उल्लङ्घन गरी हिँडेको आरोपमा १ हजार ५ सय जनालाई कारवाही गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभएको छ । कोरोना भाइरसबाट बच्न भन्दै ठाउँठाउँमा मानिसको शरीरलाई नै डिसइन्फेक्सन गर्न थालिएको छ । यसरी शरीरलाई नै डिसइन्फेक्ट गर्दा यसले स्वास्थ्यमा विभिन्न समस्या देखा पर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बताउनुभएको छ ।

लकडाउनपछि काभ्रे जिल्लामा १३ हजारभन्दा बढी घर परिवारलाई राहत सामग्री उपलब्ध गराइएको छ । न्यून आय र दैनिक ज्याला मजदुरी गर्ने १३ हजार ५७ परिवार परिवारलाई राहत उपलब्ध गराइएको  जिल्ला कमाण्ड पोष्टले जानकारी दिएको छ । जिल्लाका १३ ओटै स्थानीय तहले राहत वितरण गरिरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख एवम् कमाण्ड पोष्टका सदस्य सचिव डाक्टर नरेन्द्रकुमार झाले बताउनुभएको छ ।

लैङ्गिक हिँसा पीडित १० जना महिलाका लागि सिन्धुलीमा राहत वितरण गरिएको छ । कमलामाई नगरपालिकाका आठ जना र दुधौली नगरपालिकाका दुई जना हिंसा पीडित महिलालाई राहत वितरण गरिएको हो । त्यसैगरी खाद्य सङ्कटमा परेकालाई राहत उपलब्ध गराइएको दुधौली नगरपालिकाले जनाएको छ । प्रदेश २ बाट बागमती प्रदेश प्रवेश गर्ने सवारीसाधनलाई स्यानिटाइज गर्न बागमती प्रदेश सरकारले पूर्वपश्चिम राजमार्गको हेटौँडा उमनपा-१५, रातोमाटेमा स्यानिटाइजिङ टनेल सञ्चालनमा ल्याइएको छ । प्रदेश सरकारले २ लाख ७० हजार रुपियाँ लागतमा स्यानिटाइजिङ टनेल निर्माण गरेको हो । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाले १ हजार ८ सय ७५ परिवारलाई राहत सामग्री वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

गण्डकी प्रदेश

वैशाख २२ गते गण्डकी प्रदेशमा थप १२ जनाको स्वाब परीक्षणको लागि नमूना सङ्कलन गरिएको छैन । प्रदेशमा कुल ६ सय ४६ जनाको स्वाब परीक्षण गरिएकको छ भने ६ सय ३४ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । १० जनाको स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी रहेको छ । गण्डकी प्रदेशमा वैशाख २२ गते सम्म कुल ६ हजार ७४ जनाको र्‍यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ ।

नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) जिल्लाको मध्यबिन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकाले स्थानीय विपन्न परिवारलाई काम दिएर मात्रै दोस्रो चरणको राहत वितरण गर्ने जनाएका छन् । गाउँपालिकामा सञ्चालन भइरहेको विकास निर्माणको योजनामा अब स्थानीय विपन्न परिवारलाई काम दिएर मात्रै राहत दिने हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले बताउनुभएको छ । बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले देशमा जारी कोरोना सङकट र लकडाउनकै बीच विभिन्न योजनाका काम धमाधम अघि बढाइरहेको छ ।

पर्वत जिल्लामा कोरोना सङ्क्रमणको परीक्षणका क्रममा पर्वतबाट दुई जना स्वास्थ्यकर्मीको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको छ । जिल्ला अस्पताल पर्वतका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डाक्टर शिशिर देवकोटाका अनुसार वैशाख २२ गते सङ्क्रमणको सामान्य लक्षण देखिएपछि स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको हो ।

गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

प्रदेश ५

कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढेपछि बाँकेको नेपालगञ्जमा वैशाख २३ गतेदेखि निषेधित क्षेत्र घोषणा गरिएको छ । वैशाख २२ गते जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले वैशाख २३ गतेदेखि वैशाख २५ गतेसम्म नेपालगञ्जलाई पूर्णतः निषेधित क्षेत्र घोषणा गरेको हो । सङ्घीय सरकारले जारी राखेको लकडाउनसँगै नेपालगञ्ज उपमहानगरपालिकामा वैशाख २३ गते बिहान ११ बजेदेखि २५ गते मध्यरातिसम्म पूर्ण निषेधित क्षेत्र लागु गरिने प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनु भएको छ । सो समयमा नेपालगञ्जमा औषधि पसलबाहेक सबैखाले पसल, व्यवसाय खोल्न नपाइने उहाँले जानकारी दिनु भएको हो । बाँकेमा १६ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।

बाँकेको खजुरा गाउँपालिकाले सबै नाकाहरू बन्द गरेको छ । सीमा जोडिएको नेपालगञ्जमा १६ जनामा कोरोना पोजेटिभ देखिएपछि स्थानीय तहले चारैतिरका नाका बन्द गर्ने निर्णय गरेको अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिनुभएको छ । खजुराले स्थानीय तहभित्रका वडा पनि 'सिल' गरेको छ । गाउँपालिकाले वडा नम्बर ५, ६, ७ र ८ लाई पनि 'लक' गरेको छ ।

प्रदेश ५ मा कोरोना परीक्षण गर्न किट अभाव हुन थालेको छ । प्रदेशमा तीन ओटा प्रयोगशाला सञ्चालनमा रहे पनि रुपन्देहीको भैरहवामा सञ्चालनमा ल्याइएको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा किट अभाव भएसँगै कोरोना परीक्षण रोकिएको  हो । प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले प्रदेशका अन्य प्रयोगशालाहरूमा पनि केही दिनलाई मात्रै पुग्ने किट रहेको र समयमै किट नआए प्रदेशका अन्य ल्याबहरूमा समेत किट अभाव हुने बताउनुभएको छ । हाल प्रदेश ५ मा रुपन्देही, दाङ र बाँकेमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा रहेका छन् ।

बाँके र रुपन्देहीमा कोरोना सङ्क्रमित देखिएपछि दाङमा लकडाउनलाई थप कडाइ गरिएको छ । वैशाख २२ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला प्रवेश गर्ने नाकाहरुमा कडाइ गर्दै रातको समयमा पूर्वपश्चिम राजमार्ग बन्द गर्ने निर्णय गरेको हो । बाँके र कैलाली जिल्लामा कोरोना भाइरस सङ्क्रमित भटिएपछि बर्दिया जिल्लामा लकडाउनमा थप कडाइ गरिएको छ ।

प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

कर्णाली प्रदेश

नेपालगञ्जमा थप १६ जनामा कोरोना पुष्टी भएपछि हुम्लाको सदरमुकाम सिमकोट पनि 'सिल' गरिएको छ । हुम्ला भित्रिएका केही हुम्लीलाई कोरोना सङ्क्रमणको सम्भवना हुनसक्ने भन्दै सो ठाउँ नै सिल गरिएको प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताउनु भएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि रुकुम (पश्चिम)का सबै स्थानीय तहले विपद् व्यवस्थापन कोषको स्थापना गरी सो कोषमा स्थानीय तहहरूले सकेको सहयोग गर्न सार्वजनिक अपिल गरेका छन् । चौरजहारी नगरपालिका कार्यपालिकाको बैठकले वैशाख २२ गते लकडाउनमा थप कडा गर्ने निर्णय गरेको छ ।

कालीकोट जिल्लामा कार्यरत स्वास्थ्यकर्मीका लागि आवश्यक पीपीई, मास्क, सेनिटाइजर, ग्लब्सलगायतका स्वास्थ्य सामग्रीको अभाव भएको छ । कोरोनाको उच्च जोखिममा रहेको भए पनि यहाँका स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीका लागि आवश्यक सामग्री अझै नपुगेको स्वास्थ्य कार्यालय कालीकोटका सूचना अधिकारी कटकबहादुर महतले बताउनु भयो । कोरोना त्रासका कारण लकडाउन गरिएको डेढ महिना बितिसक्दा पनि नगरपालिकाबाट समयमा राहत वितरण हुन नसक्दा जाजरकोटको भेरी नगरपालिकाका विपन्न तथा ज्याला मजदुरी गर्ने परिवार समस्यामा परेका छन् ।

लकडाउन अगाडि नै स्टोरमा राखिएको ५० दिन अगाडिको कुखुराको मासु विक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा वैशाख २२ गते डोल्पा जिल्लाको सदरमुकाम दुनैमा रहेको राहुल जनरल स्टोरमा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारको नेतृत्वमा छापा मारी पसल दर्ता कागजात नभएकोले जिल्ला प्रशासन कार्यालयले ताला लगाएको छ ।

कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ

सुदूरपश्चिम प्रदेश

दार्चुला जिल्लाको मार्मा गाउँपालिकाले लकडाउनको अवधिमा अति गरिब, असङ्गठित श्रमिक, असहाय, र गाउँपालिकाभरिका दलित परिवार गरी ५ सय १ घरधुरीलाई तीन चरणमा राहत वितरण गरेको छ । लकडाउनका कारण दीर्घरोगीहरूले औषधि लिन सदरमुकाम वा नेपालका अन्य जिल्ला जानुपर्ने बाध्यता हटाउन मालिकार्जुन गाउँपालिकाले आठ ओटै वडाका स्वास्थ्य चौकीमार्फत निःशुल्क औषधि वितरण सुरु गरेको छ । गाउँपालिकाले वैशाख २२ गते वडा नम्बर ३ मालिकार्जुन स्वास्थ्य चौकीमा ४४ जनालाई निःशुल्क औषधि वितरण गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीले जानकारी दिनु भयो ।

लकडाउनका क्रममा खाद्य अभाव झेलिरहेका अछाम जिल्लाको मङ्गलसेन नगरपालिका-६, ७, ९, १० र ११ का गरिब, विपन्न, असहाय वर्गका २ सय ५६ व्यक्तिलाई खाद्यान्न सामग्री वितरण गरिएको मङ्गलसेन नगरपालिकाका सूचना अधिकारी खकेन्द्रबहादुर सोडारीले जानकारी दिनु भयो ।

बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकाले जिल्ला बाहिर अलपत्र अवस्थामा रहेका मजदुर, श्रमिक, बिरामी र विद्यार्थीलगायतलाई आर्थिक रकम सहयोग गरेको गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले बताउनु भयो । अध्ययन अध्यापन तथा कामको शिलशिलामा देशका विभिन्न ठाउँमा गएका र आर्थिक अभावका कारण समस्यामा परेकालाई १ लाख ४० हजार ५ सय रुपियाँ नगद पठाएको गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत कुबेर शाहीले बताउनु भयो ।

सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ


अनलाइन डेस्क