कोरोना भाइरसको सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २१ गते)
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा वैशाख २१ गते आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टी भएको जानकारी दिनुभयो । काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा पर्सा जिल्लाको वीरगन्जका एक जना कोरोनाभाइरस सङ्क्रमित थपिएका छन् । वीरगन्ज मनपा-३ छपकैया ३६ वर्षीय पुरूषलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । उनलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ । उनीसँगै अन्य नेपालगञ्जमा नौ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । जसमा पाँच जना पुरुष र चार जना महिला रहेका छन् । उनीहरू सात वर्षदेखि ५८ वर्षसम्मका उमेर समूहका रहेका छन् । तर, साँझ सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले एक प्रेस विज्ञप्ति जारी गर्दै थप ६ जनामा कोरोना पुष्टी भएको छ । नेपालगञ्ज उमनपा-८ का १६, २१ र ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिला सङ्क्रमित भेटिएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाका अनुसार १३ हजार ४ सय १४ पिसिआर विधिबाट परीक्षण भएको छ भने आरडीटी विधिबाट ४९ हजार ६ सय ८८ रहेको छ । जसमा प्रदेश १ मा ५ हजार ४ सय ९९, प्रदेश २ मा ५ हजार ७ सय ९, बागमती प्रदेशमा ८ हजार ५ सय १५, गण्डकी प्रदेशमा ५ हजार ८ सय ३४, प्रदेश नम्बर ५ मा ४ हजार ४ सय ९२, कर्णाली प्रदेशमा ५ हजार ५ सय ६७ र सुदुरपश्चिम प्रदेशमा १४ हजार ७२ जनाको नमुना स्वास्थ्य परीक्षण गरिएको छ ।
यस्तै हालसम्म क्वारेण्टाइनमा रहेकाको सङ्ख्या २१ हजार ९ सय ५१ जना रहेको छ । जसमध्य प्रदेश नम्बर १ मा २ हजार ६ सय १८, प्रदेश नम्बर २ मा १ हजार ३ सय ३७, बाग्मति प्रदेशमा ४ सय ४०, गण्डकी प्रदेशमा ६ सय २६, प्रदेश नम्बर ५ मा १० हजार ६ सय ६७, कर्णाली प्रदेशमा ३ हजार ७८ र सुदुरपश्चिम प्रदेशमा ३ हजार १ सय ८५ रहेका छन् । ७७ जना आइसोलेशनमा रहेका छन् । जसमध्ये काठमाडौँ उपत्यकामा चार जना छन् भने ७३ जना विभिन्न जिल्लामा रहेको पनि जानकारी दिनु भयो । कोरोना सङ्क्रमितहरूको तथा उपचारमा खटिए चिकित्सकको पहिचान नखुलाइ समाचार सम्प्रेषण गर्नसमेत डाक्टर देवकोटाले आग्रह गर्नुभयो ।
प्रदेश १
प्रदेश १ मा हालसम्म ७ हजार २ सय ७२ जनाको कोरोना परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार वैशाख २१ गतेसम्म आरडीटीतर्फ ५ हजार ७ सय १६ जनाको नमुना परीक्षण भएको छ । त्यस्तै पीसीआर विधिबाट १ हजार ५ सय ५६ जनाको परीक्षण भएको छ । प्रदेश सरकारले निर्माण गरेका क्वारेण्टाइनमा बस्नेको सङ्ख्या वैशाख २१ गतेसम्म २ हजार ६३ जना पुगेको छ । आइसोलेशनमा स्वास्थ्यकर्मीको निगरानीमा ३८ जना बसेका छन् । होमक्वारेण्टाइनमा ६ हजार ९ सय २५ जना बसिरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा खटिँदै आएका स्वास्थ्यकर्मीहरूको कोरोना परीक्षण गरिएको छ । सङ्क्रमितको उपचारमा संलग्न २८ जना स्वास्थ्यकर्मीको कोरोना परीक्षण गरिएको हो । कोभिड उपचार केन्द्रमा ३१ जना कोरोना भाइरस सङ्क्रमितको उपचार भइरहेको छ । उपचारमा संलग्न चिकित्सक टोलीसहित अन्य कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो । उनीहरूको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको अस्पतालकी मेडिकल सुपरीटेन्डेण्ट डाक्टर संगीता मिश्राले बताउनु भयो । कोरोना भाइरस सङ्क्रिमत ३१ जनाको अवस्था सामान्य रहेको डाक्टर मिश्राले बताउनु भयो । उपचार गराइरहेका ३१ जनामध्ये १३ जनाको पुनः स्वाब परीक्षण गरिएको छ । उनीहरूको अन्तिम रिपोर्ट आउन बाँकी रहेको छ ।
झापाको शिवसताक्षी नगरपालिकामा रोकिएका ३ सय निर्माणाधीन घर र नगरका ५० ओटा आयोजना निर्माण कार्य सुचारू गर्ने निर्णय भएको छ । प्रदेश १ को गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय झापाले निर्माण सामग्री ढुवानी र स्थायी संरचना निर्माण खुकुलो गर्न स्थानीय सरकारलाई अख्तियारी दिएको छ । झापाको ओमसाई पाथीभरा हस्पिटलले चिकित्सक, नर्स र कर्मचारी गरी १ सय ४६ जनाको एक वर्षको जीवन बीमा गरेको छ ।
प्रदेश १ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
प्रदेश २
प्रदेश २ अन्तर्गत पर्सा जिल्लामा थप एक जना व्यक्तिमा कोरोना भाइरस (कोभिड- १९) सङ्क्रमण पुष्टि भएको छ । पर्सा जिल्ला बीरगञ्ज महानगरपालिका-३ छपकैयाका एक ३६ वर्षीय युवकमा वैशाख २१ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । उनको स्वाब परीक्षण काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको थियो । रिपोर्ट पोजेटिभ आएसँगै उनलाई नारायणी अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार सुरु गरिएको छ भने उनी बसोबास गर्ने क्षेत्र शिल गरी कन्ट्रयाक्ट ट्रेसिङ गर्ने कार्य सुरु गरिएको सामाजिक विकास मन्त्रालयका सचिव डाक्टर रामप्रसाद घिमिरेले बताउनु भयो ।
यस प्रदेशमा उपचारपछि डिस्चार्ज गरिएका रौतहट जिल्ला इशनाथ नगरपालिका- ८ का १९ वर्षीय युवकको स्वास्थ्यमा समस्या देखिएको र सामान्य लक्षण कोरोनासँग मिल्न गएको हुँदा पुनः नारायणी अस्पतालको आइसोलेशन कक्षमा भर्ना गरिएको छ । ती युवकको स्वाब सङ्कलन कार्य भइसके तापनि रिपोर्ट नआएको हुँदा कोरोना सङ्क्रमण भएको भन्न सकिने अवस्था देखिदैन । तर, कतिपय सञ्चार माध्यमहरूमा ती युवालाई पुनः कोरोना दोहोरिएको भन्ने सम्माचार आइरहेकोले बास्तविकतालाई मात्र उजागर गर्न सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले आग्रह गर्नु भएको छ ।
रौतहटका १९ वर्षीय युवकसँगै डिस्चार्ज भएका ५५ वर्षीय भारतीय नागरिकको स्वास्थ्यमा समेत सामान्य समस्या देखिएपछि उनलाई पनि नारायणी अस्पतालको आइसोलेशन कक्षमा राखिएको उहाँले बताउनु भयो ।
प्रदेशमा वैशाख २१ गतेसम्म कोरोना भाइरसका शङ्कास्पद २ हजार ४ सय ३३ जनाको स्वाब सङ्कलन गरिएकोमा २ हजार १ सय ३ जनाको रिपोर्ट आएको छ । जसमा २ हजार ९० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयका सचिव घिमिरेले जानकारी दिनु भयो । ३ सय ३० जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।
त्यसैगरी, वैशाख २१ गतेसम्म आरडीटी किटबाट परीक्षण ५ हजार २ सय ५० जनाको गरिएकोमा ५ हजार २ सय ४० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १० जनाको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेशमा क्वारेण्टाइन सङ्ख्या १ सय ७५ रहेकोमा ४ हजार २४ क्वारेण्टाइन बेड रहेको छ । वैशाख २१ गतेसम्म १ हजार २ सय ९५ जना क्वारेण्टाइनमा रहेका छन् भने ४ हजार ४ सय ८४ जना होमक्वारेण्टाइनमा रहेका छन् । कोरोना आशङ्का गरिएका २९ जना बिरामी आइसोलेशन वार्डमा उपचारार्थ छन् । प्रदेशमा आइसोलेशन बेड सङ्ख्या २ सय ७४ रहेको छ ।
स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र प्रदेश २ स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट स्वास्थ्य कार्यालय सप्तरीलाई प्राप्त ८ सय आरडिटी किट सकिएको निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिनु भयो । रोग नियन्त्रण महाशाखाबाट प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरूपमा दुई पटक गरी प्राप्त १ सय २० ओटा आरडिटी किट सकिएको कञ्चनरूप नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेव अधिकृत डम्बरप्रसाद गुप्ताले बताउनु भयो । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताललाई आएको १ सय ८० किटमध्ये १ सय ६० ओटा किटको प्रयोग भइसकेको छ । अस्पतालका ल्याब असिस्टेन्ट कृष्णचन्द्र मिश्रका अनुसार महाशाखाबाट दुई पटक गरी आएको १ सय ८० किटमध्ये दुई ओटा नोक्सान हुँदा बाँकी १८ ओटा मात्र मौज्दात रहेको छ । गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल राजविराजमा स्वाब सङ्कलन गर्ने भिटिएम ३० ओटा मात्र मौज्दात रहेको अस्पतालले जनाएको छ ।
कोरोना भाइरस (कोभिड-१९) का विरामीहरूको उपचारका लागि प्रदेश दुई सरकारले कलैया अस्पताललाई कोरोना विशेष अस्पताल निर्माण गर्ने निर्णयको विरोधमा संयुक्त स्वास्थ्य युनियनका अध्यक्ष कुरानअली ठकुराई, मधेशी स्वाथ्यकर्मी फोरम नेपाल बाराका अध्यक्ष शशीकान्त कुमार, नेपाल स्वास्थयकर्मी सङ्घ नेपाल बाराका उपाध्यक्ष राजकिशोर यादव र कलैया अस्पताल विकास समिति कर्मचारी युनियनका अध्यक्ष प्रदिप यादवले वैशाख २१ गते संयुक्त विज्ञप्ति जारी गरे । विज्ञप्तिमा कलैया अस्पतालमा जिल्लाका विभिन्न ठाँउबाट गरिब असहाय अति विपन्नहरूको उपचार लगायत खोप सेवा, प्रसुति सेवा सञ्चालनमा वाधा अवरोध पुग्ने र कोरोना भाइरसको जोखिम बढ्ने भएकोले कलैया अस्तालमा कोरोना विशेष अस्पताल निर्माण नगर्नका लागि माग गरिएको छ ।
प्रदेश २ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
बागमती प्रदेश
लकडाउनका कारण खाद्य सङ्कटमा परेका अनाथ बालबालिकालाई कमलामाई नगरपालिकाले राहत उपलब्ध गराएको छ । वैशाख २० गते इन्सेक जिल्ला प्रतिनिधि विमला पाण्डेले अनुगमनपछि अनाथालयमा खाद्यान्न सङ्कट भएको र राहतका लागि कमलामाई नगरपालिकासँग आग्रह गरेपछि नगरपालिकाले राहत उपलब्ध गराएको हो ।
नेपाल यातायात स्वतन्त्र मजदुर, भक्तपुर मिनीबस इकाइले लकडाउनको समयमा रोजगारविहीन भएका यातायात मजदुरलाई राहत वितरण गरेको छ । ख्वप भक्तपुर मिनिबस यातायात प्रालिसँगको सहकार्यमा ५० चालक र सहचालकलाई खाद्यान्न राहत वितरण गरेको हो । यातायात मजदुरलाई १२ केजी चामल, दाल, नुन तेल, आलु लगायतको दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो ।
काभ्रेको पाँचखाल नगरपालिकाले एसईई परीक्षा दिने विद्यार्थीलाई लक्षित गरेर अनलाइनमार्फत पढाउन सुरू गरेको छ ।
बागमती प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
गण्डकी प्रदेश
गण्डकी प्रदेशमा कुल ६ सय ३५ जनाको स्वाब परीक्षण गरिएकको छ भने ६ सय ३३ जनाको परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । गण्डकी प्रदेशमा वैशाख २१ गते ४८ जनाको र हालसम्म कुल ५ हजार ८ सय ८२ जनाको र्यापीड डाइगनोष्टिक टेष्ट किटबाट कोरोना परीक्षण गरिएको छ । लकडाउनको समयमा सुत्केरी भएका १८ जना महिलालाई वैशाख २१ गते पोखरा महानगरपालिकाले सुत्केरीलाई घिउ, हर्लिक्स, तेल, साबुनसहित नगद ५ सय रुपियाँ उपलब्ध गराएको छ ।
गोरखाको धार्चे गाउँपालिकामा हालसम्म ९६ जनालाई राहत वितरण गरिएको छ । लमजुङको बेसीशहर नगरपालिकाले मुटु, मधुमेह, प्रेसर र दमका बिरामीलाई निःशुल्क रूपमा औषाधि उपलब्ध गराएको छ । नगरपालिकाले २ हजार ५ सय जना बिरामीहरूका लागि ४ लाख रुपियाँ मूल्य बराबरको औषधि काठमाडौँबाट झिकाइएको नगरपालिकाले जनाएको छ ।
गण्डकी प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
प्रदेश ५
प्रदेश ५ मा वैशाख २१ गते एकै दिन बाँके जिल्लाको नेपालगञ्जमा १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टी भएको छ । यससँगै प्रदेश ५ मा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १७ पुगेको छ । वैशाख २० गते रुपन्देही र बाँकेमा गरी दुई जनामा पहिलो पटक सङ्क्रमण पुष्टी भएको थियो । वैशाख २० गते कोरोना भाइरस सङ्क्रमण पुष्टी भएका बाँकेका ६० वर्षीय पुरूषको परिवार र टोलका व्यक्तिहरू रहेका छन् । बाँकेमा पहिलो पटक कोरोना भाइरस सङ्क्रमण पुष्टी भएपछि ९० जनाको स्वाब परीक्षणका लागि सङ्कलन गरिएको थियो । जसमा ३० जनाको स्वाब परीक्षण गर्दा १५ जनामा कोरोना भाइरस पुष्टी भएको हो । सङ्कलन गरिएका ६० जनाको स्वाबको परीक्षण रिपोर्ट आउन बाँकी रहेको छ ।
लकडाउनका कारण दैनिक मजदूरी गर्न नपाएर खाद्यान्न जोहो गर्न नपाएका दाङ जिल्लाका १७ हजार ९ सय ३ परिवारलाई खाद्यान्न वितरण गरिएको छ । भारतको क्वारेण्टाइनमा रहेका २१ जना नेपाली वैशाख २० गते सुइयाँ नाका हुँदै बाँकेको नरैनापुर गाउँपालिकामा आइपुगेका छन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले नेपाल प्रवेश गरेका २१ जना नागरिक नेपाल भारत सिमा नजिक राखिएको बताउनु भयो ।
प्रदेश ५ को विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
कर्णाली प्रदेश
लकडाउनका कारण नेपालगञ्ज र सुर्खेतमा अलपत्र परेका सर्वसाधारणहरूलाई वैशाख २० गतेदेखि हवाइमार्गबाट उद्दार गरिएकोमा सडक सञ्जाल नजोडिएका कर्णाली प्रदेशका हिमाली जिल्लाका अलपत्र विद्यार्थी र ६० वर्षमाथिका नागरिकलाई हवाइ टिकटमा ५० प्रतिशत अनुदान दिने कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्री दलबहादुर रावलले बताउनु भयो । वैशाख २० गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
भारत तथा तेस्रो मुलक र जिल्ला बाहिरबाट जुम्ला भित्रिने नागरिकलाई यहाँका स्थानीय तहले क्वारेण्टाइनमा राख्ने व्यवस्थापन गरे पनि मापदण्डअनुसार क्वारेण्टाइन नभएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजलासमा वैशाख २१ गते रिट दायर गरिएको छ । नेपालको संविधान धारा १४४(१)(२) बमोजिम विशेष तथा उपयुक्त अन्तरिम आदेशसहितको परमादेशको आदेश जारी गरी पाउँ भनी निवेदक अधिवक्ता पदमबहादुर शाहीले रिट दायर गर्नु भएको हो । मापदण्डअनुसार क्वारेण्टाइन नभएको, बाहिर जिल्लाबाट आएका व्यक्तिलाई क्वारेण्टाइनमा नराखिएको, क्वारेटाइनमा राखिए पनि निमुखा सर्वसाधारण व्यक्तिलाई मात्र राखिएको कानुन व्यवसायी अधिवक्ता शाहीले बताउनु भयो ।
रुकुम (पश्चिम) जिल्लाको आठबिसकोट नगरपालिकाको कार्यपालिका बैठकले दैनिक ज्याला मजदुरी गरी जीविकोपार्जन गर्दै आएका तर लामो समयदेखिको लकडाउनका कारण काम गर्न नपाएर समस्यामा परेका मजदुरहरूलाई रोजगारी दिने र सोहीअनुसार खाद्यान्न उपलब्ध गराउने निर्णय गरेको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिनु भयो । साथै, नगरपालिकामा रहेका जग्गा बाँझो हुन नदिन सबै कृषकहरूलाई उत्पादनमा जोड दिन अनुरोध पनि गरिएको उहाँले बताउनु भयो ।
जिल्ला बाहिरबाट आएकालाई राख्न जाजरकोट जिल्ला भेरी नगरपालिका-१ वडाले बागेश्वरी आधारभूत विद्यालयमा क्वारेण्टाइन बनाएको भए पनि नुवाकोट र बैतडीबाट आएका भेरी नगरपालिका-१ का १४ जना मजदुरहरू गाउँकै जङ्गलमा रहेको ओडारमै बस्ने भनेपछि वडाले त्यहीँ आवश्यक लत्ताकपडा र खाद्यान्नको व्यवस्था गरिएको वडा अध्यक्ष दीपक रानाले बताउनु भयो ।
सल्यान जिल्लाका १० स्थानीय तहका ८३ ओटै वडामा कोरोनाविरुद्ध सचेतना जगाउन घरदैलोदेखि प्रतिकार्य योजना बनाएर सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला प्रशासन कार्यालय, सल्यानले जनाएको छ । लकडाउनका कारण चाहिने खाद्यान्न जोहो गर्न सर्वसाधारणलाई मुगु जिल्लाको सोरु गाउँपालिकाले खाद्य संस्थानबाट खरिद गरी लिएको चामल सोही गाउँपालिका-११ का सर्वसाधारणलाई राहतका नाममा वितरण गरिएकामध्ये १० घरपरिवारलाई कुहिएको चामल वितरण गरिएको पाइएको सरोकारवालकाहरूको स्थलगत अनुगमनको मुचुल्कामा उल्लेखित गरिएको छ ।
कर्णाली प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
सुदूरपश्चिम प्रदेश
दार्चुला जिल्लाका नौओटै स्थानीय तहका प्रमुखहरूसँग सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले वैशाख २१ गते गरेको भिडियो सम्वादमा कोरोना भाइरस नियन्त्रण, अहिले भइरहेको व्यवस्थापन, राहत वितरणलगायतको विषयमा एक जुट भएर लाग्नुपर्ने सुझाव दिनु भयो ।
बैतडी जिल्ला पुर्चौडी नगरपालिका-६ मनकालीका ६७ वर्षीय जुने लुहारको वैशाख २० गते क्वारेण्टाइनमा लैजाँदै गर्दा मृत्यु भएपछि वैशाख २१ गते स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ । परीक्षणको रिपोर्ट आएपछि मात्रै कोरोना भए/नभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनु भयो ।
अछाम जिल्लाको बान्नीगढी-जयगढ गाउँपालिकाका ६ ओटै वडाका काठमाडौँमा अध्ययनरत २ सय ६० जना विद्यार्थीहरूलाई प्रतिव्यक्ति साढे १२ किलो चामल, दुई किलो दाल, एक किलो आयोडिनयुक्त नुन र एक लिटर तेल विद्यार्थीको कोठामै वितरण गरिएको छ ।
सुदूरपश्चिम प्रदेशको विस्तृत प्रतिवेदन यहाँ उपलब्ध छ
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…